परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आत्मवोध

उत्प्रेरक कविता

एउटा विन्दु

शान्त विन्दु छ तिमी भित्र

त्यो खोज, आजै खोज !

संसारमा भएरै पनि तिमी संसार मुक्त हुने छौ

 

तिमी आज आफुभित्र प्रवेश गर

स्वासप्रश्वासका हरेक लयहरुमा घुस

त्यहाँ आफूलाई श्रींखलाबद्ध गराऊ

त्यहाँ तिमी छौ, केवल तिमी !

 

तिम्रो हृदयमा बुद्धको गहन शान्ति छ

लाओत्से, महाविरको परम् आनन्द छ

जाऊ, आज एक क्षण

आफैंसँग बात मार !

आफूभित्र प्रवेश गर !

 

आज तिमी

आफ्नो क्रोधसित साक्षी बन

अहंकारसित द्रष्टा बन

वासनासित होश साध

दुःख, पिडासित आज

केवल आज …

अहिले तत्क्षण !

लुकामारी खेल

तिमी त्यस् विन्दुसँग नजिकिने छौ

तिमी आफनो केन्द्रमा सर्किने छौ

 

क्रोधलाई नदबाऊ

अहङ्कारलाई नदबाऊ

वासनालाई नदबाऊ

लोभलालचलाई नदबाऊ

दुःखपीडालाई नदबाऊ

दब्यो कि जम्यो

बग, तिमी बग

एउटा नदी हो- जीवन

बग, केवल बग

जम्यो कि विकृत भयो !

नदी बग्नु पर्छ

तिमी बग, बगिराख…!

 

आज,

आज केवल पलभरलाई सोच

सोच कि जीवन नदी हो र बग

बगिराख …!

आज,

आज केवल पलभरलाई सोच

सोच कि संसार एउटा कथा हो, नाटक हो

र हेर त्यसलाई अलग्गै बसेर, साक्षी भएर

कुनै सिनेमा हेरे जस्तो

त्यो सिर्फ एउटा पर्दामा हुन्छ

संसार पर्दैमा छ

तिमी दर्शक हौ– केवल दर्शक !

बस्, रमिता हेर …!

 

तिमी मौन बस

आर्य मौन !

आज तिमी चुपचाप बस

मौन परम् शान्ति हो–चुपचाप बस

सिनेमा हेर, रमिता हेर …!

 

तिमी पाहुना हौ-

पृथ्वीमा तिमी

बस्, केही समयलाई– बाचुन्जेललाई

पाहुना भएर आएका छौ

यहाँ तिमी दुःखी हुन्छौ

छट्पटाउँछौ

गम्भीर हुन्छौ

भाग्छौ– संसार त्याग्न खोज्छौ

ए पाहुना ! तिमी किन त्यसो गर्छौ ?

नभाग,

एकपटक, आज केवल आज

भित्र पस, आफूभित्र हाम्फाल

तिमी अलौकिक परम् शान्तिमा लीन हुने छौ

संसार छोडेको भावमा तिमी संसारमै बस

तिमी अरु अधिक उर्जाले कृतकृत हुने छौ

 

कथा हो सब कथा !

नाटक हो सब नाटक !

उत्सव मनाऊ, नाँच, गाऊ, उफ्र

पृथ्वीमा पाहुना आएका हौ, केही दिनलाई तिमी

जीवन उत्सव हो !

 

जन्मजात

तिमी मौलिक छौ

केवल तिम्रो मौलिकता बिलाएको छ

हराएको छ, खोसिएको छ

पृथ्वीमा आउनासाथ

तिमी कृत्रिम बनाइएका छौ

तिमीलाई कागजको फूल बनाइएको छ

तोड,

तोड, सब तोड …!

तिमी मौलिक/जीवन्त बन

तिमी निर्विचार बस

तिमी निर्विकार होऊ

तिमी प्राकृतिक हौ

तिमी पाहुना हौ

संसारमा तिमी कथा पढ्दै छौ-

नाटक हेर्दै छौ !

