परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संत लाओत्सु : हमेशा अनुशरण गर्नलायक सिद्धपुरुष

लकडाउन अध्ययन

कारणवश संसार पुनः शुरु गर्नुपर्ने भएको खण्डमा याद गर्नैपर्ने सिद्धपुरुषहरुमध्ये एक हुन् लाओत्सु । राज्य सन्चालन गर्ने उत्कृष्ट सिद्धान्तहरुमध्ये लाओत्सुले प्लेटोलाई धेरै पछाडि छाडिदिएका छन् । प्राचीन भारतमा जतिबेला स्वामी महावीर र तथागत बुद्ध आआफ्नो ज्ञान बाँडिरहेका थिए, लगभग त्यसै बेला छिमेकी राष्ट्र चीनमा दुई जना महत्वपूर्ण संतहरु पनि आआफ्ना ज्ञान आआफ्नै तरिकाले बाँडिरहेका थिए : लाओत्सु र कन्फ्यूसियस । जहाँ महावीर र बुद्ध राजकुमार थिए, यी दुई चीनियाँ ज्ञानी पुरुषहरुचाहिँ प्रशासनिक अधिकारी । प्रशासनिक कार्यबाट स्वैच्छिक अवकाश लिएर उनीहरु पूर्णरुपले जागरण अभियानमा लागेका थिए । लाओत्सु कन्फ्यूसियस भन्दा जेठा । कति वर्षले जेठा भन्ने कुरामा विभिन्न मत छन् । कोही भन्छन् पचास वर्षले । कोही भन्छन् बीस वर्षले जेठा थिए ।

संत लाओत्सु

कन्फ्यूसियस सामाजिक सुधार एवम् जनकल्याणमा आजिवन लागि परे । उता लाओत्सु भने दुनियाँसँग उदास रहने गर्दथे र लौकिक कुराको अलिकति पनि पर्वाह नगरी हमेशा एकान्तवाशमा रहन्थे । उनी वैराग्यवान थिए र आत्मभावमा जागृत संतपुरुष थिए ।

लाओत्सु एक फक्कड थिए, निर्भय अनि एक मस्तमौलाना फकिर । उनका वाणीका दुई हरफ अनि तिनका उलटवासीँका गुत्थीहरुले, तिनमा लुकेका वैज्ञानिक चिन्तनका तत्वले एवम् एक स्वतन्त्र चिंतनको सुगंधले अढाइ हजार वर्षपछि आज पनि उनलाई जागरणको आयाममा आकर्षणको केन्द्र बनाएको छ ।

यहाँ उनको जीवनलीला तथा उनको महान कृति ताओ ते चिंगमाथि चर्चा गरिनेछ :

जन्म र जीवन
लाओत्सुको जन्म र जीवनका संबन्धमा इतिहास या किंवदंतिहरुमा उल्लिखित जानकारी लगभग यस्तो छ :

उत्तरी चीनको हेनान प्रान्तमा उनको जन्म भयो । कहिले भयो, यसमा केही मतभेद छन् । कसैका अनुसार उनको जन्म ईशापूर्व ६०४ मा भयो । अन्यका अनुसार, ईशापूर्व ५७१ मा । त्यसो त ईशापूर्व ६०४ लाई नै बढी प्रामाणिक ठानिन्छ । ईसाबाट दुई सय वर्ष पूर्वका चीनका प्रसिद्ध इतिहासकार सिज मा सिएनले पनि लाओत्सुको जन्म ईशापूर्व ६०४ नै मानेका छन् । यसै हेनान प्रान्तबाट एक अर्का महान साधकको संबन्ध बुद्धसँग छ । उनी हुन् चिनीयाँ बौद्ध भिक्षु तथा यात्री ह्वेनसांग । हर्षवर्धन राजाको समयमा उनी भारत आएका थिए । उनी नेपाल तथा भारतमा बिद्या अध्ययनार्थ १५ वर्ष बसे ।

जहाँसम्म लाओत्सुको कुरा छ, लाओत्सु वा लाओत्से वा लाओत्जे जुनै नामले बोलाए पनि उनको त्यो नीजि नाम थिएन । यो नाम त मान्छेहरुले त्यति बेला उनलाई प्रेम र सम्मानले दिएका थिए । चीनमा नामका पछाडि त्सु वा त्से वा त्जु वा त्जे शब्द लगाउनु सम्मानको प्रतीक हो । यो हाम्रा तिर नामका पछाडि जी लगाएर सम्मान जनाए जस्तै होला ।

लाओत्सुको पारिवारिक नाम ली थियो । ली नाम चीनमा अत्याधिक प्रचलित हो । खासमा, लाओत्सु नामका चार अर्थ बताइन्छन् । यसमा केही रोमांचक किंवदंतिहरु पनि जोडिएका छन् :

  • बृद्ध बालक । त्यो बालक जो बचपनदेखि नै परिपक्व बुद्धिको छ । भनिन्छ, लाओत्सु जन्ँिमदा उनका सेता दाह्री थिए । तर यो केवल किंवदंति हो ।
  • लाओबाट उत्पन्न भएकाले । भनिन्छ, लाओ नामकी कुँमारी कन्या एक रात आकाशबाट खसिरहेको तारा देखेर गर्भवती हुन पुगिन् । पछि उनले महिना पुगेको एउटा छोरो जन्माइन् । तीनै बालक पछि गएर लाओत्सु नामले प्रख्यात भए । आमाको नाम लाओ भएकाले उनको नाम लाओत्सु रहन गयो । यो पनि केवल किंवदंति हो ।
  •  बृद्ध दार्शनिक । परिपक्व उमेरमा जब उनले ताओ ते चिंग जस्तो अमर कृतिको रचना गरे । भनिन्छ, लाओत्सुसँग भेटघाट गरेर फर्किएपछि कन्फ्यूसियसले आफ्ना शिष्यहरुसँग भनेका थिए, लाओत्सु इज एन ओल्ड फिलोसोफर अर्थात लाओत्सु एक बृद्ध दार्शनिक हुन् ।
  • ठूला कानवाला । संभवतः लाओत्सुका कानहरु अपेक्षाकृत रुपमा ठूलाठूला थिए । ठूलाठूला कान हुनु शुभ ब्यक्तित्वको लक्षण मानिन्छ । विल्हम जस्ता विचारकका मतानुसार ठूलाठूला कान भएकै कारण उनको नाम ठूला कान भएका ली हुन पुग्यो ।

युवावस्थामा नै लाओत्सु आफ्नो योग्यता र ज्ञानका लागि पुरै प्रान्तमा प्रख्यात थिए । तत्कालिन सम्राटले उनलाई प्रान्तिय राजधानी चाउ बोलाए र योग्यताको परख गर्दै उनको विद्वता उपयोग गर्नका लागि आफ्नो अभिलेखालयको प्रमुखमा उनलाई नियुक्त गरे । उनले विशेष आवश्यक्ता परेका बखत जस्तै, युद्धसन्धिकालमा, विद्रोह अवस्था ठिक गर्न तथा न्याय कार्यमा सघाउन सम्राटलाई सूचना तथा मंत्रणा दिनु पर्ने हुन्थ्यो । अभिलेखालयमा कार्यरत रहँदा उनले चीनका पुराना सन्त महापुरुषहरुद्वारा रचित ग्रंथ, त्यहाँको इतिहास, संस्कृति, दर्शन आदि विषयहरुको गहन अध्ययन गर्ने मौका पनि पाए ।

लाओत्सुको भाषामा सांसारिक ऐश्वर्य, यश, किर्ती, बल, प्रतिष्ठा, लगातार माथि पुग्ने चाह, उच्च पद आदिले फगत अहंकारलाई जन्माउँछन् । फलस्वरुप विनाशको आगमन हुन्छ । बिरुवाहरु जब जीवनमा प्रवेश गर्दछन्, कोमल र नाजूक हुन्छन् । जब उनीहरु मजबूत एवम् कठोर हुन्छन् तब उनीहरुलाई गिँडिन्छ । मजबूत, कठोर र अकडग्रस्त हुनु ताओ (नियम) को विपरित हुनु हो । र, ताओको खिलाफ जानु भनेको विनाशलाई निम्तो दिनु हो । लाओत्सु सरल, नम्र र प्राकृतिक जीवनका पक्षधर हुन् । प्रेम, सन्तोष र सरलताले नै जीवनमा आत्मसन्तोष प्रदान गर्न सक्छन् । पछिल्लो पङ्तिमा सामान्य जीवन ज्यूँदा कलह हुँदैन । जसरी नदी तलतल बग्दै गएर सागरमा मिल्दछ, त्यसरी नै शक्तिशाली भए पनि शासक जब स्वयम्लाई दीनहिन र तुच्छ मान्छ तब ऊ जनताको हृदयमा सहजै अवतरण गर्न सक्छ ।

