परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वर्तमान नेपाली राजनीतिको कालो बादलमाथि देखिएको चाँदीको घेरा

जीवनका खुड्किला- १४

सन् १९९७ ताका विद्यालय खाजा कार्यक्रम अन्तर्गत कार्यरत रहँदा, अध्ययन भ्रमणको सिलसिलामा डडेलधुराको दलित बस्तीका प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कक्षा कोठामा अडीन एक मुठी लिटोमा उनीहरुको आकर्षण र ध्यान देखेपछि आफु जन्मी हुर्कि बढेको परिवेश र वास्तविक समाज बीचको अन्तर बारे निधार खुम्च्याउन बाध्य बनेको थिएँ । झण्डै १५ दिनको तराई देखि पहाडसम्मका १० वटा जिल्लाको भ्रमणले प्राथमिक शिक्षा मार्फत पस्ने चेतना ‘अझ भन्नु पर्दा अघाएको तथा भोको पेटमा ग्रहण गर्न सक्ने ज्ञानको अन्तर’ बुझ्न थप मद्धत गरेको थियो ।

आजको मुलाधारका राजनीतिक दलका प्रमुख नेताहरुले संघर्षका गौरवशाली इतिहास बोकेका भए पनि सत्ता सञ्चालन गर्ने तहमा पुगेको केही वर्षमा नै नैतिक मूल्य मान्यतामा आएको स्खलनको कारण जनसमुदायको विश्वासबाट बन्चित हुन पुगे र पुगिरहेका छन् । अझ केहीको हकमा त वितृष्णा र घृणा समेत अभिव्यक्त भएको सार्वजानिक रुपमा मै सुनिन थालेको छ । फेदमा धमिरा लागेपछि रुखका हाँगाविंगासम्म सर्दै गए जस्तै सम्वत् २०३६ हुँदै २०४६ सालसम्म नैतिकवान रहेको युवापंक्ति पनि त्यसपछिका दिनमा सजिलै कमाउने अनि विलाशी जीवन अवलम्बन गर्न पुगे ।

मानवशास्त्री डोर बहादुर विष्ट लिखित ‘फेटेलिज्म एण्ड डेभ्लप्मेन्ट’ फिल्डमै पढ्दै गरेकोले प्राकृतिक विज्ञान र योजना मात्रको औपचारिक शिक्षाा प्राप्त मस्तिष्कमा मानवशास्त्रीय घाम रोचक लाग्न थालेको थियो । ‘थिङ्किङ फास्ट एण्ड स्लो’ पुस्तकका लेखक डेनियल केन्हमानले भने जस्तै अधिकांश मान्छेको निचोडमा छिटो पुग्ने प्रवृतिले समस्याको चुरो पहिल्याउन र सही निर्णयमा पुग्न चुक्ने अवस्था सिर्जना गर्छ । यो भनाइ हाम्रो जस्ता मुलुकमा दुरुस्त लागु भइरहेको छ । हाम्रा राजनेताले त्यस्तै गरी रहेकाले पुस्तौं पुस्ता एउटै चक्रमा घमीरहनु पर्ने बाध्यताप्रति सचेत पुस्ताले अब साच्चै सोच्ने बेला आएको छ । सूचना सम्प्रेषण गर्ने सञ्चार माध्यमको सतही विश्लेषण र लेखनले नेपाली समाजमा राजनीतिक परिवर्तन तीब्र भए पनि सामाजिक फेरबदल भने उल्लेखनीय हुन नसकेको अधिकांशको बुझाइ छ ।

