शहरका सचेत अराजक दाइ
दाहाल यज्ञनिधि अर्थात् हाम्रो पुस्ताको सम्बोधनमा दाहाल दाइ । बाल्यकालमा उनको स्वर सुनेर एकपटक अनुहार हेर्न भेट्न खोजिएका व्यक्ति । किशोरावस्थामा उनले नचिने पनि नमस्कार गर्दा नमस्कार फर्काएर गौरव गराउने व्यक्ति । केही पछि थोरै कनिकुथी लेख्न थालेपछि चाहीँ नाम सम्झाउन निकै मेहनत गर्नुपरेका अग्रज । २०५८ साल पछि चाहीँ निकै बर्ष व्यक्तिगत र सामाजिक बिषयमा दैनिक सल्लाह गरिने दाइ । अनुभव र उठबसका हिसाबले चाहीँ हाम्रा एक खालका अभिभावक । अनि घट्टेकुलो दक्षिणको खेत सस्तोमा किनेर बस्ने आप्रवासीहरुको वस्तीको नाम अनामनगर राख्ने मूल मान्छे । उनीसँगका अनेकौँ सन्दर्भ र प्रसंग छन् जीवनमा ।
दाहाल यज्ञनिधि कुनै महान् वा चर्चित कविको नाम थिएन । तर साहित्यप्रति थोरै पनि आकर्षण भएको अहिले हुर्किइसकेको पुस्ता उनीप्रति नतमस्तक छ । साढे छ दशक उमेर भोगेर हालै संसार छाडेका यी पहिलो पुस्ताका सेलिब्रिटी उद्घोषक म र मेरो छिमलका धेरै साथी समूहका लागि प्रेरणा र चेतनाका श्रोत पनि थिए ।
दाहाल यज्ञनिधिले ०५७ सालमा मिर्गौला फेरेका थिए । त्यसले बारम्बार दुख दिए पनि उनी शरीरले साथ दिएसम्म साहित्य र सामाजिक अभियानमा लागिरहे । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुख र पीडाको खासै मतलव थिएन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम मानवीय गरिमाको रक्षाका लागि जोखिम मोलेर लडेका यी ‘जदौ बूढा’ मुलुकमा जनताको वास्तविक शासन व्यवस्था आए पनि एकले अर्कोलाई निषेध गर्ने परम्परा स्थापित भएकोमा चिन्तित थिए । उनको आदर्श महाकवि देवकोटा थिए । भन्थे,‘आजको चेतनाको बीउ महाकवि देवकोटाको के नेपाल सानो छ भन्ने निबन्धको सार हो । तर, हामी त्यसको ठीक उल्टोतिर गइरहेका छौं ।’
मान्छे जीवनमा सधैं आदर्शलाई पछ्याएर मात्र बाँच्न नसक्ने हुनसक्छ भन्ने यज्ञनिधिलाई राम्रैसँग थाहा थियो । त्यसको उदाहरणका रुपमा उनी महान् कवि भूपी शेरचनलाई लिन्थे । ‘ पञ्चायतको अन्त्यतिर राजाको पछि लागेर प्राज्ञ बनेको समयमा पनि भूपीले कवितामा धर्म छाडेनन् । त्यहीबेला सर्पको खोजीमाजस्तो कविता लेखे ।’ उनले यो सन्दर्भलाई जोड्दै भनेका थिए, ‘अहिलेका प्राज्ञ हुन् या राजनीतिज्ञ, आमबुद्धिजीवी हुन् या अधिकारवादी, आर्यवादी हुन् या जनजाति सबैमा आफ्नो चेतना र दायित्व अनुसार काम गर्ने संस्कार छैन ।’
हरेक ठाउँमा सन्दर्भ थोरै मात्र मिले पनि बाँकी आफँै मिलाएर दाहाल दाइ अराजकता प्रदर्शन गरिहाल्थे । तर, उनको अराजकता चेतना र सिर्जनाका पक्षमा हुन्थ्यो । करिब ७ बर्ष पहिले उनको निवास मण्डिखाटारमा मधुपर्क मासिकका लागि मसँग भएको एक वार्तामा उनले भनेका थिए, हो भाइ म अराजक नै हुँ । बीपी कोइरालाको साहित्य र राजनीतिक चेतना दुबैलाई मान्ने उनी साहित्यका नाममा दासता स्वीकार गर्न नहुने धारणा राख्थे । ‘अब चाहिँ दास र नागरिक छुट्टिनु पर्छ’, आफूसमेत बीपीको आदर्शमा लागेर अराजकतावादी भएको स्वीकार गर्दै उनले भने । उनको निश्कर्ष थियो, ‘सचेत र वास्तविक नागरिक बन्ने मान्छे र चेतना अराजक देखिन्छ ।’
