परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो गठबन्धन जुगजुगसम्म, लौजा त !

फुटानी

ठोस निर्णयपछि हाम्रो पार्टी माओवादी केन्द्र फेरि क्रान्तिकारी पार्टी बन्ने भो । क्रान्ति भनेको चानचुने कुरा होइन ! त्यो पनि गहन छलफल पछि, निर्मम तरिकाले गरिएको विश्लेषणबाट निःसृत, प्रतिगमनकारी देशी–विदेशी शक्तिबाट जोगिएका कार्यकर्ताको भावना अनुरुप फेरि शक्तिशाली पार्टी बन्ने घोषणा हुने भो । फेरि नेपालमा क्रान्तिकारी कम्युनिष्ट पार्टी जन्मिने भो भनेर हाम्रा विरोधीहरू आत्तिएका छन् । हाम्रो माधव काम्रेडलाई देख्दा डरले आत्तिएर सातो जाने ओलीको अब क्रान्तिकारी पार्टी नै घोषणा हुँदा कुन गति हुने हो हाम्रो सदावहार अध्यक्ष काम्रेडले अलि दिनपछि सगर्व सुनाउनु हुनेछ ।

नमस्कार है काका ! काकी कता गइन ? एक्लै धुमधुम्ती बसेर चिया सुर्काउँदै छौ त ! अनि विध्वंसे काका ! पार्टीको राष्ट्रिय भेला काठमाडौंमा हुँदै छ अरे तिमी त गएनछौ । बोलाएनन् कि क्या हो ? भुमिगत कालमा जस्तै क्रान्तिकारी पार्टी बनाउने अरे । फेरि हाम्रो देउवा दाइले टाउकाको मुल्य तोक्ने दिन आम्छ कि…!

निहुँ खोज्ने कुरो नगर भिरघरे ! आफ्नै सगोत्रीप्रति नेपाली कांग्रेसले दुर्भावना राख्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । तिमार्को कांग्रेस र हाम्रो माओवादी सप्पै चुनाप एक भएर लड्ने कुरा ‘डिक्लिएर’ भै सकेको छ । एमसिसीले पनि हाम्रो यो गठबन्धन टुटाउन सक्तैन भनेर हाम्रो काम्रेडले ठोकुवा गरी सके । तँ कांग्रेस भएर पनि गठबन्धन टुटाउने कुरा गर्छस् । अब कांग्रेस र हामी मिलेर कम्युनिष्टहर्ले सोचेको क्रान्ति सफल पार्नु पर्छ । प्रचण्ड पथ अंगालेपछि तिमार्का विपीको सपना र हाम्रो पार्टीको लक्ष एक्कै पटक पुरा हुन्छ ।

हुन त हो नि काका ! तर, हाम्रा उपसभापति, महामन्त्री, सहमहामन्त्री र नवनिर्वाचित सदस्यहरूले समेत राष्ट्रियसभाको निर्वाचन बाहेक अन्य चुनाप नेपाली कांग्रेस एक्लै लड्छ भनेर घोषणा गरी सके । वामेहर्लाई समाप्त पार्ने बेला यही हो भनेर कांग्रेसका कार्यकर्ता पनि चुनापमा एक्लै लड्ने भनेर अगाडि बढी सके । यस्तो अवस्थामा प्रचण्ड, माधव, बाबुराम, झलनाथहर्लाई हाम्रो कांग्रेसले साथ दिन्छ भनेर कल्पना नगरे पनि हुन्छ ।

त्यसोभए चुनाप–सुनाप गर्नै पर्दैन । थपक्क ओलीलाई बुझाई दिएर हिडे हुन्छ । ओली जिल्ला–जिल्ला पुगेर सप्पै पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउँदै छन् । फटाहाहरू प्रवेश गरे भनेर मुखले भन्नु एउटा कुरो हो, तर ओली ‘क्रेज’ राष्ट्रव्यापी छ । एमालेको सङ्गठन दह्रो छ, कार्यकर्ता पंक्ति संयमित र सुदृढ छ, उनारूसँग जबज, सूर्य चिन्ह र व्यवस्थित संरचना छ । यो सबै भएपछि चुनावी राजनीतिमा होमिएका नेता, कार्यकर्ता र साधारण जनताले दाम्लो छिनालेर उतै जान बल गर्नु अस्वाभाविक होइन ।

