परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माधवहरुको लिङ्ग के– एमाले कि माओवादी ?

फुटानी

देखिस् भिरघरे ! हाम्रो प्रचण्डले कमाल गरे । एमालेको एउटा झुण्ड माओवादीमा मिसिन आउने भयो । माधव नेपालको झुण्ड गुटुङटुङ दौडिदै छ । माओवादीमा विलिन हुन आतुर भर छटपटिएका थिए । अब इच्छा पुरा हुने भो ।

हो काका ! हाम्रो काँग्रेसलाई सजिलो हुने भयो । अब प्रधानमन्त्री ओलीले मध्यावधी निर्वाचन गराए भने तिमार्को माओवादी समाप्त हुन्छ । हाम्रो काँग्रेसले दुईतिहाई ल्याउँछ । देउवा दाइ पाँच वर्षलाई प्रधानमन्त्री ! मैले त हिजै फोन गरेर ‘जै नेपाल दाइ अब हाम्रो पालो आयो’ भनि सकें ।

युगपुरुष प्रचण्डको पालो नआई देउवाको पालो कसरी आउँछ ? भिरघरे ! तँ पनि हावैमा कुरो गर्छस् । घुमाईफिराई प्रचण्ड काम्रेड नै प्रधानमन्त्री बन्छन् । उल्कै चतुर, भरपुर बाठा, एक प्रकारले भन्ने हो भने खुङ्खार क्रान्तिकारी छन्, हाम्रा प्रचण्ड । प्रचण्डका अगाडि कसैको केही लाग्दैन । बाबुराम जस्तालाई त गुल्ट्याई दिए! नाथे ओली, देउवा के हुन र !

हेर काका ! अहिले प्रचण्डको सरकार ओलीले चलाई देका छन् । देउवालाई प्रधानमन्त्री बन्दिनु प¥यो भनेर खुरुन्धार गरे । मधेशी दलका नेतालाई पनि गोढैमा ढोगे । जसरी पनि ओलीलाई हटाउनु पर्छ भने । अहिले माधव नेपाल गुटको आशमा ओल्लो भित्तो र पल्लो भित्तो ठोकिदै हिडेका छन् । ओलीले माधव नेपाल गुटलाई कारवाही गर्न थालेपछि प्रचण्डको गति, मति र उत्पपति समाप्त हुन्छ । त्यसबेला उनका साथमा राष्ट्रपति, सेनापति, पशुपति कोही पनि हुने छैनन् । विपत्ति मात्रै हुने छ ।

हेर भतिज, तैंले राजनीति बुझेकै छैन । राजनीति भनेको माओवादीले जानेको छ । मुलाङहरु सपलाई थाङ्नामा सुतार प्रचण्ड काम्रेड प्रधानमन्त्री बनेपछि अनि माओवादीले के गर्छ हामीलाई थाहा छ । उद्योग धन्दा कसरी चलाउने, रोडा–गिट्टी कसरी उत्खनन् गर्ने, ठेक्कापट्टा कसरी लगाउने, आफ्ना मान्छेलाई कसरी जागिर खुवाउने, धक्का–मुक्का कसरी गर्ने चर्को स्वरले कसरी बोल्ने, पैसा कसरी जम्मा गर्ने भनेर हामी देखाउने छौं ।

हो ठिक भन्यौ काका ! त्यसैले गर्दा तिमार्को पालो आउँदैन । तिमारु भनेको राष्ट्रका मूल्य–मान्यता, नियम–कानून, रितिथिति मान्ने प्राणी नै होइनौ । जनताले माओवादीलाई राम्रैसंग चिनेका छन् ।

हेर भतिज भिरघरे ! तेरो काका एकोहोरो भर प्रचण्डका पछि लागेका छन् । प्रचण्डको समर्थन सबभन्दा बढी गर्ने माधव नेपाल र दोस्रोमा यिनै बुढा हुन् । अस्तिनै एक ताका त अब कम्फर्टेबल सरकार बन्ने भयो भनेर बुढाले एक पाउ लड्डु किनेर ल्याको ।

