परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झगडा र यसले जीवनमा पार्ने प्रभाव

गडा मानवीय जीवनमा घटने एउटा प्रक्रिया हो । प्रायः हामी सवैले जीवनमा झगडा चाहेर वा नचाहेर अवश्य गरेका हुन्छौँ । दुई पक्षवीच शारीरिक वा गालीगलौजको माध्यमबाट आक्रमण भएमा यसलाई झगडा भनेर बुझिन्छ । झगडाको परिभाषा नेपाली शब्दकोशले यसरी दिएको छः दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन, कलह, कचिङ्गल, राडो, भनावैरी । झगडा सुन्दैमा नराम्रो मान्ने गरिन्छ । वास्तवमा समान्य हिसाबले हेर्दा यसलाई कदापि राम्रो मान्न सकिन्न । तर पनि कतिपय झगडाका स्वरूपले हाम्रो जीवनमा सकारात्मक असर समेत पारेका हुन्छन् । जस्तै, वादविवाद, बौद्धिक विवाद, वहस, द्वन्द्व, मतभेद, आरोप प्रत्यारोप, सफाइ आदि । यिनबाट हाम्रो मस्तिष्क प्रतिस्पर्धात्मक र खोजतर्फ केन्द्रित हुन पुग्दछ । भित्र मनमा पलाउने इख र प्रतिस्पर्धाको भावनाले हामीलाई अगाडि बढ्ने प्रेरणा दिन्छ ।

इतिहासका प्रभावशाली व्यक्तिहरू यी खालका झगडा, अन्तरद्वन्द्व र वादविवादबाट अगाडि बढेकाले नै सक्षम र उदाहरणीय बनेका छन् । समान्यतया झगडालाई सानो परिवेशभित्र राखेर व्याख्या गर्दासम्म हामीले यस पक्षमा ध्यान दिएका हुदैनौँ । तर झगडा आत्मबल दरिलो बनाउन मद्दत गर्दछ । चुनौती थप्छ । अधिकार उपभोग गर्न सिकाउँछ । प्रतिस्पर्धामा जित्न सिकाउँछ । अन्यायबाट मुक्ति दिलाउँछ । आत्मनिर्भर बनाउन सिकाउँछ । गलत कार्यको प्रतिवाद गर्न सिकाउँछ । त्यसै भएर पनि जीवनमा सकारात्मक असर पर्ने खालका झगडा अपरिहार्य देखिन्छन् । जस्तै, आगो पनि अगुल्टो ठोसेपछि मात्रै बल्छ नि । दुई पदार्थको टक्करबाट नै नयाँ कुरा पैदा हुन्छ ।

झगडा गर्नुभन्दा पनि सुल्झाउने प्रक्रिया झगडाको महत्वपूर्ण पक्ष हो । झगडा सही प्रक्रियाले सुल्झाएमा यसबाट फाइदा पनि लिन सकिन्छ ।

प्रकाश गौतम

हरेक प्राणीको जीवन झगडाबाट सुरु भएको हुन्छ । यसलाई नजिकबाट हेर्ने हो भने आफ्नै बच्चाहरूमा देख्न सक्छौँ । उनीहरूको झगडा सुल्झाइरहेका हुन्छौँ तर यसको गाम्भीर्यताको विषयमा हामीलै कहिल्यै ध्यान दिने गरेका हुदैनौँ । गतिशील समाज पनि विवाद, अन्तरसंघर्ष र मेलमिलापबाट अगाडि बढिरहेको हुन्छ । झगडालाई हामीले द्वन्द्वका रूपमा पनि लिन सक्छौँ । यदि झगडा वा द्वन्द्व हुँदैनथ्यो भने माक्र्सले द्वन्द्वात्मक भौतिकवादको विकास गर्न सक्ने थिएनन् ।

झगडा नगरेका तथा नगर्ने मानिस सोझो प्रकृतिका हुन्छन् । सोझोपनको कारण कतिपय अवस्थामा अप्ठ्यारोमा पर्दछन् । यस्ता मानिसमा समस्याबाट भाग्ने, विचलित हुने स्वभाव हुन्छ । आत्मबल कमजोर हुने सम्भावना हुन्छ । शारीरिक रूपले बलियो भएता पनि काँतरपन उनीहरूमा देखिन्छ । जीवन एक संघर्ष हो । संघर्षशील जीवन जिउन उनिहरूलाई कठिन हुन सक्दछ ।

