परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हैन, फुट्दैन कि क्या हो !

फुटानी

के भो भतिज भिरघरे, निन्याउरो मुख लगाएर पो आइस् त !

के गर्नु हौ काका ! उता इन्डिया च्यानल हेरेको नेपाल त चाइनाले लग्यो अरे । अनि ओली र प्रचण्ड पनि नफुट्ने हुन कि भन्ने शङ्का बढेर गयो ।

हेर् भतिज ! इन्डिया च्यानलको इन्डियामै विश्वास गर्दैनन् नहेरे हुन्छ । यता नेकपा फुटाउन खेल हुँदै छ तर नफुट्ला जस्तो भयो । त्यसमा चाहिँ म पनि चिन्तित छु । नयाँपत्रिका, रातोपाटी, देशसञ्चार, म र कान्तिपुर प्रचण्डलाई प्रधानमन्त्री र एकलौटी पार्टी अध्यक्ष बनाउन जोडबलले लागेका छौं । तर, पार लाग्ला जस्तो छैन । के नमिलेको के नमिलेको जस्तो भै’राको छ ।

तिम्रो कुरो त ठिकै हो काका । हामी काँग्रेसहर्लाई त नेकपा फुटे हुन्थ्यो भन्ने नै हो ।

हौ भतिज ! हाम्रो पार्टी फुट्यो भने त हाम्रो प्रचण्ड कामरेड कसरी प्रधानमन्त्री बन्ने ? यस्तो त हुनै सक्तैन नि ! त्यसैले त हामी चार तत्व मिलेर ओलीको विरुद्धमा अभियान चलाइ रहेका छौं । नेकपाको विरोधमा होइन हामी ओलीलाई जसरी पनि बद्नाम गर्ने भ’को नभको बनाएर ओलीले गल्ती गरेकै हो भन्ने, प्रधानमन्त्रीबाट राजीनामा दिनै पर्छ भनेर माग गर्ने लगायतका काममा अहोरात्र खटेका छौं । हेरौं, हामी दुइटा पत्रिका दुइटा अनलाईन र अर्को म सफल हुन्छौं कि हुदैनौ । तर, ओलीको विरोधमा लेख्ने, लेख्न लगाउने र बोल्न चाहिँ ज्यान गए छाड्दैनौं ।

अनि काका न’भाको कुरो बनाएर पनि आरोप लगाउन मिल्छ त ?

के को नमिल्नु । खै… अहिलेसम्म मिलेकै छ । स्वतन्त्रता भनेकै यही हो भतिज । हाम्रो प्रचण्ड कामरेड बाहिर बस्ने ओली प्रधानमन्त्री बन्ने । यो नै अनौठो हो भतिज । अब यस्तो हुँदैन ।

हौ काका ! हुन त तिमीलाई रिस उठ्ला एउटा कुरा भनौं है ।

भन भतिज भन । धौ फुकाएर भन ।

प्रचण्ड र ओली बिचमा जनताले चुन्नु प¥यो भने भोट कसलाई बढी देलान काका !

त्यस्ता थाङ्ने कुरा नगर भिरघरे । जनताले देर हुने होर ! हामी कार्यकर्ता हर्ले बनाउने हो । जनताले ओलीलाई नै पत्याउँछ भन्न खोजेको होलास् । चुनाव भनेको चितवनको मेयरको जस्तो अथवा सिराहामा दोस्रो संविधान सभा चुनावमा लिला श्रेष्ठको क्षेत्रमा भए जस्तो पनि हुन्छ । बुझ्नेलाई कुरा काफी छ ।

खै काका ! अहिले केही उपाय निकालेर प्रचण्डले पाराकपुरुक पारे भने हाम्रो शेरबहादुर र उपेन्द्रहरुसँग मिलेर केही गर्न सक्लान् नत्र अङ्गुर अमिले हुन्छ होला ।

राजनीति दोस्रो चक्रमा प्रवेश गरी सकेको छ भिरघरे । हाम्रो कामरेडलाई झोंक चल्यो भने पार्टी न साटी फाइनल हान्न बेर छैन । ५७ जना त आफ्नै पार्टीका सांसाद छन् । उपेन्द्र र देउवाको समेत गर्दा चिरिप्प झ्याप हुन सक्छ । भोग्ने भनेकै वर्तमान हो । भविष्य पर्खेर बस्नु हुदैन ।