ए काका ! जेजे हुन्छ–हुन्छ यो ओलीलाई देको समर्थन फिर्ता लिन सकिदैन ? आफूले एक मात्र दुश्मन मानेको ब्यक्तिलाई यसरी लाजै लाग्ने गरी किन काँध थापेको ? जनताले तिमार्को कसरी मूल्यांकन गर्ने ? यो सरकारको चर्को विरोध गर्ने नै सरकार जोगाउने ! यस्तो पनि राजनीति हुन्छ ! जानु नि बरु बंगुर पाल्न ।

तैंले सिकाउनु पर्दैन । बेला आएपछि ओलीलाई मात्र होइन, बादल–मादल सप्पैलाई ठिक गर्न हामीले जानेको छ ।

नाप्पियो बुढा ! आफू ठिक भाको थाहा छैन अर्कालाई ठिक पार्ने सपना देखेर बसेका छौं । उहाँ काठमाडौंमा एमालेको बैठकले के–के गरी सक्यो थाहा छैन, यहाँ गफ जोतेर बसेका छन् ।

काकीले ठिक भनिन् ! अस्ति शुक्रवार बसेको एमाले बैठकले बादल, टोपबहादुर र भट्टलाई समेत समावेश गरेर स्थायी समिति बनायो । माधव झुण्डलाई ओलीले राम्रो जवाफ दिन थाले । अब पार्टीबाट निस्कासन गरेको पत्र थमाउँछन् र सांसद पद पनि समाप्त गर्दिन्छन्।

राजिनामा देको छैन, अहिले नै फ्लोरक्रस गरेको छैन । कसरी पदबाट निकाल्नु ! फेरि भएन मुद्दा हाली सकेको छ । कि फ्लोरक्रस गर्दैछन् भनेर पहिला नै थाहा हुन्छ ? वाइयात कुरो नगर भिरघरे !

काका ! जसरी ओलीलाई चार पटकसम्म साधारण सदस्यसमेत नरहने गरी प्रचण्ड र माधव नेपाल मिलेर निस्काशन गरेका थिए त्यसैगरी हुन्छ । अझ प्रचण्ड–माधवले भन्दा विधान, संविधान, ऐन, कानून सप्पै मिलाएर हुत्याउँछन् । पिलो कति दिन बोक्नु भनेर निचोरेर फाल्दिन्छन् ।

कसरी त्यस्तो सजिलो हुन्छ ? जनताले चुनेर पठाको मान्छे । पार्टीका सशक्त हस्ती, पूर्व प्रधानमन्त्री, नेता गण । सजिलो छैन ।

काका ! बादल, टोपबहादुर, भट्ट, साह, चौधरीहर्लाई तिमार्ले कसरी निकाल्यौ ? सांसदबाट कसरी हटायौ ? त्यसरी नै चिलिम फर्काउँछन् । आफूले गरेको ठिक अरुले त्यही काम गर्दा बेठिक हुन्छ र काका ?

उनारु त ‘हामी प्रचण्डलाई छाडेर ओलीतिरै बस्छौ’ भनेर कारवाहीमा परेका हुन् । माधवहर्ले ओलीको विरोध मात्र गरेका छन् अझै माओवादीको सदस्य भाकै छैनन् । फ्लोरक्रस गरेपछि मात्रै उनार्लाई भित्राउने हाम्रो योजना छ ।

मन, बचन र कर्मले माओवादी बनेपछि सांसद पदको लोभ गरेर फ्लोरक्रस गर्नकै लागि एमालेमा बस्नु पनि हुँदैन । वादलहर्ले जसरी क्लिएर गरेर छुट्टिनु पर्छ, यदि माधवहर्ले राजनीति गरेका हुन भने ।

मलाई रिस उठ्ने कुरा नगर भिरघरे ! माधवहर्ले फ्लोरक्रस नगरुन्जेल एमालेमै बस्नुपर्छ । त्यसपछि मात्र माओवादी बनाउने हो ।

लु काका ! तिम्रो कुतर्क अरुलाई नै सनाउ । म हिडें बाख्रा चराउन !

जै नेपाल

Facebook Comments