परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कान्तिपुरबाट तेस्राे निस्कासित र पहिलो सरुवा!

हामी कान्तिपुर दैनिकबाट विदा हुने भयौं । कान्तिपुर छाड्ने बेला आइसकेको थियोे । त्यसैताका सप्तरीमा कार्यरत कान्तिपुरका सम्बादाता श्रीलाल साहजी सम्बन्धित एउटा घटना भयो । कुरो के परेछ भने – वन सम्बन्धि एउटा विषय आइलागे छ । श्रीलालजीले वन हाकिमसँग वार्गेनिङ गरेर केही रकम लिनु भए छ । रकम लिएको बारेमा वन हाकिमले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष हेमराज ज्ञवालीलाई श्रीलालजीसँग भएको घटना सुनाएर कारबाही गर्न अनुरोध गर्नु भए छ । यो घटना सँगसँगै जस्तो र यही प्रकारको घटना जनकपुर (धनुषाका सम्बादाता ) ले पनि गर्नु भए छ । त्यहाँ भने मालपोत हो वा नापीका हाकिमसँग लेनदेनको कुरा चले छ । हाकिम परेछन् ज्ञवालीजीको आफन्त । ज्ञवाली समक्ष दुवैले रिपोर्ट गरेछन् । यही विषयमा कुरा गर्न ज्ञवालीजीले चिफ रिपोर्टर तीर्थ कोइराला र मलाई आफ्नो चेम्बरमा बोलाउनु भयो ।

हामी पुगेपछि ज्ञवालीजीले सोफामा बस्ने इसारा गर्दै कुराको थालनी गर्नु भयो । उहाँले “कान्तिपुरका पत्रकारले मेरै आफन्तसँग रकम मागेर हैरान गरेका छन् । तपाईंहरू मेरै आफन्तले घुस खायो भनेर समाचार छाप्तै हुनुहुन्छ थाहा छ कि छैन्” भनेर सोध्नु भयो । अनि मैले सम्झेँ अघिल्लो दिन जनकपुरको समाचार छापिएको थियोे । तीर्थजीले बडो निर्भीक भएर “अध्यक्ष ज्यु अब हजुरका आफन्त हाकिमहरूको एउटा लिष्ट बनाएर न्यूज रुममा टाँस्नु पर्छ । नत्र हामी जस्ता पत्रकारले भ्रष्टाचार गर्ने तपाईंको आफन्त हो कि होइन कसरी थाहा पाउने” भन्नू भयो । ज्ञवालीजीले त्यसलाई नजरअन्दाज गर्दै श्रीलालजीले रकम लिएको विषय उठाउनु भयो । श्रीलाललाई बिदा गर्नै पर्ने निर्णय साथ त्यो दिनको हाम्रो बैठक सकियो ।

सायद त्यसको ३/४ दिनपछि होला श्रीलालजी कान्तिपुरको कार्यालय आएर आफूलाई ननिकाल्न अनुरोध गर्नु भयो । श्रीजीले “वन हाकिमले आफ्नो खल्तीमा जबर्जस्ती रकम हालिदिएको हो” समेत भन्नू भयो । तीर्थ कोइराला, श्रीलालजी र मेरो बीचमा लामै कुराकानी भयो । तीर्थजीले “हामी दुवै जनाले रोक्न सक्ने ठाउँ नरहेको स्पष्ट पार्नु भयो । मैले ज्ञवालीजीको निर्देशन अनुसारको अवकाश पत्र तयार गरेर दिन खोजे । श्रीलालजीले लिन मान्नु भएन । अवकाश पत्र नबुझे पनि “अब समाचार छापिदैन” भन्ने कुरो श्रीलालजीले बुझ्नु भएको थियोे । तीर्थजीले धेरै सम्झाए पछि सायद वकिलसँग सल्लाह गरेर रुदैरुदै श्रीलालजीले अवकाश पत्र बुझ्नु भयो । तीर्थजी र मलाई यो घटनाले “पत्रकार राख्दै नराख्नु राखि सकेपछि ननिकाल्नु भन्ने अर्को पाठ पढायो ।

मैले श्रीजीलाई आफ्नै हस्ताक्षर भएको अवकाश पत्र थमाउदै गर्दा श्रीलालजीले गल्ती गर्नु भएकै हो भन्ने जान्दा जान्दै पनि पछि सहयोग गर्न सक्ने ठाउँ रहे गरौला भन्ने वचन दिए । पछि पनि श्रीलालले मलाई दैनिक जसो भेट्नु हुन्थ्यो । गुनासो गरिरहनु हुन्थ्यो । उहाँको गनगन र गुनासो अनन्त थियो । सायद दैनिक जसो त्यही अनन्त गुनासो र बिलौना सुन्नु नपरोस् भनेर नै होला उहाँका लागि थुप्रै वटा टुक्रे काम खोजी दिए । धेरै जसो समय रघु मैनाली, घनेन्द्र ओझा, भुपराज खड्का, जीवनाथ खनाल, कृष्ण लामिछाने साथै म लगायत अन्य पत्रकार अनामनगरतिर हुन्थ्यौ । श्रीलालजी पनि प्रायःजसो आइ पुग्नु हुन्थ्यो । र, सँगै बसेर गफिदै खाजा खान्थ्यौ ।