कुरो त ठिकै हो काका तर ओलीलाई अहिलेकै अवस्थामा हटाउँदा सन्देश चैं राम्रो जादैन । अहिले जीवित रहेका पूर्व प्रधानमन्त्रीहरु मध्ये ओलीले जति काम गरेका अरु कोही छन भने भन्नु न । फुँई लडाएर मात्र हुन्छ तिनार्ले ।

हैन भिरघरे ! ओलीले के चाहिँ त्यस्तो काम गरे । जो पनि त्यस्तै भन्छ ।

ए काका । पहिलो प्रधानमन्त्रीकालमा चाइनासंग पारवाहान सन्धि गरे । अरु कुनैले गर्न सकेका थिएनन् । अहिले पनि २०३२ सालमा हराएको नक्शा ल्याए । नागरिकता सम्बन्धी काम पनि गरेर देखाई दिए । यी ऐतिहासिक कामहरु हुन ।

त्यस्ता नाथे काम हाम्रो प्रचण्ड कामरेडले पनि गर्नुहुन्छ । तिमारु काँग्रेसहर्ले प्रचण्डलाई केही गर्न दिएनौं । अहिले मेरै अगाडि ओलीको प्रसंशा गर्ने ? मेरो छेउमा बरु शेरबहादुरको प्रसंशा गर ओलीको नगर । हाम्रो माओवादी खत्तम पार्ने नै ओली हो । अब ओलीलाई नेता मानेर हामी माओवादीका कार्यकर्ता बस्तैनौं ।

अनि पार्टी एकता किन गरेको त !

त्यसबेला उनार्को ठूलो, प्रतिबद्ध कार्यकर्ता भएको व्यवस्थित पार्टी कब्जामा लिन सकिन्छ कि भनेर एकता गरेको हो । तर, उनारु खत्तम र’छन् । एमालेका कार्यकर्ता हाम्रो जस्तो हैन र’छ ।

अनि काका ! कार्यकर्ता उनारु एमालेकै धेरै, प्रतिवद्ध, टसमस् नहुने छन् । जिल्ला जिल्लामा ब्यवस्थित पार्टी कार्यालय उनार्कै छ । कति कार्यकर्ता पार्टी कहिलेदेखि लागे भन्ने डाटा उनार्को एमालेको छ । महिनै पिच्छे लेभी उठाउने गरेका छन् । अनि तपाईहर्को पार्टीको त केही पनि छैन । डङ्का मात्रै ठूलो छ ! चुनापमा पनि कहिले शेरबहादुर कहिले ओली र कहिले माधव नेपालहरुसंग मिलेर औसर …. !

लु यस्तो कुरो नगर मेरो कनसिरी तातेर आउँछ ।

पहिलादेखि नै माओावदीको रोग नै उत्तेजित हुने, चर्को स्वरले बोल्ने, सामाजिक सद्भाव विथोल्ने, हामीहरु नै सबैभन्दा उत्कृष्ठ हौं भनेर धमास् दिने यही त होनि हौ काका ! के अनौठो भो र तिम्रो कनसिरी तान्नु ।

अब ती दिन गए । तिमारुलाई ओलीले पाताल भसाउन बाँकी नै छ। त्यो माओवादी भन्ने, कांग्रेस जति व्यवस्थित पनि छैन। यो गाउँको सबैभन्दा ठूलो नेता तिमी! तिमीलाई नै थाहा छैन यो गाउँमा आफ्ना कार्यकर्ता कति छन् भन्ने! अमृत बोहोराले कार्यकर्ताको लिष्ट मागेको मागेई छन् । माओवादीले दुई वर्षमा पनि दिन सकेन।

हेर भिरघरे ! हामीले तिनारुलाई किन दिने बरु उनार्ले हामीलाई दिनु पर्छ ।

यस्तो उल्टो कुरा नगर काका ! तिमार्को पार्टी पनि फुट्दैन, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा पनि दिदैनन् ।

लु जा मैले भने पछि भने भने । म अब हिडें ।

जै नेपाल काका !

Facebook Comments