यिनै हुन् परेली
छन्द-भुजङ्गप्रयात
यिनै खर्कमा गाई बाछा चराएँ
यिनै टाकुरामा पसिना बगाएँ
यि आँठा बिरौटा खनी खेतबारी
हिलोमा धुलोमा हराएँ रमाएँ।
छरेकी छु, तोरी छरेकी छु कोदो
हलक्कै बढेको छ कालो हलेदो।
यि डाला यि थुन्से, भकारी भरी छन्
सुनौलो छ पाखो जुनेलो झुलेको।
उँधौली उँभौली यिनै पर्व मेरा
यि खोला, पँधेरा सबै तिर्थ मेरा।
यहीं गूँड लाएँ, यहीं फूल पारेँ
पखेटा पलाएर हुर्के बचेरा।
यहींको छ माया अनेकौँ तरेली
यहींको छ जाँतो, यहींको मझेरी
कतै सम्झनामा कतै विर्सनामा
भिजेका सुकेका यिनै हुन् परेली।
दही, दूध, मोही पिउने छ बानी
समालेर राखेर ठेकी मदानी।
अकाशे छ छानो बतासे छ बेरा
छ माटो बिछ्यौना र ढुङ्गो सिरानी!