परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बिर्स्यो अरे कालले

(बुढ्यौली साहित्य)

 यात्रा जीवनको हुँदा जलधीमा डुङ्गा चढेकी थिएँ

त्यो डुङ्गा मझधारबाट छुटियो हावा बग्यो हुत्तिएँ
धेरै टापु र वन्य जीवन डुलें छोड्यो यतै छालले
मेरा साथ सवार ती जन लग्यो बिर्स्यो अरे कालले ।१

 

सङ्ख्या नै सयसम्म हो गणितको मैले सुनेकी थिएँ
त्यो जाबो सयले पुगेन र यता मैले दुई थप्दिएँ ।
पोहोरै सयमा दुई अझ बढी तीनै भएँ सालले
हेर्दा लाग्छ अचम्म जीवन यता बिर्स्यो अरे कालले ।२

 

छोरातर्फ मबाट तीन तहका पुस्ता पचासौं जना
छोरीतर्फ त झन् भए अझ बढी होला सके दो गुना
छोरा नाति पनाति छन् कति जना बिर्सन्छु मैले सबै
छोरीका सब नाम सन्तति भुलें नाता कहाँ छन् अझै ?३

 

खानाको परिकार छेउतिर छन् देखिन्न थालै पनि
खाना खाइ सकेर सोध्न म पुगें दिन्नौ र खाना भनी
एक्लै त्यो परसम्म हिँड्न नहुने बेला भएको छ रे
मेरो विस्मृतिले पुगें पर कता बिर्सेछु बाटो अरे ।४

 

आमा हिँड्न विशेष मार्ग गरुँला पन्छाई ढुङ्गाहरू
मैले मार्ग तयार पार्दछु उता बिस्तार आऊ बरु
भन्दै त्यो मुटुको उठेर टुकुरो सन्तान जेठो सुत
बाटो खन्न भनेर माथितिरको पैह्लै गर्यो साइत ।५

 

मैले जान थियो उतातिर हरे उल्टो भयो पुत्र गो
बाबाकासँगमा बसेछ कि कसो आउन्न सम्चार हो
कामै काम भनेर रात दिन ती भन्ने बुढाले पनि
डाक्दैनन् किन हो अझै पनि उता कामै छ आऊ भनी ।६

 

कस्तो यो परिवेश भो अब हरे वार्ता हुने फोनमा
हेर्दै बोल्न मिलेर यो गजबको आयो जमाना नयाँ
गोराका कुन देश नाति छ कुनै बोल्ने छ फोटो पनि
आमा ढोग गरें भनी कन भने खुट्टा दिएँ मै पनि ।७

 

फोटोमात्र म देख्छु बोल उसको सुन्दैन केही पनि
हा हा हा गरि हाँस्दछन् सबजना सुन्छे बुढीले भनि
जम्मै यो फुनमा झुमे सबजना बुझ्दैन केही म ता
मेरा ती वयका पुराण र कथा लाउन्न कोही यता ।८

 

मेरा दाँत सबै बिदा भइ गए साह्रो चबाइन्न खै
मेरा कान बसे सबै जन कुरा गर्दा नसुन्ने अझै
थाहा कत्ति हुँदैन खै किन अहो भिज्छन् लुगा अङ्गका
हिँड्दा पाउ दुखे र यो जिउ गल्यो सिँढी अखेटा यहाँ ।९

 

मेरो काम कुनै रहेन अब ता सारा हराए सुर
लाग्यो विस्मृति गाँज्न वाक्य पनि ता बोल्ने भएँ बेसुर
लैजा काल उठाइ जान मन भो बस्दैन पीडा सही
मेरा प्रीतम छन् उता र सुत छन् पर्खी रहेछन् वहीँ ।१०

 

छन्द :- शार्दूल विक्रीडित
( एक सय दुई बर्षकी बूढीआमाको जीवनप्रतिको अनुभूतिमा आधारित )
अन्य आकर्षणहरू

बा-आमा देवता हाम्रा

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

Facebook Comments