बलियो अथवा आत्मबल बलियो भएको बच्चा सिकायत कहिल्यै गर्दैन भने कमजोर बच्चा सानोसानो कुरामा पनि सिकायत गर्दछ । यो स्वभाव पछि गएर ठूलो हुँदासम्म पनि रहेको हुन्छ । बच्चाको झगडा सही तरीकाले सुल्झाएमा यसैबाट बच्चाले सकारात्मक पाठ बेलैमा सिक्न सक्दछन् । जिउने शैली सिक्ने अवसर पाउँदछ ।

झगडा गर्ने स्वभाव मानिस हुर्किँदाको वातावरणमा भर पर्दछ । बच्चैदेखि झगडा देखेको र व्योहोरेको मानिस सामान्य विवादमा पनि मारपिटमा उत्रिन्छ । हुर्किँदा झगडा नदेखेको र नव्योहोरेको मानिस शान्त र समझदार स्वभावका हुन्छन् । यस्ता मानिस शारीरिक रूपमा बलियो भएता पनि झगडाबाट टाढा रहन रुचाउँछन् ।

अन्य आकर्षणहरू

‘स्यो’ सम्मान कि अपमान !

अवकाशपछिको अन्योल

भनेको नमान्ने, चकचक गर्ने, इच्छ्याएको पाउन जिद्धी गर्ने, कुनै सामानप्रतिको उत्सुकताले चलाउँदा बिगार्ने जस्ता कार्य बच्चाको स्वाभाविक गुणभित्र पर्दछ । तर यही स्वभाव कतिपाय अवस्थामा बाबुआमालाई मन नपर्ने हुन्छ र त्यसो नगर्न गाली गर्ने, हप्काउने, दप्काउने र नमानेमा पिट्नेसम्मका कार्य बाबु–आमा वा घरका ठूला व्यक्तिले गर्ने गर्दछन् । यस्तै मसिना कारणहरूले बच्चाको झगडा गर्ने स्वभाव घरबाट नै विकास भएको हुन्छ । प्रायः बच्चालाई झगडा गर्न बाबुआमाले नै मद्दत पु¥याएका हुन्छन् । यसको हेक्का बाबु आमालाई भएको हुँदैन । यसरी थाहै नपाई हाम्रो जीवनमा झगडा गर्ने स्वभावको विकास भइरहेको हुन्छ । मानिस ठूलो हुँदै जाँदा उसमा रहेको झगडा गर्ने स्वभाव झाँङ्गिदै जाने गर्दछ । यति वेला भने जीवनमा यसका नकरात्मक प्रभाव पर्ने सम्भावना बढी हुन्छ ।

आउनुुस्, अब झगडाको किसिमको विषयमा थाहा पाउँ । झगडा दुई कीसिमका हुन्छन् । एक शारीरिक अर्को गालिगलौज (भनाबैरी) । शारीरिक झगडामा मारपिट अथवा हात हालाहाल गर्ने गरिन्छ । यस्तो झगडामा शरीरिक चोटपटक पुग्दछ । यो झगडामा शारीरिक रूपमा बलियो पक्ष जहिले पनि विजयी हुन्छन् भने कमजोर पक्ष हार्दछन् । यस किसिमको झगडामा कमजोर पक्षप्रति सहानुभूति राख्ने धेरै हुन्छन् । यो झगडामा कानूनी उपचार लिने बाटो पनि हुन्छ । शारीरिक आक्रमणमा विवाद मिलाउने तत्समयमा कोही न कोही मध्यस्थकर्ता निस्किन्छन् । गम्भीर अवस्था देखिएमा दुई पक्षको आआप्mनै मध्यस्थकर्ता पनि हुन सक्दछन् । यस झगडाले शारीरिक, मानसिक रूपमा नराम्रोसँंग असर पु¥याउन सक्दछ । दुई पक्षवीच भएको विवादको छिनोफानो झगडाको हार र जितले तय गर्दछ भने तुरुन्तै विवादको छिनोफानो हुन्छ । गम्भीर अवस्थामा मात्र छिनोफानो लम्बिन सक्दछ ।

