परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेवि संघदेखि नेकपासम्म

फुटानी

नेविसंघको संयोजक बन्नु भएकोमा हजुरबालाई बधाइ दिने नाति पुस्तासंग भिरघरे कम्ता रिसाएन । नाति पुस्ताले विद्यार्थी नेतालाई हजुरबा भन्नुहुदैन भन्ने तर्क भिरघरेको थियो । भन्दैथ्यो– हाम्रो बोजु भन्दा कान्छै छन् भनेर हजुरबा, अजा, जे भने पनि संयोजक ढुङ्गानाजीलाई बधाई । तपाईंको कार्यकाल १५/२० वर्ष लम्बियोस् शुभकामना ।

नेतृत्व गर्ने व्यक्तिका लागि २०÷३० वर्ष भनेको क्यै होइन । हाम्रा नेवि संघका भाइहरु कुरै बुझ्दैनन् । माओवादीका प्रचण्ड २५ वर्षसम्म पार्टी अध्यक्ष भर बस्नु भयो । कोही चुइँक्क बोल्न पनि सकेन । हाम्रा सबै संगठनलाई त्यस्तै बनाउनु पर्छ । शेरबहादुर दाइ पनि अब २०/३० वर्ष पार्टी सभापति बनी रहनु पर्छ । विद्यार्थी भाइहर्ले नेतृत्व गर्ने हो भने नेविसंघ पनि रहँदैन । विद्यार्थी संगठन जस्तो हुन्छ नेविसंघ । विद्यार्थी संगठन जस्तो होइन प्रौड संगठन जस्तो बनाउनु पर्छ ।

ए भिरघरे ! उता नेकपा केन्द्रीय कमिटीको बैठक बसि रहेको छ रे । तँ त बुझ्ने मान्छे त्यताको सुनान ! यता नेवि संघको के सुनाउँछस् ।

‘हौ काका के सुनाउनु त्यताको । हाम्रो सानेपामा जस्तो हानाहान गरेको चैं देखिदैन, भित्रभित्र भने मारामार छ । त्यो एमाले र माओवादी मिलेको देखाउँदै छन् । तर, अर्कोतिर उधाङ्गो हुदै छ । ओलीका अगाडि उभिएर कोही बोल्न सक्तैनन् । अनि दैनिक पत्रिकाको सम्पादकलाई बोलाएर ओलीको विरुद्धमा लेख्नका लागि दान दक्षिणा गर्छन् । उनीहरुले प्रतिपक्ष पाएनन् अरे अनि आफैं भित्र प्रतिपक्ष खडा गरेका छन् ।’

‘ए भिरघरे आफंै भित्र कता प्रतिपक्ष हुन्छ? नाङ्लो नठटान भतिज !’

‘आब्बुई काका ! मैले कता नाङ्लो ठटाउनु ! चितवन तिरका ठूला आफैं स्याल भै सके । उता डडेलधुरातिका पनि उस्तै बने । अब स्यालहरुलाई नाङ्लो होइन, ढ्याङग्रो ठटाउदै काम पुग्छ । हेर्दा पो देखिदैन, कम खर्च भएको छ’ त्यतातिरको प्रत्यके दिन मुख्य डेली पत्रिकामा ओलीका विरुद्ध दुई जनालाई लेख्न लगाउनु पर्छ मेन न्यूज प्रत्येक दिन दुईटै पत्रिकामा लेख्न लगाउनु पर्छ । उनार्को सप्पै खर्च नेकपाकै मुख्य नेताले वन्दोवस्त गरिदिनु पर्छ । अनि ती पत्रिकालाई आफ्नो समर्थन र ओलीका विरुद्ध लेखे वापत ठूलो रकम बुझाउनु पर्छ । नेकपाका केही नेतालाई प्रतिपक्ष बन्न गाह्रो छ । सानो खर्च छैन !’

अहिले केन्द्रीय समितिको बैठक बसी रहेको छ । पाँच सयजना जतिको छ क्यारे केन्द्रीय समिति । केन्द्रीय समितिका सबैले बोल्दा निकै समय लाग्ने भएर होला, नेकपाको अधिवेश पनि लास्टै पर हुने भएछ । पूर्व माओवादीका सप्पै कार्यकर्ता केन्द्रीय नेता बन्न योग्य छन् । उनीहरु कुख्रा चोर, ताला तोड, सम्पत्ति जोड भन्ने परिक्षा पास गरेर आएका हुन् भन्छन । धेरै जसोको गाडी छ, काठमाडौमा घर छ, ठेक्कापट्टा कसलाई दिने नदिने उनार्कै चल्छ । म के भनौं काका हाम्रो जिल्लामा हेर्नुहोस् न कस्ता सिपालु छन् पूर्व माओवादीका कार्जेकर्ता, नबुझे पनि ठूलो स्वरले बोल्छन्, हप्काउँछन्, दच्काउँछन् र बटुल्छन् ।

‘हौ भिरघरे ! छोड्दे यस्ता कुरा । नीतिगत निर्णय केही भयो कि ? लु त्यो सुनान ! लु त्यो चाहिँ थाहा भएन है काका’, नीति त प्रचण्ड पथमै लपक्कै टाँसिन लागेको बुझ्छु । ‘गत’ भनेको चाहिँ वि‘गत’ भनेको होला । दुईवटै मिलाउँदा नीतिगत भइ गो । मैले बुझेको यै हो काका !’

भिरघरे गएपछि यसो सोचें । कठै उबेलाको एमाले भन्ने दह्रो संगठन भएको पार्टी थियो । अहिले चिलले बेस्मरी भुत्ल्याएको लोकल कुख्रा जस्तो भएको छ । ‘लेभी’ बुझाउनु परेको छैन, सदस्यता ‘रिनु’ गर्नु परेको छैन । ‘दर्ता न चलानी, ठोक्नु छ सालमी’ यस्तै पो भा’को छ ।

ज्योतिषीले त त्यसै ता’का भन्थे ‘जब शनी र केतु जोडिन्छ तब एउटा संरचना ध्वास्त हुन्छ ’ भनेर । अहिले यसो गमेर ल्याउँदा र पत्रपत्रिका पढ्दा लाग्छ एकता भएकै छैन । अनि कुनै पनि अवस्थामा हुने देखिदैन । मेरै टोलको कुरा गरौं कर्मठेको छेरालाई मार्ने कुमेलाई कस्तो मान्नु हँ नेता ? जसलाई जनताले मान्दैन उचाहिँ नेकपाको नेता अरे ! हैन कस्तो नबुझेको ! हाम्रो चितवनमा त्यसै हारेको हो ! त्यहाँ कहाँ सप्पै देवी ज्ञावली छन् र ! जे भन्यो त्यही लपक्क मान्ने । पूर्व शत्रुसँग बदला लिन प्रतिज्ञा गरेर बसेको पनि छन् प्रसस्तै । बुझे हुन्छ, त्यहाँ चुनापमा नेकपाका जम्मैले त खै के हो के हो ।

आsss कसैले हारोस् कि जितोस् हाम्लाई लिनुन दिनु । मलाई त अर्को पिर छ, काँग्रेस छैन, नेकपा सकियो, अर्को पटक भोट कसलाई दिने होला ! जसलाई दिए पनि दिउँला ।

अहिले चाहिँ सप्पैलाई लाल सलाम !

Facebook Comments