बृद्ध हुन्जेलसम्म उनले शासन कार्यमा सहयोग दिए । त्यसपश्चात उनले राजकीय कामहरुबाट अवकाश लिए । संभवतः उनी नब्बे वर्षभन्दा अधिक बाँचे । यसबीच सम्राटले लाओत्सु पुनः प्रशासनिक कार्यमा फर्किएर सहयोग गरुन् भन्ने चाहेका थिए । तर उनी राजधानी छाडेर गायव जस्तै भए र फर्किएर आएनन् ।
एउटा प्रेरणादायी किस्सा छ । लाओत्सु एक दिन तलाऊको तटमा बसिरहेका थिए । तलाऊमा कैयौं कछुवाहरु एकसाथ खेलिरहेका थिए । कछुवाहरु कहिले किनारको बालुवासम्म आउँथे । घाम तापेर आराम गर्दथे । अनि पुनः तलाऊमा पुगेर जलक्रिडामा रमाउँथे । लाओत्सु निकै बेरदेखि कछुवाहरुको उक्त कृयाकलाप हेरिरहेका थिए । ठिक त्यसैबेला सम्राटका एक मन्त्री उनलाई खोज्दै त्यहाँ आइपुगे ।

मन्त्रीले उनलाई भने, “सम्राटको कुरा मानेर तपाईं किन उहाँको प्रमुख सल्लाहकार बन्न स्विकार गर्नुहुन्न ? तपाईं सम्राटको निमन्त्रणा किन बारबार नजरअन्दाज गर्नु हुन्छ ? यस पटक त सम्राटले मलाई तपाईंलाई जसरी पनि लिएर आउनू भन्ने आदेश दिनुभएको छ । कृपया सम्राटको आदेशलाई सरोपर गर्नुहोस् र मसँग हिँड्नुहोस् ।”

लाओत्सुले मन्त्रीको कुरा सुनेर पनि तलाऊतर्फ एकटक लगाइरहे । जहाँ कछुवाहरु उसैगरी जलक्रिडा गरिरहेका थिए । केही बेर त्यसरी नै मौन रहेर उनले मन्त्रीलाई भने, “तपाईं यी कछुवाहरुको आनन्दलाई परख गर्न सक्नु हुन्छ ? कति स्वतन्त्र भएर यिनीहरु यहाँ खेलिरहेका छन् । तपाईं यी मध्ये एउटा मात्रै कछुवालाई पनि दरवार जानका लागि मनाउन सक्नु हुन्छ ? यदि तपाईंले एउटा मात्रै कछुवालाई पनि आफूसँग जानका लागि मनाउन सक्नु भयो भने, म अवश्य तपाईंसँग जानेछु ।”

मन्त्री बुद्धिमान थिए । उनलाई लाओत्सुको आशय बुझ्न कत्ति बेर पनि लागेन । अनि उनी मुख लट्काएर त्यहाँबाट एक्लै फर्किए । उनी फर्किएपछि पनि लाओत्सु निकै बेर त्यसरी नै मग्न भइ कछुवाहरुको जलक्रिडा हेरेर बसेका थिए ।

फकिरलाई दरवारको के प्रयोजन ? भनिन्छ, कवि कुलभूषण गोस्वामी तुलसी दासजीलाई मुगल सम्राट अकबरले आफ्नो राजधानी फतेहपुर सीकरी आगमनका लागि निमन्त्रणा पठाएका थिए । तर तुलसी दासजी गएनन् । उनलाई लाग्थ्यो कि कुनै बादशाहसमक्ष एउटा भक्तको के काम ?
लाओत्सुको उमेर नब्बे वर्ष भन्दा माथि थियो । चारैतिर उनको सुकिर्ती फैलिदों थियो । साधक तथा जिज्ञासुहरु रोज उनको दर्शनार्थ आउने गर्दथे । उनका वरिपरि साधक तथा जिज्ञासुहरुको एउटा सानो समूह एकत्रित पनि भइसकेको थियो । यस्तैमा एक दिन उनलाई भेट्न कन्फ्यूसियस उनको कुटीमा टप्किए ।

लाओत्सु–कन्फ्यूसियस भेट
कन्फ्यूसियस (५५१–४७८ ईशापूर्व) एक नीतिवादी समाज सुधारक थिए । उनको नामको प्रसिद्धि उनको जीवनकालमै ब्यापक रुपले फैलिसकेको थियो । उनले पुराना संतहरुलाई आफ्नो आदर्श बनाएका थिए । उनी पुराना संतका वाणी र शिक्षालाई अनेक सामाजिक ब्याधिको रामवाण मान्दथे । उनी पुरातन विचारका प्रेषक, प्रेमी र पुराना संतहरु उपर निष्ठा राख्ने एक अभियन्ता थिए । पुराना संतहरुका शिक्षा र आदर्शलाई लागू गर्नका लागि उनी युवावस्थादेखि नै सम्राट तथा नीति निर्माताहरुसँग भेटिरहन्थे र उक्त कार्यमा उनीहरुलाई प्रेरित पनि गरिरहन्थे । उनी प्रभावशाली थिए । विद्वान थिए । उनका शिष्य र अनुगामीहरु ठूलो संख्यामा थिए । उनी समाजको उच्च भनिने सम्भ्रान्त परिवारबाट आएका थिए ।

तर, लाओत्सु अलिक फरक विचार राख्दथे । राजकाजमा लामो समय आबद्ध भइसकेको हुँदा सम्राटलाई जनताको कल्याणमा कुनै रुचि छैन भन्ने कुराको बोध उनलाई राम्रोसँग भइसकेको थियो । सम्राट त केवल सत्ता र समृद्धिका भोका हुने गर्छन् र राज्यविस्तारमा नै मग्न रहने गर्छन् भन्ने पनि उनलाई राम्रो हेक्का थियो । सम्राट अत्याधिक कर असुलेर जनतालाई त्रासमा राख्न चाहन्छन् र जनताहरु पनि आफ्नो स्वार्थका लागि अनेक गुटउपगुटमा विभक्त भएर रहन चाहन्छन् भन्ने कुराको पनि उनलाई राम्रो ज्ञान थियो । यस्तो वातावरणमा उनलाई शान्त वा मौन रहनु नै श्रेयस्कर लाग्ने गर्दथ्यो । कन्फ्यूसियसका उद्देश्य र आदर्शहरुउपर लाओत्सुलाई खासै चासो पनि थिएन । अतः भेटघाटमा उनीहरुबीच संक्षिप्त कुराकानी मात्रै हुन गयो, जसको भाव तल दिइएको छ : लाओत्सुलई भेट्नु कन्फ्यूसियसका लागि एक ऐतिहासिक घटना थियो । अनेक ग्रंथकारहरुले यस संबन्धमा बढाईंचढाईं गरेर पनि लेखेका छन् ।

कन्फ्यूसियसको दुर्लभ ग्रंथ एनालेक्ट्समा उक्त भेटघाटको संकेत छ । ईशापूर्व ५१७ मा उक्त भेटघाट संपन्न भएको थियो । यो भेटघाट चाउ प्रान्तमा भएको थियो । कन्फ्यूसियस त्यस बखत ३५ वर्षका युवा थिए भने लाओत्सु ८८ वर्षका बृद्ध थिए । कन्फ्यूसियसले विनयपूर्वक लाओत्सुका मुखारबृन्दबाट केही सुन्न चाहे ।

पछि, कन्फ्यूसियसले आफ्ना अनुयायीहरुका बीचमा पुगेर लाओत्सुको मुरीमुरी प्रशंशा गरे । उनले भने, “पंछीहरु हावामा उड्नु, माछाहरु पानीमा तैरिनु साथै जनावरहरु जमिनमा बेपर्वाह दौडिनु – म यी कुराहरुसँग राम्रोसँग परिचित छु । तर, यहाँ कुद्नेहरु नै लड्छन् वा पासोमा पर्छन् । पानीमा पौडिरहेका माछाहरु जाल वा बल्छीमा पर्न सक्छन् । हावामा उडिरहेका पंछीहरु पनि शिकारीको आक्रमणमा पर्न सक्छन् । तर, यी सबै भन्दा भिन्न हुन्छ, ड्रयागन । मलाई थाहा छैन, कसरी ऊ बादलहरुको सहाराले हावामा माथिमाथि उडेर स्वर्गमा पुग्दछ । आज लाओत्सुको दर्शन पाएपछि मलाई लाग्यो कि उनको तुलना केवल एउटा ड्रयागनसँग मात्रै हुन सक्छ ।”

लाओत्सुले शान्तभावमा बताए, “पुरातन महापुरुषहरु जसको चर्चा प्रायः तिमी गर्ने गर्छौ, ती सबै मरिसकेका छन् र तिनका हड्डीहरु पनि गलेर माटोमा मिलिसकेका छन् । केवल तिनका थोथा शब्दहरु बचेखुचेका छन् । जब श्रेष्ठ मनुष्यलाई कुनै अवसर प्राप्त हुन्छ, ऊ निकै माथि उठ्ने गर्दछ । तर, जब परिस्थितीहरु उसको अनुकूल हुँदैनन् तब ऊ समयलाई मध्येनजर गरेर समयको माग अनुसार नै हिँड्छ । मैले एक धनी ब्यापारीका बारेमा सुनेको छु जोसँग धनको विशाल भण्डार सुरक्षित थियो । तर पनि ऊ एकदम साधारण जीवन ब्यतित गर्ने गर्दथ्यो । उसमा धनको कुनै अभिमान थिएन । कुराको चूरो के हो भने, आफ्नो श्रेष्ठताको अहंकार र तमाम इच्छाआकांक्षाहरुलाई निमिट्यान्न पारेर र मनका चलाखी तथा अनियन्त्रित इच्छाआकांक्षाहरुलाई तिलान्जली दिएर मात्रै काम बन्दछ । यिनलाई साथमा राखेर कुनै कामहरु बन्दैनन् । तिमीलाई म केवल यत्ति नै भन्न चाहन्छु ।”