२०१० सालमा खोटाङको खाल्लेमा जन्मिएका दाहालको शैक्षिक पृष्ठभूमि संस्कृत शिक्षा थियो । धरानबाट पूर्वमध्यमा सकेपछि उनी २०३० सालमा काठमाडौं छिरेका थिए । वाल्मीकी विद्यापीठबाट शास्त्री पास गरेपछि उनको साहित्यसँगको सामिप्य उजागर हुन थाल्यो, बिभिन्न कार्यक्रम उद्घोषण गरेर । संंस्कृत शिक्षा र वेदको शुद्ध पाठको परम्परा भएका कारण उनीभित्र उद्घोषणको आत्मविश्वास थियो । त्यो आत्मविश्वासको पछि लाग्दै यज्ञनिधिले रेडियो नेपालमा काम सुरु गरे साहित्यिक कार्यक्रम नामको दैनिक कार्यक्रमबाट । त्यही कार्यक्रमको निरन्तरताका रुपमा पछि साहित्य संसार नामको साताको तीनदिने कार्यक्रम चलाउन थालेका दाहालले विज्ञापन र अन्य नीतिका कारण समय छोटिँदै गएको सोही कार्यक्रममा काम गरिरहे । बिभिन्न समयमा हाम्रो संस्कृति,हाम्रो परम्परा कार्यक्रम पनि सञ्चालन गरे । यिनै दुई कार्यक्रमको उद्घोषण र प्रस्तुतिका कारण उनी संभवतः त्यो कालमा सबैभन्दा बढी सुनिने रेडियो कार्यक्रम प्रस्तोताका रुपमा स्थापित हुन पुगे । उनको कार्यक्रम गम्भीर श्रोताका लागि त उपयोगी र लोकप्रिय थियो नै, सामान्य र साधारण श्रोताका लागि पनि निकै चाखलाग्दो थियो । त्यसको मूल सम्बल भनेको दाहालको प्रस्ट उच्चारण र ठेट नेपाली भाषा नै थियो । अझ लोकजीवनका बिषय र साहित्यलाई जनमानससँग नजिक पार्ने उनको प्रयासले कार्यक्रमले नसोचेको उचाइ लिएको थियो । उनी पहिलो पुस्ताका त्यस्ता सेलिब्रिटी थिए, जसको साहित्यिक कार्यक्रम सुन्न किसानहरु खेतमा रेडियो बोकेर जाने गर्थे ।
त्यहीबेला उनले सुरु गरेको नमस्कारको ठाउँमा ‘जदौ’ भन्ने परम्पराले त्यो शव्द र आम उत्पीडित समुदायलाई सम्मान दिने क्रम सुरु ग¥यो । उनको त्यो अभियानकै कारण पनि आज त्यो शव्द हेय नभएर आत्मसम्मान र गरिमाको पर्याय बनेको छ । त्यो शव्द प्रयोगसँगै उनले गरेको व्याख्यामा आम सचेत वर्गले स्वीकृति दिएको छ । अहिले नयाँ पुस्ताका सर्जकहरुले ससाना बिषयमा गर्नुपरेको संघर्ष हेर्दा यज्ञनिधिले आफ्नो सिर्जनशील अराजकतामा अडिन सानो संघर्ष गरेका थिएनन् भन्ने प्रष्ट हुन्छ । नामभन्दा अघि थर वाचन गर्नु, जदौ शव्दले कार्यक्रम सुरु गर्नु, भारत र दरबारको बिरोधमा घुमाइफिराइ केही न केही बोलिरहनु उनका बिशेषता थिए, सरकारी रेडियोमार्फत् । उनको अराजकतालाई नबुझ्ने र सरकारी मानसिकताका व्यक्तिहरुले उनीमाथि बारम्बार अनेकौं ढंगले पञ्चायत र व्यवस्था ढलेपछि पनि आक्रमण गरिरहन्थे ।
