ब्रह्मा बुढाले न हो
(छन्द: शार्दूलविक्रीडित)
नेपाली ध्वज शैलको शिखरमा मैले जडेको त हो
रक्षामा कति युद्ध यो मुलुकको मैले लडेको न हो
हेप्छन् आज बुढो भनेर यसरी आफ्नै युवाले अहो!
कविता
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥१
जन्मेको कुनबाट रक्त-रसमा हो बीज कस्को थियो
ढल्दा बालकमा हिलो जमिनमा बोकेर कस्ले लियो
मान्छेभित्र बढीरहन्छ ऋण जो माता पिताकै छ हो
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥२
राखी नौ महिना तकै उदरमा त्यो देह कस्ले दियो
नाता नै जब रक्तको छ तनमा टाढा कहाँ देखियो
हालेको अघि काँधमा दिनदिनै आएन झल्को अहो!
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥३
गैह्री-खेत बगे कयौँ ती भलले पर्खाल घेरी कन
कस्ले स्वर्ण फलाउने ती गहरा साँचेर राख्यो भन
मान्छे भैकन गर्नुपर्छ सबले गुप्ति सबै ज्ञान हो
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥४
आफू गुन्द्रुकमा रमेर सहजै खाएर रोटो ढिँडो
ख्वाएको पनि दुधभात बबुरो बन्दा यिनैले त हो
बोक्दा पीठविषे पिसाब गरने के सम्झना हुन्न हो
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥५
पर्दा धेर बिमार रात भर नै मारेर निन्द्रा पनि
पोसी औषध काखमा प्रणयले छोपरे राखी अनि
सेकाई प्रिय पाउ टेक्न दरिलो पार्ने बुढीया त हो
धानेको अघि सृष्टि नै भुवनको ब्रह्मा बुढाले न हो॥६