आखिर सबैले सहज अवस्था नै मनपराउछन् । राम्रो, असल र भर पर्दो खोज्छन् । स्वभाविक हो काका ! एमालेमा अहिले आकर्षण छ । यो तिम्रा नेताहर्लाई पनि थाहा छ । यसै कारणले होला प्रचण्ड र माधव भरसक स्थानीय तहको निर्वाचन नगर्ने, छ महिनापछि धकेल्ने, त्यस बीचमा स्थानीय तहको काम गर्नका लागिआफ्ना कार्यकर्ताको स्थानीय समिति बनाएर पार्टीको स्थिति दह्रो बनाउने भन्ने ध्याउन्नमा लागेका छन् । हाम्रो देउवा दाइ समयमै चुनाप गराउने पक्षमा छन् ।

देउवाले मात्र भनेर हुनेहो र भिरघरे ! देउवालाई हाम्रो प्रचण्डले प्रधानमन्त्री बनाको । त्यसको गुन तिर्नु पर्दैन ? ओलीलाई प्रतिगामीको आरोप लगाउने, न्यायाधीशहर्लाई मिलाउने, आफूले भनेजस्तै फैसला लेख्न लगाउने, एमाले छाडेर आउन माधवहर्लाई तयार गर्ने सप्पै काम हाम्रो प्रचण्ड काम्रेडले गरेपछि प्रचण्डले जे भन्छन् देउवाले मान्नुपर्छ । होइन भने नेपाली कांग्रेसको नामोनिशाना मेटाउन हामी लाग्छौ । चुनाप सुनाप भत्काई दिन्छौ । २०७९ साल बैशाख १४ गते स्थानीय तहको चुनाप गर्ने अरे । त्यस्ता धम्की हामीलाई नदिए हुन्छ । जबसम्म हाम्रो र माधव काम्रेडको पार्टीले स्थानीय तहको निर्वाचन जित्ने अबस्था बन्दैन, तबसम्म चुनाप हुँदैन । यदि स्थानीय चुनापमा गठबन्धन नटुटाई हामीसँगै कांग्रेस हिड्छ भने ओके छ ।

के हावाको कुरा गर्छौ काका ! ओलीसँग डराएर चुनापै नगर्ने पनि हुन्छ ? जनताले एमालेलाई नै पत्याएर सूर्य चिन्हमा भोट हाल्छन् भने कसको के लाग्छ ! हाम्रो कांग्रेस आफू एक्लै चुनापमा जान्छ । चुनापबाटै सबैभन्दा ठूलो पार्टी बनेर जनताको सेवा गर्छ । गठबन्धन टुटोस, फुटोस, सकिओस हामीलाई १२ हातको टाँगाले नि छुँदैन । वामपन्थीहरू छिन्नभिन्न भाको बेला वामपन्थीलाई नै बोकेर कांग्रेस हिडनेवाला छैन । हामीलाई राम्ररी थाहा छ– मौका आउँछ पर्खिदैन । त्यस कारण तिमार्ले आफ्नो झोलितुम्बा, चिम्टाझ्याम्टा बोके हुन्छ ।

गठबन्धन तोड्ने कुरो नगर भिरघरे ! मेरो कन्सिरी तातेर आम्छ । गठबन्धन नहुने र एक्ला एक्लै चुनापमा जाने हो भने एमालेले सप्पैलाई धुलो चटाउँछ ।

हैन ! अस्तिमात्र तिम्रो नेताले– ओली जिल्ला जिल्ला गएर सिला खोजेर हिड्दै छन् । हाम्रोमा भने पार्टीहरू नै गुटुङटुङ प्रवेश गर्दैछन् । आउने चुनापमा ओलीको पार्टीले धुलो चाट्छ भनेर बडो धाक दिएर भाषन गर्दै थिए त । भित्र भित्र डरले थर्कमान, बाहिर बाहिर सनक्क सर्कमान । लु म चाहिँ तिम्रा गफ सुन्दिन । लागे उभिण्डेतिर !

जै नेपाल !

Facebook Comments