परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फुट्दा नि फुट्दैन, जुट्दा नि जुट्दैन

फुटानी

हौ काका ! नमस्कार है । काकीसंग झगडा प¥यो कि क्या हो ? मुख त हुप्प फुलार बसेका छौ त !

तँ पनि नचाहिने कुरो गर्छस् है भिरघरे ! केको काकीसंग झगडा गर्नु नि । पार्टी फुट्ने भयो थाहा पाइनस् । अब आउने चुनापमा वडा अध्यक्षमा उठ्छु भन्ने थियो । त्यो पनि गयो ।

नचाहिने कुरो मनमा खेलाएर पिरले सुक्ने भयौ काका ! पार्टी फुट्छ जस्तो लागेन । हाम्रो काँग्रेस जस्तै भर रहन्छ होला । फुटे त हुन्थ्यो। यो वडाको अध्यक्ष म आफैं जित्ने थिएँ । काँग्रेसले मलाई बाहेक अरुलाई टिकट दिने थिएन ।

अब तैं जीत । हाम्रो त बेहाल होला जस्तो छ । हेर भिरघरे, पार्टी एकता हुने बेलामा अचानक केपी ओलीसंग भेट भयो । त्यसबेला मैले त भनेको थिएँ ‘एकता त गर्नु होला तर हल मिल्दैन जोत्न अप्ठयारो हुन्छ’ भनेर ।

अनि ओलीले के भने काका ।

‘अब गोरु नार्नु पर्दैन । ट्याक्टरले जोत्छ’ भने ।

तिमीले त्यसबेला एमालेको अध्यक्षलाई कसरी भेट्यौ त !

अचानक भेट भयो । त्यस बेला ओलीसँगै काठमाडौंका सानु श्रेष्ठ, जिल्ला समन्वय समिति काठमाडौंका शिव बैद्य लगायतका अरु व्यक्ति पनि थिए । त्यसपछि अमात्य भवन भन्ने ठाउँमा फेरि भेट हुँदा म तपाईंको एकतामा अटाउन सकिन । सूर्यमा मतदान गर्ने स्वतन्त्र व्यक्ति भएर बस्छु भने । प्रधानमन्त्रीले त्यस बारे केही बोल्नु भएन । नेता शंकर पोखरेलले ‘तपाईले त्यस्तो कुरा गर्न मिल्दैन, पार्टीको निर्णय मान्नु पर्छ भने । नेपालगंजका पत्रकार डिल्ली विसी पनि थिए ।

होइन आफैंले प्रधानमन्त्रीलाई भेटेको काका ! लु मैले चैं पत्याइन । काका नि गफ गर्न जान्ने भई सके छन् ।

गफ होइन भिरघरे अहिले मलाई यो गाउँमा पत्याउन छाडेका छन् । अब म काठमाडौं गएँ भने हाम्रो पार्टी अध्यक्ष जल्दोबल्दो, भरभराउँदो, परपराउँदो, खरखराउँदो, दरखराउँदो, लरवराउदो सर्वहारा वर्गका महान नेता उच्च छलाङका विचारक काम्रेड प्रचण्डलाई भेटेर संगै बसेर फोटो खिचेर आउँछु ।

फोटोले के हुन्छ र काका ! आखिर पार्टी फुट्दैन । आज वार–पार भए हुने थियो । तर, हुँदैन । त्यहाँ आदर्शका नाममा निजी कुरा गर्छन्, सिद्धान्तका गर्दैनन् । त्यहाँ भावनाका कुरा गर्लान्, व्यवहारका गर्दैनन् । त्यहाँ वर्तमानका कुरा गर्लान्, भविष्यका गर्दैनन् । त्यहाँ शहरको गफ होला, गाउँको हुदैन । त्यहाँ पार्टी फोर्ने कुरो होला तर फोर्दैनन् ।

ए भिरघरे ! तेरी काकीलाई बोलाउँछु । पर्खी है । ए…. ! झुम्री यहाँ आइजो त ।

के भो ! किन बोलाको ?

केही भको होइन । भिरघरे पार्टी फुट्दैन भन्दै छ । तँ के भन्छेस् ?

ठिक भने छ भिघरेले । जोडिएको भए पो फुट्थ्यो । एकता भको भापो विभाजित हुन्थ्यो । तर, ठट्टाको विषय होइन । यदि ओली र दाहाल मिलेनन् भने र माधव नेपाल लकपकाए भने माधव नेपालको राजनीति समाप्त हुन्छ । एमालेका कार्यकर्ता र नेपाली जनताले अबको पार्टी अध्यक्ष साथै प्रधानमन्त्रीको रुपमा माधव नेपाललाई नै हेरेका थिए ।

काकी ! प्रचण्डतिर लाग्दा चै माधव नेपालको राजनीति समाप्त हुन्छ र !

सबैको समाप्त हुन्छ । त्यसमा पनि निकट भविश्यको प्रधानमन्त्री र पार्टी अध्यक्ष जित्ने व्यक्ति भनेको माधव नेपाल नै हुन । अबको दुई वर्षपछि ओली चुपचाप बस्छन् यता झलनाथ, वामदेव, प्रचण्डलाई जनताले संसदीय निर्वाचनबाटै चिलिमच्वाँट बनाउछन् । यस्तो बेलामा माधव नेपालले दूरदर्शी निर्णय गर्नु पर्छ । आवेशमा आएर हुदैन । एउटाको रिसले धेरै कुरा विगार्नु हुँदैन । यदि उनले विचार पु¥याएनन् भने राष्ट्र, जनता र पार्टीले ठूलो नोक्सानी ब्यहोर्नु पर्छ ।

ल तेरो धारा प्रवाह प्रवचन बन्द गर झुम्री ! अब सधैंको अध्यक्ष, प्रधानमन्त्री हाम्रो प्रचण्ड बन्नु पर्छ ।

ए काका ! बन्नु पर्छ भनेर मात्र हुदैन । जनताले पत्याउनु पर्छ । नरिसाउ काका जनताले प्रचण्डलाई पत्याउँदैनन् ।
अनि तँलाई चै पत्याउछन् । एउटा महान नेतलाई नपत्याएर कस्लाई चै पत्याउँछ त ! आज केही हुन्छ । भरे खवरमा सुन्लास् ।
लु काकी नै भन, आज फाइनल हुन्छ त !

हुन सक्छ ! किनभने लाग्नेहरु पार्टी फोर्न जोडले लागेका छन् । तर त्यति सजिलो छैन । पार्टी सङ्गठनमा अहिलेका सबै टिका लगाएर आएका हुन । कार्यकर्ताले चुनेका कोही पनि छैनन् । अति अहंकारी, पदलोलुप, तिरस्कृत र पाखण्डहरुले पार्टी भित्र रजगज गरेका छन्। अहिले वल माधव नेपालको कोर्टमा छ । विचार पु¥याएनन् भने अरु हार्दैनन् माधव नेपाल हार्छन् ।

त्यो भए प्रचण्डतिर माधव नेपाल लागे भने पार्टी समाप्त हुन्छ त काकी !

हुन्छ । किन कि संसदीय चुनावमा यिनार्ले जित्दैनन् । अशोक राई फुट्दा एमालेले २१ स्थानमा नराम्रोसंग हारेको थियो । नजिते पनि हराउन काफी हुन्छ । किनभने यी पार्टीहरु संसदीय पद्धती अपनाएर मात्र ठूला भएका हुन् ।

ल मेरो चित्त बुझ्यो काकी । यो पार्टी फुट्नै पर्छ । अनि म वडा अध्यक्ष बन्छु ।
जै नेपाल

Facebook Comments