तिम्रो र मेरो थर एउटै हुने थियो
कविता
त्यो दिन
जब म कुनै अज्ञात सतीदेवीको खोजीमा
कुनै दक्ष प्रजापतिको घर खोज्दै थिएँ
त्यो दिन संयोगले तिम्रो माइत पुग्दो हुँ
र
कुनै विष्णुले प्रपञ्च रचीदिँदा हुन् त
आज तिम्रो र मेरो थर एउटै हुने थियो
तिम्रो र मेरो घर एउटै हुने थियो।
त्यो दिन
कन्यार्थका लागि
दौडाहामा छुटेका मेरा लमीहरू
तिम्रो माइती गाउॅ पुगेका भए
तिम्रो बैंसको वासना
अरूले थाहा नपाउँदै
मैले चाल पाएको भए
आज
तिम्रो र मेरो थर एउटै हुने थियो
तिम्रो र मेरो घर एउटै हुने थियो।
त्यो दिन
मेरा ज्योतिषिले मलाई
तिम्रो गाउॅको बाटो देखाइदिएका भए
छैठौंको दिनमा मेरा विधाताले
मेरो निधारमा तिम्रो नाम लेखाइदिएका भए
आज
तिम्रो र मेरो थर एउटै हुने थियो
तिम्रो र मेरो घर एउटै हुने थियो ।
तिम्रो र मेरो दौत्य सम्बन्ध
उसै बखत् प्रगाढ भैदिएको भए
तिमी र म कसैसित नबाधिई
कन्य–कुमार रहिरहेका भए
आज
तिम्रो र मेरो थर एउटै हुने थियो
तिम्रो र मेरो घर एउटै हुने थियो।
हाम्रो जीवन अरू कसैको भाग्यमा
कोरिँदै नकोरिएको भए
बरू, कसैसित पनि लगनगाँठो
जोरिँदै नजोरिएको भए
आज, तिमी सुम्निमा भएर
मालीबाँसको काँगियो खसाल्दै हुन्थ्यौ
म पारूहाङ भएर त्यसलाई ओल्टाइपल्टाइ
हेर्दै हुँदो हुँ।
अन्तत: तिम्रो र मेरो थर एउटै हुने थियो
तिम्रो र मेरो घर एउटै हुने थियो।