परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपा विग्रह रोक्न बामदेवका ६ सूत्र

दस्तावेज

काठमाडौँ, साउन १३ । सत्तारूढ दल नेकपाभित्र उत्कर्षमा रहेको कलहका बीच आज पार्टीका उपाध्यक्ष बामदेव गौतमले विग्रह रोक्न ६ वटा सूत्रको प्रस्ताव गर्नुभएको छ । उहाँकाे मध्यमार्गी सो प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली पूरै अवधिका लागि प्रधानमन्त्री एवं अध्यक्ष पदमा कायमै रहनुपर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्ण कार्यकारी अध्यक्षका रूपमा पार्टीको काम गर्नुपर्ने उल्लेख छ ।

महाधिवेशनसम्म यसरी अगाडि बढने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने उहाँको मुख्य प्रस्ताव रहेको छ । यसैगरी सरकारका दैनन्दिन काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णय, नियुक्ति, मन्त्रिपरिषद्को पुनर्गठन तथा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्य पार्टीको सचिवालयको परामर्शमा गर्नुपर्ने बामदेवको प्रस्ताव छ । साथै पार्टीको बैठक पार्टी कार्यालयमा बस्नुपर्ने उहाँको प्रस्तावमा उल्लेख छ ।

सामाजिक सञ्जालमा बामदेव गौतमको  यो ६ सूत्रीय प्रस्तावलाई स्वागत गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उहाँको प्रस्ताव मध्यमार्गी भएकाले यस अनुसार अघि बढे तत्कालको नेकपा विग्रह रोकिन सक्ने सुझाव दिएका छन् ।

पूर्व निर्धारत तालिका अनुसार आज पार्टी स्थायी समितिको बैठक बस्नुपूर्व नै राजनीतिक वृत्तमा धेरैले अनुमान गरेभन्दा भिन्न उहाँको यो प्रस्ताव आएको हो । हस्ताक्षर बिनै जारी गरिएको यो प्रस्तावको आधिकारिकताबारे प्रश्नहरू उठेका भए पनि नेता बामदेव गौतमको सचिवालयले नै यो उहाँको आधिकारिक प्रस्ताव भएको जनाएको छ ।

सत्तामा गएपछि मिल्नभन्दा विग्रहतिर जाने नेपालका राजनीतिक दलहरूको परम्पराअनुसार सत्तारूढ नेकपा पनि गएको संसदीय निर्वाचनमा झण्डै दुई तिहाई मत पाएपछि त्यो मत थाम्न नसकेर अहिले आन्तरिक गुट–फुट र कलहमा रुमल्लिरहेको अवस्था छ । आम नागरिक भने यो कलहभन्दा माथि उठेर देशका सामु आइपरेका समस्या समाधान गर्न र देशलाई समृद्धिको बाटोमा लैजान काम गर्नुपर्ने सुझाव दिइरहेका छन् । तर नेताहरूको पहिलेदेखि नै लाग्दै आएको बानी र नेपाली दलहरूको विग्रहको परम्परा तोड्न नेकपाका नेताहरूलाई गाह्रो भइरहेका बेला बामदेव गौतमका यी सूत्र अगाडि आएका हुन् ।

Facebook Comments