पछि, कन्फ्यूसियसले आफ्ना अनुयायीहरुका बीचमा पुगेर लाओत्सुको मुरीमुरी प्रशंशा गरे । उनले भने, “पंछीहरु हावामा उड्नु, माछाहरु पानीमा तैरिनु साथै जनावरहरु जमिनमा बेपर्वाह दौडिनु – म यी कुराहरुसँग राम्रोसँग परिचित छु । तर, यहाँ कुद्नेहरु नै लड्छन् वा पासोमा पर्छन् । पानीमा पौडिरहेका माछाहरु जाल वा बल्छीमा पर्न सक्छन् । हावामा उडिरहेका पंछीहरु पनि शिकारीको आक्रमणमा पर्न सक्छन् । तर, यी सबै भन्दा भिन्न हुन्छ, ड्रयागन । मलाई थाहा छैन, कसरी ऊ बादलहरुको सहाराले हावामा माथिमाथि उडेर स्वर्गमा पुग्दछ । आज लाओत्सुको दर्शन पाएपछि मलाई लाग्यो कि उनको तुलना केवल एउटा ड्रयागनसँग मात्रै हुन सक्छ ।”

चीनको संस्कृतिमा ड्रयागन निकै महत्वपूर्ण मानिन्छ । हुन त यो एक काल्पनिक जीव हो । हाम्रातिर गणेशलाई पूजे जस्तै चीनमा ड्रयागनलाई शुभ मानेर पूजा गरिन्छ ।

यहाँ ध्यान दिन योग्य कुरा के हो भने, विद्वान लेखकहरुले कन्फ्यूसियस र लाओत्सुलाई एक अर्काको विरोधमा उभ्याइदिएका छन् । अनेक पटक लाओत्सुको व्याख्या यस प्रकार गरिन्छ कि उनी कन्फ्यूसियसका विरोधी जस्ता प्रतित हुन्छन् । तर, वस्तुतः कुरो यस्तो होइन । उनीहरुबीच वैचारिक मतभेद अवश्य देखिन्छ । तर, लाओत्सुको प्रेम र महानता भने निकै स्पष्ट छ । उनको आवाज अलिक तेज सुनिए पनि उनले कन्फ्यूसियसलाई हितका कुराहरु नै सम्झाएका थिए । र, पछि कन्फ्यूसियसले आफ्ना शिष्यहरुका सामु लाओत्सुको मुक्तकण्ठले जुन प्रशंसा गरे, त्यसले लाओत्सुप्रति उनको अथाह श्रद्धा नै झल्किन्छ । त्यसपछि, दुवैका अनुयायीहरुले एक अर्काप्रति यति कटुवचन प्रयोग गरेर लेखे कि वैमनस्य र द्वेष बढ्दै नै गयो । अनि सौहार्द चाहिँ घट्दै गयो ।

लाओत्सुद्वारा ताओ ते चिंगको रचना

लाओत्सु स्वाभावैले अंतर्मुखी थिए । लौकिकतामा उनको कुनै रुची थिएन । यश वा किर्तिलाई उनले कहिल्यै महत्व दिएनन् । र, उनी भीडभाडबाट टाढै बसे । ईशा भन्दा पनि पुराना चिनियाँ इतिहासकार सिज मा सिएनले लाओत्सुमाथि यसरी लेखेका छन् : उनी स्वयम्लाई गुप्त राख्ने मार्गमा हिँडे र हमेशा अनाम रहन चाहे ।

नगरभरी लाओत्सुको महिमा फैलिँदो थियो । उनका प्रशंसकहरु बढिरहेका थिए । साथै तत्कालिन राज्यव्यवस्था दिनानुदिन खस्किँदो अवस्थामा थियो । लाओत्सु आफ्नो जीवनको अन्तिम पडावमा पुगेका थिए । शेषपछि आफ्ना नाउँमा कुनै सम्प्रदाय चलोस् भन्ने इच्छा उनमा रत्तिभर पनि थिएन । उनी पूर्णतया निवृृत्त थिए । यस्तैमा एक दिन उनले नगर छाड्ने निर्णय गरे । परम्पराहरुबाट प्राप्त जानकारी अनुसार, एक बिहान सबेरै कसैलाई पनि जानकारी नदिइ कालो साँढेको पीठमा बसेर (चीनमा साँढेमा चढेर सवारी गर्ने प्रचलन छ) उनले चुपचाप प्रस्थान गरे र अघि बढिरहे । नगरको सीमापार गरेर कुनै अन्जान प्रदेशमा पुग्ने उनको मनशाय थियो । सीमासम्म पुग्दा नपुग्दै झमक्कै रात पर्यो । सीमाप्रहरी लाओत्सुकै अनुयायी थियो । सत्य कुरा थाहा पाएपछि, उसले उनलाई सम्मानपूर्वक सीमानामा नै रोक्यो र बिना कुनै बिलम्व सम्राट भए ठाउँमा लाओत्सुले नगर छाड्दै गरेको सूचना पठायो । यदि लाओत्सु आफ्नो विचार र दर्शनलाई लेखेर दिन्छन् भने मात्रै उनलाई नगर छोड्न अनुमति दिनू भनेर सम्राटबाट सूचना आयो ।

लाओत्सु विवश भए ।

उनले त्यहाँ भने, “सत्यलाई प्रकट गर्न सकिँदैन । र, जे प्रकट गर्न सकिन्छ त्यो सत्य हुँदैन ।”

यो महानवाणी नै पछि उनको ग्रंथको भूमिका बन्यो । उनी सीमामा तीन दिन बसे र लगभग पाँच हजार चिनियाँ शब्दमा आफ्ना विचार र दर्शनलाई शूत्रबद्ध गरेर लेखिदिए । उनले उक्त ग्रंथलाई आफ्नोतर्फबाट कुनै पनि नाम दिएनन् । पछि, चीनका सम्राट जो उनका प्रशंसक पनि थिए, उनैले उक्त ग्रंथको नाम दिए ः ताओ ते चिंग ।

ताओ : नियम । ते : सद्गुण सम्पन्न जीवन । चिंग : पुस्तक ।

यसप्रकार ताओ ते चिंगको अर्थ हुन पुग्यो : नियम र सद्गुण सम्पन्न जीवनको पुस्तक ।

त्यसपछि लाओत्सु सीमाबाट बिदा भएर निर्जन एवम् पर्वतीय प्रदेशमा चल्दिए । कसैले भन्न सकेन कि उनी कुन दिशामा गए र कहाँ बसे । उमेर नब्बे भन्दा माथि थियो । चीनका अनकण्टार पहाडको त्यो ठिहीमा उनको शरिर कहिले र कहाँ छुट्यो कसैलाई पत्तो भएन । तर उनका वचनहरु ताओ ते चिंगका रुपमा अमर भए । आज पनि उनका वाणीहरु उच्च कोटीका र सान्दर्भिक मानिन्छन् ।

केही विचारक भन्छन् कि ताओ ते चिंगका साथ लाओत्सु सीमापार गएको कथा जोडेर उनको जीवनगाथालाई चित्ताकर्षक तुल्याउने कोशिस गरिएको हो । उनीहरुको के मान्यता छ भने, लाओत्सुले उक्त ग्रंथलाई तीन दिनमा तयार गरेका थिएनन् । जबकि त्यो उनको जीवनभरको कमाइ थियो । र, त्यो ग्रंथ नै उनको परिपक्व साधनाको परिणाम पनि थियो । त्यस्ता विचारकका मत अनुसार, लाओत्सुले त्यसलाई विवशतावश वा करकापमा परेर तीन दिनमा नै लेखिभ्याए भन्ने कथन सुपाच्य छैन ।

पूर्ण विवेकले विचार गर्दा माथिका दावीहरु तर्कसंगत नै लाग्छन् । ताओ ते चिंग ग्रंथ पूरा अध्ययन गर्दा अलिकति पनि लाग्दैन कि त्यसलाई एकसाथ सिलसिलेवर रुपमा लेखिएको हो । जबकि पुरै ग्रंथमा उनका कुराहरुको क्रमभंगता सहजै अनुमान लगाउन सकिन्छ । भिन्नभिन्न विषयमा यत्रतत्र अनेक शूत्रहरु फेला पर्दछन् । पुराना संतहरुका वाणी र उनका कथनहरु अत्याधिक मात्रामा उदृत गरिएका छन् । ग्रंथ तीन दिनमा नै लेखिएको हो भन्ने कुनै ठोस कारण पनि प्रष्टिदैंन । यस्तो पनि हुन सक्छ कि लाओत्सुले त्यसलाई तीन दिनमा नै लेखिभ्याए र, उनको शेषपछि अन्य सम्पादकहरुले त्यसलाई तोडमरोड गरिदिए ।

