परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सङ्गीन अपराध श्रृङ्खलाः कानून र समाज

केही दिनयता नेपाली समाजमा दुई वटा गम्भीर विषयले निकै चर्चा पाए । नेपालमा विगत केही समयदेखि बढेको बलात्कार जस्तो जघन्य अपराधले त्यसबेला अझै घृणित र निन्दित रूप लियो, जुन कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षकी बालिका निर्मला खत्रीलाई बलात्कारपछि अपराधीहरूले निर्मम हत्या गरिदिए । यो हत्याका अपराधीहरू अझै पत्ता लाग्न सकेका छैनन् । अपराधीलाई पक्राउ गरी कानूनतः सजाय दिन अभिभावक र स्थानीयले माग गरिरहेका छन् । राज्यलाई दबाब दिन बजार बन्द समेतका कार्य उनीहरूले गरेका छन् ।
बलात्कारका घटना सुन्दा पनि यति दुर्दान्त छन्, बृद्धादेखि कलिला बालिका समेत बलात्कारका सिकार भएका छन् । आज मात्रै मिडियामा छाएको खबरले भन्छ, एकै महिनामा २३ बलात्कारका घटना । यो तथ्याङ्कले के देखाउँछ भने बलात्कारजन्य अपराध गर्न अपराधीहरू अलिकति पनि डराएका छैनन् ।

अर्को सङ्गीन र दुर्दान्त अपराध अपहरण र हत्या बनेको छ । पेप्सीकोला काँडाघारीबाट ११ वर्षका बालक निशान खड्कालाई अपराधीहरूले पैसाको लोभमा अपहरण गरी हत्या गरेको घटनाले यो हप्ता आम नेपालीको हृदय थप छियाछिया पारेको छ । सिन्धुपाल्चोक ज्यामिरे घर भएका गणेश खड्का मलेसियामा श्रम गर्दै हुनुहुन्थ्यो भने उहाँकी श्रीमती चमेलीले काँडाघारीमा खाजा–खाना पसल चलाउँदै आउनुभएको थियो। ११ वर्षका बालक निशान उहाँहरूका सन्तान । तर आफ्नै पसलमा पाँच वर्षदेखि नियमित खाना र खाजा खाने गरेको ग्राहकले नै निशानलाई अपहरण गरी बालकको बदलामा ४० लाख रूपैँयाँ मागे । त्यसको लगत्तै बालकको हत्या गरी निर्माणाधीन एउटा घरको पर्खालसँगै पुरेको   पाइयो । यो विभत्स कुकृत्यमा संलग्न भनी आरोपित दुई व्यक्ति अजय तामाङ र गोपाल खड्का भक्तपुरको पाइलट बाबा जङ्गलमा प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीले बालकलाई बचाउन सक्नुपथ्र्यो, अपहरणकारीलाई जिउँदै पक्रन सक्नुपथ्र्यो जस्ता आवाज सामाजिक मिडियामा उठि नै रहेका छन् । एकथरी सामाजिक मिडियामा विभत्स अपराधीहरू प्रहरी मुठभेडमा मारिएको ठीकै भयो भन्ने आवाज पनि उठिरहेको छ । तर अर्काथरीले चाहिँ अनुसन्धानलाई तथ्यसम्म पुर्‍याउन आरोपीको हत्या गरिहाल्नुहुन्नथ्यो भनेका छन् भने भोलिका दिनमा प्रहरी मुठभेडका बहानामा जो पनि मारिन सक्ने डर बढेको भन्ने आवाज पनि समाजमा सुनिन थालेको छ।

