परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मन्त्रीहरु चेनफेन

फुटानी

हाम्रो पत्रकारहर्ले लेख्न चै लेख्छ के । अस्तिसम्म मन्त्रीहरु चेनफेन हुने भनेर लेख्यो । लेख्दा लेख्दा थाकेर अहिले त थकाई मार्न बसे जस्तो छ । लेख्नु पनि एउटाले मात्रै हो र ऐरे गैरे नत्थु खैले, ठूला साना गाँडे च्याँने सबैले राँटो नछोडी लेखे । एउटा पत्रकारले त प्रधानमन्त्रीलाई नै ‘प्रधानमन्त्रीज्यू मन्त्रीहरु चेनफेन हुँदैछन् नि । थाहा पाउनु भो ? भनेर सोधे छन् । ‘लु यो चाँहि थाहा छैन, पत्रकारहर्लाई नै थाहा होला’ भनेर प्रधानमन्त्रीले जवाफ दिएपछि रातोपिरो हुँदै अमिलो मन लिएर ती पत्रकार हिडेछन् । अर्को दिन ती पत्रकारको वाइलाइन समाचार आए छ । ‘मन्त्री मण्डल हेरफेर हुने’ । अनि पेट बोलीमा हट्ने मन्त्रीको नाम र नियुक्त हुने मन्त्रीहर्को लिष्ट नै बनाएर ठोकेर लेखेछ केटाले ।

म पनि उसैको समाचार पढेर गाउँमा यही हप्ता मन्त्री ‘चेनफेन’ हुदै छ भनेर कुर्ले र हिडें । टपरटुइयाँ पत्रकारको विश्वास गर्दा गाउँमा लाजमर्दो बनाई दियो । त्यता त्यो पत्रकार लजायो लजाएन कुन्नि !

अस्ति फेरि पत्रकारहर्ले अर्को तहल्का मचायो । प्रधानमन्त्रीको स्वास्थ्य थोरै विग्रीएछ । उहाँ अस्पताल जानु भयो । दुई दिन डायलासिस गरेर बालुवाटार फर्कनु भएछ । हाम्रो पत्रकारर्ले आफ्नो सञ्चार माध्यममा उल्टो सुल्टो ठोकेर लेखे । हुन चाहिँ हाम्रो पत्रकार त्यस्ता डाक्टर साक्टर भन्दा त धेरै जान्ने छ । विश्वमै पत्ता नलागेको रोग र डाक्टरहर्ले सुन्दै नसुनेको उपचार विधि पनि खिपेर लेखेपछि कसको के लाग्छ । हो त्यही पत्रिका बोकेर हाम्रो लाक्पा पनि ग्राण्डी अस्पताल पुगेछ । डाक्टरलाई त्यो रोग र उपचार विधि बारे सोधेछ । विचरा लाक्पालाई त्यो डाक्टरले ‘त्यही खुस्केट पत्रकारलाई सोध’ भनेर पठाई दिएछ । खै ! रोग र उपचारका बारेमा डाक्टर जान्ने कि पत्रकार जान्ने भनेर बडो खुलदुली छ अरे काठमाण्डौंमा ।

तेस्रो कुरा पनि राम्रो पढ्न पाइयो । एकातिर बालुवाटारमा नेकपा सचिवालय बैठक र मन्त्रिपरिषद्को बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भयो भनेर लेख्छ भने अर्कातिर त्यही समयमा प्रधानमन्त्री ग्राण्डी अस्पतालमै रहेको समाचार लेखेर पत्रकारको धर्म निर्वाह गर्छ । विचरा पत्रकार आफैंले के लेख्दै छु भन्ने पनि थाहा पाउँदैन । बेहोश भएर लेख्छ । धन्न यस्ता पत्रकार छन् र त जनता सुसूचित हुन पाएका छन् ।

मंसिर महिनामा केही स्थानमा मध्यावधी चुनाव हुँदैछ । पार्टीहर्ले टिकट बाँड्न भ्याएकै छैन । यता पत्रकारलाई भने टिकट बँँड्न भ्याइ नभ्याई चटारो छ । पार्टीका नेताभन्दा पत्रकार धेरै जान्ने । क–कसलाई चाहिँने हो ती सबैलाई पत्रकारहर्ले टिकट दिई सके । हाम्रो च्यान डाडाको मानेको पनि पत्रकारले टिकट पाउनेमा नाम लेखी दिएछ । मलाई समेत एक बोलत वियर खुवायो । यता हिजो मात्र प्रदेश प्रमुखहरु पदमुक्त भए । यता हाम्रो पत्रकारहर्लाई प्रदेश प्रमुख क–कसलाई बनाउने भनेर चटारो भको छ । यस्तै छ हाम्रो पत्रकारिता ।

मलाई पत्रकार सरहर्को सारै मायाँ लागेर आम्छ । समाचार लेख्न कम गाह्रो छ ! पाठक पनि वाइयात तरिकाले सत्य तथ्य खोज्न थालेका छन् । यदि सत्य तथ्य खोज्ने हो भने त्यही भित्रै छ नि विचरो पत्रकारले सबै विषय पढेको छ, जानेको छ । उसले जन्म संस्कार पनि पढेको छ, मृतु संस्कार पनि पढेको छ । तर, कति खेर कुन पढ्नु पर्छ भन्ने विर्सियो र पो । न विर्सेको भा त केटाहर्ले पारा ल्याम्ने थियो नि ।

आज यति । अब पत्रकार मित्रहरुबाट यो ५÷७ दिन भित्रमा मध्यावधी चुनावको नतिजा, महराको सजाँय, मन्त्रीहरुले आफन्तको थर मिल्ने कसैलाई नियुक्ती दियो भने ठयाक्कै सालो भनेर लेखेको पढ्न पाऊँ ।
जै पत्रकारिता ।

Facebook Comments