ताओ ते चिंगको इतिहास

ताओ ते चिंगमाथिको सम्मान स्वयम् लाओत्सु भन्दा कम आँकिएको छैन । कारण के हो भने विश्वभरका विद्वान लेखकहरुले जति ताओ ते चिंगमाथि लेखेका वा भाष्य गरेका छन् त्यति त अपेक्षाकृत रुपमा स्वयम् लाओत्सुको जीवनका बारेमा पनि लेखेका छैनन् । वर्तमान कालमा ताओ ते चिंगका लगभग सय भन्दा बढी अनुवादहरु युरोपियन वा अन्य भाषाहरुमा उपलव्ध छन् । र, नयाँनयाँ अनुवादहरु पनि सामुन्ने आउने क्रम जारी छन् । विज्ञानप्रविधिको बिकास र इन्टरनेटको सुलभताले आज उनको बहुमूल्य ग्रंथलाई चीनभन्दा बाहिर दुनियाँभरमा छ्यापछ्याप्ती बनाइदिएको छ ।

त्यस अन्धो युगमा कबिलाहरुमा परस्पर लडाईं, लूटमार मच्चीरहन्थ्यो । लाओत्सु यस्ता प्रथम विचारक थिए जो युद्धलाई पूर्णतः अनावश्यक मान्दथे । अहिले पनि दुनियाँमा ठूला साना राज्यहरु आआफ्नो सनक र अभिष्ट पूरा गर्न तुलेका छन् । जबकि जनताको हितउपर कोही पनि खास् ध्यान नै दिँदैनन् । आम जनताहरु नै युद्धमा पिसिन्छन् । आफ्नै भाई, बन्धु, पतिहरु युद्धमा मारिन्छन् । फसल वा सम्पत्तिको ब्यापक हुर्मत हुन्छ । युद्धपश्चात भोकमारी र महामारी फैलिन्छन् । आखिर यस्ता बिकराल समस्याहरुसँग जुध्ने त जनता नै हुन् । लाओत्सु भन्छन् कि कुनै पनि अवस्थामा युद्ध जायज हुन सक्दैन । विजेता होस् वा पराजित, सबैका लागि युद्धको परिणाम भनेको दर्दनाक जिन्दगी नै हो । अतः कुनै पनि किशिमका युद्धबाट बच्नु अति आवश्यक छ । स्यानो राज्यले ठूलोको संरक्षण स्विकार गर्नु पर्छ । ठूलो राज्यले पनि आफूलाई भयंकर नठानेर स्यानो राज्यलाई सरसहयोग गर्नु पर्छ ।

ईशाभन्दा लगभग ५ सय वर्षपूर्वको यो ग्रंथलाई अनेक ग्रंथकारले आफ्ना ग्रंथहरुमा उदृत गरेका छन् । कन्फ्यूसियस मतावलम्वीहरुले पनि यसलाई सम्मान दिएका छन् । भनिन्छ, स्वयम् कन्फ्यूसियसको ग्रंथ एनालेक्टस्मा ताओ ते चिंगको एक अध्याय उदृत गरिएको छ । ईशाको दुई सय वर्षपूर्व नै ताओ ते चिंगलाई चिनियाँ भाषाको एक क्लासिक ग्रंथको रुपमा मान्यता दिइएको थियो । तत्कालिन राज्यसत्ताले पनि उपयोगी ठानेर यसको पठनपाठनमा प्रोत्साहित गरेको थियो । भनिन्छ, तत्कालिन सम्राट यस ग्रंथबाट यति धेरै प्रभावित भएका थिए कि हरेक दिन उनी आफ्नो राजपाठको काम शुरु गर्नुपूर्व ताओ ते चिंगमाथि चर्चा सुन्ने गर्दथे । ताओ ते चिंगमाथि त्यसरी चर्चा भइरहँदा यदि कुनै मन्त्री अर्थात् राज्याधिकारीले हाइ काढे, खुट्टा फैल्याए वा अन्य कुनै तरिकाले उक्त चर्चामाथि अरुचि प्रकट गरेको खण्डमा सम्राटद्वारा कडा दण्डको भागिदार हुने गर्दथे ।

एक अर्का सम्राटले आफ्ना मन्त्रीहरुलाई एकताका सोधेथे, “सरकार र प्रशासन चलाउनमा ताओ ते चिंगको के कस्तो उपादेयता हुन सक्छ ?”
ग्रंथका मर्मज्ञहरुले उनलाई बताएका थिए, “ताओ ते चिंगको सहयोगमा एउटा मूर्दाले पनि सहजै सुचारुरुपमा शासन चलाउँन सक्दछ ।”

यसै ग्रंथको एक प्राचीन संस्करणमा लेखिएको पनि छ, यो ग्रंथ सबै कुराहरुको मूल, सम्राटहरुको गुरु एवम् जनताको सर्वाधिक मूल्यवान रत्न हो ।
चीनमा कागज र छापाको इतिहास अत्यन्तै प्राचीन छ । सुकेको काठमा साँचो कुँदाएर एवम् रुखका बोक्राको कागजमा ग्रंथहरु छापेर प्रकाशित गर्ने गरिन्थ्यो । ताओ ते चिंगका अनेक संस्करणहरु यसरी नै प्रकाशित भएका थिए । चीनका तत्कालिन सम्राटको आदेश बमोजिम यस पुस्तकलाई स्नातक तहको अध्ययनका लागि अनिवार्य घोषित गरिएको थियो । सबै विद्यार्थीहरुसँग यसको एउटा नीजि प्रति अनिवार्य हुने गर्दथ्यो । अनेक शिक्षाविदहरुसमक्ष यसका प्रतिहरु पठाइन्थे । साथै यसको अन्य स्थानीय भाषामा अनुवाद पनि भएको थियो । राजधानीमा ठूलाठूला पत्थरहरुमा ताओ ते चिंगका शिलालेखहरु कुँदिएका थिए । यो सबै ईशापूर्वका युगहरुमा हुँदै रह्यो ।

स्थिती यस्तो पनि थिएन कि ताओ ते चिंगलाई सबैले राम्रो नै मानेका हुन् । कन्फ्यूसियसका कट्टर अनुयायीहरु हमेशा यसका आलोचक नै रहे । केही यस्ता पनि सम्राट भए जसले यसको पठनपाठनलाई रद्द गर्ने प्रयास पनि गरे ।

ईशापूर्व २१५ मा उत्कृष्ट चिनियाँ ग्रंथहरुलाई मंगोल आक्रमणकारीहरुले आगो लगाइदिए । सन् १२०० को आसपास मंगोल आक्रमणकारी कुब्ला खाँले चीनमा धावा बोले, परास्त पनि गरे र त्यहाँको सम्राट बने । त्यसपश्चात उनले ताओ ते चिंग बाहेक ताओ सम्प्रदायका सबै ग्रंथहरुलाई आगो लगाएर नष्ट गर्ने आदेश दिए । लाओत्सुको यस दुर्लभ ग्रंथको सम्मान भने कुब्ला खाँले पनि गरेका थिए । यस प्रकार अढाइ हजार वर्षको आरोहअवरोह सहेर पनि यो ग्रंथ हामीमाझ सुरक्षित रह्यो । यो चीनको मात्र नभएर सम्पूर्ण मानवताको धरोहर हुन पुगेको छ । हामी कहाँ जसरी वेदको महत्व छ चीनमा उसैगरी आइ चिंग एवम् ताओ ते चिंगको छ । आइ चिंग लाओत्सु भन्दा पनि लगभग बाह्र सय वर्ष पुरानो ग्रंथ हो । जसका वाक्यहरुलाई लाओत्सुले आफ्नो ग्रंथमा उदृत गरेका छन् ।

ताओ ते चिंगको विषयवस्तु 

ताओ ते चिंग एक जीवनमुक्त संतको अमृतरस हो । यो साधना पथको प्रतिक हो । एउटा साधकले यसलाई सहजतासाथ र रसपूर्ण तवरले हृदयंगम गर्न सक्छ । उसले यसको भरपूर रसास्वादन गर्न सक्छ । जसले यसलाई केवल बुद्धि एवम् विद्वताका बलले बुझ्न खोज्छ त्यसले यसको अर्थलाई अनर्थ गर्न सक्छ । कैयन मान्छेहरुद्वारा जानान्जान त्यस्ता दुर्घटनाहरु हुन पुगेका छन् । पश्चिमका केही विद्वानले निष्ठापूर्वक ताओ ते चिंगको अनुवाद गरे तापनि कतिपय स्थानमा उनीहरुले लाओत्सुको खास् कथनलाई बुझ्नै नसकेको प्रतीत हुन्छ । उदाहरणस्वरुप, जेम्स लेगी (सन् १८१५–१८९७) को नाम लिन सकिन्छ । उनी ब्रिटेनका थिए । तर लामो समय चीनमा ब्यतित गरे र चीनियाँ भाषा एवम् संस्कृतिका ज्ञाता पनि कहलिन पुगे । उनले प्रसिद्ध जर्मन विद्वान दार्शनिक म्याक्समूलरको स्याक्रेड बुक्स अफ दि इस्टको सम्पादन एवम् अनुवादमा सहयोग पनि पुर्याएका थिए । लेगी स्वयम्ले बडा मेहनत गरेर ताओ ते चिंगको अंग्रेजी अनुवाद गरे । तर कतिपय स्थानका साधनात्मक बान्किहरुलाई उनले बुझ्न सकेनन् । उनले इमान्दारीसाथ आफ्नो उक्त असमर्थतालाई स्विकार पनि गरेका थिए ।

