परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्व. मदन भण्डारीसंगका केही संस्मरण

जीवनका खुड्किला १६

अलि पहिलेको कुरा हो । २०४७ साल हो तर महिना चाहिँ ठ्याक्क सम्झना भएन । वर्षको अघिल्लो आधा झैं लाग्छ । म धरान स्थित हात्तिसार क्याम्पसमा पढाउँथेँ । २०४५/४६ को आन्दोलनमा सक्रिय भएर लागेको, विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय एवं पञ्चायतकालमा वामपन्थी अखडाको रुपमा बुझिने हात्तिसार क्याम्पस्मा पढाउने भएकोले हामीलाई पनि प्रशासनले निगरानीमा राखेको थियो ।

हात्तिसार क्याम्पसको हलमा हामीले कार्याक्रम तय ग¥यौं र सम्भावित सहभागीहरुलाई खबर गर्यौं । प्राध्यापक, बुद्धिजीविहरुको डर अझै भागिसकेको थिएन । तर पनि आउनुहुनेहरुमा महेन्द्र क्याम्पसबाट सरण राई र धनहर्क राईलाई म सम्झन्छु । अरु हात्तिसार, इन्जिनियरिङका साथीहरु लगायत मजदुर फाँटमा काम गर्नुहुने एकदुई जना अगुवा कमरेड समेत गरी १५/१६ जना जम्मा भयौं । भूमिगत हिसाबले हामीबीच ‘प्रमोद’ नामले चिनिनुहुने स्थानीय कामरेडले ‘मोटो फ्रेमको चश्मा लगाएको, कालो टोपी लगाई, कांधमा झोला भिरेको आकर्षक व्यक्तित्व लाग्ने’ एकजना अपरिचितलाई हाम्रो अगाडि ल्याएर उहाँनै हुनुहुन्छ हाम्रो पार्टीको प्रवक्ता, भर्खरै खुला हुनुभएको भनेर चिनाउनु भयो । हामी सबैजना हलको बाहिरतिरै रहेर उहाँको प्रतिक्षामा थियौं । सबैसंग उहाँले दह्रोगरी हात मिलाउनु भयो पालैपालोसंग । तत्पश्चात्, हामी सबैजना हलभित्र प्रवेश गर्यौं । सामान्य औपचारिकता पछि उहाँले आफ्नो भनाई राख्न शुरु गर्नुभयो ।

‘कोअर्डिनेशन केन्द्र’ कालदेखि नै क्रियाशील हामी केही युवाहरु हात्तिसार, इन्जिनियरिङ तथा महेन्द्र क्याम्पस आदि अलग अलग क्याम्पसमा कार्यरत भएपनि राजनीतिक निकटताको कारण बेलाबेलामा भेट गर्ने गरेका थियौं । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी (नेकपा माले) भूमिगतबाट भर्खरै खुला गतिविधिमा अभ्यस्त हुँदैथियो । धरान नगर कमिटीमा कार्यरत मध्ये नगर इन्चार्ज मार्फत नगर कमिटी सचिव कमरेड ध्यान बहादुर राई (हाल स्वर्गीय) र मलाई खबर आयो– नेकपा मालेका पार्टी केन्द्रीय प्रवक्ता धरान आउँदै हुनुहुन्छ, प्राध्यापक र बुद्धिजिवीसंग भेट्ने कार्यक्रम छ यो दिनको यति बजे कार्यक्रम तय भएकोले व्यवस्था गरी खबर गर्नुहुन ।