राणाकालीन पारिवारीक राजनीतिक द्वन्द्वमा बाबुछोरा, दाजुुभाइ, देवर भाउजु जस्ता पारिवारिक सदस्यको ज्यानै लिएर कोतपर्व, भण्डारखाल पर्व घटाइकन सत्ता प्राप्ति र हस्तान्तरण गर्ने गरेको विगत सय वर्षको तुलनामा भने बर्तमान राजनैतिक पुस्ताको नेतृत्व सभा, समारोह, सडक आदिमा सत्तोसराप गर्नमा सिमित हुनु मात्र पनि सामाजिक परिवर्तनको हिसाबले सुधारोन्मुख मान्न सकिएला । तर कृत्रिम बुद्धिमानी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगबाट मानव वंशाणुगत गुण पहिचान गर्नेदेखि अन्तरिक्षको चित्र मार्फत पृथ्वीको अमुक भागमा जलवायु परीवर्तनको आंकलन गर्न मिल्ने ज्ञानको युगमा बाँचेका हामीले यसैमा चित्त बुझाउने ठाउँ भने विल्कुलै छैन ।

आजको मुलाधारका राजनीतिक दलका प्रमुख नेताहरुले संघर्षका गौरवशाली इतिहास बोकेका भए पनि सत्ता सञ्चालन गर्ने तहमा पुगेको केही वर्षमा नै नैतिक मूल्य मान्यतामा आएको स्खलनको कारण जनसमुदायको विश्वासबाट बन्चित हुन पुगे र पुगिरहेका छन् । अझ केहीको हकमा त वितृष्णा र घृणा समेत अभिव्यक्त भएको सार्वजानिक रुपमा मै सुनिन थालेको छ । फेदमा धमिरा लागेपछि रुखका हाँगाविंगासम्म सर्दै गए जस्तै सम्वत् २०३६ हुँदै २०४६ सालसम्म नैतिकवान रहेको युवापंक्ति पनि त्यसपछिका दिनमा सजिलै कमाउने अनि विलाशी जीवन अवलम्बन गर्न पुगे ।

समाजवादी वा साम्यवादी आदर्श बोकेका पुरानो वा नयाँ पुस्तामा गनिन लायक नेता साह्रै थोरै देखिन्छन् । नेपाली राजनीतिमा नैतिक नेतृत्वको खडेरी नै परेको अवस्था छ । विद्यार्थी वा युवा राजनीतिदेखि नै आर्थिक चलखेल वा हेराफेरीमा प्रशिक्षित हुनुले कस्तो संस्कार तर्फ समाज उनमुख भइरहेको छ भन्ने कुराको सङ्केत गर्छ । चर्चित इतिहासविद् लेखक युभाल नोहा हरारीले ‘सपियन्स्’ आफ्नो पुस्तकमा उल्लेख गरे जस्तै परिवार र समुदाय राज्य र राष्ट्रमा विकसित नहुन्जेल, समाजमा दीगो शान्ति आउन सक्तैन र विकास सम्भव हुँदैन । कतै राजनीतिक परिवर्तनका नाममा दशकै पिच्छे देखा परेको सामाजिक चरित्रको परीवर्तन त्यही अनुसार र अनुकुल नभएर त होइन? मानवशास्त्री र समाजशास्त्रीहरुले अब तथ्यपरक ढङ्गले सोच्नुपर्छ होला ।

हाल नेतृत्वमा रहेको नेपाली राजनीतिक पुस्ताको औपचारिक शैक्षिक स्तर औसत भन्दा न्युन हुनुले नै घटनाक्रम वा विषयवस्तुलाई सापेक्षित वास्तविकतामा बुझ्न नसक्नु वा प्राथमिकीकरण गर्न नसक्नुको एउटा कारण हुन सक्छ । स्पष्ट बैचारिक दृष्टिकोण तथा बलियो नैतिक धरातलको अभावमा सत्तामा पुग्ने बित्तिकै कमाउनु पर्ने लालसा र भविष्यप्रतिको असुरक्षा बोध थप बिचलनको कारण बन्ने नै भयो ।

अघिल्लो पुस्तामा रहेको स्पष्ट दृष्टिकोण साथै दुरदर्शिताको आंकलन र अनुभव गरिसकेपछि राजनीतिमा नै सक्रिय पछिल्लो पुस्ताले प्रतिस्पर्धाको आधारमा त्यो अक्षम पुस्तालाई विस्थापित गरी आफुले मार्ग निर्देशन गर्न सक्नु प्राकृतिक हुन्थ्यो । त्यो जमात प्रभावकारी वा संख्यात्मक पर्याप्ततामा नभएर हो कि विकल्प अझै देखिइसकेको छैन ।

