परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपामा भोलि के होला !

एको केही दिनअघिदेखि नेपाली राजनीतिको तापक्रम ह्वात्तै बढ्यो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि गुम्सिइरहेको राजनीतिक बजारमा एकैचोटी गर्मी पैदा भयो । अध्यादेश ल्याउँदा आफ्नै पार्टीका नेताहरुसँग कुनै छलफल र सरसल्लाह नगरेको आरोप प्रधानमन्त्री माथि लाग्यो । यसै कारण असहज वातावरण बन्न पुग्यो । अध्यादेश औचित्य, आवश्यकता र उद्देश्य बेगर किन ल्याइयो भन्न थालियो । चौतर्फि विरोध भयो । आफ्नै पर्टीका नेताहरुले ‘अध्यादेश तुरुन्त फिर्ता लिन’ दवाव दिए ।

पार्टी जब पद्धति, सिद्धान्त र विचारबाट निर्देशित भएर चल्दैन तब विभिन्न खाले तत्व त्यसभित्र प्रवेश गरेर खेल्न थाल्छन् । नेकपा अहिले साङ्गठनिक हिसावले कमजोर छ । जनवादी केन्द्रियता भनिए पनि अहिले पार्टीमा केन्द्रियता मात्र लागु हँुदैछ । नेताहरुले आफू नजिककालाई तानेर केन्द्रिय कमिटीमा राखेका छन् । अन्य कमिटी पनि त्यस्तै छन् । कसले के गर्ने भन्ने कार्य विभाजन भएको छैन । नेतृत्वबाटै एकले अर्कालाई निषेध गर्ने खालका अभिव्यक्तिहरु आउँदै छन् । यसो हुनु भनेको पार्टीलाई झनझन कमजोर बनाउने पद्धतिको विकास गर्नु हो । हो, यस्तैमा पार्टीको मुद्दा लिएर विभिन्न खाले संक्रमित तत्व पार्टी भित्र प्रवेश गर्ने र संरचना ध्वस्त पार्ने खेल खेल्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिनु भयो । तर पार्टीभित्रको मनोमालिन्य फिर्ता भएन । अध्यादेश फिर्ता भइ सकेपछी पार्टी भित्रको विवाद साम्य हुनु पर्ने थियो । तर, भएन । झन् उग्र भएर नेताहरु केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्छ भन्न थाले । नेकपामा गुट गुटका आ–आफ्नै गुँडमा बैठक बस्यो, छलफल भयो । प्रधानमन्त्रीलाई एक्लै बनाएर लखेट्ने काम गरियो । शायद, अध्यादेश विवादको बहाना मात्र थियो ।

गत २० गते बस्ने सचिवालय बैठकमै प्रधानमन्त्री विरुद्ध जेहाद छेड्ने र हटाउने योजना वहुमत सचिवालय सदस्यको गठजोडले गरी सकेको थियो । तर, कुन कुन ‘फ्याक्टर’ र कुन कुन व्यक्तिले के कस्तो भूमिका निर्वाह गरे बैठकमा प्रधानमन्त्रीको राजिनामाको कुरोसम्म पनि उठेन । कतिपय बौद्धिकले चिनिया राजदुतको भुमिकालाई, कतिले दुई अध्यक्षको काने खुसीलाई, कतिले नेता वामदेवको ‘उपयुक्त’ समयलाई र कतिपयले महासचिव विष्णु पौडेल, ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको कारणले पार्टी फुट्नबाट बचेको र पुनः महान एकता भएको विश्लेषण गरे ।

