परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पुरानालाई पराइ बनाउने अहिलेको पृथ्वीनगर

चलनचल्तीको ठेगाना झापा, पृथ्वीनगर । धुले सडक, अब टल्कने कालो पत्रे भएको छ । कालो पत्रे सडकमा पहिला धुली मण्डल उडाउदै, कन्दै कुद्ने सवारी साधन, अहिले आएको र गएको थाह हुँदैन । यस्तो बाटो गाउँ गाउँ पुगेको छ ।

यस पटक देखेँ, पहिला गाईवस्तु सोझै कक्षाकोठामा प्रवेश दिलाउने ऊ अग्लो अग्लो पर्खालले घेरिएको रहेछ। पर्खाल भित्र ठुलठुला पक्की विल्डिङहरु छन्। मलाई भित्र छिर्ने आँट समेत आएन । किनभने, मेरो मानस पटलमा त अझै उही खुल्ला आकाशमा थोरै ठाउँ ओगटेर फैलन सकेको विशाल हिमाली स्कुल नै छ। जहाँको बाटो भएर वटुवा पनि हिड्थे अनि गाईवस्तु चराउनेहरु पनि ओहोरदोहोर गर्थे।

सडकमा विजुलीका खम्बा घर घर अगाडि उभिएका । घामसितै उदाउने र अस्ताउने गाउँहरु रात परेपछि पनि झिलिमिलि उज्यालो हुन्छ । आक्कल झुक्कल पुराना पुस्ताकाहरु साईकल घिसार्दै गरेको देखिन्छन्, नत्र सबैजसो मोटरसाईकलको कान निमोठदै गरेको भेटिन्छन् ।

फुसका घरहरु टिनमा फेरिए, अब त चारैतिर पक्की घरहरु देखिन थालेको छ । कतै बन्दै गरेको भेटिन्छ, कतै बनिसकेर ठडिएको छ ।

स्कुल जाने नानीहरु लिन घर घरमा स्कुल बस आउन थालेको छ । विजुली आएपछि, सडक मात्रै होइन, घरभित्रका कुनाकाप्चा पनि उज्यालो भएका छन् ।

अब, ‘बारे’ (आइतबारे, सोमबारे जस्ता बजार लाग्ने दिन) वा ठाउँ विशेषका हटिया (बजार) हरुको मतलव छैन यहाँका बासिन्दालाई । किनभने उनीहरु त नगरवासी भईसकेका छन् । झापा जिल्लाको पृथ्वीनगर गाविस अब भद्रपुर नगरपालिका भईसकेको छ ।

अन्न फल्ने जमिनहरु टुक्रा टुक्रामा काटिन थालेका छन् । अर्थात, प्लटिङ शुरु भइसकेको छ । जग्गा दलालहरु रगरगी सक्रिय भेटिन्छन् ।

मैले सानोमा देखेको, भोगेको, व्योहरेको पृथ्वीनगर अब छैन । उ आधुनिक, एक्लो र स्वतन्त्र भइसकेको छ । नहोस् पनि कसरी, त्यहाँ अब शहर पसिसकेको छ ।

विगत तीन महिनामा म पटक पटक त्यहाँ पुगेँ । र, जति पटक पुगँे आफुलाई झन झन नौलो महशुस गरेँ । एक्लो फेला पारेँ । नितान्त एकान्तमा पाएँ । त्यसैले अलिअलि मन अमिलो पनि भयो ।

तर, समग्रमा मनमनै भने खुसी नै भएँ । म घुमन्ते मान्छे, यस्तो परिवर्तन देशभर देखेको छु । हिमालमा देखेको छु । जहाँ म पहिलो चोटी जाँदा कि त १५–२० दिन हिड्नु पथ्र्यो, नत्र जहाज नचडी उपाय थिएन । जहाज चढन पनि कतिपय मुख्य शहरमा त मैले कयौं दिन कुरेको छु । अहिले त्यहाँका बासिन्दा भेट्दा, आफ्नो आँगनमै गाडी पुग्ने सुनाउछन् । त्यस्तै कैयन पहाडी भुभाग छिचोलेको छु, एक्लो हिडेरै । बास बस्ने ठाउँ नपाएर दुखी रात बिताएको छु । जहाँ अब हरेक १०–१५ किलोमिटरमा एउटा बजार भेटिन्छ, होटल भेटिन्छ । पश्चिम तराईका कति ठाउँ हिडेरै यात्रा गरेको छु । ती ठाउँहरु पनि नगर भइसकेका छन् ।

मेरो आफ्नो पृथ्वीनगर पुग्न पनि मलाई शहर भद्रपुरबाट हिड्नै पथ्र्यो । देउनीया खोलामा पुल थिएन । खोला तर्न सास्ती थियो । सगरमाथा डाँडा पुग्नु अघिको उकालो चढ्दा साच्चै सगरमाथा चढे झै हुन्थ्यो ।

