परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कान्तिपुरमा झुठो समाचारको थालनी किन र कहिले सुरु भयो ?

हाम्रो पत्रकारिता २०४६ सालपछि फस्टाएको हो । त्योभन्दा अघि पञ्चायतकालमा पत्रपत्रिकाको अवस्था राम्रो थिएन । प्रजातन्त्रको आगमनपछि श्याम गोयन्काले २०४९ साल फागुन ७ गतेदेखि प्रकाशन सुरु गर्नभएको कान्तिपुर दैनिकले दैनिक पत्रिकाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने मौका पायो । गोयन्काको लगनशीलता र अथक प्रयासले कान्तिपुर छिटै पाठकको प्रिय पत्रिका बन्न पुग्यो । मलाई थाहा भएसम्म गोयन्काको स्वामित्वमा हुनजेल कान्तिपुर स्वतन्त्र थियो र त्यहाँ कार्यरत पत्रकारले स्वतन्त्रतापूर्वक सत्य तत्थ्य समाचार लेख्न पाएका थिए । जब गोयन्काको स्वामित्व हरण भयो त्यसपछि ज्ञवाली र सिरोहियाको मातहत कान्तिपुर पुग्यो । तब कान्तिपुर अराजक भएर बरालिन थाल्यो । र स्वतन्त्रता साथै पत्रकारिताको मूल्यमान्यता माथि धावा बोल्ने काम प्रारम्भ भयो ।

कान्तिपुर सुरु गर्दा हामी थापाथलीको एउटा घरमा थियौं । त्यसपछिका “मालिकले” कान्तिपुरको कार्यालय बागमती किनार ( शान्तिनगरको सेतो घर) मा सार्नु भयो । त्यो घरमा पुगेपछि भनौ वा मालिक परिवर्तन भएपछि हामी पत्रकारको नेतृत्वदायी भूमिकामा रहनु भएका सम्पादक योगेश उपाध्याय अलि भिन्न रुपमा प्रस्तुत हुन थाल्नु भयो । उहाँ भिन्न रुपमा प्रस्तुत हुनमा पनि केही कारण थिए । मलाई जहाँसम्म याद छ एउटा कारण चाहिँ पत्रिकालाई काङ्ग्रेसीकरण गर्नु थियो । कान्तिपुरका प्रमुख लगानी कर्ता हेमराज ज्ञवाली र सम्पादक योगेश उपाध्याय नेपाली काङ्ग्रेसबाट सांसदको टिकट पाउने आशा गर्नु हुन्थ्यो । त्यही मृगमरिचिकाले गर्दा कान्तिपुरमा रहेको पत्रकारिताको धर्म धर्मराउन थाल्यो ।

यसैताकाको एक घटनाको  कुरा गरौ – तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भङ्ग गर्नु भयो । मुलुक मध्यावधि निर्वाचन गर्नुपर्ने वाध्यतामा पुग्यो । मलगायत थुप्रै पत्रकार कान्तिपुर दैनिक पत्रिकामा काम गर्थ्यौ । त्यसताका  समाचार लेख्नु र छाप्नु अहिलेको जस्तो  सहज थिएन । मोबाइल फोन, स्तरीय कम्प्युटर, आधुनिक प्रेस र फोटो पनि खिच्ने बित्तिकै फ्याट्ट निकालेर आफूले भने जस्तै साइजमा झ्याप्प टाँस्ने  प्रविधि पनि थिएन । पत्रकारिता “काम गर्न गाह्रो भन्न सजिलो” पेसा थियो । त्यसबेला पनि विभिन्न पार्टीमा आस्था राख्ने पत्रकारहरू थिए । तथापि पत्रकारिताको धर्म निर्बाह गर्न चुकेका थिएनन् ।

जब कान्तिपुर  पक्षधरतामा रुमलिन थाल्यो तब पत्रकारको दायित्व, कर्तव्य र आचारसंहिता पालना गर्ने मामिलामा  खोटको थालनी भयो । अब भनौ त्यसताका देखि आचारसंहिता  देखाउने दाँत मात्र हुन थाल्यो । कान्तिपुरमा उम्दा पत्रकार भए पनि स्व सेन्सरसिपको जन्जिरले बाँधिएका थिए । त्यसबेला कान्तिपुर पत्रिकाको सम्पादक हुनुहुन्थ्यो योगेश उपाध्याय ।

२०५१ साल कार्तिक २९ गते गिरिजाप्रसाद कोइरालाले गराउन लाग्नु भएको मध्यावधि निर्वाचन आउन केही दिन मात्र बाँकी थियोे ।  भोलिपल्टदेखि निर्वाचन आचासंहिता लागेर प्रचारप्रसार बन्द हुने दिन थियो । त्यो दिनको “नाइट सिफ्ट”मा पत्रकार युवराज गौतम र म थियौं । रातिको साडे ११ बज्न लागेको थियोे मादक पदार्थको गन्ध र चुरोटको मुस्लो धुवाँ छोड्दै सम्पादक ज्यू हाम्रो कार्यकक्षमा प्रवेश गर्नु भयो ।