गालाीगलौज वा भनाबैरी झगडाको अर्को रूप हो । शारीरिक रूपमा आक्रमण नगरी भाषाको माध्यमबाट गरिने आक्रमणलाई गालीगलौज भन्ने गरिन्छ । दुई पक्षवीच गालीगलौज चलेमा बाझेको भन्ने गरिन्छ । यस किसिमको झगडामा गाली गर्ने व्यक्तिलाई जति तिखो गाली ग¥यो उत्ति नै उसमा जागेको क्रोध शान्त हुन्छ भने गाली पाउने व्यक्ति गाली दिने उपर उत्तेजित बन्दछ । गाली पाउने व्यक्ति जति उत्तेजित हुन्छ, गाली दिने ब्यक्ति उति नै गाली दिन हौसिन्छ । दुई पक्षवीच एकले अर्कोलाई गाली दिन एक कीसीमको प्रतिस्पर्धा चल्ने गर्छ । यो झगडामा तिखो र धेरै गाली दिने ब्यक्ति विजयी हुन्छन् भने कतिपय अवस्थामा उसले दिएको अनावश्यक गालीकै कारण ऊ हार्न पुग्दछ । वाझेको बेलामा मध्यस्थकर्ता भन्दा रमिता हेर्ने बढी हुन्छन् । दुवै पक्षलाई हौस्याएर आनन्द लिने हुन्छन् । यस्तो अवस्थामा झगडियाको होश गुम हुने हुँदा दुवै पक्ष भाले जुधाइको अवस्थामा पुग्दछन् । यस किसिमको झगडाले भावनात्मक उत्तेजना बढाउँछ र शारीरिक झगडा निम्त्याउने
गर्दछ ।

झगडामा गालीगलौज वा भनावैरी सामान्य रूपमा सुरु भएर भयंकर रूप पनि लिन सक्दछ । यो झगडा सवैको जीवनमा प्रायः घटिरहेको हन्छ । हामी सवैलाई प्रष्ट छ, झगडा राम्रो होइन तर पनि जीवनमा झगडा पर्नु वा घट्नु सामान्य प्रक्रिया हो । झगडा गर्नुभन्दा पनि सुल्झाउने प्रक्रिया झगडाको महत्वपूर्ण पक्ष हो । झगडा सही प्रक्रियाले सुल्झाएमा यसबाट फाइदा पनि लिन सकिन्छ ।

गलत प्रक्रियाले झगडा सुल्झाएमा यसले आक्रोश पैदा गर्दछ । क्रोध, घृणा, दुश्मनी बढाउँदछ । यस्तो अवस्थामा दुवै झगडियालाई शारीरिकदेखि मानसिकसम्मको असर पर्दछ । झगडाको विवाद वर्षौवर्षसम्म पनि रहिरहन्छ ।

सही तरीकाले सुल्झाएको झगडा पश्चात पनि झगडियाबिच राम्रो सम्बन्ध कायम हुन सक्दछ । अझ दुई पक्षबीचको सम्बन्ध गहिरो बन्न सक्दछ । गुण र दोष केलाउने अवसर हुन सक्दछ । आफ्ना कमजोरी महसुुस गर्ने र सुध्रिने मौका मिल्दछ । समझदारीको भावना विकास हुने क्षण बन्न सक्दछ । जीवनमा आइपर्ने संकटबाट उत्रिने अथवा समस्याको समाधान पहिल्याउने बानीको विकास हुन्छ । समयलाई आप्mनो अनुकूल बनाउन सिकाउँदछ । यसर्थ झगडाभित्रको पनि गुण र दोष केलाएर चल्न सक्यो भने प्रतिस्पर्धा र संघर्षको जीवनमा सफलता पाउन सकिने छ । तर अनावश्यक झगडा गरेर समय बर्बाद गर्नतिर कसैले पनि लाग्नुहुँदैन । सार्थक झगडाले भने जीवनलाई गति दिन्छ ।

Facebook Comments