यो पंक्तिकारले उनलाई भेट्दा ०६९ सालमा उनका एक भाइ महिनौंदेखि अस्पतालमा थिए । अर्का एक भाइ र उनको मिर्गौला फेरिए पनि थोरै बलिया थिए । ‘जेठी फुपु पनि यही रोगले जानुभो’, उनले अगाडि भने,‘म चाहिँ रोग थाहा भएको २०४४ सालदेखि नै त्यसलाई हेपेर बसेको थिएँ,०५७ मा चाहिँ नफेरी भएन ।’
त्योबेला खेतमा काम गर्दा पनि ‘जदौ बूढा’ को कार्यक्रम छुट्ला भनेर रेडियो बोकेर बाली भित्र्याउने श्रमजीवी नेपालीको समूह पनि ठूलै थियो । रेडियो नेपालबाट झर्रो आन्दोलनको प्रयोग गर्ने दाहालको आँट त्यो बेलाको चानेचुने हिम्मत थिएन । सुरुमा भोग्यप्रसाद शाहको समर्थन र पछि आफैं स्थापित भएपछिको बलले उनले ‘जदौ’ अभियान चलाइरहे, साहित्य संसारमा उनी टिकीरहे । रेडियो नेपालमा बि.सं. २०३४ र दरबार स्कुलमा २०३५ मा प्रवेश गरेका दाहाल राजधानीको साहित्य र वौद्धिक क्षेत्रमा मात्र होइन, यहाँको समाजमा पनि स्थापित भए । रेडियो नेपालमा उनी काम गर्दै, छोडाइँदै र छोड्दै गरेर करिब तीन दशक रहे । हालको राजधानीको ठूलो बस्ती अनामनगरले अहिलेको नाम पाउनुमा यिनकै लहडले काम गरेको थियो । नाम नभएको सिंह दरवार पूर्वको फाँटमा नेवार समुदायको खेत किन्दै घर बनाएर बसेका टोलवासीलाई साथ लिएर उनले यो सुन्दर नाम राखेका थिए ।
करिब पाँच दशकअघि दुर्गम ठाउँबाट राजधानी आएर दरबार र शासकीय षड्यन्त्र जानेको शिक्षित बर्गसँग प्रतिस्पर्धामा टिक्नु उनका लागि कम्ती चुनौतिपूर्ण थिएन । संघर्ष र उतारचढावका ती दिन सम्झँदै उनी भन्थे, ‘मलाई वेदका ऋचा र लोकगीतबाहेक खासै केही आउँदैनथ्यो । तर नेपालीमा बीएड् गरेपछि मलाई त्यसले रेडियोमा र स्कुलमा पनि टिकाउने काम ग¥यो ।’ सांस्कृतिक बिषयको कार्यक्रमको सम्बलका लागि चाहिँ उनी आफूलाई डोरबहादुर बिष्टका किताबले पनि निकै सघाएको बताउँथे । रेडियो नेपाल सुनेको पुस्ता र राजधानी वा काँठ क्षेत्रमा बसेर अघिल्लो दशकमा एफएम सुनेको पुस्ताले अझैसम्म उनले चलाएका साहित्यिक कार्यक्रम बिर्सिएका छैनन् । त्यस्तै बिभिन्न ठाउँमा उनले उद्घोषण गर्दाको समयमा त्यहाँका अतिथिलाई गरेका प्रश्न र उद्घोषणका कारण पनि दाहाल यज्ञनिधि निकै चर्चित छन्, अझै । अहिले पनि उनले बिभिन्न भलादमी भनिने मान्छेलाई बिभिन्न समयमा मञ्चबाट गरेका कतिपय टिप्पणी र प्रतिक्रिया एउटा समूहका लागि बहशको बिषय बन्ने गर्छ ।
यज्ञनिधिको जीवनको सन्दर्भमा नभनी नहुने केही दुखद पाटा पनि छन् । एउटा पाटो उनको परिवार नै मिर्गौला रोगी थियो । उनले तत्कालीन समयमा बुबाको मृत्यु सम्झँदै भनेका थिए, ‘मेरा बाले त्यो जमानामा धामीलाई उपचार गराउनकै लागि सात खायल खेत बेच्नु भएको थियो । उहाँ मिर्गौलाकै रोगले मर्नु भएको रहेछ भन्ने चाहिँ पछि मेरो रोग पत्ता लागेपछि मात्रै थाहा भयो ।’ दाहालका अनुसार, उनकी बहिनीको यही रोगले ०६८ सालतिर निधन भयो । यो पंक्तिकारले उनलाई भेट्दा ०६९ सालमा उनका एक भाइ महिनौंदेखि अस्पतालमा थिए । अर्का एक भाइ र उनको मिर्गौला फेरिए पनि थोरै बलिया थिए । ‘जेठी फुपु पनि यही रोगले जानुभो’, उनले अगाडि भने,‘म चाहिँ रोग थाहा भएको २०४४ सालदेखि नै त्यसलाई हेपेर बसेको थिएँ,०५७ मा चाहिँ नफेरी भएन ।’
