परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सञ्चार माध्यममा गोविन्द पोखरेलहरूको मिसावट!

केही वर्ष अघिसम्म पत्रपत्रिकामा लेख लेख्दा लेखकको फोटो छाप्ने चलन थिएन । स्टिल फोटो धुलाई गर्न र पत्रिकामा पेस्ट गर्ने कार्य झन्झटिलो भएकैले होला फोटो नछापेको । यसो नहुन पनि सक्छ तर मलाई भने यस्तै लाग्छ । अब विषयवस्तुतिर प्रवेश गरौँ – एकपटक म नेपाल वातावरण पत्रकार समुहको कार्यक्रममा उपस्थित भएको थिए । त्यहाँ मञ्चमा मलाई बोलावट भयो । म मञ्चमा नगई बसेको कुर्सीबाट उठेर सबैलाई अभिवादन गर्दै त्यही कुर्सीमा बसे । मेरो छेउमा बस्नु भएको व्यक्तिले मलाई निकैबेर हेर्नु भयो र अभिवादन गर्नु भयो । मैले उहाँलाई चिनेको थिइन । उहाँले “मेरो नाम गोविन्द पोखरेल हो” भन्नू भयो । मैले ठट्यौली पाराले “तपाईंले आफ्नो नाम भन्नू भएको कि मेरो नाम” भनेर सोधेँ । उहाँले पनि हँसिलो अनुहार लगाएर ” हामी दुवैको नाम” भन्नू भयो ।

कार्यक्रमको समाप्ति पछि चियापानको कार्यक्रम थियो । हामी आआफ्नो चिया बोकेर सुरुप्प पार्दै गफिन थाल्यौं । मिठो शैलीमा बोल्ने उहाँ हुनुहुँदो रहेछ प्रोफेसर डाक्टर गोविन्द राज पोखरेल । अहिले उहाँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।त्यसबेला उहाँले “तपाईंका लेखहरू छापिई रहन्छन् , म बधाई खाइरहन्छु” भन्नू भयो । त्यसताका मोबाइल फोन थिएन । हामीले आआफ्नो ल्याण्डलाईन फोन नम्बर साटासाट गर्यौ । यसपछि हामी बीच भेटघाट बाक्लिदै गयो र फ‍ोनमा पनि वार्ता हुन थाल्यो । उहाँ पश्चिम प्युठानको मान्छे म पूर्व संखुवासभाको । तथापि हामी दुई दाजुभाइ जस्तै भयौ र अहिले हामीले एकअर्कालाई दाजुभाइ नै ठान्छौ ।

मानव जीवन सधैं एकनासले गतिशील हुदैन । अप्ठ्यारो सप्ठ्यारो, रोदन हाँसो मानव जीवनका भोगाइमा आइलाग्ने सामान्य घटना हुन । यसलाई अन्यथा रुपमा व्याख्या गर्न जरुरी छैन भन्छु म । यसो भन्नुको कारण केभने यो पंक्तिकार गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्ति भएकै समयमा प्रा. डा. गोविन्द राज पोखरेलको पिताको देहावसान भयो । मलाई बधाईको फोन आउने क्रम रोकिएकै थिएन आइरहेकै थियो एक्कासी त्यो क्रम रोकिएर धमाधम समवेदनाको फोन र मेसेज आउन थाल्यो । अनि सामाजिक सञ्जाल हेर्न थाले त्यहाँ गोरखापत्र संस्थानको अध्यक्ष भएकोमा धेरै जसोले मलाई र थोरै जसोले गोविन्द राज पोखरेललाई बधाई दिएका थिए ।

सायद त्यसको एक दिनपछि होला डाक्टर गोविन्दको फोटो राखेर सामाजिक सञ्जालमा बधाई दिनेको लर्को लागेको थियोे । यता मलाई भने लेण्डलाईनमा एउटा नराम्रो फोन आयो । फोन गर्ने महिलाले – मसँग तिम्रो फोन रहेनछ । एकजना छिमेकीले बल्लबल्ल उपलब्ध गराइदिएकाले अहिले बोल्न पाए भन्दै ती महिला रुन थाल्नु भयो । उहाँ रुन थालेपछि मात्र मैले यो फोन मलाई होइन डाक्टर गोविन्दलाई गरेको हो भन्ने बुझे । नरुनु होस् जे हुनु भइ गयो । अब बुबा फर्कनु हुन्न भन्दै दिदीलाई सम्झाएँ । र उहाँ रुन छाडेपछि म तपाईंले फोन गरेको गोविन्द होइन म उहाँको साथी हो भनेर डाक्टरको नम्बर दिए ।

