परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

डा. पाण्डेद्वारा लिखित ‘रुपान्तरणमुखी सिकाईको शैद्धान्तिकरण’ पुस्तक विश्व बजारमा

काठमाडौं । विश्व पुस्तक दिवस (अप्रिल २३, २०२१) का दिन डा. काशिराज पाण्डेद्वारा अंग्रेजी भाषामा लिखित ‘रुपान्तरणमुखी सिकाईको सिद्धान्तिकरणः शिक्षामा आत्मजाति वैज्ञानिक आख्यानको सामथ्र्य’ (Theorizing Transformative Learning: The Power of Autoethnographic Narratives in Education) नामक पुस्तक एक भव्य भर्चुवल समारोहबीच नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले लोकार्पण गर्नुभयो । कार्यक्रमको शुरुवात गर्दै आफ्नो स्वागत मन्तव्यमा राजदूत फेलिसिटी वोल्कले सिद्धान्तकार डा. पाण्डेको पुस्तक अस्ट्रेलिया अवार्ड शैक्षिकवृत्तिको भरपुर उपयोगको प्रमाण भएको कुरा ब्यक्त गर्नुभयो।

आफैंमा एउटा ख्यातिप्राप्त लेखक समेत रहनुभएकी राजदूत फेलिसिटीले आफ्नो भनाइलाई अझै प्रस्ट पार्दै डा. पाण्डेको पुस्तकमा रहेका समसामयिक कथा तथा कविताहरुको खुलेर प्रसंशा गर्नुभयो।

पुस्तक बिमोचन समारोहमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, इन्डोनेशिया, साउदी अरेविया, जापान, अस्ट्रेलिया, अमेरिका, युरोप, र दक्षिण अफ्रिका लगायतका विभिन्न मुलुकहरुबाट अन्तर्राष्ट्रिय स्तरमै अनुसन्धान र शैक्षिक क्षेत्रमा ख्याती कमाएका एक सय जनाभन्दा बढी विद्वानहरुको उपस्थिति थियो।

पुस्तक सेन्स्-ब्रिल पब्लिसर्स, नेदरल्याण्डले हालसालै प्रकाशित गरी विश्व पाठक सामु ल्याएको हो। लेखक डा. पाण्डेका अनुसार रुपान्तरणमुखी शिक्षाले विद्यार्थीहरु माझ आआफ्ना गतिबिधिलाई सुनेर अथवा बोलेर मात्र नभई नजिकैबाट नियालेर, सजग भएर, आफू वरिपरिका वातावरणसँग भिडाएर, पढेर, लेखेर, आफ्नो जीवनमा उतारेर देखाउन प्रेरणा दिन्छ। यसले हरेक व्यक्तिको व्यक्तिगत, पारिवारिक, सामाजिक, नैतिक चेतमा सचेतना थपेर राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वयमा समेत सकारात्मक गति दिन्छ।

विमोचन समारोहमा नेपालबाट प्रा. डा. मनप्रसाद वाग्ले र अमेरिकाबाट मिरियाम कर्नेलीले पुस्तकमाथी टिप्पणी गर्नुभएको थियो। शिक्षाविद् वाग्लेले लेखक डा. पाण्डेद्वारा लिखित यस पुस्तकमा रुपान्तरणमुखी सिकाईको सिद्धान्त र अभ्यास दुवै भरपुर रुपले खारिएर आएको बताउनु भयो । उहाँले हरेक कक्षाकोठामा विभिन्न विषय र प्रसङ्गहरु बीचको चिन्तन भित्र्याएर, त्यसैमा गहिरो रुपले बहस र छलफल चलाउँदै अगाडि बढ्ने क्रममा यो पुस्तकको योगदान महत्वपूर्ण रहने कुरा बताउनु भयो ।

