परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना कहरः सौम्य चीन, हठी ट्रम्प र लाचार अमेरिका

गत डिसेम्बरमा चीनको हुबे प्रान्तको उहान सहरमा पहिलो पटक देखा परेको कोराना भाइरसले महामारीको रूप लिएपछि यतिबेला सिंगो विश्व अन्योल र त्रासदिमा पसेको छ । विश्व अर्थतन्त्र सन् १९३० को महामन्दीपछिकै अप्ठेरो अवस्था उन्मुख भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताइसकेको छ । कोरोना महामारीकै कारण हालसम्म झन्डै दुई लाख मानिसले ज्यान गुमाएका छन् । २७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । करोडौँको संख्यामा मानिस बेरोजगार भइसकेका छन् । यो विषम परिस्थिति लम्बँदै जाने हो भने विपन्न मुलुकका लाखौँ मानिस भोकमरीले मर्नुपर्ने स्थिति सिर्जना हुने अर्को खतरा बढ्दै गएको छ ।

कोरोना भाइरस महामारीका कारण अमेरिकामा २ करोड ६४ लाख मानिसले रोजगारी गुमाएका छन् । युएसए टुडेका अनुसार, गएको हप्ता मात्रै ४४ लाख अमेरिकीहरू बेरोजगार बन्न पुुगेका छन् ।

विकसित र सूचना प्रविधिमा सर्वोकृष्ट कहलिएका अमेरिका, वेलायत, जर्मनी, रुस, जापान जस्ता मुलुकलाई कोरोना भाइरसले आच्छुआच्छु पारेको छ । विश्वका वैज्ञनिक तथा चिकित्साविज्ञहरू कोरोना भाइरसबिरुद्धको खोप पत्ता लगाउने कार्यमा जोडदार ढङ्गले लागिपरेका छन् । विकसित मुलुकको सबैभन्दा ठूलो टाउको दुखाइको बिषय कोरोना नियन्त्रणसँगै आफ्नो अर्थतन्त्र कसरी जोगाउने भन्ने नै छ । यसमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सबैभन्दा धेरै टाउको दुखेको छ । जर्मनीको हेस्स राज्यका अर्थमन्त्री टमस सिफरले कोरोना भाइरसका कारण खस्कँदो अर्थतन्त्रको चिन्ताबाट अत्महत्या नै गरिसकेका छन् ।

कोरोना भाइरसले विश्वका जिउँदो मानव पुस्ताले नभोगेको विपत्ति र भयावह चुनौती सिंगो मानव सभ्यतामाथि थोपारिदिएको छ । अझै कोरोना सङ्क्रमण कति फैलिने हो र यसको निराकरणको बिन्दु कहाँ हुने हो भन्ने अनुमान समेत कसैले गर्न सक्ने स्थिति छैन । यसर्थ, मानव सभ्यताको शत्रु कोरोना महामारी बिरुद्ध लड्न सिंगो विश्व एकजुट हुनुपर्ने टड्कारो आवश्यकता छ । तर अपवाद ! यस्तो कहालीलाग्दो महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झनै विचित्र पात्रका रूपमा खडा भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प विश्वका त्यस्ता एक मात्र राष्ट्रपति हुन्, जुन देशमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्दै गर्दा र संक्रमणबाट मर्नेको संख्या ५० हजार पुग्न लाग्दा पनि संक्रमण फैलन नदिन आफ्नै राज्यहरूले चालेका कदमको विरोध गर्न र सडकमा गएर आन्दोलन गर्न आफ्ना समर्थकलाई उक्साइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अनि उनका समर्थकहरूले पनि ‘वि वान्ट फ्रिडम’ भन्दै र गाडीका साइरन घोच्दै स्वतन्त्रताको उन्माद बजाएको पनि देखियो । नेपालमै हामी एक जनालाई मात्र कोरोना देखिँदा आत्तिइरहेको अवस्थामा दिनमै ३० हजारभन्दा बढीलाई सक्रमण देखिँदा अनि दिनमै २ हजार, २५ सयभन्दा बढी मानिसले संक्रमणबाट ज्यान गुमाउँदा पनि स्वतन्त्रताको माला जप्दै सडकमा आन्दोलन गर्न निस्केका अमेरिकीलाई देखेर कति बहादुर अमेरिकी भन्ने पनि एक मनमा नलागेको हैन । किन पनि बहादुर नहुन्,जहाँ राष्ट्रपतिले नै ज्यान गए पनि मास्क लगाउँदिन जो भनेका छन् । अमेरिका बन्द गर्ने देश हैन भन्दै जो राष्ट्रपति गर्जिएका छन् ।

अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित राज्य न्यूयोर्कका गभर्नर एन्ड्रयू कोमोलाई ‘सटडाउन’ खुकुलो पार्न र अर्थतन्त्र सुचारु गर्न दबाब दिँदा कोमोले उल्टै अमेरिकामा राजतन्त्र हैन राष्ट्रपतीय प्रणाली भएको भन्दै ट्रम्पलाई व्यंग्य पनि गरे । तर, ट्रम्पले डेमोक्रेटिक पार्टीका गभर्नर भएका राज्यहरू न्यूयोर्क, भर्जिनिया, मिसिगनलगायतमा आफ्ना समर्थकलाई सटडाउनको अवज्ञा गर्दै आन्दोलनमा उत्रिन उक्साइरहेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोन

उता, कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसन र पछि स्थिति खराब भएपछि अस्पतालबाटै जनतालाई घरमै बस्न, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आफ्नै जनताका सामु वेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले अनुरोध गरिरहेका छन् । लकडाउन पालना गरेकोमा जनताको उच्च प्रशंसा गरेका वेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट पूर्ण रूपमा स्वस्थ जनताको सेवामा फर्कन आतुर छन् ।

कोरोना महामारीबिरुद्ध लड्न जापनले सिंगो मुलुकमा संकटकालको घोषणा गरिसकेको छ । विश्वका अधिकांश मुलुकले लकडाउनको अवधि बढाउँदै र कोरोना भाइरस रोकथामका उपायलाई सशक्त बनाउँदै लगेका छन् । विश्व स्वास्थ्य संगठनले समेत लकडाउन खुकुलो बनाउन हतार नगर्न कोरोना प्रभावित मुलुकहरूलाई बारबार सचेत गराइरहेको छ ।

तर, उता व्यापारी मानसिकता भएका अमेरिकी राष्ट्रपति ट्रम्पमा आफ्ना जनताको ज्यानको मूल्यप्रति कुनै पर्वाह पाइन्न । मार्च ९ मा उनले लेखेको ट्वीटबाटै कोरोना भाइरसलाई उनले कति कम आँकेका थिए र जनताप्रतिको उनको मोह कति छ भन्ने प्रष्ट पार्छ । अमेरिकामा प्रत्येक वर्ष २७ देखि ७० हजार अमेरिकी नागरिक साधारण रुघाखोकीले नै मर्ने गरेका तथा कहिल्यै जनजीवन एवं अर्थतन्त्र बन्द नभएको भन्दै अमेरिकाका लागि कोरोना केही हैन वा कोरोनाले अमेरिकालाई प्रभावित पार्न सक्दैन भन्ने आशय व्यक्त गरेबाटै उनको संवेदनशीलता प्रष्ट हुन्छ ।

चीनमा मात्र कोरोना भाइरस फैलँदै गर्दा र अमेरिकामा थोरै मात्र संक्रमण देखिँदा कोरोनालाई चाइनिज भाइरस भनेर ट्रम्पले खिसिट्युरी पनि गरे । संक्रमण अलि बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन सम्पर्क गरेर कोरोना रोकथामका उपायबारे जानकारी लिएको पनि बताए । तर, अहिले कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदै गर्दा चीनले संक्रमण फैलाएको र प्रमाणित भए चीनले त्यसको मूल्य चुकाउनुपर्ने धम्की समेत ट्रम्पले दिइसकेका छन् ।

डब्ल्युएचओ प्रमुख टेड्रस आदनम गेब्रिएसस

यस्तैमा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस महामारीबारे अमेरिकालाई समयमै जानकारी नगराएको र चीन केन्द्रित भएको भन्ने आरोप लगाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहायता रकम रोक्ने घोषणा गरिसकेका छन् । ट्रम्पको सो घोषणाप्रति युरोपेली युनियन, संयुक्त राष्ट्रसंघ र विश्वका धेरै नेताहरूले आपत्ति जनाइसकेका छन् । डब्ल्युएचओका प्रमुख टेड्रस आदनम गेब्रिएससले भाइरसमाथि राजनीति नगर्न र महामारी विरूद्ध लड्न सम्पूर्ण विश्वलाई एकजुट हुन अपिल गरेका छन् ।

तर, अमेरिकाले डब्ल्युएचओलाई दिँदै आएको सहायता रकम रोक्दै गर्दा चीनले डब्ल्युएचओलाई थप सहयता रकम बढाएको छ । मार्चमा मात्रै चीनले डब्ल्युएचओलाई दुई करोड अमेरिकी डलर सहायता रकम प्रदान गरिसकेको थियो । हिजो मात्रै चीनले थप ३ करोड अमेरिकी डलर सहायता प्रदान गरेको छ । यो सहायता रकम विकासोन्मुख मुलुकको स्वास्थ्य प्रणाली सदृढीकरणका लागि सहयोग गरिएको चीनले प्रष्ट पारेको छ ।

