परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सिद्धान्त, पार्टी, अनुशासन, अगडमवगडम स्वाहा !

फुटानी 

लु वाजे ! रेखी-सेखी हाल्नुहोस् । अब पूजा सुरु गर्नु पर्छ । लौ भिरघरे पनि आइपुग्यो । यता बसेर भतिजले सहयोग गर्ने ।

सप्पै कुरो गरी हाल्छु नि काका । कुनै चिन्ता लिनु पर्दैन । वाहुनले ‘स्वाहा’ भने पछि काका र काकीले यो पदार्थ छ नि ! हो यो भस्म हुने गरी स्वाहा भनेर यो भट्टीमा जाक्नु ! ए… बाजे कुन किताव पढ्छौ ?

खै कुन पढ्नु कुन नपढ्नु !

दोधारमा बस्नु हुदैन अब ! समय अनुसार चल्न जान्नु पर्छ ! अब अन्त्येष्टी कै किताब पढ्दा राम्रो हुन्छ है बाजे ! काका काकीले पनि नेकपा भन्नेको कुनै अस्तित्व यो धर्तीमा अब नरहोस् स्वर्गमा बास होस् भनेर कामना गर्दा कार्जे सफल हुन्छ । लकपकार बोल्नु हुँदैन । मैले त भाको कुरो भनेको हो ! कि कसो काकी !

ठिकै हो भतिज ! आखिर जे हुनु थियो त्यही भयो ! नहुने कुरै भएन ! पार्टी एकता घोषणा दुई जना मिलेर गरेका थिए ! अहिले पनि उनार्ले नै सके ! मलामीहरु को कता गए भनेर टाउको गन्नुको कुनै अर्थ छैन ।

के भन्छे यो झुम्री ! किन अर्थ छैन ? माधव, झलनाथ जस्ता ब्यक्ति हाम्रो गौरवशाली पार्टीको अध्यक्षलाई नेता मानेर हाम्फाल्दै हामीसंग टाँसिन आए । त्यो एमाले भन्नेको दह्रो संगठन तहस नहस पार्नु थियो त्यसमा हामी सफल भयौं ! हुँदै जान्छ ! हेर्दै जानु पर्छ !

हो काका ! अब तिमारुले हेर्ने बाहेक केही बाँकी छैन !

लु यज्ञ मण्डप तयार भयो ! अब जन्मउत्सव भन्ने किताब पढौं कि अन्त्येष्टी ठोकी दिउँ । म त बाहुन मान्छे जुन भन्नुहुन्छ त्यही पढ्छु !

बाहुन पनि कस्तो कुरो गर्छौ हँ ! अन्त्येष्टी किन पढ्नु पर्‍यो !

एक काका ! बाहुनले ठिकै कुरो गरेका छन् ! अन्त्येष्टी नै पढ्नु पर्छ ! उ उभिण्डेका कान्छा बाहुन पनि आए ! यी भनेका नेकपाका धुरन्धर विद्वान हुन् ! यिनले के भन्छन् त्यही गरौं ! कि कसो !

ए कान्छा पण्डित यहाँ मुढामा बस ! कुन कर्म गर्दा राम्रो हुन्छ ? वस्तुस्थितिको ठोस विश्लेषण गरेर समयको समेत ख्याल गरेर जन्म र मृत्यु बिचको कुन कार्जे गर्दा उत्तम होला ! स्पष्ट रुपमा खुलाएर भन ! म र झुम्री चित्त नदुखाई दत्तचित्त भएर यो अनुष्ठान सम्पन्न गर्छौ !

ठिक छ ! त्यसो भए अन्त्येष्टी कर्मका लागि तयार भएर दुवै पक्ष बस । मलमास र कृष्ण पक्ष एउटै चक्रमा गुत्थम्-गुत्थी परेको ३६ महिना अर्थात् कहिल्यै नमिल्ने ३ र ६ को अंक एक अर्काको विपरित फर्किएर बसेको हुँदा केही दिन अघि नेकपाको मृत्यु भयो । र, दाहासंस्कार पनि सम्पन्न गरियो । अब भुत प्रेत वायु भएर कसैको अनिष्ट नगरोस् भन्ने हेतु यो कर्म गरेको भनी संकल्प गर ।

यी कान्छा बाहुन पनि बढी जान्ने हुन्छन् ?