पार्टी जब पद्धति, सिद्धान्त र विचारबाट निर्देशित भएर चल्दैन तब विभिन्न खाले तत्व त्यसभित्र प्रवेश गरेर खेल्न थाल्छन् । नेकपा अहिले साङ्गठनिक हिसावले कमजोर छ । जनवादी केन्द्रियता भनिए पनि अहिले पार्टीमा केन्द्रियता मात्र लागु हँुदैछ । नेताहरुले आफू नजिककालाई तानेर केन्द्रिय कमिटीमा राखेका छन् । अन्य कमिटी पनि त्यस्तै छन् । कसले के गर्ने भन्ने कार्य विभाजन भएको छैन । नेतृत्वबाटै एकले अर्कालाई निषेध गर्ने खालका अभिव्यक्तिहरु आउँदै छन् । यसो हुनु भनेको पार्टीलाई झनझन कमजोर बनाउने पद्धतिको विकास गर्नु हो । हो, यस्तैमा पार्टीको मुद्दा लिएर विभिन्न खाले संक्रमित तत्व पार्टी भित्र प्रवेश गर्ने र संरचना ध्वस्त पार्ने खेल खेल्छन् ।

नेकपाका कतिपय स्थायी कमिटी सदस्य भोलि (वैशाख २५गते) बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदबाट पदच्यूत गर्ने गफ गर्दै हिड्नु भएको छ । अन्य कतिपय पार्टीप्रति नै चिन्तित हुनुहुन्छ । यसो हुनु पार्टी हितमा नभए पनि नेकपाको हकमा स्वभाविक हो । किनभने यो पार्टी भित्र सधैं अस्थिरता रुचाउने र त्यसमै खेलेर आ–आफ्नो अभिष्ट पुरा गर्ने तत्व पनि नेतृत्वमा छन् । आफू भए सबै ठीक अर्को भए सबै बेठिकको सोचले गर्दा पार्टीमा जहिले पनि विग्रह हुन्छ । आशा गरौं, भोलि बस्ने स्थायी कमिटी बैठकले पार्टीलाई विवादरहित जनताको भरोसा योग्य बनाउने प्रक्रियालाई निरन्तरता दिने छ ।

नेताहरुमा एकता भएन भने पार्टीको साङ्गठनिक अवस्था कमजोर हुन्छ । सबैको एकता र सहकार्यले मात्र सङ्गठन बलियो हुन्छ । यसलाई नेकपाका नेताहरुले बुझ्नु जरुरी छ । प्रधानमन्त्री वा अर्को नेताको विरुद्धमा उचालिएर मात्र हुने केही होइन, पार्टी कमजोर हुने बाहेक ।

नेकपामा सबै नेताको योगदानलाई कम आँक्न मिल्दैन । पक्षधरता नलिई भन्ने हो भने सबै नेता योग्य र क्षमतावान् हुनुहुन्छ । तर, एउटा कुरो चाहिँ बिर्सन नमिल्ने खालको छ । चुनाव ताका र त्योभन्दा अघि नाकाबन्दी कालमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कायम गरेको उच्चाई । नेकपाले प्राप्त गरेको चुनावी सफलता केपी ओलीकै देन हो भन्दा धेरैलाई नपच्न सक्छ । पचे पनि नपचे पनि वास्तविकता भने त्यही हो । अहिले आवेशमा आएर प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई पदच्यूत गर्ने सोच बनाउनु भनेको जनभावना र पार्टीको भविष्य माथि प्रहार गर्नु मात्र हो ।

अध्यादेशको खारेजी पछि पार्टी भित्रको सत्ता संघर्ष अथवा अन्तरसंघर्ष साम्य हुनु पर्ने थियो, तर भएन । अहिले पनि नेकपा भित्र अनावश्यक खेलहरु भई रहेका छन् । जबकि अहिले सबैको ध्यान विश्वमै महमामारिको रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा रोक्ने तर्फ हुनु पर्ने थियो । यतापटी नलागी नेताहरु पार्टीको पगरी उतार्न तर्फ लाग्नु भएको प्रतित हुन्छ ।

