घूस-कुम्भ
कविता (छन्द: शार्दूलविक्रीडित)
साह्रै दोहनले डसे मुलुक नै पारे उछित्तो भनी
सच्चा कर्मठ देशभक्तजनले छारष्ट पारे अनि
आँखामाथि फुलो परेछ बिचरा हेर्ने उनैको पनि
थाले केवल ढाकछोपतिर नै निर्लज्ज साह्रै बनी॥१
कविता
मान्छे बस्न पुगे विशेष पदमा टिक्दैन चोखो कुनै
सारामाझ अहो ! गनाउन पुगे झैँ वृद्ध बोको उनै
पैसाको त कुरै भएन हसुरे छोपेर पोको सुनै
थाले चुस्न जुका बनेर जनता राखेर भोको खुनै॥२
जालो तीव्र बढेर न्याय पथमा पर्दै गयो ओझल
नेता उच्च र राष्ट्रसेवक कयौँ फस्दैगए यो पल
चोखो को छ यहाँ खुलेर भन लौ हेरेर ऐना तल
राखी उत्तम धर्मग्रन्थ शिरमा छोएर गङ्गाजल॥३
काण्डैकाण्ड बनेछ चाङ घूसको ती धूर्तकै नाममा
बिक्रीमा र खरिदमा टिकटमा निर्माणमै आममा
यो नेपाल नयाँ बनाउन भनी लाग्दैन क्वै काममा
छोडी धर्म बडो अजिङ्गर बनी लागे सबै हाममा॥४
थैलैचोर मुसै छ चोर कसरी यो देश बन्ला भन
थाले बस्न मिलेर भ्रष्ट कन नै जोडेर घाँटी झन
भण्डाफोर गरौँ मिलेर दुनियाँ यी राष्ट्रद्रोही कन
साह्रै दुर्दुर औ निषेधित गरौँ सम्झेर पापी जन॥५