अब मलाई “डाक्टर पोखरेललाई कस्तो बितीरहेको होला” भनेर मन पोल्न थाल्यो । त्यो दिन मेरो घर ढलान हुदै थियो । तथापि मेरो मन मानेन । घरको ढलान सलान हुदै गर्छ भन्दै म लागे पशुपतितिर । डाक्टर पोखरेलले आफ्नो पिताजीको १३ दिनसम्मको पुन्य कर्म पशुपति क्रियापुत्री भवनमै गर्ने भए अरे भनेर मलाई सुनाइ सकेका थिए । म सरासर गए र प्रा. डा. गोविन्द पोखरेललाई भेटें । उहाँले भावविह्वल हुदै बुबा बित्नु हुदाको पीडा सुनाउनु भयो । डाक्टरले “आफूले त्यो दिन बुबालाई छाड्नु नै ठूलो भुल भयो” भनेर सुनाउनु भयो ।

यसपछि डाक्टर पोखरेलले सामाजिक सञ्जालले दिएको मार्मिक पीडा सुनाउनु भयो । जो मैलेसमेत अनुभव गरे । हाम्रो नाम एउटै हुनुको कारण दुवैले कहिले खुशी र कहिले दुखी हुने क्रम जारी नै रहने भयो भन्ने निचोड निकाल्दै त्यो दिन आफ्ना “दुख” वार्ता टुंग्यायौ । साँच्चै हाम्रो एउटै नाम- थरले गर्दा पत्रकार मित्रहरूसमेत भ्रमित बन्नु हुन्छ । हालसालै पनि एउटा राम्रै अनलाइन पोर्टलले प्रा. डा . गोविन्द राज पोखरेलको अन्तर्वार्ता छाप्यो । उहाले निकै राम्रो अन्तर्वार्ता दिनु भएको रहेछ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्द राज पोखरेलको अन्तर्वार्तामा दुईवटा तस्बिर राखेर छापेको रहेछ । तर, नहुनु पर्ने के भयो भने दुवै तस्बिर यश पंक्तिकारको छापिएछ ।

त्यस दिन म घरमै बसेर लेखाइ पढाइ गर्दै थिएँ । दिउँसो पत्रकार भुपराज खड्काले फोन गरेर ठट्टा गर्दै “कहिले देखि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर केन्द्रीय सदस्य बनेको हौ सर” भन्नू भयो । मैले कुरा नबुझे पछि “डाक्टरको अन्तर्वार्तामा तपाईंको फोटो हालेर एउटा अनलाइनले छापेछ मैले लिङ्क पठाई दिएको छु” भन्नू भयो । म लिङ्क हेर्न थाले । यता पत्रकार मित्रहरूको फोन आउने क्रम सुचारु भयो । दिनभर म फोन उठाउनमै व्यस्त भए । साँझको ७ बजेपछि होला डाक्टर पोखरेलले फोन गरेर “बधाई है दाइ फोटो छापिएकोमा” भन्नू भयो । मैले पनि “तपाईंलाई पनि बधाई है डाक्टर साब राम्रो अन्तर्वार्ता दिनु भएकोमा” भने । हामी दुवै एक्छिन हास्यौ ।

मैले “यो छाप्ने पत्रकारलाई बधाई दिउ हैनर डाक्टर साब” भने । उहाँले तपाईं नै निर्णय गर्नु है दाइ भन्नू भयो । हामीले केही नभन्नु नै पत्रकारलाई बधाई दिए सरह हुने भन्ने खालको मन भित्रै निर्णय गर्यौ । मैले दिन भरी पत्रकारहरूको फोन आएको र जवाफ दिएको कुरा सुनाए । अनि डाक्टर पोखरेलले “फोटो तपाईंको जस्तो छैन” भन्नेहरूलाई के जवाफ दिनु भयो होला भने सोच्न थाले । उहाँले पनि मलाई मेरो फोटो छापिएको आफ्नै अन्तर्वार्ताको लिङ्क पठाइ दिनु भएको रहेछ । अहिले पनि त्यो लिङ्क मसँग सुरक्षित छ । निकै वर्ष अघि सायद २०४७ सालको अन्त्य वा २०४८ सालको सुरुतिरै हुपर्छ म संखुवासभा तुम्लिङटार घर गएको थिए । त्यसताका संखुवासभामा मोटर बाटो पुगेको थिएन । सामान ढुवानी वा वस्तु ओसारपसार मानिसले नै गर्नु पर्थ्यो । म काठमाडौंबाट दुई दिन अघि मात्र घर पुगेको थिए ।

राति सबै सुतेपछि बाहिर आँगनमा हल्लखल्ल सुरु भयो । भएको के रहेछ भने अलि तल एयपोर्टमा पसल (दोकान) राख्न पारि भोजपुर दिङ्गलातिरबाट गोविन्द पोखरेल आउनु भएको रहेछ । उहाँकै पसलको सामान लिए भरिया दाइहरू गोविन्द पोखरेलको घर खोज्दै मेरो घरमा पुग्नु भएको रहेछ । एउटै नामको कारणले पार्ने प्रभावका बारेमा मैले पहिलो अनुभव यही नै गरेको थिए ।

