परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नक्सादेखि त्रसित बाबुराम !

फुटानी

हैन, लकडाउनको ख्यालै नगरी दौडिएर आइस त भिरघरे ! के प¥यो त्यस्तो ?

लकडाउनले केही पनि छेक्दैन काका !

यही लकडाउनको बेला त भारतले हाम्रो सिमानामा मनपरी गर्दैछ । मान्छेहरु पनि भारततिरबाट ह्वार ह्वारर्ती आउँदै छन् । झापा, विराटनगर, २ नं. प्रदेशका सिमाना, यता परासी, रुपन्देही, बाँके, धनगढी लगायत सप्पैतिरबाट गुटुङटुङ आइ’रा छरे !

अघि ठूलोकान्छाले पनि भन्दै थियो । विराटनगरमा त १० बजेसम्म मेला लाग्छ भनेर । आज बिहान तेरी काकी झुम्रीले झापाको पर्तकार गणेश पोखरेललाई फोन गरेर सोधेकी अरे । सीमा पारीबाट लुकेर आउनेलाई रोक्न सकेको छैन अरे । उताबाट आउने धेरै जसोले कोरोना पनि संगै लिएर आएछन् अरे !

यस्तै हो काका ! अब आफैं सचेत भएर काम गर्ने बानी बसाल्नु पर्छ । सबैतिर त्यस्तै छ । फेरि भएन लकडाउन गरेर पनि के माने भयो र । जतासुकै खुला

सिमाना छ छिरिहाल्छन् । भारतमा कोरोना साम्य भो भने मात्र हाम्रोमा पनि हुन्छ नत्र हुदैन ।

ए… भारतभन्दा पो सम्झिएँ । साँची हाम्रो लिम्पियाधुरा, टिंकर–कालापानीतिर के हुदै छ हँ ?

के हुन्छ र काका ! मिचाहा छिमेकी प¥यो । छिमेकी फेर्न मिल्दैन । आबै ः काका ! त्यहाँका मिडियाले हावाका भरमा समाचार भन्दा रा’न । नेपाललाई स्वतन्त्र राष्ट्रै नमान्ने । हामी त भारतको दाजु हो नि काका ! हिमालय पर्वत श्रृङ्खलासँगै नेपाल जन्मियो भने हाम्रै हिमालबाट निसृत हुँदै गएको नदीका कारण भारतको जन्म भयो । अर्कोतिर भन्ने हो भने अस्ति बेलायतले छाडेर गएपछि भारत भ’को । नत्र छँदा पनि थिएन । इतिहास पढ्नु छैन धक्कु लाउँछन् त्यहाँका मान्छे ।

अनि हौ भिरघरे ! हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हाइट’ त ह्वात्तै बढ्यो भन्छन् । के भर बढ्यो हँ ? मान्छे त सानै काँटका हुन् ।

जसले जे भने पनि आफ्नो भूभाग समेटिएको नक्सा यो भन्दा अघि सत्ता समालेकाहर्ले जारी गर्न सकेका थिएनन् । वर्तमान प्रधानमन्त्री ओलीले जारी गरेर देखाई दिए । यसैलाई प्रधानमन्त्रीको ‘हाइट’ बढ्यो भनेका हुनन् ।

आsss भतिज ! कोरोनाले त संसारै समाप्त पार्छ जस्तो छ । हाम्रै नेपालमा पनि छ सय जतिलाई भेटे छ । अब कसरी जोगिने हो ! सधैं लकडाउन भनेर बसेर पनि हुँदैन । भोकले मान्छे मर्न दिनु हुँदैन । शारीरिक दुरी कायम गरेर भएपनि काम गर्नुपर्छ, खाद्य सामग्री उत्पादन गर्नुपर्छ ।

काकाले भनेको मनासिव हो । अब भारतीय सिमाना नजिकै धेरैभन्दा धेरै क्वारेन्टिन निर्माण गरेर उताबाट आउनेलाई राख्ने, चेक जाँच गर्ने अनि मात्र घर पठाउने नीति बनाउनु पर्छ ।

भिरघरेको कुरै सकिएको थिएन एक्कासी मेरी झुम्री आएर ‘तिमार्को कुरै मिलेन, कुरो अर्कै छ’ भनेर गफ दिन थाली ।

काकी त्यस्तो कुरो के छर !

