परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पहाडी यात्रामा विदेशी छोरीलाई भेट्दा

जीवनका खुड्किला १८

विद्यावारिधिको स्थलगत तथ्याङ्क संकलनका लागि मैले रोजेको स्थान तेह्रथुम र संखुवासभा जिल्लाको सिमानामा पर्ने तिनजुरे, मिल्के जगंल क्षेत्रको सेरोफेरो थियो । सन् २००० साल भर मैले करीब करीब ढुक्कै त्यहीँ बिताएँ । मेरो बस्ने अड्डा चौकी भन्ने स्थानमा थियो । बसन्तपुरबाट गुफापोखरी जाने पैदलमार्गमा पर्ने भएकोले मकालु हिमाल जाने पदयात्रीहरु, ताप्लेजुंग, ढुगेसांघु हुँदै धरान आइजाई गर्ने तथा खांदवारी, चैनपुरबाट घुम्दै आउने स्थानीय र पदयात्री चौकी भएर नै आहोरदोहोर गर्थे । १५/१६ वटा घर, एउटा प्राथमिक विद्यालय, प्रहरी चौकी साथै पर्यटकका लागि क्याम्प राख्न मिल्ने ठूलो चौर उपलव्ध भएकोले त्यसलाई चौकी बजार नै भनिन्थ्यो ।

बार्दलीको भ¥यांग मुनी ठड्याएको तोक्मा र संगै राखिएको मान्छे बोक्न बनाएको काटिएको ढाकर तिर देखाउँदै मैले भने– उ त्यहाँ छ नी । बन्दना लगायत अरु छोरीहरु मज्जाले हाँसे । उनीलाई पनि घत परेछ क्यारे संगसंगै हासिंन् । मैले पहाडी जीवनको बारे थोरै बताएँ उनलाई । बेलुका त पाँचजना घरका दिदीबहिनीसंग अंगेनोको वरिपरि बसेर आगो ताप्दै एक आपसमा कुरा गर्दैथिए सबैजना ।

पाँचपोखरी, चौकी, मंगलवारे, लाम्पोखरी र गुफापोखरी जस्ता त्यो रुटमा पर्ने वस्तीको दाँजोमा तिनताका आवादी र चल्तीको हिसाबमा चौकी बजार भनिन लायक नै थियो । म स्थानीय प्राथमिक विद्यालय शिक्षक उदय कुमार लोको घरमा एउटा कोठा लिएर मेरो दैनिक सर्भेक्षणको काम भ्याउँने गर्थें । एकदमै पौरखी र मिजासिलो परिवार थियो उहाँको । उहाँकी श्रीमतीलाई म भाउजू भन्थें । उहाँहरुले आफ्ना पाँच वटी मेहनती छोरीहरुको सहयोग लिएर घरमै खाना खुवाउने होटल चलाउनु भएको थियो– गुरांस होटल । उपलव्ध सुविधा र उहाँहरुको व्यवहारको कारणले आगन्तुकको रोजाई पाएसम्म गुरांस होटल नै हुन्थ्यो खानबस्नमा ।

तीनताका पर्यटकीय आवागमन तथा संरक्षण शिक्षाका लागि त्यो क्षेत्र निकै लोकप्रिय थियो । फ्रेन्च प्रकृतिप्रेमी पर्यटन उद्यमी मिल्लेभिल्लेले तिनजुरे, मिल्के क्षेत्रको गुंरास बहुल प्राकृतिक वनका बारेमा १९९७ को हाराहारीमा लेखेपछि फ्रेन्च र वरिपरिका युरोपेली राष्ट्रका पर्यटकको यहाँ बाक्लै आवागमन रहन्थ्यो । साथै एक्वामरिन, तुरमिलारिन जस्ता खनिज सम्पदाका नमूना संकलकहरु खानी विभागको अनुमति लिएर सर्भेक्षण गरेर फर्किंदा गुरांस होटलमा बास बसेको भेटिने गर्थे । अमेरिकी विश्वविद्यालयका संरक्षण शिक्षाका विद्यार्थीहरु हिमचितुवा, कालो भालु, घोरल तथा नाउरका आनीबानी सम्बन्धी आफ्नो शोधको स्थलगत अध्ययन गर्न आउँदा रहेछन् भन्ने कुरा आफूले बाटामा भेट्दा थाहा हुन्थ्यो । कतिपय त मलाई खोजेर पर्खेर, भेटेर पनि जाने गर्थे ।