ट्रम्पकै एकजना सल्लाहकार पिटर नभारोले समेत जनवरी २९ मै ज्ञापनपत्र बुझाएर ३० प्रतिशत अमेरिकीलाई कोरोना सङ्क्रमण हुन सक्ने र ५ लाख अमेरिकीको संक्रमणबाट ज्यान गुम्न सक्ने चेतावनी दिएको खबर अमेरिकी दैनिक द न्युयोर्क टाइम्सले छापिकेको छ ।

विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै साहयता रकम उपलब्ध अमेरिकाले गराउँदै आएको थियो । तर, ट्रम्पको सहायता रोक्ने घोषणाले महामारीसँग लड्ने कार्यमा असर नपरोस् भन्नाका लागि चीनले सहयोग रकम बढाएको बताएको छ । यसको अर्थ, अमेरिका विपत्को समयमा पन्छिँदै गर्दा चीनले आफ्नो क्षमता र उपस्थितिलाई दरिलो र बाक्लो बनाएको छ । महामारीको बेला विश्वका अधिकांश मुलुकलाई कोरोना भाइरससँग लड्न चीनले स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराइरहेको छ । विश्वका अन्य ठूला अर्थतन्त्र कोरोना भाइरसका कारण थला पर्दा स्वास्थ्य समग्री र औषधि बेचेरै चीनले करडौँ डलर कमाइरहेको पनि छ । जे होस्, चीनको व्यापारको पक्ष त आफ्नो ठाउँमा छ । चीन महामारीका दौरान औषधि उपलब्ध गराएर धेरै मुलुकको मन जित्न समेत लालायित छ । कोभिड १९ भाइरस रोकथाममा उदाहरणीय उपायहरू अपनाएर चीनले विश्वलाई एक हिसाबले सोचमग्न पनि बनाएको छ । यतिबेला चीनले आफूलाई बढी जिम्मेबार सावित गर्न खोजिरहेको छ ।

तर, ट्रम्पले यो महामारीका दौरान पनि विश्वसामु अमेरिकाको छवि गिराउने र नागरिकको जीवनको मूल्यलाई अवमूल्यन गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।राष्ट्रसङ्घीय निकायहरूका काम र कदम आफ्नो इच्छा विपरीतका हुन गएमा पहिले पनि अमेरिकाले तिनलाई धरासायी पार्ने सबै प्रयत्न गर्ने गर्दथ्यो । उदाहरणका लागि सन् १९८० को दशकको सुरुतिर राष्ट्रपति जिम्मी कार्टरले युनेस्कोबाट अमेरिकाको सदस्यता नै फिर्ता लिएका थिए भने सहयोग रकम पनि बन्द गराइदिएका थिए । बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले पनि अमेरिकाको सिको गर्दै आफ्नो देशको सदस्यता समेत युनेस्कोबाट फिर्ता लिएकी थिइन् । ट्रम्पकै पनि यस्तो दम्भी कदम भने यो पहिलो हैन । ट्रम्पले नै यसअघि पनि विभिन्न राष्ट्रसंघीय निकायहरूलाई उपलब्ध गराउँदै आएको सहायता रकम रोक्ने धम्की दिँदै आएका थिए । महत्वपूर्ण पेरिस जलवायु सम्झौताबाट त उनले अमेरिकालाई अलग नै गराए । ट्रम्पको अमेरिका पहिलो भन्ने नीतिले सबैभन्दा धेरै सुविधा र सहजता सर्वप्रथम अमेरिकीलाई र त्यसपछि उब्रेपाब्रे मात्रै अरु मुलुकलाई भन्ने नै हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ

तर, यो महामारीको समयमा व्यापारिक पृष्ठभूमिका राष्ट्रपति ट्रम्पको  नीतिले आफ्ना नागरिकको जीउ ज्यान संरक्षण गर्नेभन्दा पनि ब्यापार र पुँजी पहिलो हो भन्ने  व्यापारिक मानसिकतालाई छताछुल्ल पारेको छ । यत्रो कहालीलाग्दो महामारीलाई वेवास्ता गर्दै ट्रम्पले उग्र राष्ट्रवादको मन्त्र जपिरहने र व्यापारिक चस्मा लगाइरहने हो भने अमेरिकामा अझै धेरै मानिसको ज्यान जाने पक्का छ । आफ्नो एकजना नागरिक अन्य देशमा मारिएमा त्यस देशलाई नै ध्वस्त पार्ने धम्की दिने तथा आक्रमण नै गर्ने पृष्ठभूमि बोकेको राष्ट्र अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्प अहिले कारोना भाइरसबाट ५० हजार नागरिकले त्यो पनि दुई महिनाको छोटो अवधिभित्र ज्यान गुमाउँदा पनि बिन्दास देखिएका छन् । उनमा चिन्ता केवल व्यापारको देखिएको छ । सबैभन्दा ठूलो चिन्ता पूँजी र अर्थतन्त्रको छ । अमेरिकी नागरिक भने कोरोना कहरका अगाडि निरीह र लाचार बनेका छन् ।