कान्तिपुर दैनिकले धेरैलाई पत्रकारिता सिकायो । जीविकोपार्जनका लागि बाटो देखायो । कसैले माने पनि नमाने पनि छापा पत्रकारिता क्षेत्रमा कान्तिपुर कोशे ढुङ्गाका रुपमा स्थापित भयो । यश संस्था भित्र आफ्नै कथा, व्यथा,पीडा, आक्रोश साथै राम्रा र नराम्रा पक्षहरू लुकेका छन् । मलाई लाग्छ यश कान्तिपुर दैनिकले पत्रकारिता क्षेत्रको एक कालखण्डको इतिहास समेटेको छ । देखिएकै छ कसैलाई यसले धुरी चडाएको छ भने कसैलाई पाताल भसाएको छ । कान्तिपुरका बारेमा धेरैले थुप्रै कोणबाट लेख्न सक्छन् । इतिहास नबङग्याई लेख्ने हो भने यसका राम्रा पक्षहरू धेरै छन् । तर, कान्तिपुर दुधले धोएर सफा पारिएको संस्था होइन । यो नाफा कमाउन खोलिएको संस्था हो । यश कारण यो आफैमा निर्दही र निरंकुश छ ।

फेरि जाउँ आफ्नै विषयतिर ! हामीले कान्तिपुर छाड्नु पर्ने भयो । तीर्थ कोइराला, नारद वाग्ले (भारध्वज), राजेश घिमिरे, कसमस विश्वकर्मा, विशेश्वर कट्टेल लगायत १६/ १७ जना पत्रकारले कान्तिपु र काठमाडौं पोष्टबाट राजिनामा दिनु हुने भयो । सायद २०५२ साल पुस महिनाको मध्यतिर होला यो घटना भएको । कान्तिपुरलाई टक्कर दिन “श्री सगरमाथा”  भन्ने दैनिक पत्रिका आउदै छ भनेर हल्ला गरियो । यस्तै हल्ला भई रहेको समयमा म एउटा कार्यक्रममा पुगें । त्यहाँ तत्कालीन एमाले नेता हाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले मलाई भेट्नु भयो । उहाले “के हो ! कान्तिपुर छाड्ने कुरा चल्दै छ अरे । तपाईं चाहिँ नछाड्नु, त्यही बस्नु । एकजना भए पनि त्यहाँ चाहिन्छ” भन्नू भयो ।

एमालेका अन्य नेताहरूले कान्तिपुरमा राजिनामा दिएर तुरुन्त श्री सगरमाथामा जानू भनिरहेको अवस्थामा केपी शर्मा ओलीले त्यसो भन्दा मलाई अलि अनौठो लागेको थियो । मैले समय घर्किएपछि महसुस गरे । पछि थाहा भयो र उहाँले भनेको नमानेकोमा पश्चाताप पनि भयो । उहाँले एमालेको समाचार लेख्ने एक जना मात्रै भए पनि कान्तिपुरमा रहदा राम्रो हुन्छ भन्ने ठान्नु भएको रहे छ । एक त जागिर लामो समयसम्म रहने अर्कोतर्फ एमालेको समाचार पनि लेखिने उहाँले सोचेरै मलाई भन्नू भएको रहेछ । तर म कान्तिपुरमा बसिन । सायद २०५२ साल पुसको अन्तिम दिन कान्तिपुर पब्लिकेसन्सले बडो मुस्किलले मेरो राजिनामा स्वीकृत गरेको थियोे । म त्यही दिन देखि श्री सगरमाथा दैनिकको पत्रकार भए ।

कान्तिपुरमा काम गर्दा मेरो सब भन्दा नजिकको साथी हुनुहुन्थ्यो दिलभुषण पाठक । धेरै नबोल्ने ठिक्क बोल्ने कसैलाई भनी नबिझाउने । उहाँसँग मोटर साइकल थियोे । सायद उहाँ सुकेधारातिर बस्नु हुन्थ्यो । दिलभुषण चावहिल हुँदै आएर प्रायःजसो मलाई लिएरै कान्तिपुर जानुहुन्थ्यो । एक त मन मिल्ने साथी अर्को खरर्र मोटर साइकलमा अफिस पुग्न पाइने । मलाई यही नै सुनमा सुगन्ध थियोे । अब मैले कान्तिपुर छाडेर हिडेपछि भने हामीलाई सँगै जान थोरै समस्या भयो । तथापि अफिस त्यति टाढा थिएन सँगसँगै जस्तो जान्थ्यौ । तर, हाम्रो यो क्रम धेरै समय टिकेन । सायद २०५३ साल लाग्ने बेलामा हुनुपर्छ दिलभुषणजीलाई कान्तिपुरले हुत्त्याई दियो । अर्थात उहाँलाई कान्तिपुरले मध्य पश्चिमाञ्चल नेपालगन्ज सरुवा गरिदियो ।