स्थानीय जनजातिहरुले खोरिया फाडेर चिराइतोको बीउ बिजन राखेको, उमारेको, स्थानान्तरण वा उन्नत उत्पादन गरेको हेर्न आउने कृषि तथा आजीविका क्षेत्र भरथेगमा काम गर्ने गैरसरकारी राष्ट्रियरअन्तर्राष्ट्रिय संस्थाका विकासे कार्यकर्ता पनि आक्कल झुक्कल पुग्थे ।  माओवादी विद्रोहको डढेलो सल्किने क्रममा सो क्षेत्रमा पनि द्वैध शासनको जग्जगी पनि बढ्दो थियो र बाहिरियाहरुले ढुक्कै बसेर जङ्गल सम्बन्धी काम गर्नुपर्दा फुकी फुकी कदम चाल्नु पर्ने अवस्था थियो । दुईजना स्थानीय युवा स्थलगत सहयोगी मार्फत मैले काम गरी रहेको स्थानीयकै घरमा डेरा तथा अधिकांश समयको बसउठ चौकी बजार, मादी मूलखर्क, तामाफोक र मंगलवारेका जेठाबाठासंग भएकोले मलाई भने कुनैपनि समय आफ्नो तथ्याङ्क सङ्कलन गर्नुपर्ने कृषि, वन, खर्क चरिचरणको पारिस्थितिकीय प्रणालीको आवागमनमा कुनै कठिनाई थिएन । बरु बस्तुभाउ चराउन वा घाँस सोतर बटुल्न आउनुहुने अगुवा किसानले सहयोग नै पुर्याउने गर्नुभएको थियो ।

वर्षाद सकिएर शरद ऋतु शुरु हुने बेला जस्तो लाग्छ मलाई । संयुक्त राज्य अमेरिका स्थित कोरनेल विश्वविद्यालयका मानवशास्त्रका अण्डरग्राजुएट तहका विद्यार्थीहरु ‘समुदायमा आधारित स्थलगत अध्ययन’का लागि तत्कालीन नूनढाकी गाउँपालिकाको निश्चित क्षेत्रमा बसोबास गर्ने गुरुङ, शेर्पा बस्ती लक्षित विषयका लागि आएका रहेछन् । धनकुटाबाट हिँडेका दिन उनीहरु बास बस्न चौकी गुरांस होटल नै आइपुगेका थिए । साँघुरो गाउँ, आगन्तुकहरुका बीच सहज होस् भनी खाना खाइसक्ने बित्तिकै म भने आफ्नो कोठातिर लागें ।

म ओछ्यानमै हुँदा कल्याङ्गमल्याङ्ग सुनिदैं थियो । शायद बेलुका बास बस्न आएकाहरु होलान भन्ने अडकल लगाएर म ढिलो गरी तल झरें । नित्यकर्म सकिवरी चिया खान होटलको अगाडिको भागतर्फ निस्कदै गर्दा एकजना २०/२२ से विदेशी युवती घरकी माइली छोरी बन्दनासंग संवाद गर्ने प्रयत्न गर्दै थिइन् । भाषिक समस्याले होला बन्दनाले म तर्फ फर्केर सहजीकरण गरिदिन अनुरोध गरिन् । ती युवतीले भने अनुसार २० जना विद्यार्थीको समूह एकजना नेपाली सम्पर्क व्यक्ति तथा विश्वविद्यालयको शिक्षण सहयोगी नेपाल आइपुगेर स्थानीय परिवेश बारे काठमाडौंमा सामान्य अभिमुखिकरणमा सहभागी भएर बाटो लागेछन् ।

धनकुटा एकदिन बसेर भोलिपल्ट बसन्तपुरसम्म मोटरमा आएर बास बस्नलाई पैदल चौकी आइपुगेको रहेछ त्यो टोली । खानपीन, स्वास्थ्य अवस्था अभ्यस्त नभएर वा के भएर हो ती नानीलाई पखाला चलेछ । ठाउँठाउँमा बिसाउँदै थकित तथा क्लान्त अवस्थामा जसोतसो बास बस्ने ठाउँसम्म साथीहरुसंगै आइपुगेकी रहिछन् ती । शारीरिक असक्तताको कारण हिंड्न नसक्ने मानेर टोलीले उनीलाई केही दिन त्यहीं आराम गर्न छोड्ने सल्लाह भएछ र टोली अगाडि बढेको रहेछ । कमजोर शारीरिक अवस्था, अपरिचित तथा दुर्गम ठाउँ डिहाइडेशनको डरले उनमा मानसिक चिन्ता थपिएछ र करीब करीब डिप्रशेनले घर गरेछ ।