वास्तवमा जबरजस्ती करणी (बलात्कार), अपहरण र हत्या जस्ता सङ्गीन एवं घृणित अपराधहरू सभ्य समाजका लागि मेटाउन नसकिने कलङ्क हुन् । यस्ता घटनाको श्रृङ्खलाले हाम्रो चेतना र सामाजिक व्यवस्थालाई पाषाण युगतिर फर्काएको अनुभूति हुन्छ । त्यसैले बलात्कार र अपहरण तथा हत्याका यी घटनाले नेपाली समाजमा निकै गहिरो चिन्ता थपेका छन् । बलात्कार र अपहरणका अपराधमा सजाय कम भएका कारण अपराधीमा डर पस्न नसकेकाले कडा सजाय दिनुपर्ने आवाज निकै पहिलेदेखि उठ्दै आएको छ । कतिपयले यस्ता अपराधीलाई मृत्युदण्ड दिनुपर्ने समेतका आवाज उठाउँदै आएका छन् । तर नेपाल मृत्युदण्ड विरूद्धको अन्तर्राष्ट्रिय अभिसन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्ड दिनेगरी कानून बनाउन नसक्ने तर्क कानूनविदहरूको कोणबाट आउने गरेको छ । सबैको एक मत चाहिँ के छ भने यस्ता अपराधका दोषीलाई हदैसम्मको कडा कारवाही हुनुपर्छ।

भदौ १ गते (२०७५) देखि मुलुकी ऐनलाई विस्थापन गर्दै लागू हुने मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा २१९ मा बलात्कार (जबरजस्ती करणी) का दोषीलाई निम्न अनुसारको सजाय व्यवस्था गरिएको छः

 

यसैगरी अपहरण गरी शरीर बन्धक बनाउने अपराधमा संलग्न हुनेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१३ ले सात वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख रूपैँयाँसम्म जरीवानाको व्यवस्था गरेको छ । ज्यान मार्ने वा अन्य अपराध गर्नेलाई सोही बमोजिमको सजाय थपिने व्यवस्था गरेको छ ।

तर यो मुलुकी अपराध संहिता लागू हुन भदौ लाग्नुपर्नेछ । त्यसयता भए गरेका अपराध प्रचलित मुलुकी ऐन र अन्य कानून अनुसार हुनेछन् । जसका कारण अहिलेसम्मका माथि चर्चा गरिएका अपराधमा दण्ड दिन पुरानो मुलुकी ऐन र अन्य कानूनको भर पर्नुपर्ने हुन्छ । जसको दण्ड र सजायको दायरा त्यति ठूलो छैन ।

आम जनमानस त यस्ता अपराधीलाई मुलुकी अपराध संहिता ऐन २०७४ ले गरेका दण्ड सजायका व्यवस्था पनि कम भए भन्ने मनस्थितिमा पुगेको छ । कुनै निन्दनीय, दुर्दान्त, सङ्गीन र घृणित अपराधका घटनाले आम जनमानस आक्रोशित बन्नु र यस्ता अभिव्यक्ति दिनुलाई क्षणिक मात्र भन्न मिल्दैन । समयक्रम र जनताको भावना अनुसार कडा कानून बनाउँदै जानुपर्छ । अनुसन्धान, तहकिकात र न्याय निरूपणमा भने निरपराध व्यक्ति नपरून् भन्ने संवेदनशीलता अपनाउनु अत्यन्त जरुरी हुन्छ ।

तर समाजमा यस्ता घटना नहुन् भन्नाका खातिर कानूनका अतिरिक्त सामाजिक सचेतना, शिक्षा र खबरदारी पनि त्यत्ति नै आवश्यक छ । कसैको अस्मिता लुटिनु, अङ्गभङ्ग हुनु र ज्यान जानु स्वयं व्यक्ति, परिवार, आफन्त र समकालीन समाजलाई कति पीडाको विषय हुन्छ भन्ने सबैले बुझ्न र बुझाउन सके पनि अपराधमा कमी आउन सक्छ । त्यसैले यस्ता सङ्गीन र पाशविक अपराध विरूद्ध कानूनी डण्डाका साथै सामाजिक अभियान, सचेतना र खबरदारी पनि उत्तिकै जरुरी छ ।

 

Facebook Comments