हात्तिसार क्याम्पसको हलमा हामीले कार्याक्रम तय ग¥यौं र सम्भावित सहभागीहरुलाई खबर गर्यौं । प्राध्यापक, बुद्धिजीविहरुको डर अझै भागिसकेको थिएन । तर पनि आउनुहुनेहरुमा महेन्द्र क्याम्पसबाट सरण राई र धनहर्क राईलाई म सम्झन्छु । अरु हात्तिसार, इन्जिनियरिङका साथीहरु लगायत मजदुर फाँटमा काम गर्नुहुने एकदुई जना अगुवा कमरेड समेत गरी १५/१६ जना जम्मा भयौं । भूमिगत हिसाबले हामीबीच ‘प्रमोद’ नामले चिनिनुहुने स्थानीय कामरेडले ‘मोटो फ्रेमको चश्मा लगाएको, कालो टोपी लगाई, कांधमा झोला भिरेको आकर्षक व्यक्तित्व लाग्ने’ एकजना अपरिचितलाई हाम्रो अगाडि ल्याएर उहाँनै हुनुहुन्छ हाम्रो पार्टीको प्रवक्ता, भर्खरै खुला हुनुभएको भनेर चिनाउनु भयो । हामी सबैजना हलको बाहिरतिरै रहेर उहाँको प्रतिक्षामा थियौं । सबैसंग उहाँले दह्रोगरी हात मिलाउनु भयो पालैपालोसंग । तत्पश्चात्, हामी सबैजना हलभित्र प्रवेश गर्यौं । सामान्य औपचारिकता पछि उहाँले आफ्नो भनाई राख्न शुरु गर्नुभयो ।

अन्तर्राष्ट्रिय परिवेश, राष्ट्रिय सन्दर्भ, भर्खरै सम्पन्न पञ्चायत विरोधी संयुक्त जन आन्दोलन, विद्यमान सामाजिक अनतरविरोध र बुद्धिजीविहरुको भूमिका बारे उदाहरण सहित जुन स्पष्ट धारणा राख्नु भयो, उहाँको ज्ञानको गहिराई, वाकपटुता र बुझाउने क्षमताले गर्दा हामी सबै छक्क पर्यौं । करीब दुई घण्टा उहाँले धारा प्रवाह बोल्नु भएपछि, केही समय अन्तरक्रिया भयो । करीब बिहानको साढेसात बजेको हुँदो हो कार्यक्रम शुरु भएको, १० बजेतिर कार्यक्रम सिद्धाएर हामी हल बाहिर निस्कदैं थियौं ।

बाहिर निस्कदै गर्दा प्रवक्ता कमरेडले मतिर लक्षित गर्दै भन्नुभयो, ‘तपाईको र मेरो कतिपय कुरा मिल्छ नि ।’ पहिलो पटक देखेको र भेटेको पार्टीको प्रभावशाली नेता पूर्व परिचितकै पाराले भन्नुभएको त्यो कुरा मैले बुझिन र ट्वाल्ल परेर उहाँको मुखमा हेरें ।

‘नीजि जीवनको कुरा गरेको, बिस्तारै थाहा पाउँदै जानुहुनेछ ।’ मैले अन्दाज लाउन पनि सकिन, के कुरातर्फ इङ्गित गर्दैहुनुहुन्छ उहाँले भनेर ।

बिहानको खानाखाने बेला भइसकेको थियो । म बिजयपुरकै बासिन्दा भएकोले खाना खान घरै जान्थें, लक्ष्मण शर्मा क्वार्टरमा नै बस्नुहुन्थ्यो । हामीले पाहुनालाई खाना यतै खाएर जौं भन्यौं ।

उहाँहरुको ‘बजारमा अरु काम छ र खानाको व्यवस्था तल डेरैमा छ ।’ प्रमोद कमरेडले भन्नुभयो । अनुशासन र जिम्मेवारीमा अभ्यस्त हामीहरुले पनि थप कुरा नगरीकन उहाँहरुलाई बिदा गर्यौं ।

समयक्रममा थाहा पाइयो, नेकपा (माले) भूमिगतबाट खुला हुने कालमा पार्टी प्रवक्ता भनेर हामीसंग चिनिनु हुने उहाँनै पार्टीको महासचिव मदन भण्डारी कमरेड हुनुहुँदो रहेछ ।

