परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कमैया मुक्तिप्रति फरक हेराइ

सन्दर्भ : मुक्त कमैया दिवस

(साउन २ गते कमैया मुक्तिको घोषणा भयो । २०५७ सालको कुरो हो यो । झरी परिरहेको थियो । अधिकांश कमैयाको अफ्नो घर थिएन । कमैया राख्नेले नै उनीहरूलार्इ बस्ने ठाउँ दिन्थे । खान दिन्थे । मुक्त भएपछि उनीहरूको अबस्था फेरियो । कोही सेउलाले ओ तलगाएरु रूखमुनि बसे । केहीले प्लास्टिकले छाएर छाप्रो बनाए । खानेकुराखाने पानीको टुंगो भएन । उनीहरूको जीवन अस्तव्यस्त भयो । यो अवस्थाले मुक्तिको घोषणाको समय र तयारीका बारेमा प्रश्न गरिए । त्यसबारे पत्रकार भैरव रिसाल घोषणाका पक्षमा दृढ हुनुहुन्थ्यो । भैरव रिसालको यो लेख क्रिएटिभ मिडिया ग्रुपकाठमाडौँद्वारा प्रकाशित पत्रिका मुक्त पाइलावर्ष २अङ्क ४२०६२ बाट साभार गरिएको हो सं.।)

नेपाल जस्ता अर्धसामन्ती तथा अल्पविकसित मुलुकमा कुनै पनि ठूला र नयाँ काम त्यसका निम्ति आवश्यक सम्पूर्ण कुरा पुगेपछि वा जुटेपछिमात्र थाल्नुपर्छ भन्ने अवधारणासँग म ठाडो असहमति राख्छु । यो कुरा म ‘कमैया मुक्ति’ को प्रसङ्गमा उठाउँदै छु । यो एउटा दृष्टान्तमात्र हो । नेपाल जस्ता मुलुकमा कुनैपनि आधारभूत नयाँ कुरा प्रारम्भ गर्न दरो आँट र आत्मविश्वास जरूरी हुन्छ । अनि अर्को मूल कुरो, जसको हितमा नयाँ कदम परिलक्षित छ, थालनी गर्न आँटेको कदमप्रति त्यो वर्गको प्रारम्भिक चाहना भने अपरिहार्य हुन्छ ।

राज्यले २०५७ साल साउन २ गते कमैया प्रथा ‘उन्मुक्ति’ को घोषणा गर्‍यो । त्यो राम्रो गर्‍यो, सारै राम्रो काम गर्‍यो । यसैका लागि त्यो सरकार बधाइको पात्र छ अवश्य पनि । यदि सबै अङ्ग पुगेर, सम्पूर्ण पूर्वाधार तयार गरेरमात्र दासताको प्रतीक कमैया प्रथा उन्मूलन गर्ने भनिएको भए आजसम्म पनि मध्ययुगीन, मान्छे किन्ने बेच्ने, कमाराकमारी प्रथाको या दास प्रथाको नयाँ संस्करण ‘कमैयाप्रथा’ कायमै रहन्थ्यो । जतिपछि हुँदैगयो नेपालका सरकारहरू सार्वभौम हुन छाडेको र व्यापक परिप्रेक्ष्यमा अझै आधुनिक कमैयाका रूपमा रूपान्तरित हुने मानसिकता बन्दै गयो । यस्ता सरकारबाट सैद्धान्तिकरूपमा समेत कमैया प्रथा खारेज हुँदैनथ्यो । तसर्थ, त्यो कदम गतिशील हो, पक्कै पनि ।