नाम सोधें मैले उनको । जेनी बताइन् नाम उनले । अघिल्लो दिन धेरै पटक पखाला चलेको, लोकल गाडीको यात्रा त्यो पनि पहाडी एवं अप्ठ्यारो बाटोबाट नया ठाउँ, शारीरिक कमजोरी भएपनि विकल्प नभएकोले गर्दा ५÷६ घण्टा पैदल नै हिडेर चौकी आइपुगेकोले अवस्था निकै नाजुक भइसकेको रहेछ । उनी खान मन गरिरहेकी थिइनन् । भाउजु “यिनलाई केही खुवाउन पाए हुन्थ्यो नानी, के गर्नु हौ?” भन्दै पिरोलिएर मलाई सुनाउँदै हुनुहुन्थ्यो । तल धरान तिरबाट आएको चामल र दालले होटल चल्थ्यो । स्थानीय उपज भनेको आलु र मकै मात्र थियो । अन्य उपलव्ध खाद्य सामग्री थिएन । होटल, पसलहरुमा चाउचाउ सम्म पाइन्थ्यो ।

उदय सरले परीक्षणका लागि कोठेबारीमा लगाएको बन्दाकोभी गुजुल्टिन शुरु मात्रै गर्दै रहेछ, त्यस्तै सिमीको बोटमा एकदुइटामा दाना लाग्न खोज्दै रहेछ । एउटा बन्दा भाँचेर र केही कोसा सिमी मैले टिपेर ल्याएँ र पानी बसाएर तिनै पात र कोसा मिलाएर उमालें । एक प्रकारको घरेलु सुप बनाएर दिँदै मैले उनीलाई खान लगाएँ । साँझसम्ममा जेनी उठेर बस्न सक्ने भइन् । सामान्य संबाद गर्न थालिन् । बेलुका भाउजुले भातको माड नुनीलो बनाएर खान दिनु भयो । राती छोरीहरुसंग गुनगुन गरेको सुनिदैं थियो ।

अर्को दिन बिहान म तल झर्दा जेनी उठेर बसिरहेकी थिइन् । होटलवाला छोरीहरुसंग शायद उनले मेरो बारेमा केही बुझिन होला । अंकल म तपाइसंग केही कुरा गर्न चाहन्छु– उनले अंग्रेजीमा भनिन् । ‘मैले आज पनि घरै बसेर काम गर्ने योजना बनाएको हुनाले तिमीलाई मसंग कुुरा गर्ने पर्याप्त अवसर हुनेछ भनें ।’

अब मेरो पालो थियो उनको बारेमा सोध्ने र परदेशमा सकेको सहयोग गर्ने । अमेरिकी चलन र सामाजिक सुरक्षा प्रणाली अनुसार उनी १८ वर्षकी भएपछि नै स्वतन्त्र र आत्मनिर्भर हुने दौरानमा राज्य सरकार र कलेजबाट उपलव्ध विद्यार्थी ऋण प्रावधान अन्तर्गत पढ्न थालेकी रहिछन् ।

उनी हाइस्कूलमा पढ्दादेखि नै आमाबाबु बीच सम्बन्धमा मनमुटाव भएको रहेछ । करीब दुई वर्ष अगाडि उनीहरुले सम्बन्ध बिच्छेद गरेका रहेछन् । बाबुआमाले आफ्नो अनुकुल अलग अलग पार्टनरसंग फेरि बिहा गरेर छुट्टा छुट्टै राज्यमा घरजम गरेपछि बाबुआमासंग उनीको सम्पर्क छुटेको रहेछ । पढाई र बसाई आत्म निर्भर पाराले चल्दै थियो । संगैका साथीहरु सप्ताहान्त र छुट्टीहरुमा घर जादाँ रहेछन् । उनी भने एकै प्रकारको दिनचर्यामा व्यस्त रहनुपर्दा घर परिवारको अभाव कहिलेकाहीँ खट्किने कुरा सुनाउँदै थिइन् ।

आफ्नी आमाकी बहिनी सानीमा सोही शहरमा रहेकीले उनी सानीमाकोमा कहिलेकाहीँ आइजाई गर्न थालेपछि त्यो नियास्रो मेटिदैं रहेछ तर घरजम नगरी बसेकी सानिमा पनि क्यान्सर लागेर छ महिना अगाडि बितिछन् । त्यही बीचमा जेनीको पनि एफेयर चल्दै गरेको केटा साथीले छोड्नु पनि संगसंगै परेछ । यस्तै रनाहामा ‘नेपालमा समुदायमा आधारित कार्यक्रम’को सूचना देखेकोले उत्साहित भएर उनले आफ्नो पाठ्यक्रमको आवश्यकता पुरा गर्न र पुनर्ताजगी पनि हुन पाउने अवसर मान्दै सहभागी भएकी रहिछन् । मानसिक तनावका कारणले आन्तरिक प्रतिरोध प्रणाली कमजोर भएको र साथमा आएका साथीले एक्लै छोडिगएकोले दिक्क लागेको रहेछ । आइपुगेको दिन त शारीरिक कमजोरी, हिंडाई, विकट ठाउँ र साथीहरुले विहानसम्म ठीक नभए उनलाई छोडेर जाने कुरा गर्दा त बाँच्दिन कि  झैं लागेको कुरा सुनाइन ।