२०४५ सालतिर पार्टी भूमिगत नै हुँदा एकदिन विद्या पाण्डे मेरा विद्यार्थी भीष्म चेम्जोंगलाई लिएर धरान, पुरानो बजारस्थित हामी डेरा गरी बस्ने घरमा मेरी श्रीमति विद्या थापालाई भेट्न आउनुभएको थियो । अनेरास्ववियू पूर्वाञ्चल क्षेत्रीय कमिटीको कोषाध्यक्षको रुपमा म विद्या पाण्डेलाई चिन्थें, कमिटी गठन गर्न केन्द्रबाट भीम नेउपाने र म आएको कारणले । विद्या थापा केन्द्रीय तयारी समितिको कोषाध्यक्ष भए पनि विद्या पाण्डेसंगको चिनजान सम्बन्धको बारेमा मलाई केही जानकारी थिएन ।

तिनताका अभ्यास गर्ने गरिएको अनुशासन, मान्यता आदि अनुसार हामी श्रीमान् श्रीमति भए पनि राजनैतिक जिम्मेवारी आ–आफ्नो हुन्थ्यो । आवश्यक सूचनामात्र संप्रेषण गरिन्थ्यो । त्यसैलै दुबैजना विद्या र भीष्म एउटा कोठामा बसेर सल्लाह गर्नुभयो । खाना खाने बेलामा मात्र हामीले संगै खायौं । खाना खाएपछि विद्याजी र भीष्म जानुभयो । विद्याले विद्या पाण्डे पारिवारिक रुपमा सम्बन्धी भएको तथा केही राजनैतिक जानकारी लिन आउनुभएको कुरामात्र मसंग भनिन् । साथै राजनीतिक वृत्तमै उहाँले पनि बिहा गरेको कुरा मलाई सुनाइन । दुवैजनाको माइती भोजपुर भएको कुरा मैले यो हिसाबले अर्थ लगाएँ ।

२०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा माले र माक्र्सवादी एकीकरण पश्चात बनेको नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड मनमोहन अधिकारीलाई पार्टीले सुनसरी क्षेत्र नं १ धरानबाट उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसबाट भूपू सैनिक संघका केन्द्रीय अध्यक्ष आदरणीय व्यक्तित्व श्री इन्द्रहांग लिम्बू हुनुहुन्थ्यो । भूमिगतकालमा स्थानीय पार्टी कमिटी टिकाउने नेतृत्वको जिम्मेवारीमा जनजाति समूहका कमरेडहरु हुनुहुन्थ्यो । बुद्धिजिवी र मजदुर ब्यापारी फाँटमा हामी अन्य जातीय समूहका थियौं । भूमिगत कालको शैली भिन्नै थियो । पार्टी गतिविधी सहज ढंगले चलिरहेको थियो । खुला र एकीकरण पश्चात् बिभिन्न चेतनास्तर र स्वार्थ समूहका व्यक्ति आउनु स्वाभाविक थियो नै ।

चुनाव अभियान व्यवस्थित रुपमा तीब्र गतिमा चलिरहेको थियो । उमेर र कमजोर स्वास्थ्यका बावजूद उम्मेदवार कमरेड श्रद्धेय मनमोहन अधिकारी निर्वाचन कार्यक्रममा सक्रिय रुपमा सहभागी भैरहनुहुन्थ्यो । उहाँको धरानको वासस्थानका लागि धरान, जनपथमा सामान्य कोठाको व्यवस्था गरिएको थियो । बेलुकाको खाना उहाँ डेरामै खानुहुन्थ्यो । नगर कमिटीका उपसचिव स्व. कमरेड कृष्ण नारायण पालिखे र म बढीजसो बेलुका ढिलोसम्म डेरामा बस्थ्यौं र उहाँको सहयोगीलाई राती अध्यक्ष कमरेडको स्वास्थ्यको राम्रो हेरचाह गर्न अह्राइवरी हिड्थ्यौं ।