हो, त्यो सरकार यदि यथार्थमै गतिशील हुँदो हो त कमैया मुक्तिपूर्व नै कम्तीमा कमैया बसेका घरधनीका जमीन मोहियानीका नाममा आधा दिनुपर्ने र कमैया बसेको मालिकको घरकम्पाउण्डको बुकुरो (कमैया र उसका परिवारलाई बस्न मालिकले बनाइदिएको घर) सम्म त कमैयालाई नै दिनुपर्ने अनिवार्य व्यवस्था गर्थ्यो । त्यसो गरेन, जसका कारण आज २१ औँ शताब्दीको पहिलो दशकमा पनि हजारौँ मुक्त कमैया नाङ्गो आकाशमुनि भोकै रात बिताउने अवस्थामा छन् । संयुक्त राष्ट्र सङ्घले अनुमोदन गरेका खाद्य सुरक्षा, प्रारम्भिक स्वास्थ्योपचार, प्राथमिक शिक्षोपार्जन र ओत जस्ता मानव अधिकारका प्रारम्भिक बूँदाबाट बञ्चित छन्- मुक्त कमैया र तिनका लालाबाला । कुनै पनि उत्तरदायी तथा सभ्य सरकारका निम्ति यस्ता कुरा पक्कै पनि कलङ्क हुन् । अथाह जग्गाजमीन ओगटेका सामन्त र जमिन्दारबाट जग्गा प्राप्त गर्न भूमिको अधिकतम हदबन्दी तोक्ने प्रस्ताव आउँदा किन भूमिको मात्र ? सम्पत्तिको पनि हदबन्दी तोक्नु पर्ने अत्तो थापेर भूमिको हदबन्दीको प्रस्ताव तुहाइएको सत्य घटना पुरानो भएको छैन । मुखमा अमृत,भित्रभने विष भएको ‘विषकुम्भ नीति’ अनुसरण गरे त्यतिबेला सदनमा सामन्त र कुलीन वर्गका सांसदहरूले ।

मेरो प्रश्न

नेपालको यो तहको संसद् थियो । एउटा सामान्य गतिशील कदम विफल पार्न अर्को बढेमानको किन्तु नितान्त अव्यावहारिक र तर्सने खालको ‘मारकेस’ प्रयोग गरेर ‘फलामले फलामै’ काट्ने रणनीति अपनाउने सांसद छन् यहाँ । एउटै राज्यव्यवस्था भएको मुलुकमा सर्वोच्च अदालतले प्रतिसाता दुर्इदिन सार्वजनिक विदा पद्धति उपभोग गर्नसक्ने मुलुक हो- हाम्रो नेपाल । अनि त्यही देखासिकी गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा रहेका केन्द्रदेखि सम्पूर्ण तहका कार्यालयको काम गर्ने दिन २०५६ सालदेखि प्रतिसाता पाँच र अधिराज्यका अरू सम्पूर्ण सरकारी कार्यालयमा हप्तामा एक दिनमात्र सार्वजनिक छुट्टी गर्ने परिपाटीलाई सधैँ परीक्षणमा राख्ने हाम्रो मुलुकको नपुङ्सकता केलाउँदा त्योबेला कमैया मुक्ति नगरेको भए आजसम्म पनि मुक्ति मिल्दैनथ्यो भन्ने लाग्छ मलाई । कि मिल्थ्यो मेरो प्रश्न छ ?

कि बढी भने ?

यहाँ एउटा सवाल खडा भएको छ, किनकि मुक्त कमैयाले अति नै कष्ट पाए । उनका परिवार र लालाबालाले पनि सारै हण्डर र वर्णन गर्नै नसकिने गोता खाए, यो पनि सत्य हो । तर जमिन्दार, भूमिपति वा सामन्तका घरमा कमैया भएर बस्ता के कमैया, उनका श्रीमती र केटाकेटीले सुख पाएका थिए ? दुःख पाएका थिएनन् ? दास-दासी वा दासदासीका छोराछोरीले मालिक कहाँ पाउने ‘राजसी सुख’ (?) र मुक्त भएपछि पाएको कठोर दुःखको तुलना गर्ने हो भने कुन दुःख दुःख होला ?, कुन सुख सुख होला ? केलाउनै पर्ने हुन्छ ।

म कमैया होइन । मेरी श्रीमती ओर्गेनी, छोरी कम्लरी र छोरा छगरवार होइनन् । तसर्थ, मेरो भोगाइकालम्बर मात्र होइन, हेराइमा कमैया जीवनको अदाक्ष सुखको अपेक्षा मुक्त जीवनको अथाह दुःख नै सुख हो कि ? मानव जीवन हो कि? कमैया जीवन पशु जीवन हो कि ? कि बढी भने ?