कस्तो कुरो बुझ्दैनौ बुढा तिमी ! कर्म गर, फलको आस नगर भनेर हाम्रो नीतिशास्त्रमा माक्र्सले नै लेखेको छ भन्छन् । बरु कान्छा बाहुनलाई थाहा होला ‘मलामी कति थिए ?’

मलामी धेरै थिए । तर, दुईतिर बाँडिए । देख्नेहर्ले जता बाँडिए पनि ‘मलामी मलामी नै हुन् जन्ती होइनन्’ भन्ने टिप्पणी गरे ।

ए काका-काकी, तयार होइन ? लु बाहुन त्यो श्रद्धाञ्जलीको विधि चै पढ्न थाल त ।

होइन सप्पै सकिएकै हो र भिरघरे ! तँ काँग्रेस भर यसो भनेको त होइन ? हुन त निरास बनाए । तर, अदालत छ, निर्वाचन आयोग छ । यता कम्युनिष्ट आन्दोलनलाई काँधमा बोकेर हिड्ने सर्वहारा वर्गका महान नेता हाम्रो गौरवशाली पार्टीका सदावहार अध्यक्ष कम्रेड प्रचण्ड छन् । यस्तो पुनित कर्मलाई अन्त्येष्टी कसरी भन्नु ?

जसरी पनि भन्नु पर्छ । अब बाहुनले विनियोग भन्छन् तिमीले ‘स्वाहा’ भन्नु ! अब नेकपा भन्ने रहँदैन । एकछत्र हाम्रो काँग्रेस हुन्छ ।

त्यस्तो हुदैन भिरघरे !

कस्तो हुन्छ त काकी ?

ओली पक्ष नेकपा जागेर आउँछ । यो मुलुकमा भारतसंग समानताको सम्बन्ध स्थापित गर्ने ओली, नाकाबन्दीको सामना गर्ने ओली, चीनसंग पारवहन सन्धि गर्ने ओली, भुकम्पले क्षतविक्षत बनाएका संरचना निर्माण गर्ने ओली, चुच्चे नक्शा जारी गर्ने ओली, विकास निर्माणमा पछि नहटी काम गर्ने ओली यस्ता व्यक्तिलाई काम गर्न नदिने प्रचण्ड माधव… !

लु यस्तो कुरो नगर झुम्री मेरो कन्सिरी तातेर आउँछ ! बाहुन लु पढ्न थाल ।

अब म ‘विनीयोग’ भन्छु तिमीहरु ‘स्वाहा’ भन्नु । लु म पढ्न थालें है !

कम्युनिष्टमा हुनु पर्ने विचार, सिद्धान्त, दर्शन र व्यवहार विनियोग- स्वाहा,

नयाँ जनवाद, २१ सौं शताब्दीको नौलो जनवाद, जनताको जनवाद, वहुदलीय जनवाद विनियोग-स्वाहा,

लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र विनियोग – स्वाहा,

पार्टी, सङ्गठन, जनवादी केन्द्रीयता विनियोग – स्वाहा,

जनता, कार्यकर्ता, समर्थक, नेता विनियोग – स्वाहा,

पार्टी एकता, सह-अस्तित्व, केन्द्र, मोर्चा, चुनावी प्रतिस्पर्धा, दुईतियाई बहुमत विनियोग – स्वाहा,

पद्धति, आचारसंहिता, अपानि, घोषणापत्र, अनुशासन विनियोग – स्वाहा,

माक्र्सवाद, लेनिनवाद, माओवाद, समाजवाद सबै वाद विनियोग – स्वाहा !

अरु केही बाँकी छ ?

छैन !

छैन भने जै नेपाल !

Facebook Comments