अकस्मात एउटा गुनासो असन्तुष्टीको रुपमा मुखरित हुँदै पार्टीको नगर कमिटीसम्म आइपुग्यो । ‘यो राई लिम्बू बहुल क्षेत्रमा किन यो बाहुन उम्मेदवार? कांग्रेसले स्थानीय भावनाको कदर गर्दै लिम्बू उम्मेदवार बनाएको छ । जित्ने निश्चित भएको ठाउँमा चैं बाहुन ? हार्ने ठाउँमा मात्रै राई लिम्बू ?’ नगर कमिटीको सचिव स्व. क. ध्यान बहादुर राई हुनुहुन्थ्यो । तत्काल सचिवालय बैंठक बस्यो, एरिया कमिटीसंग समन्वय भयो । जिल्ला कमिटीमा कतिपय नगर, एरियाकै साथीहरु पेशागत क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो, सबै समस्या सम्बोधनका निम्ति लागी पर्यौं । खासगरी जनजाति समूहका जिम्मेवार कमरेडहरु यो भ्रम चिर्न लागी पर्नुभयो ।

हामीलाई मतदाता जोगाउन हम्मेहम्मे  पर्ला जस्तो भयो । विकल्पमा ‘केही जनजातिका सम्मानित सदस्य कमरेडको नाम सिफरिश हुनुपर्यो, उम्मेदवार परिवर्तन हुनुपरो’ भन्ने माग नगर कमिटीमा आउन थाले । ‘अध्यक्षलाई अन्य जुन निर्वाचन क्षेत्रबाट उठाए पनि हुन्छ’ भन्ने कुरा आउन थाले । यो दवाब हामी झेल्दै चुनाव प्रचारमा पनि संगसंगै लागिरहेका थियौं । खासगरी नगर कमिटी सचिव स्व. कमरेड ध्यान बहादुर राईको विवेक र सुझबुझ सराहना नगरी सक्दिन म यो घडीमा । उहाँले यो गुनासोको छनक उम्मेदवारसम्म पुग्न नदिई गुनासो सम्बोधनका लागि हर उपाय गरिरहनु भएको थियो ।

समाधान हाम्रो पकडभन्दा बाहिर जान लागेको महसुस भएपछि हामीले पार्टी केन्द्रीय कार्यालयको सचिवसंग सम्पर्क गर्यौं र समस्याको जानकारी गरायौं । कार्यालय सचिवबाट नगर कमिटी सचिवलाई ‘पार्टी महासचिव कुरा गर्ने रे’ भन्ने खबर आयो । महासचिवले नगर कमिटी सचिव क. ध्यान बहादुर राईलाई भन्नुभयो, स्थायी समिति सदस्य क. के.पी. ओली, इटहरीको कार्यक्रमका लागि आउँदै हुनुहुन्छ उहाँलाई धरानको यो समस्या सम्बोधन गरी आउनु भनिएकोछ, संयोजन गर्नुहोला ।

हामी दिनभर पार्टी कार्यालयमै बसी राख्यौं, स्थायी कमिटी सदस्य के.पी. कमरेडलाई पर्खेर । उहाँ आइपुग्नु भएन । इटहरी कार्यक्षेत्र पर्ने जिल्ला कमिटी सदस्यसंग सम्पर्क गरेर जानकारी लिंदा उहाँ इटहरीको कार्यक्रम सकिवरी झापा लाग्नु भएको थाहा पायौं । समस्या गम्भिरतातिर मोडिदै थियो । उम्मेदवारी पार्टी कमिटीको निर्णय र विषयवस्तु पार्टी अध्यक्ष सम्बन्धीे नै भएकोले गर्दा हाम्रो तहबाट गर्न सक्ने केही थिएन ।