अहिलेको समय डब्ल्युएचओका प्रमुखले भने जस्तै भाइरसमाथि राजनीति गर्ने बेला हैन, यसलाई परास्त गर्न सिंगो विश्व एकजुट हुने बेला हो ।

आफ्नो आफ्नो दम्भ र हेलचेक्र्याइँका कारण अहिलेको स्थिति निम्तिएको हो भन्ने अलिकति पनि हेक्का अमेरिकी राष्ट्रपति ट्रम्पमा देखिन्न । ट्रम्पकै एकजना सल्लाहकार पिटर नभारोले समेत जनवरी २९ मै ज्ञापनपत्र बुझाएर ३० प्रतिशत अमेरिकीलाई कोरोना सङ्क्रमण हुन सक्ने र ५ लाख अमेरिकीको संक्रमणबाट ज्यान गुम्न सक्ने चेतावनी दिएको खबर अमेरिकी दैनिक द न्युयोर्क टाइम्सले छापिकेको छ । तर, ट्रम्पले यी सबै सूचना, अनुरोध र चेतावनीलाई बेवास्ता गर्दै अगाडि बढिरहे । परिणामतः अहिलेको स्थिति देखिएको छ । कोरोना परीक्षण पर्याप्त नभएको भन्दै अमेरिकाकै स्वास्थ्य विज्ञहरूले ट्रम्प प्रशासनको आलोचना यति बेला गरिरहेका छन् । कोरोना भाइरस महामारीका कारण अमेरिकामा २ करोड ६४ लाख मानिसले रोजगारी गुमाएका छन् । युएसए टुडेका अनुसार, गएको हप्ता मात्रै ४४ लाख अमेरिकीहरू बेरोजगार बन्न पुुगेका छन् । अझ आगामी राष्ट्रपतिका लागि नोभेम्बरमा हुने निर्वाचनको मिति नजिकिँदै जाँदा उनका कदमले उनलाई नै हानि नगर्ला भन्न सकिन्न ।

कोरोना भाइरस महामारीबिरुद्ध लड्न सिंगो विश्वलाई एकबद्ध बनाएर लाग्नु पर्ने समयमा ट्रम्प चीनले भाइरस जानाजान फैलाएको दाबी गरिरहेका छन् । उनको सिको युरोपका केही देशले समेत गर्न थालेका छन् । ठीक छ, भोलि हामीले कोरोनालाई परास्त गर्न सक्यौँ भने भाइरस कहाँबाट निस्कियो, यसको पछाडि कसको नियत छ, त्यसबारे अध्ययन गर्ने ठाउँ रहन्छ । तर, अहिलेको समय डब्ल्युएचओका प्रमुखले भने जस्तै भाइरसमाथि राजनीति गर्ने बेला हैन, यसलाई परास्त गर्न सिंगो विश्व एकजुट हुने बेला हो ।

वास्तवमा कोरोना संक्रमणले यति भयानक रूप लेला भनेर शायदै कसैले सोचेको थियो । चीनबाट पनि कमजोरी भएन भन्न सक्ने अवस्था चाहिँ छैन । कोरोना भाइरसबारे एक चिकित्सकले पहिलो पटक जानकारी दिँदा उनलाई हिरासतमा राख्नु, धम्की दिनु र पछि तिनै चिकित्कको भाइरसका कारण मृत्यु हुनुलाई सहज रूपमा लिन भने सकिन्न । यद्यपि, संक्रमण बढेसँगै चीनले कोरोना प्रवाभित हुबे प्रान्तलाई पूर्ण रूपमै लकडाउन गर्यो । तर, अझै पनि चीनमा समेत कोरोना निमिट्यान्नै भइसकेको छैन । थोरै संख्यामा भए पनि संक्रमण देखिई नै रहेको छ । यसर्थ, कोरोना महामारीको अन्त्य कुन समयमा र कसरी हुन्छ भन्ने जवाफ यतिबेला कोहीसँग छैन । कोरोनाको रूप र चक्र कता मोडिन्छ भन्नेबारे पनि स्वास्थ्य विज्ञहरूले बताउन सक्ने अवस्था छैन ।

यसर्थ, यो महामारी केवल कुनै देश विशेष, जाति वा धर्म विशेषभन्दा पनि सिंगो मानव सभ्यता र मानिसको शत्रु हो भन्ने बुझ्न सबैले जरुरी छ । कोरोना भाइरस विरुद्धको लडाईमा सिंगो विश्व एक हुन आवश्यक छ ।

Facebook Comments