रोज्जा पत्रकार १६/१७ जनाले राजिनामा दिएर श्री सगरमाथातिर गएपछि कान्तिपुर निराश र रुष्ट बनेको थियो । कतै कान्तिपुर बन्द नै हुने त होइन भन्ने अवस्था आइसकेको थियोे । तर, त्यसो भएन । कान्तिपुरमा काम गर्न लालायित बजारमा थुप्रै पत्रकार थिए । उनीहरू मध्य कान्तिपुरले फाट्टफुट्ट छान्दै राख्दै गरेको थियोे । यसपछि भने कान्तिपुरले “यूज एण्ड थ्रो” को नीति अवलम्बन गर्न थाल्यो । मलाई लाग्छ दिलभुषणजीलाई श्याम गोयन्काले स्थायी नियुक्ति दिएकाले सरुवा मात्र गर्यो । अस्थायी अथवा करार भएको हुन्थ्यो भने उहाँलाई निस्कासन गर्ने थियोे । नसकेर मात्र  पूर्व झापाको पत्रकारलाई मध्यपश्चिमको नेपालगन्ज त्यो पनि माओवादी प्रभावित क्षेत्रमा दुरासययुक्त सरुवा गरेको हो ।

मलाई लाग्छ कान्तिपुर पत्रिकाबाट सरुवा हुने पहिलो पत्रकार दिलभुषण नै हुनुहुन्छ । यसपछि भने कान्तिपुरले मनचाह निस्कासन, अपायक सरुवा, सेवा सुबिधा र तलब दिन ढिलाइ गर्न थालेको हो । पहिलो पीडादायी सरुवामा पर्नु भएका पत्रकार दिलभुषण पाठकले पहिलो राजिनामा कहिले दिनु भयो मलाई थाहा भएन । उहाँले छाडेर पनि  बिच बिचमा कान्तिपुर टेलिभिजनको प्रमुखको रुपमा नियुक्ति पाइरहनु भएको थियो । हालसालै पनि दिलभुषणले कान्तिपुर टेलिभिजनबाट राजिनामा दिनु भयो भन्ने समाचार आइरहेको छ । विभिन्न सञ्चार माध्यममा पत्रकार आउने जाने र पुनः आउने जाने घटनालाई अहिले स्वभाविक मान्न थालिएको छ । दिलभुषणजी पनि यही पेरिफेरिमा पर्नु हुन्छ जस्तो लाग्छ । यिनै कारणले हुनुपर्छ आफूलाई निकै खुलस्त छु भन्ने कतिपय  वरिष्ठ पत्रकार पनि आफूले काम गरेको सञ्चार माध्यमले दिएको पीडा पनि खुलेर भन्न सक्तैनन् ।

फेरि त्यही संस्थामा जागिर खान जाइन्छ कि भन्ने दुब्लो आश बोकेर बसेका पत्रकार थुप्रै छन् । मैले तत्कालीन  र वर्तमानमा कान्तिपुरबाट बाहिर रहनु भएका आवश्यक पत्रकारसँग फोन सम्पर्क गरेको थिए । उहाँहरू मध्य धेरै जसो खुलेर बोल्न सक्नु भएन । मैले लगातार ५/६ वटा लेख कान्तिपुरसँग सम्बन्धित नै लेखे । यसले पनि कतिपय पत्रकार मित्रलाई अप्ठ्यारो बनायो होला । तर, मेरो उद्देश्य भनेको पत्रकारिता क्षेत्रमा भएको सत्य कुराहरू नलुकाइयोस भन्ने मात्र हो । अहिलेसम्म कान्तिपुरको वरिपरिको थोरै कुराहरू लेखियो । अब मैले पहिले प्रतिबद्धता जनाए अनुरुप क्रमशः श्री सगरमाथा, स्पेसटाइम, गोरखापत्र र साप्ताहिक पत्रिकाहरूमा भोगेका सत्य घटना लेख्नु पर्छ । अन्यथा यो लेख पढ्ने पाठकलाई खल्लो लाग्ने छ ।

केही पत्रकार मित्रलाई म “तपाईं र मैले” काम गरेको पत्रिकामा भएका घटनाका बारेमा पनि लेख्छु भनेर सुनाउदा उहाँ त्यसै ततर्किनु भयो । केहीले आचारसंहिताको ख्याल गर्न र कसैले भयो अब नलेख्नु जुन थालमा खायो त्यही थालमा छेड पार्नु हुदैन भन्नू भयो । जे होस् म लेख्न छाड्ने छैन । किन कि मलाई लोभ छैन । कसैको व्यक्तिगत कुरा लेख्दिन । पत्रिकामा नछापिनुपर्ने तर छापिएका झुठा समाचार र यस्तो झुठो नछापौ भन्दा पनि छाप्ने पत्रकारका बारेमा भने नधकाई लेख्ने छु । हवस्त अर्को लेखमा भेट्ने छु ।  नमस्कार  धन्यवाद ।

Facebook Comments