ताओ ते चिंग अत्यन्तै गम्भीर ग्रंथ हो । स्यानो आकारका कारण यसलाई मजाकको रुपमा कदापि लिन सकिँदैन । यस स्यानो आकारको ग्रंथका एकएक शूत्रहरुउपर अनेकानेक शास्त्रहरु न्योछावर हुन पुगेका छन् ।

ताओ ते चिंगमा तीन कुराहरु प्रमुख छन् :
१, उत्तम जीवनका शूत्रहरु ।
२, विश्व सत्ता बुझ्नका लागि ताओको सिद्धान्त ।
३, शासन एवम् शासकका लागि निर्देशन ।

उत्तम जीवनका शूत्रहरु
सागरको तलमा जसरी मोती लुकेर बसेका हुन्छन्, ताओ ते चिंगका समस्त अध्यायहरुमा त्यसरी नै उत्तम जीवनका शूत्रहरु भेटिन्छन् । यस्तो जीवन जो राग–द्वेष, कलह, शक्ति–भोगका इच्छा भन्दा टाढा होस् । बालक झैं निर्दोष होस् । स्त्रीसुलभ विनम्रता एवम् मौनताले संयुक्त होस् । जलसदृश परोपकार गर्नेवाला होस् । नयाँ बिरुवा जस्तै कोमल, लचिलो एवम् निर्बल होस् । अहंकारशून्य होस् । यस्तो जीवन लाओत्सुका दृष्टिमा उच्च जीवन हो ।

जीवनमा सद्गुणहरु ओतप्रोत हुन् । तर तिनमा कदाचित अहंकार नहोस् । जीवन संयम र शीलले सुसज्जित होस् । समग्रमा यस्तो जीवन नै ताओको निकट हुने गर्दछ । ताओ विश्व सत्ताको नियमानुसार चल्ने निर्दोष जीवनलाई नै लाओत्सुले गुप्तजीवन अर्थात ‘हिडन लाइफ’को संज्ञा दिएका छन् ।

लाओत्सुले आफ्नो ग्रंथका अनेक स्थानमा चीनका पुराना संतका वाणी र ब्यवहारलाई उच्च जीवनको प्रमाणका रुपमा उदृत गरेका छन् । उदाहरण स्वरुप, अध्याय १५, २६, २७, ४९, ५६, ५८, ७० आदिलाई यथास्थानमा सिंहावलोकन गर्न सकिन्छ । गेरु वा सादा लुगाभित्र घुस्नासाथ कोही संत बन्दैन । जसको जीवनमा निष्कामता, प्रपंचशून्यता एवम् अंतर्मुखता झल्किन्छ त्यो मात्रै संत हो । मूल चिनियाँ भाषामा संत शब्दका लागि शेंग रेन (Sheng Ren) शब्द प्रयुक्त छ, जसको अर्थ अनुवादकहरुले सामान्यतया Sage वा Saint निकालेका छन् । विल्हमले शेंग रेन को अर्थ पुकारेर भन्नेवाला मनुष्य (The Man of Calling) निकाले । यता संत कबीरले पनि स्वयम्लाई ‘कहहिं कबीर पुकारि के’ भनेका छन् ।

लाओत्सुको भाषामा सांसारिक ऐश्वर्य, यश, किर्ती, बल, प्रतिष्ठा, लगातार माथि पुग्ने चाह, उच्च पद आदिले फगत अहंकारलाई जन्माउँछन् । फलस्वरुप विनाशको आगमन हुन्छ । बिरुवाहरु जब जीवनमा प्रवेश गर्दछन्, कोमल र नाजूक हुन्छन् । जब उनीहरु मजबूत एवम् कठोर हुन्छन् तब उनीहरुलाई गिँडिन्छ । मजबूत, कठोर र अकडग्रस्त हुनु ताओ (नियम) को विपरित हुनु हो । र, ताओको खिलाफ जानु भनेको विनाशलाई निम्तो दिनु हो । लाओत्सु सरल, नम्र र प्राकृतिक जीवनका पक्षधर हुन् । प्रेम, सन्तोष र सरलताले नै जीवनमा आत्मसन्तोष प्रदान गर्न सक्छन् । पछिल्लो पङ्तिमा सामान्य जीवन ज्यूँदा कलह हुँदैन । जसरी नदी तलतल बग्दै गएर सागरमा मिल्दछ, त्यसरी नै शक्तिशाली भए पनि शासक जब स्वयम्लाई दीनहिन र तुच्छ मान्छ तब ऊ जनताको हृदयमा सहजै अवतरण गर्न सक्छ ।

विश्व सत्ता बुझ्नका लागि ताओको सिद्धान्त
ईश्वरका सन्दर्भमा लाओत्सु भावुक छैनन् । कुनै ईश्वरले श्रृष्टि रचेको हो भनेर उनी भन्दैनन् । अढाइ हजार वर्षपूर्व चीनमा मात्रै नभएर समस्त विश्व सभ्यतामा दैववाद वा बहुदेववादको प्रचलन थियो । लाओत्सुको वाणी भने ईश्वरवाद, दैववाद, चमत्कार तथा अलौकिकताबाट पूर्णतया मुक्त छ । उनले वैज्ञानिक अध्यात्मवादको शूत्रपात गरेका थिए । उनले देखे कि मान्छेहरु ईश्वरको काल्पनिक सत्तासँग मोक्षको पुकार गर्दछन् जो तर्कसंगत छैन । अतः ईश्वरका प्रसंगमा उनी प्रायः मौन रहे । मौन रहेर नै उनले ईश्वरको काल्पनिक सत्तालाई उपेक्षा गरिदिए ।

लाओत्सुले भने, “एउटा यस्तो नित्य सत्ता छ जो ईश्वर भन्दा पनि पहिलेको हो । त्यो सत्ता मान्छेहरुले सोचे जस्तो करुणामय छैन । उसलाई यज्ञ, हवन वा पूजाआजाले संतुष्ट तुल्याउन सकिन्न । यति बिराट ब्रह्माण्डमा मनुष्य उसको लागि स्यानो सिन्को सरह हो ।”

ईश्वरभन्दा पनि प्राचीन त्यसै नित्य सत्तालाई उनले ताओ नाम दिएका हुन् । ताओ शब्दबाट चीनियाँहरु प्राचीनकालदेखि नै परिचित थिए । पुराना सम्राटहरुले राजकाज चलाउनका लागि जो नियम वा विधान बनाउने गर्दथे, त्यसलाई ताओ नै भन्ने गरिन्थ्यो । ताओको अर्को अर्थ, आकाशमा ताराहरुले यात्रा गर्ने निर्धारित पथ पनि हुन आउँछ ।

लाओत्सुले ताओलाई नितान्त एक नयाँ अर्थमा प्रयुक्त गरेका थिए । उनले यसलाई विश्व प्रकृतिमा ब्याप्त भौतिक नियम तथा प्राणीहरुको ज्ञानेन्द्रिय सञ्चालन गर्ने मानसिक नियमहरुको समुच्चय मानेका छन् । यसप्रकार, जसलाई विज्ञानमा कारण–कार्य–व्यवस्था (Eternal Laws) भनिन्छ त्यो नै लाओत्सुको ताओ हो । ताओमा कुनै ब्यक्तित्वको कोरा कल्पना गरिएको छैन । नियममा केको ब्यक्तित्व ? श्रृष्टि अनादिकालदेखि छ । निर्मित पदार्थहरु शुक्ष्म प्रकृतिबाट ब्यक्तरुपमा प्रकट हुने गर्दछन् । र, चक्रमा गतिशिल भएर पुनः प्रकृतिमा विलिन हुन्छन् । यो नै ताओको गति हो । संसारका सबै परिवर्तनशिलताहरु ताओ अर्थात् एक खास नियमले सञ्चालित हुन्छन् । असत्ताबाट सत्ताको उदय हुन सक्दैन । र, सत्ता कहिल्यै असत्तामा पनि जाँदैन ।
ताओलाई नै हिन्दु सभ्यताका वेदहरुमा ऋत भनिएको छ । ऋतस्य तन्तु विततम् । अर्थात्, ऋतका तन्तुहरु सर्वत्र फैलिएका छन् । लाओत्सु पनि भन्छन् कि ताओका तन्तुहरु सर्वत्र फैलिएका छन् । भाषा भिन्न भए तापनि विचारको सार उस्तैउस्तै लाग्छ । जसरी वेदका ऋषिहरु प्रकृतिलाई लिएर भावुक हुन्छन्, उसैगरी लाओत्सु पनि ताओका सन्दर्भमा अभिभूत हुन्छन् ।

