परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा दाइका स्वाँगेभाइ सांसदहरु !

फुटानी

देखिस् भिरघरे हाम्रो प्रचण्डको करामत ! घुमाई फिराई देउवालाई प्रधानमन्त्री बनाई छाडे । माधव खेमालाई मदारीले बाँदर नचाए जस्तो ‘नाचो बन्दरु नाचो’ भन्दै एमालेबाट ल्याएरै छाडे । र, अब देउवाले विश्वासको मत नपाएसम्म माधव नेपालको खुब मानमानितो हुन्छ ! त्यसपछि देउवाले परैबाट जै नेपाल गर्छन् ।

हौ काका ! हाम्रो काँग्रेस र हाम्रा नेताहरु तिमारु जस्ता कृतघ्न छैनन् । गुन बिर्सिदैनन् । प्रचण्ड, माधवहर्को विश्वास नगरे पनि अबको १८ महिना यिर्नालाई साथै लिएर हिड्ने हो र हिड्नु पर्छ । हाम्रो देउवा दाइले जे गर्छन् राम्रो गर्छन् । हाम्रो दाइको शासनमा थुप्रै काम भाका थिए । कि कसो सण्डे कान्छा ?

भाको थियो । गृहमन्त्री हुँदा सात वर्षको बालक अनिष शाक्य लगायत अन्य सात जनालाई गोलीले हानेर मारेपछि ‘गोलीको आखाँ हुदैन’ भन्ने उद्घोष गरेका थिए। प्रधानमन्त्री भएपछि कहिले सांसद अपहरण, कहिले प्राडो पजेरो, कहिले वाइड बढी यस्तै कामहरु भाको थियो ।

लौ केटा हो अब यो खालको कुरा छोड । हेर सण्डे माधव नेपाल माओवादीमा आउने भए, उनले देउवालाई विश्वासको मत पनि दिने भए । उनको पक्षबाट दुई तीन जना मन्त्री बन्ने भए । हाम्रो प्रचण्ड काम्रेडले एमाले ध्वास्त पार्छु भन्थे गरेरै देखाई दिए । कि कसो भिरघरे !

वास्तवमा हो । ध्वंस गर्न सिपालु रान । कहीं कतै केही बाँकी नराख्ने यिनको ग्रह नै थारो भैंसी ग्रह परेको रछ । तर काका ! यिनको भविष्य त्यति राम्रो छैन होला, डेगिलो र भरपर्दो छैनन् । यिनकै कारणले हाम्रो देउवा दाइलाई पनि विदेशी र छिमेकीले पत्याउन छाड्ने हुन कि !

हेर भिरघरे ! देउवालाई प्रचण्डले पत्याए पुग्छ । माधव साधव सबैलाई तानेर देउवाको अगाडि सशरीर उपस्थित गराउने शक्ति हाम्रो राष्ट्रनायक काम्रेड प्रचण्डसंग मात्र छ ।

हामी कांग्रेसहर्ले सर्वोच्च अदालत तिर फर्केर ‘जै नेपाल’ भन्ने निर्णय गरेका छौं । माधवलाई भेट्दा अभिवादन र प्रचण्डलाई भेट्दा लालसलाम भन्ने सल्लाह पनि भएको छ ।

ठिकै हो भिरघरे अब माधव, प्रचण्ड, देउवा, उपेन्द्र, बाबुराम, मोहन विक्रम सप्पैले जै नेपाल भन्दा हुन्छ । विश्वासको मत दिने एमालेबाट जितेकाहरु मतदान गरी सकेपछि स्वतन्त्र सांसद हुने छन् । उनीहरुलाई अहिले जसले डोहो¥याएपनि हुन्छ । अस्ति शुक्रवार नै एमालेले उनर्लाई अदालतले जस्तै स्वतन्त्र सांसद भन्दी सक्यो ।

यो झुम्री पनि नबुझी बोल्छे । हाम्रो प्रचण्डले माधव काम्रेडलाई एमाले कब्जा गर्ने र ह्वाङ्गै फुटाएर माओवादीमा विलय गराउने अर्ति पेटमा भर्दी सकेका छन् । अनि ओलीले जे भने पनि एमालेको बरिष्ट नेताको पगरी नफुकाली बसी राका छन् ।

बाटाघरे काका ! हाम्रो माधव काम्रेडतिर कति जना आउलान्? यसो विश्लेषण गरेर भन त ! म त माधव गुटलाई छाडेर एमालेतिरै बसौं कि जस्तो लाग्दै छ । फुटेर गएकाहर्को हविगत देउवा र बामदेवको इतिहास हेर्दा भै हाल्छ । पहिला ठूलो हिरो, मतगणना पछि जिरो !

