जिन्दगी !
कविता
जिन्दगी!
मैले तँलाई
माया गर्न लागेको छु
तँ !
पतझड मौसमको
खङ्ग्रङै परेको
रूख जस्तै भए पनि
डढेलो लागेको वनमा
उठेको धुँवाको
मुस्लो जस्तै भए पनि
आर्यघाटको चितामा
सुताईराखेको
लास जस्तै भए पनि
जिन्दगी !
मैले तँलाई
माया गर्न लागेकोछु
तँ !
निर्मम छस्
तँ !
शुष्क छस्
तँ !
कुरुप छस्
विधवाको श्रृङ्गारविनाको
फुङ्ग उडेको
अनुहार जस्तै छस्
तैपनि जिन्दगी !
मैले तँलाई
माया गर्न लागेकोको छु
विगतको कुरा अर्कै थियो
तँलाई जति जति
पर सार्न चाहें
तँ वरवर सरिस्
जति तेरो पिण्ड
छुटाउन खोजें
उति उति टाँसिएर बसिस्
म हारेँ
तैले जितिस्
त्यसैले त तँ
मेरो साथमा अझै छस्
अहिले
तेरै साथका कारणले त
हरेक बिहानीको
स्निग्ध र पवित्र उषाको
दर्शन गर्न पाइरहेछु
माता प्रकृतिको वात्सल्यको
अनुभव गर्न पाइरहेछु
नयाँ परिवर्तन र
खोजको आशामा
हरेक विहानी
कुर्ने अवसर पाइरहेकोछु
त्यसैले त जिन्दगी !
मैले तँलाई
माया गर्न लागेकोछु ।