स्यानो ग्रंथमा लगभग ७५ पटक ताओ शब्द दोहोरिएको छ । ताओ लाओत्सुको दार्शनिक चिंतनको पराकाष्ठा हो । ताओकै नाममा उनको मत ताओवाद हुन पुगेको छ । विश्व प्रकृतिलाई मिहिन तरिकाले बुझ्नका लागि लाओत्सुको प्रयास अत्यन्तै वैज्ञानिक एवम् आधुनिक छ ।

लाओत्सुमा अखण्ड आत्मनिष्ठा र अत्याधिक निश्चिन्तताको झलक पाउन सकिन्छ । यदि उनी आफ्नोतर्फबाट यति धेरै निश्चिन्त हुँदैन थिए भने दुनियाँलाई निडरभावमा कसरी ब्यंग्य गर्न सक्थे त ? ताओ ते चिंगको अध्याय २० मा उनी संसारका मान्छेहरुलाई उनीहरुको चमकदमक, भोगविलास, सुखसाधनको प्रचूरता आदि उपर तिखो व्यंग्य गर्दछन् । जबकी उनले स्वयम्लाई एक नवजात शिशुसरह ठानेका छन् । उनले आफूलाई मूढ, अव्यवस्थित, अत्यंत उदास, आवारा, आश्रयहिन, अशांत, व्यर्थ, भिखारी आदि विशेषणहरुको प्रयोग गरेका छन् । तथापि उनले आफ्नो जीवनलाई श्रेष्ठतर र उत्तम मानेका छन् किनभने उनी ताओ निकट रहे ।

शासन एवम् शासकका लागि निर्देशन

त्यस अन्धो युगमा कबिलाहरुमा परस्पर लडाईं, लूटमार मच्चीरहन्थ्यो । लाओत्सु यस्ता प्रथम विचारक थिए जो युद्धलाई पूर्णतः अनावश्यक मान्दथे । अहिले पनि दुनियाँमा ठूला साना राज्यहरु आआफ्नो सनक र अभिष्ट पूरा गर्न तुलेका छन् । जबकि जनताको हितउपर कोही पनि खास् ध्यान नै दिँदैनन् । आम जनताहरु नै युद्धमा पिसिन्छन् । आफ्नै भाई, बन्धु, पतिहरु युद्धमा मारिन्छन् । फसल वा सम्पत्तिको ब्यापक हुर्मत हुन्छ । युद्धपश्चात भोकमारी र महामारी फैलिन्छन् । आखिर यस्ता बिकराल समस्याहरुसँग जुध्ने त जनता नै हुन् । लाओत्सु भन्छन् कि कुनै पनि अवस्थामा युद्ध जायज हुन सक्दैन । विजेता होस् वा पराजित, सबैका लागि युद्धको परिणाम भनेको दर्दनाक जिन्दगी नै हो । अतः कुनै पनि किशिमका युद्धबाट बच्नु अति आवश्यक छ । स्यानो राज्यले ठूलोको संरक्षण स्विकार गर्नु पर्छ । ठूलो राज्यले पनि आफूलाई भयंकर नठानेर स्यानो राज्यलाई सरसहयोग गर्नु पर्छ । स्याना या ठूला जस्ता भए पनि राज्यहरुले जनताको सर्वोपरि हितमा आफूलाई न्योछावर गर्नु पर्छ भन्ने सन्देश दिन्छन्, लाओत्सु ।

लाओत्सु आफ्ना वाणीहरुमा अनेक पटक स्वर्गको जिकिर गर्दछन् । तर उनको स्वर्ग बाहिर आकाशतर्फ नभएर भित्र चेतनामा अवस्थित छ । मनको कलहशून्यता नै स्वर्ग हो । जुन जीवनमा कलह छैन त्यो जीवन नै स्वर्गको झलक हो भनेर लाओत्सुले भनेका छन् । उनको विचारमा कलहको कारण आआफ्नो स्वार्थको बढोत्तरी नै हो । जगतबाट प्राप्त भएका निन्दा वा गालीलाई संतहरु निर्विकार भावले स्विकार गर्दछन् । अनि स्वयम्लाई उनीहरु पछाडि वा तल नै राख्न रुचाउँछन् । उनीहरु कुनै पनि प्रतिस्पर्धाहरुमा उत्रिदैनन् । अहंकार गर्दैनन् । फलतः वास्तविक संतहरुको शब्दकोशमा कलह भन्ने शब्द हुँदैन । लाओत्सु स्वयम्को जीवन यी कुराहरुको ठोस प्रमाण हो ।

लाओत्सु खासमा आत्मवादी थिए । उनले स्व (Self) को प्रयोग आत्माका लागि गरे । आफ्नो नितान्त एक्लोपनाको बोधमा स्थित रहनु नै स्वमा स्थित हुनु हो । उनको एउटा अति महत्वपूर्ण वचन छ : जो आत्मसन्तुष्ट छ, उसले कहिल्यै लज्जित हुनु पर्दैन र, ऊ सदैव सुरक्षित पनि हुन्छ ।

स्वमा नै केन्द्रित भएका कारण असली संतहरु मानसम्मानका प्रति एकदमै लापर्वाह हुने गर्दछन् । उनीहरुको अहंकार निमिट्यान्न भएकै कारण स्व भने सुरक्षित हुने गर्दछ । संतहरु आफ्नो लागि केही पनि चाह राख्दैनन् । उनीहरु स्वयम्मा नै पूर्ण हुने गर्दछन् ।

विल्हमले आफ्नो भूमिकामा लेखेका छन् : लाओत्सुको स्वलाई कसैले अहं नठानोस् । स्वमा स्थित हुनका लागि हृदय विचारहरुबाट मुक्त हुनु सर्वाधिक महत्वपूर्ण हुन्छ । निर्विचार त्यो खालीपनमा मात्रै सत्यलाई अनुभूत गर्न सकिन्छ । लाओत्सु हमेशा खाली हृदयलाई ज्ञान र कर्मको उचित भूमि मान्दछन् । उनी भन्छन्, बाह्य ज्ञान क्षणिक हुन्छ र यो बदलिँदो पनि हुन्छ । स्वको ज्ञान अक्षुण्ण हुन्छ र यदि त्यसमा बाहिरबाट केही प्रक्षेपण गरिएको छैन भने मात्रै । आफ्नो परम् स्थितीमा पुग्नका लागि बाह्य ज्ञान सहायक होइन बाधक हुन्छ । जब सारा दृश्यहरु समाप्त हुन्छन् तब मात्रै भित्र लुकेको त्यो शाश्वत एवम् श्रेष्ठ सत्य शुद्ध र स्पष्ट रुपमा उजागर हुन्छ जो कि सबै ऐन्द्रिक ज्ञान भन्दा पर छ । यसका लागि शिशुको जस्तो निर्दोषताको जरुरत पर्दछ । त्यो शिशुको जस्तो जो अहिलेसम्म इच्छाहरुको भंवरजालमा फसेँको छैन । तब स्थितीहरु स्वतः स्पष्ट हुन्छन् । मानव त्यति बेला शाश्वत जीवनलाई जान्ने अवस्थामा पुग्दछ । अनि यसलाई जानेर ऊ मृत्युपार हुन्छ ।

लाओत्सु पदार्थपार–दृष्टिले भरपूर छन् । उनी शाश्वत जीवनलाई चियाउँछन् । त्यसैले त लाओत्सुका कट्टर आलोचक पनि स्विकार गर्न बाध्य हुन्छन् कि संत भनेका अंतर्मुखी नै हुुने गर्दछन् वा सांसारिक गतिविधिसँग उदास रहने गर्दछन् र, संत आफूभित्र जुन मौनमा रहन्छन् त्यसको कुनै खण्डन हुन सक्दैन । लाओत्सुले भनेका छन् कि जो मरेर पनि मर्दैनन् उनीहरु नै चिरंजीवी हुन् ।

यस प्रसंगलाई जेम्स लेगीले यसरी टिप्पणी गरेका छन् : मानव शरिर किराको खोल वा साँपको काँचुली जस्तो हो जसलाई हामी निकै कम समयका लागि धारण गर्दछौं । निःसन्देह, लाओत्सु वर्तमान जीवनपश्चातको अर्को जीवनमा बिश्वास गर्ने संत हुन् ।

लाओत्सु इतिहासका ती महापुरुष हुन् जसका कुनै साथी नै भएनन् । कारण, उनी आफ्नो समयका स्वतन्त्र चिन्तक थिए । दुनियाँमा स्वतन्त्र चिन्तकहरु भीडमा पनि प्रायः एक्ला भेटिने गर्दछन् ।

लाओत्सुको समय भन्दा लगभग सय वर्षपश्चात यूनानमा एक दार्शनिक भए, सुकरात । उनी पनि परंपरादेखि अलग स्वयम्मा रमण गर्ने महापुरुष थिए । प्लेटो र अरस्तु जस्ता समर्थवान शिष्यहरुले सुकरातका वाणीहरुलाई जिवित राखे । तर लाओत्सुले यो सौभाग्य पाएनन् ।