त्यो बेला पहिला जनस्तरमा र पछि सरकारी स्तरको सहयोगले उनको उपचारमा निकै मद्दत पुग्यो । रोगसँग लड्दै र सम्झौता गर्दै बाँच्नुपर्ने टिप्पणी गर्दै उनी भन्ने गर्थेे,‘अहिलेको मेरो जीवन त फाँसी दिने म्याद सारेजस्तो मात्रै हो ।’ यहाँनेर आम मन्छेको ठीक विपरीत दाहाल दाइको स्वभाव म स्मरण गर्न पुग्छु । उनको उपचारका लागि भाषा,साहित्यमा काम गर्ने हरेक तह र तप्काका व्यक्ति लागेका थिए । यसमा राजावादी साहित्यकार नरेन्द्रराज प्रसाईं पनि थिए । सहयोग उठाउने काममा अरुलाई उक्साउने क्रमसँगै प्रसाईंले नइ प्रकाशनका नाममा सहयोग पनि गरेका थिए । तर, नेपालीमा भनिए जस्तो बिमारबाट निको भएपछि उनले नुन खाएको कुरामा इमान्दारी देखाएनन् । सत्य र लागेको कुरा बोल्ने क्रममा प्रसाईंलाई उनले पातकी, रण्डो आदि शव्दले गाली गर्दै लेख पो लेखे । यस्तै उनको सत्य बोल्ने र अराजकताको हदसम्म पुग्ने एउटा अर्को उदाहरण पनि छ । राजा ज्ञानेन्द्रले पहिलो चरणको कू गरेपछि लोकेन्द्रबहादुर चन्द प्धानमन्त्री बनाइए । एउटा कार्यक्रममा चन्द प्रमुख अतिथि रहेछन् र त्यहाँ दाहाल दाइलाई बोल्न आमन्त्रण गरिएको रहेछ । उनी चाहीँ साहित्यको सन्दर्भ छाडेर प्रतिगमनका मतियारलाई साहित्य क्षेत्र बिगार्न किन बोलाएको भनेर पूरै कार्यक्रम स्तब्ध हुनेगरी भाषण गरेर फर्किए । प्रमुख अतिथिको आसनबाट त्यस दिन चन्दले फेरि उस्तै शासकीय शैलीको व्यहोरा देखाउँदै भनेका थिए, यो मान्छे सायद अघिल्लोपल्ट म प्रधानमन्त्री हुँदा केही माग्न आएको थियो, मैले दिन नसकेकाले रिसाएको पो हो कि ?
राजा ज्ञानेन्द्रको शासन शुरु भएपछि दाहाल दाइमा बढेको अराजकता आन्दोलन र गणतन्त्र घोषणासम्म कायम रह्यो । त्ये अराजकताकै कारण उनलाई अघि सारेर म र मेरा साथीहरु विजयराज आचार्य, प्रकाश सिलवाललगायतले लोकतान्त्रिक साहित्यकार संघ गठन गरी बैरागी काइँलालगायतका हस्तीलाई हाम्रो मोर्चाको नेतृत्व जिम्मा लगाएका थियौं । काठमाडौंको अनामनगरस्थित उनको पुरानो घर दाहालको दैलोमा यस बिषयमा दर्जनौं पटक बहश र बैठक भएका थिए । आखिर, बैठक भनिए पनि र नभनिए पनि नागार्जुन साहित्यिक प्रतिष्ठान र विवेक सिर्जनशील प्रकाशनका कार्यालय उनकै घरमा थिए । शिक्षा पत्रकार समूह उनको छिमेकी घरमा थियो । सबैतिर सक्रिय व्यक्तिको संगम स्थल उनको घरमा रहेको चिया पसल र उनको आँगन थियो ।
तस्बिरः लेखक