परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कर्नालीपारिका डाम्नाहरू

म अहिले याँ … उस्मा… छु । कस्तो नबुझेको ? ऊफ …! यो के खप्तडको लेकमा । भोको, तिर्खो र थक्तो (थकित ) एउटा अनकन्टार यात्राको यात्री । नेपाली काङ्ग्रेस जस्तै निरुद्देश्य भड्किरहेको छु, नेकपा जस्तै यता न उता अड्किरहेको छु । बोल्न कसैले रोक्तैन अनलाइन खबरहरूमा लेखिए जस्तै नभा`को जति सप्पै बोलेको छु ।

ऊ पर भुईं कुइरोको कुदाइभन्दा पर…साइपाल, फेदीमा फैलिएका नागी, बुकी फूल खाएर अरिमट्ठे बनेका डाम्ना । यता तल कछारतिर उच्च पहाडी भेगको फाट्टफुट्ट देखिने गाम घर । नौ महिना काम गर्दा तीन महिना खान गाह्रो पर्ने ग्रामीण जीवन । ऊफ् …! काठमाडौंतिरका माण्ठा यता पनि कहिलेकाहीं आम्छन्, विकासका ठूलाठूला योजना सुनाएर सरक्क पन्छिजान्छन् । बड्डा किन आम्छन् र जान्छन्, हामीलाई थाहा नाईं । धेरै काल विते, अहिले माण्ठा आएका नाईं । शयद् काठमाडौंका लगानी सम्मेलनले रोकिएका हुनन् । नेपालको प्रकृति, भूमि र हावापानी लगानीका लागि उपयुक्त भए पनि एक अर्कोसँग बाझिएका नियम, ऐन र कानून, बिचित्रसँग चन्दाको नाममा फस्टाएको लुटपाट आतङ्क, नेपाल बन्द, मजदूर हडताल, कर्मचारीको अतिरिक्त उपार्जनको व्यवस्था, केन्द्रदेखि टोलसम्मका नेता, कार्यकर्ता, गुण्डा, चुल्ठे, मुन्द्रे, छुचुन्द्रे पाल्नुपर्ने बाध्यताका कारणले लगानी गर्न परदेशी हच्कनु स्वाभाविक नै हो । अर्को प्रमुख कारण हाम्रो मानसिकता हो ।

कुनै योजना सुरु हुनुभन्दा अघिदेखि नै “अब कसरी यो योजनालाई निचोरेर आफ्नो भागमा पार्ने होला” भन्ने सोचको विकास गर्न थाल्छौं । जसले गर्दा लगानीकर्ता निराश बन्नपुग्छ र लगानीको सुरक्षा नहुने ठानेर टाप ठोक्छ । जे होस् यो खप्तडको पवित्र भूमिबाट समृध्द नेपाल र सुखी नेपालीको लागि नेपालमा लगानी गर्न म पनि आव्हान गर्दछु । बड्डा बोलिसकेका छन्, लगानी गर्न नडराए हुन्छ । आ…! होस् है ! कर्नाली पारिका डाम्नाहरू नै गरून् ठूला बात । हामी बाह्र बण्ड (ताल) अठ्ठार खण्डतिरका बैगेन, बैगेनी के बोल्नु ! रामारोशनतिरको कथाब्यथा आफ्नै छ । दुःख साथ टोका टोकी पालेर बसेका छन् ।

कर्नाली र सुदूर पश्चिमतिरका हामी काम पाए बाँच्न सक्छौ । सेती, भेरी, कर्नालीले नै हामीलाई पाल्नसक्छ । विश्वमै अति दुर्लभ जडिबुटी यही क्षेत्रमा पाइन्छ । माल पाएर मात्र हुँदैन, मुख्य कुरा त चाल पाउनुपर्छ । सरकारले चाल पाए हुने थियो । मौसम ठीक छैन । जलवायु परिवर्तनले गर्दा कुबेलामा कुमौसम आएको ठोकुवा गर्छन् मौसम सम्बन्धित धामीहरू । अब म कता लाग्ने ? बडो दोधारमा छु । खप्तडको लेकबाट हिँड्नैपर्छ ।

तर जाने कहाँ ? भुईं कुइरो जस्तै निरुद्देश्य भड्किने मन छैन, काम नगरी बसेर खान धन छैन । फुटानी लडाएर खाने म कुनै पार्टीको नेता अथवा कार्यकर्ता होइन, मासिक तलब भत्ता बाहेक छेलोखेलो अतिरिक्त आम्दानी गर्ने म कर्मचारी होइन । ऊफ…! कुनै आफन्त मालपोततिर खरदार – लेखन्दास भैदेको भे पनि त्यही मालपोत वरिपरि घुमेर ऐश्वर्य बटुल्ने थिएँ । काठमाडौं हाम्रा लागि टाढा भए, नेपालगन्जमा बस्ने ठाउँ नाईं ।

अब म झर्छु अछामको साँफेबगरतिर । यतातिर लागेपछि मेरो मन उदेकसँग बाँउडिन्छ । यत्रतत्र छाउपडी गोठहरू देखिन्छन् । मानव सभ्यतामाथिको क्रुर ठट्टा, “चलन” का नाममा राखिएको कुप्रथा । यी यही मान्छे हो यहाँ आफ्नीलाई महिनावरी हुँदा छाउघरमा राख्छ उहाँ काठमाडौं जाँदा … ! रामराम राम नकुरो गरौँ यसको । मान्छे समाज र समाजको मानसिकता बदल्छु भन्छ तर, कुसंस्कारको जालो नाघ्ने धृष्टता गर्नै सक्तैन । त्यसै कारण यो भेगतिर विचरण गर्दा मेरो मन बाउँडिन्छ । जे होस् अब म लागें ओरालो । जो उक्लन सक्तैन ऊ झर्छ । यो प्रकृतिको नियम हो । अब अर्को कुइनेटोमा भेट्ने आश्वासन दिँदै भावपूर्ण विदा माग्छु । जय नेपाल ।

Facebook Comments