आफ्नोपन बिर्सेपछि

समाजका हामी कमैया मुक्तिमा समर्पितहरूका सामने एउटा छनोट छ, त्यो हो सम्पूर्ण पूर्वाधार तयार भएपछि कमैया प्रथा उन्मूलन गर्ने कि ? पहिला कमैया मुक्त गर्ने अनि क्रमशः कमैयाका हक, हित र अधिकारका कुरा लागू गर्दै जाने ? दुईमध्ये एउटामात्र रोज्न पाइने भयोभने म चाहिँ पहिले मुक्त हुने नै छान्छु । मेरा लागि मात्र होइन यावत् प्राणीका लागि मुक्ति भनेको मुक्ति नै हो । जति नै खाने, लाउने, बस्ने प्रत्याभूति भए पनि दासता भनेको दासता नै हो । बन्धन भनेको बन्धन नै हो । तपाईँलाई कस्तो लाग्यो ?भोको मान्छे र अघाएको मान्छेबीचको कुरामात्र भयो कि यो ?

बाँधेर पालेको कुकुर, चिडियाखानाका पशुपछी, पिँजडाका चरा पनि मुक्तिका निम्ति प्रयत्न गर्छन् शुरू शुरूमा । अति भएपछि, स्वतन्त्र विचरणको अनुपम अधिकार भुलेपछि, परिश्रमपूर्वक आहारा खोज्ने, खाने बाँनी छुटेपछि र अझ समष्टिमा भन्दा विशाल जङ्गल, खुला आकाशको स्वतन्त्र विचरण बिर्सेपछि,स्वावलम्बन झ्याउ लागेर परजीवी हुने लत लागेपछि मुक्त पशुपछी पनि पुनः बन्धन रोज्न र खोज्न आउने गर्छन्, हो ! अझ कति त आफ्ना जातकालाई पक्रन र थुनाउन मान्छेलाई नै पो सहयोग गर्छन् । उदाहरणमा पालुवा हात्तीले जङ्गली हात्ती पक्रने र चराले चरा … ।

बरू त्यो शासनमा पनि

कमैया मुक्तिको घटनालाई पनि यस्तो आँखाले हेर्दा के पो बिग्रिएला र ? असभ्य, क्रूर, जहानियाँ राणा शासनको सरकारले पनि ‘करिया अमलेख’ कमाराकमारी प्रथा उन्मूलन गर्दा वि.सं. १९८२ मङ्सिरमा अहिलेभन्दा ७९ वर्ष अघि पनि राज्यले कमाराकमारी किन्दाको पैसा लिन खोज्ने करियाका मालिकलाई पैसा तिरिदिएको थियो । त्यतिमात्र होइन मुक्त कमारा कमारीहरूको गाँस, बासको तत्कालीन अवस्थामा अमलेखगञ्जमा व्यवस्था नै गरेको थियो । ‘अमलेख’ मुक्त नामबाट त्यो नयाँ बस्तीको नामाकरण नै राणा शासनले ‘अमलेखगञ्ज’ राखेको थियो । तत्कालीन श्री ३ चन्द्र शमशेरको त्यो ‘स्पीच’ पढ्दा थाहा हुन्छ-राणा शासन लाटो थिएन, समकालीन विश्व र विश्वस्थिति पूरै बुझेको थियो । त्यो ‘स्पीच’ पढ्नलायक छ ।

राम्रो नभए पनि नराम्रो भने होइन?

