परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

टोलटोलमा प्रधानमन्त्री रोजगार कार्यक्रमका जनशक्ति

झापा । नेपालमा पहिलोपल्ट बेरोजगारहरुलाई ‘कामका लागि पारिश्रमिक’ दिने गरी शुरु गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ झापामा प्रभावकारी देखिएको छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएका युवाहरु औजार बोकेर निर्माणका काममा खटिँदा गाउँगाउँमा विकासको जागरण फैलिएको छ ।

झापामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारप्राप्त जनशक्तिलाई विद्यालयको रङरोगन, धार्मिक पर्यटकीयस्थलको सरसफाई लगायतका काममा परिचालन गरिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये आठवटा नगरपालिका र छवटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस वर्ष दुई हजार ७५३ जनाले रोजगारी प्राप्त गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले भने तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

झापा सदरमुकाममा रहेको भद्रपुर नगरपालिकामा १४९ रोजगार प्राप्त व्यक्तिहरु सार्वजनिक स्थलहरुको सरसफाई गर्न व्यस्त रहेका छन् । नगरकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ भन्नुहुन्छ– ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको मुख्य लक्ष्य नै जनताका सबै पक्षको उत्तरदायित्व राज्यले लिनुपर्छ भन्ने हो । यसमा पनि महिला सहभागिता उल्लेख्य भएकोले राष्ट्र बनाउने कार्यमा महिला पनि पुरुष सरह खट्न सक्छन् भन्ने सन्देश यो कार्यक्रमले दिएको छ ।’

झापाका आठवटा नगरपालिकामध्ये सबैभन्दा सानो कनकाईले सबैभन्दा धेरै ९४६ लाई रोजगारी प्रदान गरेको छ । रोजगारीका लागि आवश्यक मापदण्ड पूरा गरी निवेदन दिन आएका कसैलाई पनि रोजगारी पाउने हकबाट वञ्चित नगरिएको नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । कनकाई नगरपालिकाले कोटीहोम, धनुषकोटीधाम लगायतका धार्मिक पर्यटकीयस्थलमा सरसफाई, टहरा निर्माण, वृक्षरोपण लगायतका काममा उनीहरुलाई परिचालन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

झापाका सातवटा गाउँपालिकामध्ये बुद्धशान्तिले सबैभन्दा बढी १४० लाई रोजगारी प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सरकारले तोकेको दैनिक ज्याला ५१७ रुपैयाँमा गाउँपालिकाका तर्फबाट ५० रुपैयाँ थपेर ज्याला प्रदान गरेको अध्यक्ष रमेश भुजेलले बताउनुभयो ।

हल्दिबारी गाउँपालिकाले ६२ जनालाई रोजगारी प्रदान गरेर विद्यालयको रङरोगन कार्यमा खटाएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले स्थानीय १७ वटा सामुदायिक विद्यालयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रङरोगन कार्य धमाधम भइरहेको जानकारी दिनुभयो । रङरोगन सकेपछि उनीहरुलाई हुलाकी राजमार्गको दुवै किनारमा वृक्षारोपण गर्न लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएकालाई नदी कटान रोक्ने बाँध निर्माणमा खटाएको छ । गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनीहरुलाई गाउँपालिका कार्यालयको पर्खाल र रिङरोड लगायतका सार्थक निर्माण काममा लगाइएको बताउनुभयो । झापाका नगरपालिकाहरुमा, कनकाईमा ९४६, मेचीनगरमा २५२, अर्जुनधारामा २७०, भद्रपुरमा १४९, विर्तामोडमा १८९, शिवसताक्षीमा १४४, गौरादहमा १२५ र दमक नगरपालिकामा १७६ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका छन् । गाउँपालिकामा बुद्धशान्तिमा १४०, बाह्रदशीमा ७२, कमलमा ८३, कचनकवलमा ८३, हल्दिबारीमा ६२ र झापामा ६२ जनाले रोजगारी पाएका छन् ।

राज्यको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले रोजगारी पाउनेमा आधाभन्दा बढी महिला भएको बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर मात्र कार्यक्रम लागू भएता पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाउँदा बेरोजगारहरु उत्साहित भएको मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्राती बताउँनुहन्छ । पहेँलो हेल्मेट र ज्याकेट लगाएर तातोघाम र झरी नभनी काममा खटिएका पुरुष तथा महिला कामदारलाई सर्वसाधारणले समेत गाउँगाउँमा स्वागत र सम्मान गर्न थालेका छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरेको छ भने कतै रोजगारी नपाएकाहरुले वडा कार्यालयमार्फत आ–आफ्नो नगर तथा गाउँपालिकामा बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् ।

बेरोजगारहरुले निवेदन दर्ता गर्दा नै काम रोज्न पाउने व्यवस्था मिलाइएको कनकाई नगरपालिकाका रोजगार संयोजक सरोज मैनालीले बताउनुभयो । निरक्षरदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरुसमेत प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनका लागि निवेदन दिन आउनुभएको उहाँले बताउनुभयो । रोजगार पाउनेहरुले दैनिक ५१७ रुपैयाँ ज्याला पाउने सरकारी व्यवस्था रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि गाउँ तथा नगरका भित्री कच्ची सडक र पर्यटकीय तथा सार्वजनिक स्थलमा रहेको झाडी–फोहर सरसफाई भएकाले चिटिक्क देखिन थालेका छन् ।

Facebook Comments