सम्बत् २०५० साल अगाडिको कम्युनिष्ट आदर्श र व्यवहारको कल्पना गर्ने कार्यकर्ता अहिले पनि नेकपामा प्रसस्तै भेटिन्छन् । उनीहरु अतितको कल्पनामा घोत्लिदै वर्तमानमा फिस्स हाँस्ने गरेका छन् । पक्कै पनि नेकपा त्यो कम्युनिष्ट पार्टी होइन । त्यो आदर्श र निष्ठाको राजनीति अब इतिहास भई सक्यो । अब त दलाल पुँजीवादको परिपाटीमा विकास भएको नेकपा छ । यसर्थ कम्युनिष्ट पार्टीलाई पनि विश्वले विश्वास गर्ने ब्यापक जनसमर्थन भएको नेतृत्वको आवश्यक पर्छ । यसरी हेर्दा केपी शर्मा ओलीको छविलाई नेकपाले अझै भजाउन सक्ने अवस्था विद्यमान छ ।

अब प्रश्न उठ्न सक्छ– यसरी नेकपा भित्रको विवाद साम्य हुन्छ त ? विवाद नै के थियो र ! अध्यादेशमा विवाद देखिएको थियो त्यो फिर्ता भई सक्यो । अबको विवाद प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पद्धति मिच्नु भयो भन्ने विषयमा हुनसक्छ । त्यो भनेको एक ब्यक्ति एक पद होला । महाधिवेशन पछि त्यो मिलान गर्ने निर्णय हुनसक्छ । किन कि नेकपामा महाधिवेशनसम्म यस्ता विवाद देखिई रहने छन् ।

भोलि बस्ने स्थायी समिति बैठकमा केकेन गर्छु भन्ने र केकेन होला भन्ने सोच्नु बेकार छ । नेकपामा केही हुनेवाला छैन । केही भनाभन हुन्छ । कतिपयले मनको तितो पोख्छन् । त्यहाँ कुनै सैद्धान्तिक तर्क वितर्क गर्नु छैन । त्यहाँ राष्ट्रलाई नै प्रभाव पार्ने कुनै निर्णय गर्नु छैन, त्यहाँ पार्टी कमिटी चुस्त दुरुस्त बनाउने छलफल हुनेछैन । गहन विषयमा छलफलको एजेण्डा प्रस्तुत हुनेछैन । त्यहाँ पद नपाएर झोक्राई रहेका नेताहरुलाई पद दिनु पर्ने कुरा उठ्ने छ । त्यहाँ फलाना ठाउँमा फलानालाई राख्नु पर्छ भन्ने कुरा उठ्ने छ । आफू मन्त्री बन्नका लागि वर्तमान मन्त्री मण्डलमा फेरबदल गर्नु पर्ने आवाज उठाउने छन् । र, त्यस बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरिकेपछि सचिवालयलाई थुप्रै कुरा जिम्मा लगाएर बैठक सकिने छ ।

अब प्रश्न उठ्न सक्छ– यसरी नेकपा भित्रको विवाद साम्य हुन्छ त ? विवाद नै के थियो र ! अध्यादेशमा विवाद देखिएको थियो त्यो फिर्ता भई सक्यो । अबको विवाद प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पद्धति मिच्नु भयो भन्ने विषयमा हुनसक्छ । त्यो भनेको एक ब्यक्ति एक पद होला । महाधिवेशन पछि त्यो मिलान गर्ने निर्णय हुनसक्छ । किन कि नेकपामा महाधिवेशनसम्म यस्ता विवाद देखिई रहने छन् ।

अन्त्यमा नेताहरुले एक जुट भएर अहिले कोरोना महामारी रोकथाम र लकडाउनमा जनताले भोगेको समस्यालाई न्यूनीकरण गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । कोरोनासंगको युद्ध जितिसकेपछि अन्तरपार्टी युद्ध गर्दा वेश हुन्छ । अन्यथा जनताबाट तिरस्कृत हुने दिन धेरै टाढा हुनेछैन ।

Facebook Comments