परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कुरा साफ छ– अनुकुल भए लड्डु, प्रतिकूल भए ‘सेटिङ’!

फुटानी

हामी जस्ता महान क्रान्तिकारीले पनि अदालतको मुख ताकेर बस्नु पर्ने दिन आए । ११ गते त अदालतले ठिक गरेको थियो । २३ गते ‘सेटिङ’ भै गएछ । हाम्रो काम्रेडहरु कस्तो उत्साहले सदन छिरेका थिए । एकैछिनमा विल्लिबाठ बनाई दियो । आ–आफ्नो घर जानु भन्ने वित्तिकै हामी त नुन खाको कुख्रा जस्तो भै गयौं ।

त्यस्तै हो बुढा ! आफूले जित्दा ‘लड्डु’ आफ्नो प्रतिकूल हुँदा ‘सेटिङ ! तिम्रो प्रचण्डलाई एमालेको सङ्गठन कब्जा गरेर हैकम चलाउने चाहना थियो । ओलीले गर्दा रोकियो । ‘ऋषि कट्टेलले मुद्दा जिते, ओलीलगायत हामीले हा¥यौं भन्न सकेनौ । ओलीले जितेको देख्यौ। वास्तवमा ओलीले पनि हारेकै हुन ।

वाइयात कुरो गर्छे झुम्री ! आफूलाई कत्रो तोड परेको छ, उ चाहिँ खाली ओलीको समर्थन गर्छे ! हाम्रो प्रचण्ड काम्रेड बाहेक कसैले नेपालमा विकास गर्न सक्तैन। हाम्रो काम्रेडसंग कत्रोकत्रो योजना थियो ।

हौ काका–काकी नमस्कार है ! पानीले गर्दा आउन पनि ढिला भयो । उभिण्डे खोलामा बाढी आएर चर्तिकला गर्दैछ । उता काठमाण्डौमा राजनीति चर्तिकला यता उभिण्डेको ताण्डव ! कतै सुख छैन ।

के बुझिस् र राजनीति चर्तिकला भन्छस् भिरघरे ! अदालतले अस्ति शुक्रवार के फैसला ग¥यो कि फैसला गर्न ढिला गर्दैछ ? यदि हामीलाई जिताएन भने त्यो ‘सेटिङ’ नै ठहर्छ । संसद पुनस्र्थापना भयो भने सेटिङ होइन र’छ भन्नु पर्छ ।

हौ काका सेटिङ कि फेटिङ के हो भन्ने त जनताको अदालतमा जानुपर्छ । अनि थाहा हुन्छ सेटिङ र फेटिङ भन्नेहर्को अबस्था । हाम्रो शेरबहादुर दाइले त अदालतले प्रतिनिधि सभा ब्यूँताए पनि ठिक, चुनापमा गए पनि ठिक, अदालतले जे निर्णय गर्छ हामीले मान्नुपर्छ भनीसके !

जे पनि कसरी ठिक हुन्छ भिरघरे ! यो त दोक्ला चरित्र भैगोनी । जसरी पनि प्रतिनिधिसभा ब्युताउनै पर्छ । होइन भने हाम्रो आन्दोलन कसैले रोक्न सक्तैन । आगो झोस्छौं आगो !

आगो झोस कि पानी ठोस । म त नेपाली काँग्रेस जिन्दावाद, शेरबहादुर दाइ जै नेपाल भन्दै भोट माग्न थाली सकें । चुनाप त आखेरी हुन्छ नै ! तिमारु हार्छौ भन्दैमा चुनाप रोकिने होइन । हाम्रो काँग्रेसलाई दुवै हातमा लड्डु !

गफ नदे भिरघरे ! एमालेबाट फुटेको ठूलो हिस्सा लिएर महान काम्रेड माधव नेपालको खलकै हाम्रो गौरवशाली पार्टीमा विलय हुँदैछन् । भीम काम्रेडले सुदुरपश्चिम चिरिप्प पार्छन् । त्यताका जनता रावल काम्रेड भनेसी हुरुक्क हुने क्या । अँ भन्त काठमाडौंमा के भो अरे !