सामाजिक राजनीतिक स्थायितत्व र विकासमा सिको नै गर्ने हो भने एशियाका दुइ देशका इतिहासको अनुसरण गर्न सकिन्छ ।

इजरायलः मध्यकालीन इतिहासमा युरोपेली नश्लवादले यहूदीहरुलाई जग्गा जमीन माथिको स्वामित्वबाट बञ्चित गरेपछि, सहज जीवन व्यतित गर्न कठिनाई भए पश्चात ब्यक्तित्व विकासको रुपमा उनीहरुले गुणस्तरीय शिक्षा अङ्गिकार गर्ने विकल्प रोजे । विश्वव्यापी रुपमा नै ब्यापार, दर्शन, विज्ञान, चिकित्सा शिक्षा, कानून, लेखा जस्ता विषयमा यहूदी समुदायको प्रभावशाली उपस्थितिको पृष्ठभूमि यसैलाई मानिन्छ । उनीहरुमा शिक्षाको आधारभूत संरचना, प्रभावकारी सम्प्रेषण, गणित र वैज्ञानिक साक्षरता छ ।

दक्षिण कोरियाः प्राकृतिक स्रोतमा शुन्य बराबर भएको तथा सन् १९५० को कोरियन युद्धमा खण्डहर बनेको देश १९७० मा आउँदा नआउँदै आर्थिक बृद्धिको बाटो समाउनुको श्रेय त्यहाँको शैक्षिक संस्कृतिलाई दिने गरिन्छ । १९८० मा आइपुग्दा नै एशियाका चार आर्थिक बाघ मध्ये एक बन्न सफल भएको दक्षिण कोरिया यतिखेर पूर्वको उदाउँदो र सक्रिय खेलाडीको श्रेणीमा अन्तर्राष्ट्रिय समुदायमा आफूलाई स्थापित गर्न सक्षम भएको छ । उसले दिगो र तीब्र राष्ट्रिय विकास हासिल गर्नुमा शिक्षा क्षेत्रमा सही दिशा पहिचान र पर्याप्त लगानी कारक तत्व रहेका छन् र बिगत केही दशकदेखि त प्रतिस्पर्धामा खरो उत्रदै विश्व समुदायलाई शिक्षा र प्रविधिमा सहयोग गर्ने उल्लेखनीय हातहरुमा कोरिया पनि गणना हुन थालेको छ ।

सूचना प्रविधीको सहज पहुँचको यो युगमा के नेपाली समाज यिनै परम्परागत राजनैतिक शक्तिबाट निर्देशित र आश्रित भइरहन्छ त ? हरेक चेतनामूलक र विवेकशील नेपालीको दिमागमा हिजोआज रुमल्लिइरहेको यक्ष प्रश्न हो यो । परिवर्तनशील यो समाजमा मानवीय चरित्रको रुपमा नै यसो हुने छैन र यसले अवश्यम्भावी रुपमा वैकल्पिक निकास लिई छाड्नेछ । तथ्य, तथ्याङ्क लगायत केही सूचकहरुले यस्तै सङ्केत गरेको यो टिप्पणीकारको ठम्याई छ ।

केही युवाहरु शिक्षा, सीप, ज्ञान, लगायत बिदेशमा आर्जित केही पूँजी र अन्तरराष्ट्रिय सम्बन्ध तथा सामाजिक योगदान एवं कर्तब्यको मान्यताबाट निर्देशित भइ मौरीको घरभित्र हुने श्रम विभाजनको सिद्धान्तलाई आधार मानी कामदार मौरी झैं आफ्नै परिवेशमा चुपचाप काम गरी रहेछन्, तिनीहरुबाट पक्कै पनि केही आशा गर्न सकिन्छ ।

