सधैँ देश पुज्ने पुजारी म होऊँ
कविता (छन्द: भुजङ्गप्रयात)
खरो मूढको ओखती किन्न पाऊँ
उठे सर्प जो ठुङ्न छोपी सुताऊँ
सबै माझ सामर्थ्य ऊर्जा रचाऊँ
सधैँ अस्मिता देशको नै बचाऊँ॥१
बिनाबार मेची र काली म धाऊँ
गरी कर्म प्रस्वेद – पानी बगाऊँ
भलो देश नेपालको नै चिताऊँ
रची सादगी सिर्जनाले सजाऊँ॥२
प्रभा वीरताको सुनौलो फिँजाऊँ
जपी गौरवी राष्ट्रकै गीत गाऊँ
मधेसी जुटाऊँ, हिमाली उठाऊँ,
म झुक्दै नझुक्ने बनी वीर छाऊँ॥३
सबै माझ सानन्द शोभा लुटाऊँ
सधैँ चन्द्र औ सूर्य झण्डा उठाऊँ
रची स्वर्ग नै अप्सरा ती नचाऊँ
सबै माझ पस्की सुधा नै अचाऊँ॥४
न हूँ भोकमा भो भकारी नसाँचूँ
लुटी देश ठूलो धनी भै न बाँचूँ
सधै अस्मिता देशको नै बचाऊँ
म नेपाल मेरो शिखामा नचाऊँ॥५
सबै आर्तका घाउ धोऊँ, सघाऊँ
जडी ओखती यत्नले नै लगाऊँ
सकेसम्मको पीर चिन्ता भगाऊँ
सधैँ आरती देशको नै जगाऊँ॥६
अरिङ्गालको क्रूर गोला भगाऊँ
सधैँ माहुरीको म सामिप्य पाऊँ
सुते नीँदमा जो सबै नै जगाऊँ
म यो देशमा शान्ति–धारा बगाऊँ॥७
बनी दास खुट्टा कसैको नछोऊँ
जुटौँ कर्ममा, भाग्य सम्झी नरोऊँ
सकेसम्म यो देशको बिघ्न फोऊँ
सधैँ देश पुज्ने पुजारी म होऊँ॥८