खासमा यो लकडाउन कसैले मानेकै छैन । दिनको ५०÷६० ओटा गाडीले विभिन्न नाका हुँदै काठमाण्डौमा मान्छे भित्र्याउँछन् अरे । अन्तको के कुरा गर्नु ! तराईमा त वारिपारि गरिरहेकै छन् । क्यारेन्टिनमा कोही बस्न मान्दैनन् । अनि अर्को कुरो हाम्रो नेता बाबुरामले भनेको कालापानीको नक्सा पनि ल्याउनै हुन्थेन अरे ।

लु छोड्दे झुम्री यस्ता कुरा ! अब बाबुरामले बोलेको कसले पत्याउँछ ! उनै होइनन् संविधान पास गर्नु हुदैन भन्ने ? उनै होइनन् नेपाल भन्ने राष्ट्र भारतमै मर्ज हुनुपर्छ भन्ने ? अब त बाबुरामजीले पहिला माओवादी भ’को बेला, त्योभन्दा अगाडि शेरबहादुर देउवालाई माग पत्र बुझाएको बखतको कागजपत्र अनि रुकुम रोल्पातिर जनतलाई पढाउन तयार पारेको पाठ्यक्रम पुस्तक सप्पै भेला गरेर जलाउनु पर्छ ।

अनि बाँकी चै के राख्नु काका !

उनले जतन गर्नु पर्ने कुराहरु पनि थुप्रै छन् भतिज । जस्तै – जेएनयूमा पढ्दा गुरुहर्ले दिएको अतिरिक्त शिक्षा, यूरोपियनहर्ले घोकाएको जातीय पाठ, नेपाललाई बहुराष्ट्र बनाउने विषयमा अर्काले दिएको ‘होमवर्क’ र समाजमा धार्मिक साथै क्षेत्रीय कुबिचार र कुभावना फैलाउन उनले बिभिन्न पार्टी चहारी हिड्नुको कारण सहित ठूलो किताब लेख्ने काम गर्नु पर्छ ।

मैले त उनका अभिब्यक्तिहरुको अर्कै अर्थ लगाएको हुँ । यदि नेपालमा अस्थिरता भएन भने उनको भविष्य छैन । उनी कार्यकर्ता विहिन छन् । पार्टी छैन । चुनाव जित्ने कुनै ठाउँ पनि छैन । यस्तो अवस्थामा उनी भित्र कुण्ठा, पीडा, छटपटाहट र अभिब्यक्तिमा विद्रुपन हुनु स्वभाविकै हो ।

भतिजले भनेको ठिकै हो । उनलाई जे शिक्षा मिल्यो त्यही उजागर गरे । जे गर्नु भन्ने आदेश छ त्यही गर्दै छन् । तर चित्त दुख्ने कुरा हामीलाई चै यिनले भारत विरुद्ध सुरुङ युद्ध गर्न समेत उक्साएका थिए ।

अब के गर्ने काका ! यस्तैलाई नेता मानियो । एक पटक यिनले केपी ओलीलाई पागल घोषणा गर्ने पार्टीको निर्णयसहित वक्तब्य नै निकाले । जुन ब्यक्ति आफुलाई मन पर्दैन त्यही ब्यक्ति प्रधानमन्त्रीको पदमा देख्नु पर्दा यिनको धर्ती भासिएको छ । दिमागी तन्तु खलबलिएको छ । बिचरा बाबुरामजीलाई अहिले ‘कौन पुछे खेसरीका दाल’ बनाएका छन् । उनी नक्सा देखि तर्सिएका छन् । बरु हाम्रो काँग्रेसले प्रधानमन्त्रीको राष्ट्रवादी छविलाई जोगाउनु पर्छ भन्दै छ । लौ काका ! म घरतिर लाग्छु अब ।

जै नेपाल !

Facebook Comments