काठमाडौं ब्यवहारिक विज्ञान प्रतिष्ठान (Kathmandu Institute of Applied Sciences, KIAS), काठमाडौं जीव विज्ञान सम्बन्धी अनुसन्धान संस्था (Kathmandu Research Institute for Biological Sciences, KRIBS), अन्तरविधागत अध्ययन सम्बन्धी विश्व संस्था (Global Institute for Interdisciplinary Studies, GIIS), ब्यवहारिक गणित तथा सूचना विज्ञान सम्बन्धी अनुसन्धान केन्द्र नेपाल (Nepal Applied and Informatics Institute for Research, NAAMI), फुटुंग अनुसन्धान संस्थान (Futung Research Institute, FRI), जैविक विज्ञान तथा जैविक प्रविधी सम्बन्धी अनुसन्धान केन्द्र (Research Center for Bio Sciences and Biotechnology), स्वास्थ्य एवं रोग संग सम्बन्धी अध्ययन केन्द्र नेपाल (Center for Health and Diseases Studies Nepal), सेन्टर फर मोलिकुुल्यर डाइनामिक्स् नेपाल (CMDN) जस्ता केही काठमाडौंलाई प्रमुख केन्द्र मानी सञ्चालित नमूना संस्थाहरु हुन् ।

प्रतिनिधि उदाहरणका रुपमा दुइटा नमुना संस्थाको गतिविधिलाई हेर्न सकिन्छ ।

पहिलो उदाहरण, काठमाडौं ब्यवहारिक विज्ञान प्रतिष्ठान (Kathmandu Institute of Applied Sciences, KIAS) को कार्य विवरण छोटकरीमा यहाँ प्रस्तुत गरिएको छ :

विदेशका विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुमा अध्ययन गरेर नेपाल फर्केका १४ जना नेपाली युवा बैज्ञानिकहरुले वि.सं. २०७१ सालमा स्थापना गरेको यस प्रतिष्ठानले विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनबाट समाजलाई बौद्धिक नेतृत्व प्रदान गर्ने लक्ष्य लिएको छ । जसका लागि अनुसन्धान, नवप्रवर्तन, अविष्कार र बाह्य पहुँच गरी चार वटा क्षेत्रलाई मुल मन्त्रको रुपमा लिएको छ । विश्लेषणमा आधारित विज्ञानको केन्द्र, संरक्षण जीव विज्ञानका लागि केन्द्र तथा जल एवं वायुमण्डल अनुसन्धान केन्द्र तीनवटा केन्द्रमा गरी चारजना बैज्ञानिक र ३० जना उत्तर विद्यावारिधी अनुसन्धानकर्ताहरुले काम गरिरहेका छन्। स्रोत सीमितताका बावजुद सस्तो र भरपर्दो प्रविधीको विकास, वायु तथा पानी प्रदुषण सम्बन्धी विश्लेषण र अध्ययन, खाद्य पदार्थ र औषधी आदिको गुणस्तर सम्बन्धी अध्ययन, खडेरी आदि सम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, जैविक विविधता, विज्ञान नीति लगायतका विषयहरु यसका कार्यक्षेत्र हुन्। यी अनुसन्धानहरु थर्ड वल्र्ड एकेडमी अफ साइन्स् इटाली, इन्टरनेशनल फाउण्डेशन अफ साइन्सेस स्वेडेन, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग युएस्एआइडी अमेरिका, एशिया प्रशान्त सञ्जाल जापान, क्षेत्रीय सहकारी सम्झौता (Regional Cooperative Agreements), अन्तर्राष्ट्रिय पारमाणविक उर्जा निकाय दक्षिण कोरिया, युरोपियन संघ लगायत अन्तार्राष्ट्रिय स्तरका संघसंस्था तथा विश्वविद्यालयको सहभागिता चलिरहेको छ । यस प्रतिष्ठानले वाह्य पहुँच कार्यक्रम अन्तगर्त सेमिनार, संगोष्ठी, कार्यशाला, तालिमहरु सञ्चालन गर्ने गर्छ । हरेक वर्षको अक्टोबर महिनामा आयोजना हुँदै आएको अन्तर्रराष्ट्रिय पर्वतीय सम्मेलन उल्लेखनीय छ । यसरी यस प्रतिष्ठानले ९० जना जतिलाई रोजगारी र सीप प्रदान गरी सेवा पु¥याएको छ । करिब ४० वटा कार्यक्रमहरुमा सहभागी भएर एक हजार जनाभन्दा बढी लाभान्वित भएका छन् । ४० वटाबढी अनुसन्धान पत्रहरु अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नलहरुमा प्रकाशित भएका छन् ।