अब कुरा गरौं पछि थपिनु भएको पत्रकार भाइ गोविन्दप्रसाद पोखरेलको । गोविन्दप्रसाद पोखरेल केही दिन अघिसम्म कान्तिपुर दैनिकमा काम गर्दै हुनुहुन्थ्यो । अहिले भनेराष्ट्रिय प्रकृति संरक्षण कोषमा नाम निकालेर काम गर्न थाल्नु भए छ । प्रकृति, वातावरण, जलवायु परिवर्तन, सम्पदालगायतका पिषयमा विज्ञानसम्मत ढंगले कलम चलाउने गोविन्दप्रसाद पोखरेललाई पनि नामको कारणले कहिले सहज र कहिले असहज अवस्था भोग्नु परेको छ । गोविन्दप्रसादले एक दिन बिहान काठमाडौं पशुपतिमा यश पंक्तिकारलाई भेटेर नामको कारणले आफूले कहिले खुसी र कहिले दुख व्यहोर्नुपरेको कुरा सुनाउनु भयो ।

मैले आफूलाई पनि नाम जुधेकै कारणले धेरै फोन आउने गरेको र ती फोन धेरै जसो प्रा. डा. गोविन्द राज पोखरेलको र केही तपाईंको पनि हुने गरेको भनेर सुनाए । मेरो अनुभवमा नामको कारणले धेरै जसो पत्रकार मित्रहरू झुक्किने गर्नु भएको छ । एक वर्ष अघिसम्म रेडियो नेपालबाट “नेपालको आर्थिक अवस्था वारे अन्तर्वार्ता लागि अनुरोध” फोन आउथ्यो । अनि म सोध्न बाध्य हुन्थे “तपाईंले खोज्नु भएको कुन गोविन्द पोखरेललाई” भनेर । त्यो फोन योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द राज पोखरेलको हो भनेर मैले बुझ्न थालेको थिएँ । गोविन्दप्रसाद पोखरेलको फोन भने तालिम अथवा जलवायु परिवर्तन, वातावरण, वन, वनस्पति, सम्पदा संरक्षण र जंगली जनावर सम्बन्धि पत्रकार सम्मेलन अथवा छलफल सम्बन्धि हुन्थे ।

गोविन्दप्रसादकै बारेमा कुरा गर्दा पछिल्लो पटक उहाँलाई मैले लेखेको एउटा लेखले अलि अप्ठ्यारो पारेछ । उहाँले भने अनुसार २०८० साल कार्तिक १० गते शुक्रबार परिसम्बाद डट कममा मेरो लेख छापिएको थियोे । त्यो लेखको शीर्षक “कान्तिपुरमा झूठो समाचारको थालनी किन र कहिले सुरु भयो” भन्ने थियो । गोविन्दप्रसाद पोखरेलका अनुसार त्यस्तो लेख नलेखेको भए हुने थियोे भनेर धेरैल सहानुभूति जनाए अरे । कतिपयले राम्रो लेख पढ्न पाइयो भनेर प्रशंसा र कतिपयले धम्की मिश्रित फोन पनि गरे अरे । यही लेखले गर्दा गोविन्दप्रसाद पोखरेल र गोविन्द पोखरेलको भने भेट पनि भयो ।

मलाई एक दिन नेपाल वातावरण पत्रकार समूहबाट फोन आयो । मैले फोन उठाएपछि उताबाट बोल्ने महिलाले “गोविन्द पोखरेल सर हो” भन्नू भयो । मैले “हो” भने । उहाँले आफू नेफेजबाट बोलेको, तपाईं तालिममा कतिखेर आइपुग्ने सर भनेर सोध्नुभयो । मैले कसले दिने तालिम, कतिजना र कोको आउने भने । त्यसपछि फोन गर्ने महिला एकछिन अलमलिनु भयो । र, फेरि गोविन्द पोखरेल सर होइनर भन्नू भयो । अनि आफू नेवापसका धेरै जसोलाई चिन्छु । मैले त्यहाँ दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल बोर्ड सदस्य भएर बिताएको सुनाए । त्यसपछि फोन गर्ने महिलाले “सरी सर ! मैले कान्तिपुरमा काम गर्ने गोविन्दप्रसाद पोखरेललाई खोजेको” भनेर फोन राख्नु भयो ।

नेपालमा “कमन” नाम धेरै छन् र धेरैको नाम थर जुधेको छ । जस्तै – राम, श्याम, कृष्ण, गोपाल, गोविन्द, बलराम, घनश्याम, सूर्य, माधव, जीवन, गणेश, शिव आदि । यिनै नाम र थर मिलेका कारण कतिलाई फाइदा पुगेको छ भने कतिलाई बेफाइदा पनि भएको छ । आजलाई यति नै अर्को लेख मार्फत फेरि भेटौंला ।

Facebook Comments