रातको १२ बजेसम्म कार्यालयमा सम्पादक रहनु भनेको त्यसबेला कार्यरत पत्रकार, पाठक, विज्ञापन दाता र मालिकका लागि पनि खुशीको कुरा हुन्थ्यो । किन भने सम्पादकको दायित्व नै पत्रिकामा सुरुदेखि अन्तिमसम्म त्रुटी नहोस् भन्ने नै हो । तर, त्यो रात हाम्रो सम्पादक योगेश उपाध्याय पत्रकारिताको इतिहासमा ऐतिहासिक गल्ती दर्ता गराउन कार्यालयमा बस्नु भएको रहेछ ।

होचो कदका योगेशले हल्लिदै र धुवाँको मुस्लो फाल्दै “मेन न्यूज के हो ? सकिएको छैन” भनेर सोध्नु भयो । हामीले सकिन लागेको जानकारी गरायौं । उहाँले “आज मसँग स्कुप न्युज छ, फ्रन्ट पेजमा बक्स बनाएर ठोक्नु पर्छ” भन्नू भयो । युवराज जीले “त्यस्तो महत्त्वपूर्ण समाचार पहिला बनाइ हालौ” भनेर न्यूज माग्नु भयो । सम्पादकले युवराज जीलाई नै लेख्नुहोस् भन्दै कथात्मक शैलीमा समाचारको सार सुनाउनु भयो । म सुन्दै थिएँ । सम्पादक भन्न थाल्नु भयो – अहिले भखरको घटना हो काभ्रे जिल्लाका जनमोर्चा नेता कमान सिंह लामालाई एमालेका नेता कार्यकर्ताले मारेर खोल्सामा फाली दिएछन् ।

सम्पादकको कुरा सुन्दासुन्दै म जुरुक्क उठेर “वाइयात कुरा गर्ने, काल्पनिक कथा रचेर समाचार लेख भन्ने” भन्दै उफ्रिए  । सम्पादक पनि के कम मतिर हेर्दै भन्नू भयो  “सम्पादक तपाईं कि म ! ठूलो स्वरले नबोल्नु होस् । यो समाचार जसरी पनि लेखिनुपर्छ, जानुपर्छ, त्यो पनि फष्ट पेजमा बक्समा ।”

यति भनिसकेपछि सम्पादक योगेश उपाध्याय एउटा कुर्सी तानेर युवराज जीको छेउमा बस्नु भयो । युवराज जीलाई पनि समाचार झुठो हो भन्ने लागि सकेको रहेछ । युवराजले सानो स्वर गरेर नरम तरिकाले “सम्पादक ज्यू तपाईंले भनेको समाचार काल्पनिक नै हो । किन भने अहिले केही जिल्लामा एमाले र जनमोर्चा मिलेर चुनाव लड्दै छन् । झगडा गर्ने कुनै सम्भावना छैन । तसर्थ भखर उच्चाइ लिदै गरेको पत्रिकामा यस्तो समाचार नहालौ” भन्नू भयो ।

” समाचार त जानै पर्छ” भन्दै सम्पादकले आफ्नो खल्तीबाट कागजको एउटा सानो टुक्रा निकाल्नु भयो । युवराज जी र मैले हेर्दा त्यसमा सनसनी फैलाउने टिपोट बाहेक खास केही लेखिएको पाएनौं । लेखिएको थियो – काभ्रेपलान्चोक जिल्लाको एक खोल्सााको नाम, एउटा गाउँको नाम, कमान सिंह लामा, चुनाव प्रचारको सिलसिलामा त्यही गाउँ जादै गरेका बखत, एमाले कार्यकर्ताले कमानलाई मारेर त्यही खोल्सामा फालेर हिडे । लास घोप्टिएको अवस्था, आधा पानीमा डुबेको छ । त्यो चिर्कटोमा लेखिएको अक्षर हाम्रै सम्पादक योगेश जीको थियोे । मैले छिटो बोल्ने बानी अनुसार फ्याट्ट भने – खोल्साको पानीले हाम्रो सम्पादकलाई गर्नु गर्यो । अहिलेसम्म कहाँ बसेर आउनु भयो सर !

मेरो सोधाइले सम्पादक जीको पारो उ …पल्लो छेउ पुग्यो भने मादक पदार्थको पारोले उहाँलाई लडाउन खोज्दै थियो । तर, उहाँले युवराज जीको भनाइलाई हार्दिकता पूर्वक सुन्नु भयो । सम्पादकले भनेको समाचार लेखिसकेपछि युवराज गौतमले त्यही समाचार लेखिएको कागजको पछाडि पट्टि “यो समाचार कपोलकल्पित, भ्रामक र पीत पत्रकारिताको चरमोत्कर्षको नमुना भए पनि छाप्नै पर्ने बाध्यता भएकोले छापियो । सम्पादक – योगेश उपाध्याय” भनेर लेख्नु भयो । त्यसमा “ओ के” भन्दै सम्पादक ज्यूले  मितिसमेत  लेखेर सही गरिदिनु भयो । त्यहाँ निकैबेर हामीबीच  वादविवाद पनि भयो ।  समाचार अर्को कागजमा सारेर गौतम जीले टाइप गर्नेलाई दिनु भयो र सम्पादकले सही गरेको कागज भने जतन साथ आफ्नोे गोजीमा राख्नु भयो ।