स्वस्फूर्त वा उक्साहट जे भए पनि स्थानीय जनसमुदाय भएकोले गर्दा स्थिति कठीन बन्दै गइरहेको थियो । नगर कमिटी सचिवले महासचिवसंग फेरि सम्पर्क गरेर कमरेड के.पी. ओली धरान नआई झापा जानुभएको जानकारी गराउनु भएपछि महासचिवले अर्का स्थायी कमिटी सदस्य क. भरतमोहन अधिकारी मोरंगको कार्यक्रममा आउँदै गर्नु भएको र त्यो समस्या सम्बोधन गर्न उहाँलाई खटाइएको कुरा बताउनुभयो । भोलिपल्ट पनि हामी दिनभरी पार्टी कार्यालयमै बस्यौ, तर भरतमोहन कमरेड पनि आउनुभएन । ध्यानजीले साँझ नै महासचिवलाई जानकारी गराउनुभयो । महासचिव कमरेडले “लु उहाँहरुलाई पर्खिएर भएन, ढिलो भए कुरो बिग्रन सक्छ । नगर कमिटी र जिल्ला कमिटी समन्वय गरेर हल निकाल्नुस्, केन्द्रको अख्तियारी तपाईहरुलाई भयो यो समस्या हल गर्नमा’ भन्नुभयो ।

राती नै हामीले जिल्ला कमिटीको उपसचिव कमरेड वंशी मोक्तानसंग समस्या राख्यौं, उहाँले धरान क्षेत्र हेर्नुहुन्थ्यो र मजदुर फाँट । अघिल्लो पुस्तादेखि नै उहाँको परिवार धरानको वाम राजनीतिमा राम्रो प्रभाव जमाएर बसेको थियो । बसोबास र सम्पर्कको हिसाबमा ध्यानजी र वंशी कमरेडको क्षेत्रमा धेरै भोट थियो । दुई तीन दिनको सघन छलफल, अन्तरक्रियामा हामीले त्यो भ्रम वा उक्साहट सिर्जित अन्यौल चिर्न सक्यौं । महासचिव कमरेड मदन भण्डारीको समस्याको गम्भिरता बुझ्न सक्ने तथा तत्काल सही निर्णय लिन सक्ने क्षमताले २०४८ सालको आम निर्वाचनमा एउटा सम्भावित दुर्घटनाबाट पार्टी बचेको ठान्दछु म ।

तत्कालै एकजना वरिष्ठ पत्रकार, तीनताका सबैभन्दा बढी बिक्ने पत्रिकाका प्रधान सम्पादक तर गैर वामपन्थी बिचारधाराका बौद्धिक व्यक्ति धरान आउनुभयो, महासचिव कमरेड मदन भण्डारीले पठाउनुभएको भनी, उहाँको उद्धेश्य कमरेड मनमोहन अधिकारीको अन्तर्वाता लिएर आफ्नो छापामा प्रकाशित गर्ने रहेछ । नेकपा एमालेका तत्कालीन महासचिवको सुझबुझपूर्ण सोच अनुसार सत्तारुढ नेपाली कांग्रेसका अध्यक्ष तत्कालीन प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराई र नेकपा एमालेका अध्यक्ष स्व. मनमोहन अधिकारी दुबैलाई संसदमा पठाउन पाए प्रजातन्त्र दीगो हुने र परिपक्व नेतृत्वको उपस्थितिमा संसदको गरीमा पनि बढ्ने आसय अन्तर्वाताको दौरान हामीले थाहा पायौं । दुबै निर्वाचन क्षेत्रमा तालमेल मिलाउने प्रयत्न अन्तगर्तको रणनीतिक योजनामा सहभागी भएर ती पत्रकार धरान आउनुभएको रहेछ । नेपाली कांग्रेसको अदुरदर्शी सोच र काठमाडौं क्षेत्र नं. १ मा किसुनजीको जीत भइहाल्छ भन्ने शक्तिको गलत आंकलनले त्यो समझदारी सफल हुन नसकेको इतिहासको कालखण्डमा पछि थाहा पाइयो ।