के हुनु हौ काका ! ऋषि कट्टेललाई मुद्दा जिताई दिने न्यायधीशले संवैधानिक अदालतको बेन्चमा बस्न पाउँदैन भनेर तिम्रा वकिलहर्ले झगडा गरे अरे ! अनि शुक्रवार सुनुवाई रोकियो । वास्तवमा भन्ने हो भने आफ्नो पक्षमा फैसला गर्ने बाहेक त्यहाँ न्यायधीश नै बस्न पाउँदैन भने जस्तो गरे । ऋषि कट्टेलले न्याय पाएकोमा प्रचण्ड माधवहरु सबै रुष्ट छन् ।

ऋषि कट्टेलको नाम बारम्बार किन लिन्छस् हँ भिरघरे । तँ कस्तो कुरो बुझ्दैनस् ! नेकपा हाम्रो भएको हुन्थ्यो भने हाम्रो काम्रेडले ओलीलाई उहिल्यै पार्टीबाट निकाली सक्ने । एमाले हाम्रो भैसक्थ्यो । तँ कस्तो कुरो बुझ्दैनस् ! अहिले हाम्रो रुवावासी हुने नै थिएन । धन्न एमालेको एउटा चोइटा भा पनि उप्काउन सकेकोले राहत मिलेको छ ।

सुनिस् भतिज यी बुढाको कुरो । ओली जस्तै दह्रो सङ्गठनको अध्यक्ष र राष्ट्रको प्रधानमन्त्री हुन खोजेका थिए प्रचण्ड काम्रेड । एमाले कब्जा गर्न पाको भए नेपालमा बसी नसक्नु हुन्थ्यो । आफ्नो सङ्गठन भापो गफ गर्नु । ओलीलाई पछार्न नसकेपछि आफै पछारिए । अहिले रुवावासी डाडाँको कार्यालयबाट ‘कहिले देउवाको घर, कहिले माधवको भर’ सुस्केरा हाल्दै छन् ।

हो काकी ! पाँच वर्षै ओलीले चलाउने भए भनेर यो तत्व उत्तेजित र उद्वेलित भएको छ । कसले उचालेको छ कुन्नि ! दलीय ब्यवस्थामा अहिले त संविधानको ढिस्कानो धाराले मात्र दल चिन्छ, फलाना धाराले त चिन्दैन व्यक्तिमात्र चिन्छ भन्न थालेका छन् । हुन त हाम्रो काँग्रेसलाई जे भए पनि नअड्किने लड्डु !

खुइल्याएर नबोल् भिरघरे ! हामीले पनि राजनीति जानेको छ । पहिला पनि हामीलाई असहयोग गर्नेलाई मुला काटे जस्तो काटेकै हो । बढी गरे भने अब पनि बाँकी राखिदैन ।

लौ काका ! तिम्रा यस्ता भालुभुत्ते कुरा उहिले काम लाग्थ्यो होला, अब काम लाग्दैन । अब त जनताको ज्यान र धन होइन मन जित्नु पर्छ । त्यो तिमार्को वुताभन्दा बाहिरको कुरा हो । अब यो चुनापसम्म तिमारु रोल्पा र रुकुमतिर अलिअलि देखिन्छौ त्यसपछि समाप्त !

कस्तो हेपाहा कुरो गर्छ ! अब पुनः हाम्रो पार्टी प्रचण्ड काम्रेडको महान सपना पुरा गर्न अग्रपंक्तिमा, उघ्र रुप लिएर देखा पर्ने छ । तर, अहिले भने अदालतले हाम्रै पक्षमा फैसला गर्नुपर्छ । आजको फैसलाले प्रतिनिधिसभा स्थापना र देउवालाई प्रधानमन्त्री बनाउँछ । हाम्रा तीनजना न्यायधीशले हाम्रै पक्षमा फैसला गर्छन् ।

हाम्रो काँग्रेसलाई त राम्रै हुन्छ । अब आज काठमाडौंको रुवाबासी डाँडो र बुढानिलकण्ठमा चहलपहल बढ्ने भयो । हौ काका राजनीतिले खान दिदैन । म त लागें है खेत जोत्न !

जै नेपाल

Facebook Comments