नर वानर!
ऊ … माथि डाँडातिर लाली गुराँस फूलेका देखिन्छन् । तल कछारतिर पनि आँप र आरुको रूखमा पनि बैँस आए जस्तो छ । यी रूखहरूमा पनि चिउला पलाउन थाले । बैंसालु बनेको छ वातावरण । रसिलो, भरिलो, पोटिलो लाग्छ परिवेश । तर, के गर्नु आफ्नो भने मनमा शान्ति नाईं । चैते हावा हुण्डरी मडारिएका छन् मेरा मनमा । पीडा बुझ्ने कोही नाई । मकन बाँदर कुरुवा राखेर अरुकन लाखापाखा लागि गएका छन् । बाँदर कुर्न कम झन्झट नाई । कता`ट आएका हुनन् तस्करका लस्कर ! कहाँ पैदा भएका हुनन् बिगारसिङका सण्ड ! बालीमा पसी बिगार गरेका छन्, नष्ट गरेका छन्, बिमाख गरेका छन् ।
राष्ट्र नै समाप्त पार्छन् कि जसरी चौतर्फी हमला गरेका छन् । रामका सेना थिए हुनन् कुनै जुगमा । अहिले पनि त्यसैको ब्याज खाइरहेका छन् । यी बानर हुन् कि माण्ठा ! कहाँ गए हुनन् डाक्टर मुकेश चालिसे ! उनीकन पनि चालिसे भन्नू मात्र साठीसेभन्दा कम नाई । तापनि उनीकन जानकारी छ – यी वानर कुन पापका उपज हुनन् ? त्यसै फस्टाएका त होइनन् होला ?
वानरमा पनि हनुमान नै धेरै । पत्रकारका अनुमानभन्दा वानरका हनुमान डेन्जर । यी तस्करलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले केही गर्न सक्तैनन् । बरु संखुवासभाले केही गर्छ । संखुवासभाको अरुण-३ निर्माणस्थलमा सुरुङ निर्माण गर्दा बम पड्काएछन् बाँदर भागाभाग । अहिले तिनै बाँदरहरू गाउँ शहरतिर पसेर विनाश गरिरहेको खबर आइरहेका छन् । यसलाई संखुवासभाको सफलता भन्नू कि असफलता ! त्यो तपाईं नै दूधका दूध पानीको पानी खुट्याउनुहोस् ।
डाक्टर मुकेश पनि परापूर्वकालमा संखुवासभाको ताम्कु, माङतेवातिर बाँदरको गोठालो बस्या सुन्या थेँ । आज भोलि ती डाक्टरलाई काठमाडौंका बाँदरले राष्ट्र कसरी बिमाख गर्दैछन् भनेर हेर्दै फुर्सद छैन रे ! तिम्रा डाक्टरी उतै छोडेर हाम्रा डोल्पामा आऊ मान्ठा भेडी गोठाँ बसौंला । भेडा बाँदर जस्तो लुटी खाने हुँदैनन्, सोझा हुन्छन् ।
हुन त भनाइ छ नि – माघे मौरी, फागुने गाई, चैते बन्दरु के फल खाई । त्यसैले होला यता उखुम मच्चाएका छन् । आँखा छलेका छन्, खाएका छन् । सोझा साझालाई पत्तै नाईं । होइन कसरी जानेका हुनन् आँखामा छारो हाल्न? हुर्मतै लिए यिनार्ले । न तह लाउन सकियो न त यथास्थानमा राख्न सकियो !
ऊ… ! लौ फेरि हल्लाउन थाले पोथ्रा र रूख । हेर डेडू जति मोटाघाटा, ऋष्टपुष्ट, यता वानर जति कुपोषणले भेटे जस्ता । ठ्याक्कै नेपाली समाज र राजनीतिसँग मिल्दो छ यिनार्को आनिबानी, रहनसहन, उफ्राइ, कुदाइ, दौडधूप, लुछाचुँडी, मारमुङ्ग्री, खोसाखोस । हैट… यस्तो भाँडी पनि हुन्छ ! यी अराष्ट्रिय तत्त्वबाट मुक्ति पाउन नसकिने भो । मार्न नपाइने, पाल्न नसकिने, एउटा परिश्रम गर्ने, अर्को चबाउने । हाँसो र ठट्टा होइन मित्र हो ! बेलैमा सचेत हुन जरुरी छ ।
हो नि, प्रकृतिले भरिपूर्ण छ नेपाल । तर के गर्नू, त्यस्तै भरिपूर्ण छन् यी परजीवीहरू । यिनार्ले नगर्नुपर्ने जति सबै गर्छन्, गर्नुपर्ने केही गर्दैनन् । यस्तोमा लाली गुराँस फूले पनि आँप र आरुको फूल मगमगाए पनि कुनै तुक नाईं ।