हाम्रा सिमानाहरू सर्न थाले
कविता- (छन्दः इन्द्रबज्रा)
हाम्रा सिमानाहरू सर्न थाले
अर्ना र साँढे अरु चर्न थाले
बोल्दैन कोही बरु मौनताले
बल्दो छ वेदी चरु भर्न हाले॥१
खेदो अनौठो सित गर्न थाले
ताके सयौँका घरबार ढाले
खेदी लखेटे जनता निकाले
आफ्नैथलोमा गजबार हाले॥२
मैदान वल्लो भइदिन्छ पल्लो
दाबेर नक्शा झन पार्छ डल्लो
मेरो भनी भुक्छ पराइ झल्लो
छोप्दै सधैँ चील बनेर चल्लो॥३
हाले ठुला बाँध उसै नबोली
पारे कयौँ उर्वर खेत खोली
बर्सिन्छ बोले परबाट गोली
वार्ता परै सर्दछ भन्छ भोलि॥४
सुस्ता यहाँको लिपु लेक दामी
नावी र गुञ्जी छ कुटी बिरामी
नेपालको पौरख उच्च खामी
जन्मेन क्वै वैद्य बनेर दामी॥५
देखेर चाला जनता छ हाला
छातीविषे बिझ्दछ भित्र भाला
पुर्खा पिताको जब जान्छ छाला
सन्तान के चाल गरेर खाला?॥६