एक विचारकले भनेका छन् कि आफूले लगाएका फसल काट्न लाओत्सुलाई प्लेटो या अरस्तु जस्ता शिष्यहरुको सौभाग्य प्राप्त भएन । जहाँ अन्यहरु आफ्ना उपलब्धिलाई लिएर बजारमा अहंकारका डिंग हाँक्दै हिँडे, त्यहीं लाओत्सु भने परम मौनमा नै आफ्ना महान कामहरुलाई अन्जाम दिँदै रहे । उनले मान्छेहरुलाई आफ्नो विचार लादेनन् । उनी जथाभावी भाषणबाजी गर्दै पनि हिँडेनन् । कन्फ्यूसियस जसरी उनले कुनै पंथ पनि खडा गरेनन् । न त उनले यसको आवश्यक्ता नै ठाने । उनले त विश्व प्रकृतिको रहस्यलाई मनन् गरे । मानव मनको स्वाभावलाई परख गरे । अनि ती कुराहरुलाई सरल भाषामा बताइदिए । तर, कतैकतै उनले विचारहरुलाई पहेली र संकेतका रुपमा ब्यक्त गर्नु जायज ठाने । ताकि आगामी पुस्ताका लागि संसारको क्षणभंगुरता र परिवर्तनशिलता बुझ्न मद्दत पुगोस् । आध्यात्मिक गुरुहरु प्रज्ञाको दुरुपयोग नहोस् भनेर प्रायः यस्तो गर्ने गर्दछन् । र, लाओत्सु यस कार्यमा सफल रहे ।

युरोपियन वा अन्य पश्चिमाहरु पूर्विय चिन्तकका आत्मजागृत भावहरुलाई त्यति सजिलै बुझ्न सक्दैनन् । कारण, उनीहरु केवल विचारको दायराबाट वस्तु र जगत र स्वयम्लाई हेर्ने आदतका शिकार भएका हुन्छन् । जुन दिन उनीहरु विचारपारीको शून्यतालाई बोध गर्न सक्षम हुने छन् त्योे बेला मात्रै उनीहरु लाअ‍ेत्से जस्ता ज्ञानी पुरुषका वाणीहरुलाई पूर्णरुपमा बुझ्न र विश्लेषण गर्न तयार हुनेछन् ।

लाओत्सु भावुक थिएनन् । संसारका सबै मान्छेहरुलाई जगाउनु पर्छ भनेर भावुक बन्दै उनले कुनै त्यस्तो असफल चेष्टा पनि गरेनन् । चाहे मान्छेहरुले उनलाई कम बुझून् वा नबुझून्, यस्ता कुरामा लाओत्सु तटस्थ नै रहे । रिचर्ड विल्हमले ठिकै भनेका थिए कि कन्फ्यूसियस जस्तै लाओत्सु पनि मान्छेहरुले आफूलाई नबुझिदिएका कारण अनेक समस्याहरुसँग जुध्न पुगे । समकालिन मान्छेहरुले आफूलाई नबुझेका कारण कन्फ्यूसियस निकै दिग्दार भएका थिए । तर मान्छेहरुले नबुझिदिएका कारण जति नै समस्यासँग जुध्नु परे पनि लाओत्सु बिचलित भएनन् । लाओत्सुले त यसलाई कुनै समस्या नै मानेनन् । उनी आफ्नो स्वाभिमान र संप्रभुतामा बिश्वास गर्दथे ।

एक ठाउँमा लाओत्सुले भनेका छन्, “मान्छेहरुले वस्तुतः मलाई यति कम बुझिदिनुमा नै मेरो मूल्य निहित छ ।”

लाओत्सुमा अखण्ड आत्मनिष्ठा र अत्याधिक निश्चिन्तताको झलक पाउन सकिन्छ । यदि उनी आफ्नोतर्फबाट यति धेरै निश्चिन्त हुँदैन थिए भने दुनियाँलाई निडरभावमा कसरी ब्यंग्य गर्न सक्थे त ? ताओ ते चिंगको अध्याय २० मा उनी संसारका मान्छेहरुलाई उनीहरुको चमकदमक, भोगविलास, सुखसाधनको प्रचूरता आदि उपर तिखो व्यंग्य गर्दछन् । जबकी उनले स्वयम्लाई एक नवजात शिशुसरह ठानेका छन् । उनले आफूलाई मूढ, अव्यवस्थित, अत्यंत उदास, आवारा, आश्रयहिन, अशांत, व्यर्थ, भिखारी आदि विशेषणहरुको प्रयोग गरेका छन् । तथापि उनले आफ्नो जीवनलाई श्रेष्ठतर र उत्तम मानेका छन् किनभने उनी ताओ निकट रहे ।

लाओत्सुको प्रभाव
लाओत्सुको चमक अढाइ हजार वर्षपश्चात पनि मधूरो भएन । त्यसो त उनको जीवनकालमा नै उनको अंतर्मुखी स्वाभावले मान्छेहरुलाई अत्याधिक प्रभावित तुल्याएको थियो । यहाँसम्म कि समाज बदल्न हिँडेका कन्फ्यूसियसका अनुयायीहरु जो लाओत्सुलाई कुवाँको भ्यागुत्तो ठान्थे, आफ्ना तमाम प्रयासका बावजूद पनि समाज परिवर्तन गर्न नसकेपछि लाओत्सुले नै भने जसरी सागरको किनार वा पर्वतको एकांत खोजेर आत्मशोधनका खातिर उन्मुख भए । अन्त्यतः उनीहरु लाओत्सुकै जीवनपथ अनुशरण गर्न बाध्य पनि भएका थिए ।

वर्तमान कालमा लाओत्सुुको आकर्षण अझै गहिरिएको छ । उनको अन्तर्मुखतामा गूढ रहस्य लुकेको देखेर युरोपियन वा पाश्चात्य विद्वानहरु उनीप्रति अत्याधिक आकर्षित हुन पुगेका कैयन दृष्टान्तहरु छन् । भौतिक समृद्धि तथा वैज्ञानिक उपलब्धिहरु मान्छेको भित्री खालिपना भर्न कदापि पर्याप्त भएनन् । अतः लाओत्सुका वाणीहरु उपर चिंतनमनन बढ्दो छ । ताओले मान्छेहरुलाई आजपर्यन्त अत्याधिक आकर्षित गरि नै रहेको छ । अनेक लेखकहरुले ताओमाथि ब्यापक अनुसन्धान भ्याएका छन् । केही वर्षअघि मात्रै दि ताओ अफ फिजिक्स तथा दि ताओ अफ फू जस्ता ग्रंथहरु प्रकाशमा आएका छन् । पर्यावरण अध्ययनका क्षेत्रमा पनि ताओलाई जोडेर नयाँनयाँ आयामहरु खोतलिँदै छ । ताओ विश्व परिदृश्यमा चीनको पहिचान बनेर लगातार फक्रिँदो छ ।

लाओत्सुको दुरुपयोग
त्यसो त लाओत्सुलाई नै ताओवादका जनक मानिन्छ । तर उनीभन्दा पनि पहिले चीनमा तओवाद एक पंथका रुपमा विद्यमान थियो । लाओत्सुले शरिर छाडेको सय वर्ष बित्दा नबित्दै उनलाई अवतार मानेर देवताका रुपमा उनको पूजा प्रारंभ हुन थाल्यो । वर्तमान ताओवादको आधार उनको रचना ताओ ते चिंग होइन । यसमा लाओत्सेले जुन गीत गाएका छन् त्यसमा भीड बटुल्ने क्षमता छैन । उनको ताओ ते चिंग विशुद्ध ज्ञान हो । प्रज्ञा हो । अतः उनका वर्तमान अनुयायीहरु अन्य वाणीहरुलाई आफ्नो आधार मान्छन् । उनीहरु मौका पर्दा ताओ ते चिंगकै मनमानी व्याख्या गरिदिन्छन् र आफ्नो स्वार्थ साध्छन् । लाओत्सुको वास्तविक ग्रंथ ताओ ते चिंगमा भूतप्रेतलाई कुनै मान्यता दिइएको छैन । उनको शेषपश्चात उनको देशनामा मिसाइएको मान्यता हो, यो । अनुयायीहरु यदाकदा घातक पनि हुन्छन् । उनीहरुले लाओत्सुको विशुद्ध ज्ञानलाई एकातिर पन्छाएर चीनका लोक मान्यताहरुलाई आफूमा मिसाउँदै लगे । फलस्वरुप, आज ताओवादको पहिचान जादूटूना, तंत्रमंत्र, ज्योतिष, यज्ञहवन, बलि, भूतप्रेत, झारफूक आदि कर्मकाण्डमा नै सिमित हुन पुगेको छ । आफ्नो जादूटोनाले प्रभाव पार्नका लागि यस पंथका अनुयायीहरुले अनेक पटक प्रशासनलाई नै उखेलेर फ्याँक्ने षड्यन्त्र रचेका थिए । अनि उनीहरु पक्राउ पनि परे । दण्डित पनि भए । त्यो सब लाओत्सुको नाममा भयो । अनि लाओत्सुको वास्तविक स्वरुपमा लगभग कालो नै पोतिन पुग्यो । उनलाई केवल एक मिथक–पौराणिक व्यक्तित्व मान्न थालियो । तर, सूर्यलाई कतिन्जेल हत्केलाले छेक्न सकिन्छ र ? केही पाश्चात्य खोजकतर्ताले उनको वास्तविक चिंतन र ब्यक्तित्वलाई उधिनेरै छाडे ।