तँ पनि कुरो बुझ्दो रैनछन् । मओवादीमा बिलय भैसके पछि भोट त ह्वाराङराङ । कि कसो भिरघरे ! काम्रेड प्रचण्ड जिन्दावाद भन्दै सप्पै ओइरिन्छन् ।
ह्वाराङराङ भने पनि ग्वाराङराङ भने पनि रुकुम, रोल्पातिर एकदुई सिट आउन सक्छ । हाम्रो कांग्रेसको प्रतिस्पर्धा भने एमालेसँगै हुन्छ । बिचरा माधवजीसंग सूर्य चिन्ह हुदैन, जनताको बहुदलीय जनवाद हुँदैन, जुझारु कार्यकर्ता हुँदैनन्, एमालेको दह्रो संगठन हुँदैन । हामी काँग्रेसले केही सिट दिन्छन् भन्ने आस गरेको होला । तर, त्यो सम्भव हुँदैन, हामीलाई नै पुग्दैन ।

तिमार्ले दिनै पर्दैन । तिमारुलाई कल, बल, छल, मन–धन–जन सप्पै पावर लगाएर हाम्रो माओवादीले दुईतियाई ल्याम्छ । एमालेको धेरै नभए पनि माधवजीसंग आधा त खर्लप्पै आम्छन् । कति खेर माओवादीमा विलय हुनु भनेर कुरेर बसेका छन् । त्यसपछि हाम्रो ठूलो पार्टी बन्छ । चुनाप हामी जित्छौ । प्रचण्डले जे सोचेको छ पुग्दै आको छ ।

त्यस्तो होला र भिरघरे दाइ ! जनता त माओवादी र माधवतिर छन् जस्तो त बुझिदैन । अनि शेरबहादुरको शासनमा गतिलो काम हुन्छ भन्ने त पटक्कै छँदैछैन ! त्यो अवस्थामा काँग्रेस, माओवादी र माधवप्रति मतदाताको धारणा कस्तो होला ! मैले त बाटाघरे काकाको कुरा पत्याइन।

मैले पनि पत्याइन हौ भाइ । अहिले पनि सबैभन्दा ठूलो पार्टी एमाले नै हो । अनि त्यसको अध्यक्ष ओली नै हुन् । माधव, झाक्री, विजय पौडेल, जगन्नाथ खतिवडा, मुकुन्द, मेटमणि, विरोध लगायत जसको जनाधार छैन उनीहरु माओवादीतिर मिसिएर के काम ! ए साँची, यी २३ जना शेरबहादुरका स्वाँगेभाइहरु चाहिँ भोलिदेखि संसदमा कता बस्छन् होला सत्तापक्ष बेन्चमा कि प्रतिपक्ष बेन्चमा, स्वतन्त्र बेन्चमा कि पार्टीको बेन्चमा?

वाइयात कुरो गर्छ भिरघरे ! त्यो सबै मिल्छ । अनि अब हाम्रो प्रचण्डको नेतृत्वमा सरकारलाई निर्देशन दिने उच्च स्तरको समिति बन्छ । त्यो समितिले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई लागेको मुद्दा र हाम्रो राष्ट्रनायक प्रचण्ड, बाबुराम, अग्नी लगायतलाई लागेको मुद्दा सर्वोच्चमा मिलाएर फिर्ता लिएपछि माओवादीमा विलय भ’काहर्को जनाधार ह्वात्तै बढ्छ ।

तिम्रा नेताहर्को विदेशमा थुप्रिएको पैसा फिर्ता ल्याउने र हाम्रो आलम लगायतलाई जेल मुक्त गर्ने प्रक्रिया चाहिँ अघि बढी सक्यो । अरु थाहा भएन । अब हामी उभिण्डे खोलातिर लाग्छौं । अर्को हप्ता भेटौला !

जै नेपाल !

Facebook Comments