मलाई याद छ, सानो छँदा बा–आमाले मलाई पृथ्वीनगरसित छुट्याई दिएका थिए । छोराको भविष्य सुध्रोस् । अंग्रेजी वोल्ने होस् भनेर । म काठमाडौंको एउटा वोर्डिङ स्कुलमा ‘वोर्डस्’ भएको थिएँ । छुट्टीमा घर आउँदा, एयरपोर्टमा आमा गोरु गाडा लिएर आउनु हुन्थ्यो । अनि एक घन्टा भन्दा कममा काठमाडौंबाट भद्रपुर पुगेको म, दिनभर लगाएर मेरो गाउँ पुग्थेँ । अहिले गाडीमा चढेपछि कतिखेर गाउँ पुगियो चाल पाइदैन । यसपटक म धेरैजसो धरानबाट निजी गाडीमा गाउँ गएँ । दुई तिन घन्टाको यात्रामा पुगेँ । जुन कुनैबेला असम्भव थियो ।

मैले कामको सिलसिलामा हिडेका, पुगेका, देखेका त्यस्ता विकट ठाउँहरु त सुगम भइसके भने पृथ्वीनगर चैं मेरो घडीको सुईमा किन ट्याक्क अडिरहनु पर्यो त ।

हिजोआज गाउँका घर घरमा ईन्टरनेट जोडिएको रहेछ । कसैलाई कसैसित बोलभेट गर्न फुर्सद छैन । सबै च्याटिङ, फेसबुकमा हराएका छन् । मानौं समाजिकीकरण त्यसरी नै भइरहेछ । गाँउमा यसबाट लिनुपर्ने असंख्य लाभबारे ज्ञानको अभाव नै छ । खासगरेर खेतीकिसानीमा लिन सकिने फाईदा अनि स्कुले केटाकेटीले लिन सक्ने ज्ञानबारे उनीहरु अनिभज्ञ छन् ।

सबै हुँदैछ । तर कुरा यति हो । परिवर्तन व्यवस्थित हुन सकोस् । दिगो हुन सकोस् । पाच्य हुन सकोस् । भौतिक संरचनामा मात्रै होइन, मानिसको सोचमा, चेतनामा, बौद्धिकतामा परिवर्तनको रङ्ग देख्न पाईयोस् । बस् ।

मेरा बुबा आमाले भगिरथ प्रयास गरेर शुरु भएको हिमाली स्कुल, अब उच्च माध्यमिक विद्यालय भइसकेको छ । गाउँको दलानबाट मेरा बाले देख्नु भएको सपना, अलिक पर फुस्रे डाँडामा गएर फुसकै सानो पाठशालामा टङ्ंगिएको थियो । जहाँ मेरी आमाले लामो समय सेवा गर्नुभयो । त्यही स्कुलले यो वर्ष आफ्नो पचास वर्ष पार गर्दैछ । स्वर्ण जयन्ती मनाउँदै छ ।

यस पटक देखेँ, पहिला गाईवस्तु सोझै कक्षाकोठामा प्रवेश दिलाउने ऊ अग्लो अग्लो पर्खालले घेरिएको रहेछ । पर्खाल भित्र ठुलठुला पक्की विल्डिङहरु छन् । मलाई भित्र छिर्ने आँट समेत आएन । किनभने, मेरो मानस पटलमा त अझै उही खुल्ला आकाशमा थोरै ठाउँ ओगटेर फैलन सकेको विशाल हिमाली स्कुल नै छ । जहाँको बाटो भएर वटुवा पनि हिड्थे अनि गाईवस्तु चराउनेहरु पनि ओहोरदोहोर गर्थे ।

तर एउटा कुरा चाहिँ खल्लो लाग्यो । स्वास्थ सेवाको सुविधाका लागि यत्रो घना बस्ती भएको यो भेगले केही गरेको रहेनछ । रुघाखोकी र समान्य ज्वरोको औषधी भन्न सक्ने कम्पाउण्डर भन्दा माथिको सेवा पाउन नसकिने रहेछ । हुनत, मेरो मामा सन् १९७० को दशकमै डाक्टर भईसकेका हुन। भाइहरु पनि डाक्टर छन् । तर उनीहरुले गाउँ सोचे जस्तो लागेन ।

यसपाला, बिहानको रिमरिममा टहल्दै गर्दा मलाई एक नवपृथ्वीनगरवासीले यस भेगका बारेमा लामो बखान सुनाए । यस भेगका बारेमा उनले सुनाएको वर्णन, म लेख्न सक्दिन । किनभने त्यो अर्कै पृथ्वीनगर थियो । जसको इतिहास उनले रचेका थिए । जसको भुगोल पनि उनैले कोरेका थिए । छुट्टीने बेला उनले सोधे ‘तपाईलाई नौलो देखेँ, कति दिन भयो यतातिर ?’ म निशब्द भएँ । अर्थात म पुरानो पृथ्वीनगर बोकेर हिड्नेका लागि अब सबथोक साच्चै नौलो भएछ । अहिलेको नयाँ पृथ्वीनगर यस्तै भएको छ ।

(नोट : लेखकले झण्डै पचास वर्ष अघिको पृथ्वीनगरमा पुनर्वास कार्यक्रम लाग्दाताकाको आफ्नो बाल्यकाल स्मरण ‘पुनर्वासको हिमाली बस्ती’ परिसंवाद डट कममा लेखिसक्नु भएको छ– सम्पादक)

Facebook Comments