दोस्रो उदाहरणका रुपमा अन्तरविधागत अध्ययन सम्बन्धी विश्व संस्था (Global Institute for Interdisciplinary Studies, GIIS) लाई लिइएको छ । अन्तरविधागत अनुसन्धान मार्फत भरपर्दो, वैधानिक र विशिष्ट प्रकारको ज्ञान उत्पादनमा सहयोग पु¥याउने यो संस्थाले नेपाल लगायत अन्यत्रका लागि विकास सम्बन्धी नीति र अभ्यासहरुको समग्र परिवर्तनका लागि उत्प्रेरकको काम गर्ने गर्छ । यसले पारिस्थितिकीय प्रणाली र मानिसलाई परस्पर जोड्ने जुइनाका बारेमा बुझ्न मद्धत पुग्ने थुप्रै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । प्रकृतिले उपलब्ध गराउने पारिस्थितिकीय प्रणाली सेवाका बारेमा अध्ययन, लेखाङ्कन, मापन साथै मानवजन्य गतिविधीबाट जैविक विविधितामा पर्ने असर मापन गर्ने काम पनि यसले गर्छ । अनुसन्धाताहरु वनक्षेत्र, चरीचरण, वर्गीकरण विज्ञान, वन्यजन्तु तथा साना एवं सूक्ष्म जीवहरुमा केन्द्रित भएर काम गरिरहका छन् । संस्थामा कार्यरत १६ जना अनुसन्धान वैज्ञानिकहरु मध्ये तीन जना त जैविक विविधता र पारिस्थितिकीय प्रणालीले दिने सेवा सम्बन्धी अन्तरसरकारी विज्ञान नीति प्लेटफर्म (Intergovernmental Panel for Science-Policy Platform on Biodiversity and Ecosystem Services, IPBES) मा नै संलग्न छन्, जो जैविक विविधता सम्बन्धी विश्व स्तरीय सूचना प्रणालीको अङ्ग हो । यस संस्थाले दुई वर्षको अवधिमा करीब दुई करोड रुपियाँको स्रोत परीचालन गर्न सक्नुलाई सकरात्मक मान्नु पर्छ ।

माथिका प्रतिनिधि उदाहरण बाहेक, कोभिड १९ जस्तो महामारीसंग सम्बन्धित परीक्षण, उपचारमा नेपाल भित्रै रहेर वैज्ञानिक अनुसन्धानमा सहकार्य गर्न सक्षम नेपाली युवा वैज्ञानिकहरु हुन् वा अन्य क्षेत्रमा कार्यरत युवा उद्यमी–व्यवसायीहरु हुन्, आगामी दिनका आशालाग्दा र स्पष्ट सम्भावनाहरु हुन् ।

यहाँ उल्लेख सन्दर्भ, संस्था र विषयहरु झट्ट याद आएका प्रतिनिधि संस्था वा प्रयासहरु मात्र हुन् । मुलुकका अन्य भागमा वा मुलुक बाहिर चुपचाप क्रियाशील, देशलाई माया गर्नेहरुको ठूलो जमातले बर्तमान नेपाली राजनीतिमा देखिएको ‘कालो बादलमाथि पनि चांदीको घेरा’ स्पष्ट देखाइरहेको छ ।

Facebook Comments