 

सोच-

तिमी गाउँको भयौ

समाजको भयौ

बाबुको भयौ

आमाको भयौ

भाईको भयौ

दिदीको भयौ

स्वास्नीको भयौ

सन्तानको पनि भयौ

के तिमी कहिल्यै आफ्नो लागि भयौ ?

एकक्षणका लागि

पलभरका लागि

जन्मेदेखि आजसम्म

तिमी,

हो तिमी

के आफ्नो लागि बाँच्यौ ?

 

तिमी त अजनबी भयौ– आफ्नै लागि

अनि तिमी असफल भयौ– मर्यौ

छिनछिनमा तिमी मर्दै त थियौ– घर, समाजमा

घर, समाजले तिमीलाई सफल हुन मात्रै अह्रायो

असफलता झेल्न सिकाएन

प्रेम गर भन्यो घृणा सहने उर्जा दिएन

हाँस्न सिकायो– रुन दिएन

(हासोँ रोदनको शुरुआत हो भने रोदन हाँसोको स्रोत हो )

जम्न सिकायो– बगाएन

ए, बग–बग !

आज केवल एकक्षणलाई बग

तिमी बुद्ध हुने छौ, कन्फ्युसियस हुने छौ

शान्त हुने छौ, आनन्दित हुने छौ

 

तिमी सुख संसारमा खोज्छौ

खोज्दै छौ– खोज्दै छौ

मर्नेछौ !

तिमी हरेक खोजमा मरेका त छौ !

तिमी सुख संसारमा खोज्छौ !

आफूभित्रको आनन्द खोज्दैनौ !

र दुःखी हुन्छौ

दुःख – मृत्यु हो

हरेक दुःखमा तिमी मरेका छौ

आनन्द तिम्रो हृदयमा छ

खोजेका छौ ?

हो, आनन्द तिम्रो हृदयमा छ

खोजेर त हेर !

 

मनमनै सुख नखोज

मन  – संसार हो,

मनभित्र अतित–भविष्यको कुहीरो मात्र छ

मनलाई वर्तमानको ढोकामा प्रवेश देऊ

स्वागत गर

आनन्द वर्तमानमा छ,

सुख र आनन्दमा फरक छ

सुख क्षणिक छ, आनन्द शाश्वत !

 

त्यसैले आज,

अहिले, भर्खर

आफूभित्र प्रवेश गर

 

तिमी बाहिर धेरै घुम्यौ

जन्मेदेखि आजसम्म तिमी बाहिरै त छौ !

भित्र जाऊ– भित्र सबथोक छ

भित्र खजाना छ

भित्र नजाउन्जेल तिमी

आनन्द आकाश हो –मन बादल !

धर्तिबाट आकाशलाई हेर–

बादलले त्यसलाई छेकेको छ

अनन्त आकाश छ– बादलपारी

छेकिएको छ–

एउटा भ्रम उब्जिएको छ

हो, एउटा भ्रम छ– तिमीमा पनि

मनले छेकेको आनन्दलाई तिमी देख्तैनौ

तिमी धर्तिमा आकाश खोजिरहेछौ !

तिमी संसारमा आनन्द खोजिरहेछौ !

 

मनले आनन्दलाई छेकेको छ

मन दुःख हो

मनले तिमीलाई अतितको अमिलो जाडँमा भुलाएको छ

मनले तिमीलाई भविष्यको गुलियो जाडँमा मताएको छ

मनको तानाबानालाई

अलग्गै बसेर नियाल

साक्षी बन !

 

मनभन्दा पर एउटा चम्किलो तारा छ

शान्त उज्यालो बिन्दू छ

त्यो परम् आनन्द हो, शान्ति हो !

त्यो वोधि हो !

 

बाहिरी आँखा बन्द गर

भित्री आँखा खोलेर हेर-

त्यो तिम्रो आत्मा हो !!

कविता बाचनको अडियोः

Facebook Comments