ताओवादका अनुयायीहरुको वर्तमान संख्या करोडमाथि छ । उनीहरु चीनसहित पूर्वी एशियाका जापान, कोरिया, सिंगापुर, ताइवान आदि देशमा फैलिएर रहेका छन् । आधुनिक विद्वानहरु लाओत्सुको भरमार प्रशंशा गर्न चुक्दैनन् । तर उनीहरु वर्तमान ताओवादलाई लाओत्सुसँग जोड्न हिच्किचाउँछन् पनि ।
प्रवर्तकको अनुपस्थितिमा अनुयायीहरुको प्रवंचना झांगिएका यस्ता दुर्घटना लाओत्सुकासाथ मात्रै होइन सर्वत्र देख्न सकिन्छ । भौतिक स्वार्थको चक्रब्यूहमा फँसेर उनीहरु आफ्नो प्रवर्तकको ज्ञानलाई अवमूल्यन गरिदिन्छन् र बिपरित साधनको प्रयोग गर्ने धृष्टता पनि गर्दछन् । बुद्ध, महावीर, कवीर, श्री अरविन्द, रमण महर्षि, ओशो आदिका अनुयायीहरुले आफ्ना प्रवर्तकको शेषपछि उनीहरुको काढ्नु हुर्मत काढेका छन् । गुरुले निर्माण गरेको ज्ञानको धरोहरलाई उनीहरुले केवल धन्धापानीको माध्यम बनाएका छन् र रोज कैयन साधक र मुमुक्षुहरुलाई दिन दहाडै लुटिरहेका छन् । यस्ता महान गुरुका नाममा निर्मित कैयन आश्रमहरु आज फगत गेस्टहाउस, होटल वा गैह्रकानूनी धन्धा गर्ने अखाडामा तव्दिल हुन पुगेका छन् ।

ताओ ते चिंगका अन्य अनुवाद र भाष्यहरु
ताओ ते चिंगउपर अन्य चिनियाँ साहित्यको अपेक्षा अधिक ध्यान दिइएको पाइन्छ । ईशापूर्वमा नै यसका कैयन भाष्यहरु भए । केही भाष्य त सम्राटहरुले समेत गराए । एकै राजवंशका तीन सम्राटहरुले यस ग्रंथ उपर भाष्य गरेका थिए । यहाँ पुराना दुई प्रमुख भाष्यहरुको चर्चा गरिन्छ जो अहिले पनि अनूदित भएर प्रकाशन भइरहेका छन् ।

हो शांग कूंगको भाष्य : उपलब्ध भाष्यहरु मध्ये यो नै सबैभन्दा पुरानो हो । कूंग ईशा भन्दा दुई सय वर्ष पूर्वका ताओ अनुयायी थिए । उनी ताओ ते चिंगका प्रशिद्ध अध्येता मानिन्छन् । उनको उक्त भाष्य युरोपियन भाषाहरुमा अनूदित भएर अहिले पनि प्रकाशित भइरहेको छ । अनेक स्थानमा यसले लाओत्सुका वाणीहरुलाई स्पष्ट पार्न सफल भएको छ भने कतिपय स्थानमा यसले उल्झन पनि पैदा गरेको छ । यो अलिक चमत्कारिक मान्यतातिर ढल्किन पुगेको छ । तर प्राचीन भएको हुँदा विद्वानहरुले यसलाई बढी महत्व दिएका छन् ।

अर्को भाष्य, वांग बी (२२६–२४९ ईशापूर्व) नामक एक २४ वर्षिय नवयुवकले गरेका थिए । वस्तुतः यिनी कन्फ्यूसियसका अनुयायी थिए । तर ताओ ते चिंगले उनलाई अत्याधिक प्रभावित तुल्याएको थियो । अतः उनी यसको अध्ययनमा लागे र एउटा महत्वपूर्ण भाष्य पनि लेखे । विद्वानहरुकाबीच यो भाष्य निकै प्रामाणिक मानिन्छ । यो ज्यादा स्पष्ट र बोधगम्य पनि छ ।

अन्य केही भाष्यका साथमा यी दुई प्रमुख भाष्यहरुको आधारमा नै यूरोपियन लेखकहरुले ताओ ते चिंगको अनुवाद गर्न सकेका हुन् । उन्नाइसौं शताब्दीमा यूरोपबाट चीन पुगेका ईशाई मिशनरीहरु जस्तै, जूलियन, स्ट्रास, जेम्स लेगी र रिचार्ड विल्हमहरुका अनुवाद प्रामाणिक मानिन्छन् । जर्मन विद्वान रिचार्ड विल्हम (सन् १८७३–१९३०) ले चीनमा २० वर्ष ब्यतित गरे र अन्य कैयन चिनियाँ ग्रंथहरुको पनि अनुवाद गरे । ताओ ते चिंग र आई चिंगको अनुवाद उनका श्रेष्ठ कामहरु हुन् ।

अन्त्यमा
लाओत्सु के भन्न चाहन्थे त ?

उदाहरणस्वरुप ताओ ते चिंगकै अध्याय ५० लाई लिउँ । जसको भाव के हो भने, ताओका अनुसार ज्यूँने ब्यक्ति चाहे जो सुकै हतियारधारीहरुका बीचबाट गुज्रियोस् ऊ अस्त्रशस्त्रबाट अप्रभावित रहनेछ । घना जंगलबाट गुज्रिए पनि हिंश्रक जनावरहरुबाट ऊ आहत हुने छैन । यसमा लाओत्सुको कथन स्पष्ट नभएको टिप्पणी जेम्स लेगीले गरेका छन् । उनको आशय के छ भने, यस्तो लाग्छ मानौं ताओवादीहरु कहिल्यै खतरामा पर्दैनन् भनेर लाओत्सु काव्यात्मक कल्पना गरिरहेका छन् । लाग्छ, लेगी महोदयले संतवाणीको मर्म बुझ्नै सकेनन् । वस्तुतः मृत्युको भय त्यसलाई हुन्छ जसलाई शरिरसँग अत्याधिक राग वा आशक्ति छ । संतको त अहंकार वा म भाव उहिल्यै मरिसकेको हुन्छ । उनीहरु रागद्वेषमुक्त र अनाशक्त हुन्छन् । त्यस्ता सिद्धपुरुषलाई मृत्युको भय कहाँ ? उनीहरु त निर्भय आत्मस्थितिको साम्राज्यमा विचरण गरिरहेका हुन्छन् । हतियारधारी र हिंश्रक जनावरहरुका बीचबाट सकुशल गुज्रिनु – यी सब लाक्षणिक कथन हुन् । तर लाग्छ, लेगी महोदय यसैमा उल्झिए ।

उता, रिचर्ड विल्हमका टिप्पणीहरु ज्यादा परिपक्व लाग्छन् । तर यिनको पनि एक सिमा छ । कुरा केवल संतवाणीको होइन, त्यसभित्र लुकेको मूल्यवान र आलंकारिक खजानाको हो । जसलाई आत्मभाव जागृत भएकाले मात्रै ग्रहण गर्न सक्छन् । संतवाणीलाई कुनै अर्को संतले मात्रै बुझ्न सक्छ । केवल बौद्धिक आयामले उनीहरुलाई बुझ्न खोज्नु अति कठिन काम हो ।

युरोपियन वा अन्य पश्चिमाहरु पूर्विय चिन्तकका आत्मजागृत भावहरुलाई त्यति सजिलै बुझ्न सक्दैनन् । कारण, उनीहरु केवल विचारको दायराबाट वस्तु र जगत र स्वयम्लाई हेर्ने आदतका शिकार भएका हुन्छन् । जुन दिन उनीहरु विचारपारीको शून्यतालाई बोध गर्न सक्षम हुने छन् त्योे बेला मात्रै उनीहरु लाअ‍ेत्से जस्ता ज्ञानी पुरुषका वाणीहरुलाई पूर्णरुपमा बुझ्न र विश्लेषण गर्न तयार हुनेछन् ।

आजको विनाशकालिन र पदार्थको पराकाष्ठा भोगिरहेको युगमा लाओत्सु जस्ता संतका ज्ञानहरुलाई सर्वसुलभ बनाउनु अति जरुरी छ । स्कूल तथा कलेजहरुमा अनिवार्य रुपमा ताओ ते चिंग लगायत अन्य प्राचीन र प्रामाणिक ग्रन्थहरुको अध्यापन हुनु पनि टड्कारो भइसकेको छ । आजका अनेक बिकृत्ति र बिसंगतिहरुबाट भावी सन्ततीलाई जोेगाउने यो नै एउटा उत्तम पनि उपाय हो ।

Facebook Comments