राणा सरकारले गरेजति काम पनि प्रजातान्त्रिक संसदीय सरकारले, अझै खुलारूपमा भन्दा प्रजातान्त्रिक समाजवाद लक्ष्य भएको गिरिजा सरकारले बहन गर्नु पर्ने जति दायित्व बहन गरेन । तपाईँ विश्वेश्वरप्रसाद कोइरालासँग काम गरेका काङ्ग्रेसहरूलाई त्यो ठीक लाग्छ ? अन्यथा किन नेताको टुपी नसमातेको त?

खैर जे गर्‍यो काङ्ग्रेसको सरकारले कम्तीमा मुक्त त गर्‍यो । त्यति भने पनि ठीक गर्‍यो । अहिलेको सरकारले भए ‘कमैया मुक्त’ गर्थ्यो भन्ने लाग्छ तपाईँलाई ?

हो, मुक्त गर्दा कम्तीमा कमैया परिवारलाई एक बिघा उब्जाउ जमीन, एकतले नै भए पनि एउटा बुकुरो, एकसरो लुगाफाटा र अर्को बाली नआउञ्जेलका लागि दुईछाक खानपुग्ने अन्न दिनैपर्ने प्रावधान राखेको भए सरकारले जस पनि पाउँथ्यो, मुक्त कमैयाले गोता पनि पाउँदैनथे तर भएन त्यसो । तैपनि, जे भयो त्यो पनि नराम्रो भएन । राम्रो हुन सकेन, त्यो हो तर पनि नराम्रो भने भएन भन्छु म ।

पुनरावलोकन गरौँन ?

पूर्व कमैयाबारे मेरो आफ्नै धारणा छ । उहाँहरूलाई म मान्छेका रूपमा हेर्छु । मान्छे भनेपछि एउटा अद्भूत प्राणी हो र प्राणीमध्ये सर्वोच्च गुण सम्पन्न प्राणी हो । पशु, पछी, कीट, पतङ्ग, बिरुवा, वृक्ष, लहरा यावत् प्राणधारी वस्तु स्वावलम्बी, आत्मनिर्भर हुनेगर्छन् । परावलम्बी, परनिर्भर हुन मन गर्दैनन् । हो, उसका निम्ति उम्रने, जन्मने र केही समय हुर्कने वातावरण अवश्य चाहिन्छ । एउटा मन्दिरको सुख्खा छानामा,देवलमा, सत्तलमा पीपल र अन्य रूख उम्रिएको र बढेको पनि देख्छौं हामी । कहाँबाट पानी लिन्छ त्यो बोटले ? पशु, पछीलाई आमाले, माउले खास उमेर-समयसम्म मात्र पालन पोषणा गर्छे, हुर्काउँछे । अनि दोस्रो पुस्ता आफैँ बाच्नुपर्छ र उसले अर्को पुस्ता जन्माउनु पर्छ, अन्यथा त्यो जाति नै लोप हुने खतरा रहन्छ । पृथ्वीभरिकै मानिसबाहेकका प्राणीको जीवनचक्रको रीत यही हो, स्थिति यही हो ।

अब हामीले पूर्व कमैयालाई पनि मान्छेका रूपमा हेर्ने बानी बसाल्नु पर्ने होला । उहाँहरूको मस्तिष्कलाई घोटाउनु पर्ने, उपायका बाटाहरू देखाउनु पर्ने हो किनकि उहाँहरू मान्छे हो, प्राणीमा सर्वोत्तम प्राणी हो ।

यो वस्तुस्थितिको विशद विश्लेषणमा हामी चुक्यौ कि ? भुल्यौं कि ? पूर्वकमैयालाई जसरी हेर्नुपर्ने हो त्यसरी हेरेनौ कि ? उहाँहरूको प्रतिभा र प्रज्ञाको अवमूल्यन गर्‍यौं कि ? पुनरावलोकन गरौँ ।

Facebook Comments