परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लुम्बिनी न्युज फेस्टिबल २०७६ को १६ वुँदे घोषणपत्र

काठमाडौं । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूल आधार’ भन्ने नाराका साथ लुम्बिनी न्युज फेस्टिबल २०७६ यही मंसिर १ गतेदेखि ३ गतेसम्म लुम्बिनीमा सम्पन्न भयो । लुम्बिनी प्रेस क्लबले आयोजना गरेको यो फेस्टिबलमा देशभरका सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो । सम्मेलनमा तीनसय जनाभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

सो फेस्टिबलको उद्देश्य सूचनाको हकलाई प्रेसजगत्मा सीमित नराखी जनताका सबै मौलिक अधिकारका प्राप्ति तथा बहालीका लागि जनअधिकारको रूपमा आत्मसात गर्दै सूचनालाई पहुँचसँग, पहुँचलाई विकाससँग, विकासलाई समृद्धिसँग गाँस्ने मूलआधार बनाउनु रहेको छ । तीन दिनसम्म वुद्धको जन्मस्थल लुम्बिनीमा चलेको सो फेस्टिबल १६ वुँदे घोषणा पत्र जारी गरी समापन भएको भएको छ । घोषणापत्रका वुँदाहरु निम्न अनुसार रहेका छन् :

  • नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताप्रति सदैव राष्ट्रिय सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक वर्ग, बुद्धिजीवी, पत्रकार, गैरसरकारी संस्था एवं सर्वसाधारण नेपालीलाई महोत्सव आह्वान गर्दछ ।
  • अहिलेको विश्वमा राजनीति, अर्थतन्त्र, शिक्षा आदि सबै कुरालाई सूचना र ज्ञानले डो¥याउँछ । राजनीतिक शक्ति प्राप्त गर्न होस् कि धनवान् बन्न होस् वा विद्वान् बन्न होस् , सबैका लागि सूचना र ज्ञान चाहिन्छ । यसैले संचार शक्ति प्रमुख शक्तिको रूपमा विकसित हुँदैछ । मानिसका अरू अधिकारका लागि पनि संचारको अधिकार अपरिहार्य बन्दैछ । सूचना र संचारको अधिकार अरू अधिकारभन्दा महत्वपूर्ण बनेको छ । यसैले एक्काइसौँ शताब्दीको लोकतन्त्रमा आमजनतालाई सूचना सम्पन्न र ज्ञानवान् बनाउनु राज्यको प्रमुख कर्तव्य हो । नेपालजस्तो भौगोलिक विषमताले युक्त तथा कृषिक्रान्ति र औद्योगिक क्रान्तिको अवसरबाट बञ्चित मानव संसाधनले धनी देशको विकासका लागि सूचना तथा सञ्चार प्रविधिले अपूर्व अवसर प्रदान गरेको छ । सूचना क्रान्तिको यो अवसरलाई उपयोग गर्दै समृद्ध नेपालको निर्माण गर्नु अति आवश्यक छ । तसर्थ यो महोत्सव समृद्धिका लागि सञ्चार क्षेत्रको पुनःसंरचना गरी सूचना र ज्ञानयुक्त समाजको सिर्जना गरी नेपालीको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास प्राप्ति गर्ने, विश्वमा नेपालको छवि उँचो बनाउने र गणतन्त्रलाई सुदृढ बनाउन सञ्चार क्षेत्रको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रण गर्दछ ।
  • राज्यले लोककल्याणकारी मिडिया संचालन गर्नुपर्छ, प्रेस अर्थात् शक्तिको अभ्यासको रुपमा होइन । लोककल्याणकारी मिडियालाई आफैँ कमाएर बाँच भनेर छाड्नु हुँदैन । यही परिप्रेक्ष्यमा सरकारले गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस, दूरसंचार, हुलाक आदि चलाउन हुन्छ कि हुँदैन भन्ने विषयलाई हेर्नुपर्छ तथा सरकार सञ्चालित संचारमाध्यमहरूको पुनःसंरचना गरी ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने अर्को प्रभावकारी उपाय साना, स्थानीय, सामुदायिक तथा जनताद्वारा संचालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई यो महोत्सव हार्दिक अनुरोध गर्दछ ।
  • नेपाली मिडियामा व्याप्त केन्द्र र मोफसल भन्ने अवधारणा समाप्त पार्दै आफू कार्यरत संघ हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्दै आआफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रुपले पु¥याउने प्रतिबद्धता यो महोत्सव व्यक्त गर्दछ ।
  • यो महोत्सव पत्रकार आचारसंहिता दृढतापुर्वक पालना गर्दै व्यावसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने र राजनीतिक दलसंगको आबद्धता र सरकार निकट बन्ने सोचाइबाट पूर्ण रुपमा मुक्त हुने प्रण गर्दछ ।
  • पत्रकारिताको पेशाप्रति पूर्ण निष्ठावान भई आफूलाई सबै प्रकारका प्रविधि एवं सीपबाट सुसज्जित हुँदै न्यु मिडिया, ट्रेडिशनल मिडियम आदिको व्यापक प्रयोग गरी नेपाली पत्रकारितालाई स्मार्ट जर्नालिज्म उन्मुख गराउन यो महोत्सव अठोट गर्दछ ।
  • यो महोत्सव राष्ट्रको समृद्धिका साथसाथै राष्ट्रियता, जनजीविका, स्वाधीनता र जनताको सक्रियतामा सञ्चालित न्यायपूर्ण आन्दोलनमा सहभागिता जनाई सामाजिक एवम् राजनीतिक आन्दोलनमा जनता केन्द्रित मिडियाको रूपमा सक्रियतापूर्वक सहभागी हुने अठोट गर्दछ ।
  • भूमण्डलीय तथा नाफामुखी मिडियाको दुष्प्रभावबाट जनतालाई जोगाउन र जनताको सञ्चार अधिकार सुरक्षित गर्न साना तथा सामुदायिक मिडियाको प्रवद्र्धन प्रोत्साहन गर्न यो महोत्सव आह्वान गर्दछ ।
  • सानो प्रयास र कम पूँजीबाट पनि स्याटेलाइटमार्फत विश्वव्यापी प्रसारण संभव भएकाले नेपालले आफ्नो पहिचान, पर्यटन तथा जलस्रोत जस्ता क्षेत्रको प्रचार प्रसार गर्न र विदेशी मिडियाको प्रभाव घटाउन पनि आफ्नै ग्लोबल सञ्चारसंस्था प्रसारणका लागि यो महोत्सव आह्वान गर्दछ ।
  • नयाँ प्रविधिले ल्याएको नयाँ परिवेश, मिडिया विविधिकरणका आधारमा मिडियासम्बन्धी कानुनहरूको परिमार्जन गरी नयाँ प्रविधिलाई ध्यानमा राखी डिजिटल र इलेक्ट्रोनिक मिडियासम्बन्धी प्रतिकूल कानुनहरूमा तत्काल परिमार्जन गरी समयसापेक्ष बनाउन यो महोत्सव माग गर्दछ ।
  • छापामाध्यम, एफएम रेडियो र टेलिभिजन जस्ता सञ्चारमाध्यम स्थापनापूर्व सम्भाव्यता अध्ययन गरी आवश्यक महसुस भएको खण्डमा मात्र स्थापना गर्ने नीति अवलम्बन गर्न सम्बन्धित निकायहरुसमक्ष यो महोत्सव अपिल गर्दछ ।
  • लुम्बिनीलाई बौद्ध दर्शन र विश्वशान्तिको केन्द्र बनाउने अवधारणालाई आत्मसात गर्दै ४२ बर्ष अघि निर्मित लुम्बिनी गुरुयोजना यथासक्य छिटो कार्यान्वयन गर्न संघीय सरकार र लुम्बिनी विकास कोषलाई यो महोत्सव आग्रह गर्दछ ।
  • शाक्यमुनि गौतम बुद्ध तथा कनकमुनि एवं क्रकुच्छन्द बुद्ध जन्मसँग सम्बन्धित सबै स्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह आदि स्थलको संरक्षण, प्रवर्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकार पक्षसंग आग्रह गर्दछ । साथै यस विषयलाई निरन्तर रुपमा मिडिया मार्फत उजागर गर्न प्रतिबद्धता यो महोत्सव व्यक्त गर्दछ ।
  • नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई प्रवर्धन गर्न आ–आफ्नो मिडियाबाट सहयोग गर्ने प्रतिबद्धता यो महोत्सव व्यक्त गर्दछ ।
  • नेपालमा नयाँ शासकीय अभ्यासका रुपमा रहेको संघीयतालाई सफल पार्नका लागि पत्रकारिताका माध्यमबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गराउन, देखिएका कमिकमजोरीलाई निरन्तर औँल्याउन र आवश्यक सुझाव दिन यो महोत्सव पत्रकारहरूलाई आग्रह गर्दछ ।
  • सरकारी सञ्चारमाध्यम एवं निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसावले समावेशी बनाउन महोत्सव सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।

 

Facebook Comments