साँझ सम्ममा उनी खान खान सक्ने भइन् ।

मोटरबाटो नभएको ठाउँमा मान्छे बिमारी भए कसरी अस्पताल लैजान्छन् ? भनेर जेनीले सोधिन् ।

तिमीलाई ठीक नभएको भए हामी पहाडी एम्बुलेन्समा राखेर उपचार गर्न शहर पठाउने थियौं मैले जवाफ दिएँ ।

‘अनि यहाँ त बाटो नै छैन त कसरी ?’ उनको जिज्ञाशा स्वभाविक थियो ।

बार्दलीको भ¥यांग मुनी ठड्याएको तोक्मा र संगै राखिएको मान्छे बोक्न बनाएको काटिएको ढाकर तिर देखाउँदै मैले भने– उ त्यहाँ छ नी । बन्दना लगायत अरु छोरीहरु मज्जाले हाँसे । उनीलाई पनि घत परेछ क्यारे संगसंगै हासिंन् । मैले पहाडी जीवनको बारे थोरै बताएँ उनलाई । बेलुका त पाँचजना घरका दिदीबहिनीसंग अंगेनोको वरिपरि बसेर आगो ताप्दै एक आपसमा कुरा गर्दैथिए सबैजना ।

‘भगवानले अर्की हुर्केकी छोरी पनि पठाइदिएछन् त भाउजु !’ मैले खाना खान पस्तै गर्दा ठट्टा गरेँ ।

‘नानी नहुनु भएको भए हामी के गरी तंग्रिने बनाउथ्यौं होला नी कठै ?’ भाउजुले चिन्ता व्यक्त गर्नुभयो ।

अर्को दिन चाँहि उनी तंग्रिसकेकाले म आफ्नो नियमित तथ्याङ्क सङ्कलन गर्नका लागि जाने र खाना खाने समयमा फर्किने बताएँ । समाज शास्त्र, मानव शास्त्रको विद्यार्थी भएर पनि आफ्नै बाबुबाट यत्तिको हार्दिक व्यवहार आजसम्म पाउन नसकेकाले आफूले परदेशमा बाबु भेटे भैंm महसुस गरें भनी जेनीले मप्रति कृतज्ञता व्यक्त गरिन् ।

उनका साथीहरु अध्ययन अवधी भरी बस्ने ठाउँको सम्पर्क सुत्र छोडेर गएका रहेछन् । चौकीबाट हिँडेको दिन बेलैमा पुग्ने गरी उनका लागि एकजना भरीया र बाटो देखाउदै गन्तव्यसम्म पुर्याउने केटी नै साथीको खोजी गरी अर्को दिन बाटो लाग्ने व्यवस्था गरिदियौं हामीले । बिहानभरीको मेरो काम सकेर मध्यान्हको खाना खान फर्किदा उनी चंगा भएर चौरतिर होटलवाला छोरीहरुसंग हिंड्दै थिइन् । उनले मेरो नाम, ठेगाना टिपिन् सम्पर्क गर्दै गर्छु भनेर ।

भोलिपल्ट भाउजुले बिहानको चिया खाजा खुवाई फूलको थुंगा हातमा राखिदिएर बिदा गर्नुभयो । उनका आँखामा खुशीका आँशु हुनुपर्छ छचल्किदैं गरेका देखिन्थे । कुइनेटो पारिबाट समेत फर्किफर्कि हात हल्लाउदैं गइन् उनी ।

झण्डै तीन महिनापछि एउटा चिठी पाएको थिएँ मैले जेनीको रहेछ । सकुशल घर पुगेर नियमित पढाईमा सहभागी हुन थालेको खबर उल्लेख गरेकी थिइन् । पत्रको पुछारमा अंग्रजीमा ‘उही जेनी छोरी’ लेखिएको थियो । यो नयाँ सम्बन्धको यो पाटो मलाई कसोकसो भारी लाग्दै थियो । प्राकृतिक विज्ञान पढेको र यही विषयगत विधामा मात्रै थोरथार जानकार राख्ने म आफूलाई मानवशास्त्रको अन्तरङ्ग पक्ष बुझ्न प्रेरणा र चुनौती संगसंगै थपिरहेझैं लाग्दै थियो त्यो सम्बोधनले ।

Facebook Comments