२०४९ लाग्दा नलाग्दै म पढ्न फिलिपिन्स गएँ । २०५० जेठको पहिलो साता थियो नेपाली क्यालेण्डर अनुसार, सान्टा भेरोनिका स्थित फिल्डबाट प्रयोगशालाको नमूना बोकेर म विश्वविद्यालय रहेको शहर लस बनोस फर्किएको थिएँ । साँझ एकजना कोइराला थरकै नेपाली दाइसंग भेट भयो । ‘कोइराला भएर पनि तिमी कसरी वाम समर्थक भएका’ भनेर उहाँ मलाई जिस्क्याइरहनु हुन्थ्यो । उहाँले ‘मदन भण्डारी दुर्घटनामा परेको’ कुरा भन्नुभयो । ‘जिस्किने अरु विषय पाउनु भएन दाइ तपाइले ?’ भनी मैले जवाफ फर्काएँ । उहाँले समाचार अनुसारको विवरण बताउनु भयो बिबिसी सेवालाई उध्दृत गर्दै। मैल अविश्वास गर्ने ठाँउ रहेन ।

म पढ्ने विश्वविद्यालयमा कम्युनिष्ट गतिविधी प्रतिबन्धित थियो । मेरो कक्षाका केही सहपाठी लगायत चिनियाहरुको भने विश्वविद्यालय स्तरीय पार्टी कमिटी नै थियो भूमिगत तहमा । उनीहरुले केही सामाजिक कार्यक्रममा मलाई बिगत केही महिनादेखि सहभागी गराउन थालेका थिए । तिनै सहभागी मध्ये मेरो फिल्डमासंगै रहेकी एकजना चिनिया सहपाठीलाई त्यो घटना सुनाएँ । त्यही साता दक्षिण अफ्रिकाका कम्युनिष्ट पार्टीका महासचिव क्रिस हनीको पनि हत्या भएको थियो । मेरा चिनिया सहपाठी संलग्न भएको स्थानीय विश्वविद्यालय स्तरीय पार्टी कमिटी नेपालको कम्युनिष्ट आन्दोलन बारे राम्रो जानकार रहेछन् । एकै साता विश्वले दुईजना होनहार कम्युनिष्ट नेता गुमायो भनी उनीहरुले मसंग दुख मनाउ गरे । विश्व कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने भनी स्व. कमरेड मदन भण्डारीको नाममा ती चिनिया कम्युनिष्ट मित्रहरुसंग मिलेर श्रद्धाञ्जली अर्पण गर्यौं ।

पछिल्लो हप्ता घरबाट पाएको श्रीमति विद्याको चिठीमा दुर्घटना लगायत श्रद्धाञ्जली सभाको विस्तृत बिवरण लेखिएको थियो । मलाई भने नेकपा माले खुला भएपछि दुई तीन वर्ष अघि पार्टी प्रवक्ताले हात्तिसार क्याम्पसको हलबाट निस्किदै गर्दा भन्नुभएको ‘निजी जीवनमा तपाईको र मेरो कतिपय कुरा मिल्दाजुल्दा छन्’ भन्नुभएको कुराको अर्थ यतिखेर मात्र बल्ल खुल्दै थियो । म र उहाँ दुबैको नाम मदन, मेरी श्रीमतिको नाम पनि विद्या, मेरो ससुराली पनि भोजपुर शायद यस्तै कुरालाई लिएर उहाँले त्यो भन्नुभएको होला भन्ने लख काट्न थालें । उहाँकै झैं सादा जीवन र इमान्दार शैलीमा जीउने प्रयत्न हो मेरो पनि । मलाई अहिले पनि आश्चर्य लाग्छ– उहाँले हेक्का पनि कतिसम्म राख्न सक्नुभएको, तत्कालीन अवस्थाको सबैभन्दा ठूलो राजनीतिक पार्टीको एउटा महासचिव, सङ्गठक, दार्शनिक चिन्तकले आफ्ना हरेक कार्यकर्ता, शुभेच्छुक, समर्थकहरुका बारेमा । हामी सबैको आशाको पुञ्जलाई नियतिले असमयमै चुँडेर लग्यो । मिल्ने भएको भए आफ्नो जीवनका बाँकी केही वर्ष म उहाँलाई दिन पनि तयार थिएँ । त्यही आदर्शको पुञ्जलाई अहिले भने हार्दिक श्रद्धा सुमन ।

Facebook Comments