अर्का समीक्षक मिरियम कर्नेलीले प्रस्तुत पुस्तकभित्र कथा र कविताको रुपमा रहेका आत्मजाति वैज्ञानिक आख्यानहरु (Autoethnographic Narratives) ले लेखकको आफ्नै मौलिक, समालोचनात्मक जीवन र आफु वरिपरिको सामाजिक जगतलाई सशक्त रुपले जोड्न सफल भएको कुरा बताउनुभयो। पुस्तकका माध्यमबाट लेखकले समावेशी, बहुसांस्कृतिक, जीवनोपयोगी र मानव मूल्य र मान्यता सहितको शिक्षाको महत्वलाई प्रष्ट रुपमा देखाइदिएको कुरा माथि उहाँले थप प्रकाश पार्नुभयो। साहित्य र सिकाइका बिभिन्न प्रसङ्गहरु उल्लेख गर्दै लेखकले नेपाली गाउँमा जन्मेहुर्केर पनि आफुले राष्ट्रिय र अन्तर्राष्ट्रिय, शैक्षिक र व्यवसायिक क्षेत्रमा भोगेका, सिकेका समसामयिक अनुभवहरुलाई समेत कत्ति पनि नछुटाइ यस पुस्तकभित्र बुन्न सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो।

कार्यक्रमका अन्य वक्ताहरु मध्ये आत्मजाति विज्ञान (Autoethnography) की ज्ञाता प्राध्यापक क्यारोलाइन अली खानले आत्मजाती वैज्ञानिक आख्यान माथि थप प्रकाश पार्दै आत्मजाती विज्ञानलाई आधार मानेर लेखिएको प्रस्तुत पुस्तकले आत्मजाती विज्ञानको राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानको अभियानमा एउटा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

पुस्तकका लेखक डा. पाण्डेले विद्यावारिधी (पीएचडी) अध्ययन गर्नुभएकै मर्डख विश्वविद्यालय (Murdoch University) अष्ट्रेलियाका पूर्व डीन तथा प्राध्यापक स्टिभ रिचीले डा. पाण्डेको पीएचडी रिसर्च बिगत दुई वर्ष भित्र भएका रिसर्च मध्यकै उत्कृष्ट ठहरिएर मर्डख विश्वविद्यालयबाट डा. काशिराज पाण्डेले प्रतिष्ठित ‘टिचर एजुकेशन अवाड्स’ समेत पाएकोमा खुशी ब्यक्त गर्नुभयो। यसरी नेपालबाट अष्ट्रेलिया गएर अंग्रेजी बिषयमा आफ्नो अनुसन्धान गर्ने क्रममा डा. पाण्डेले गर्नुभएको मेहनतको उहाँले खुलेर प्रशंशा गर्नुभयो। त्यस्तै, प्राध्यापक केन तोविनले आफ्नो शुभकामना भनाइ राख्ने क्रममा प्रस्तुत पुस्तकमा लेखकले कसरी हरेक व्यक्तिले आफुले सिकेको ज्ञानलाई समय, समाज र संस्कृतिसंग जोड्दै आफ्नो जीवनशैली व्यवस्थापनमा देखाउन सक्नुपर्छ भनेर प्रष्ट पारेको कुरा बताउनुभयो।

धादिङको उत्तरी भेगमा अवस्थित नेत्रावती गाउँपालिका, निमार्चोक(आरुखर्कको सामान्य किसान परिवारमा जन्मिनु भएका डा. पाण्डेले प्रतिष्ठित अस्ट्रेलिया अवार्ड नामक छात्रवृत्ति लिएर अष्ट्रेलियाकै मर्डख विश्व विद्यालयबाट आत्मजाती विज्ञानलाइ अनुसन्धानको आधार मानेर रुपान्तरणमुखी शिक्षामा विद्यावारिधि गर्नुभएको हो। पीएचडी अध्ययन पछि स्वदेश फर्केर पाठ्यक्रम विकास केन्द्रले तयार गरिरहेको कक्षा ९ देखि १२ कक्षासम्मका लागि मानव मूल्य शिक्षा विषयको पाठ्यक्रम निर्माणमा समेत सक्रिय रुपले संलग्न रहनु भएका डा. पाण्डे फुर्सदको समयमा आफुलाई सामाजिक काम र साहित्यिक सिर्जनामा व्यस्त राख्न मन पराउनुहुन्छ । डा. पाण्डेले विगत १७ वर्षदेखि काठमाडौँ विश्व विद्यालयमा अंग्रेजी भाषा, साहित्य, अनुसन्धान र व्यावसायिक संबाद जस्ता विषयहरु प्राध्यापन गर्दै आउनु भएको छ।

अष्ट्रेलिया अवार्डस् एलम् दृश्या गुरुङ्गले संचालन गर्नुभएको सो पुस्तक बिमोचन समारोहमा उपस्थित सबैमा अष्ट्रेलिया अवार्डस् नेपालकी कार्यक्रम व्यवस्थापक सेलेना मल्लले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो।

Facebook Comments