मलाई लाग्छ योगेश उपाध्यायले सही गर्नु भएको उक्त कागज अहिले पनि युवराज जीसँग सुरक्षित हुन सक्छ । तर, समाचार भने छापियो । त्यसको भोलिपल्ट १० बजेतिर भने एमाले नेता प्रदीप नेपालको टोली कान्तिपुरको कार्यालयमा आएर कमान सिंह लामाको लास भएको ठाउँ र लाश देखाउन जोड गर्न थाले छ । अब परेन आपत ! यता काठमाडौंमा कमान सिंहलाई मारेको खबरले उच्च चर्चा पाइरहेको बेला उता काभ्रेमा कमान सिंह लामा आफ्नो चुनावी कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । त्यो दिन कान्तिपुर केही हजार कपी बढी छापेर पर्सिपल्ट चितवन पठाइए छन् ।

त्यो समयसम्म नेपालमा मोबाइल फोन भित्रिएको थिएन र ल्याण्डलाईन फोन पनि कतै कतै मात्र उपलब्ध थियोे । अर्थात समाचारको सत्यता  बुझ्ने काम हुने नै भए पनि ५/७ दिन सजिलै लाग्थ्यो । मध्यावधि निर्वाचनमा चितवन जिलामा एमाले र जनमोर्चा मिलेर उठेका थिए । छ्यापछ्याप्ति भएको समाचार पढीसके पछि चितवनका एमाले र जनमोर्चा बीच हानाहान सुरु भए छ । यसरी कान्तिपुरले पित पत्रकारिताको सुरुवात गरेको थियोे ।

नेपालीहरू छिट्टै बिर्सने बानीबाट ग्रस्त छन् । र, म पनि त्यही बानीलाई निरन्तरता दिने वर्ग भित्रै पर्छु । तथापि मलाई थाहा भए अनुसार  त्यो मध्यावधि निर्वाचनमा चितवनका चार सिट मध्य दुईवटा नेकपा एमाले र दुईवटा नेपाली काङ्ग्रेसका उमेदवारले जिते । काभ्रेमा पनि कमान सिंहले जित्नु भएन । चितवनमा एमालेका जागृतप्रसाद भेटवाल र काशीनाथ अधिकारी साथै काङ्ग्रेसका तीर्थराज भुसालले जित्नु भयो । उता काभ्रेमा तीनवटै क्षेत्र एमालेले जित्यो । जित्नेमा शिवबहादुर देउजा, केशवप्रसाद बडाल र गोविन्दनाथ उप्रेती हुनुहुन्थ्यो ।

कान्तिपुरको काल्पनिक समाचारले नेपाली काङ्ग्रेसलाई फाइदा पुरायो वा बेफाइदा त्यो ज्ञवाली र उपाध्याय सरहरूलाई नै थाहा भयो  होला हामीलाई भने थाहा भएन । चुनावपछि नेकपा एमाले सबैभन्दा ठूलो पार्टीको रुपमा देखा परो र  सरकारसमेत गठन गर्यो । धेरैलाई थाहा नहुन सक्छ कान्तिपुर पत्रकारले चलाएको पत्रिका होइन  मालिहरूले चलाएको पत्रिका हो  । त्यसैले यो पत्रिका कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन । चाहे सुन काण्ड होस् चाहे नुन काण्ड, चाहे कामान सिंह लामा काण्ड होस् चाहे रस्सेन्द्र भट्टराई काण्ड होस । चाहे अनुजा काण्ड होस् , चाहे धमिजा काण्ड होस् । कान्तिपुर आफ्नो फाइदा बाहेक समाचारको सत्य तत्थ्यतिर हेर्न चाहदैन र त्यस्तोमा रुचि पनि राख्दैन ।

समय अनुसार मेरो पत्रकारिताको परिधि जति फराकिलो  हुनुपर्ने हो त्यति फराकिलो छैन । तथापि तत्थ्यहिन समाचारले थिचेर म धेरै पटक छटपटाएको छु । जस्तो कि पानी ट्याङकीमा इश्वर पोखरेलले पैसा राखेको भन्ने कपोलकल्पि समाचारले फैलाएको भ्रम र पुराएको क्षति । यो समाचार लेख्ने, लेखाउने र छाप्ने काम कसरी भयो भन्ने बारेमा केही समय पछि लेख्ने छु । साथै मैले भोगेका अन्य काल्पनिक समाचार कसरी बने र छापिए त्यो पनि पछि  लेख्ने छु । अहिलेलाई भने यति नै ।

Facebook Comments