परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

थाङपालकोटमा फोहोरमैला व्यवस्थापन

सिन्धुपाल्चोक जिल्लाको थाङपालकोटका बाटा सफा छन् । गाउँको परिचय मानिने फोहोर यहाँ देखिंदैन । महिनामा दुई पटक सरसफाइ अभियान चलाउने गरिएको छ । जम्मा भएका नकुहिने फोहोरमैला जतिलाई नजिकै रहेको संकलन केन्द्रको घरमा राखेर छुट्याउने गरिएको छ ।

फोहोरमैला संकलन केन्द्रका लागि नीलो टिनले छाएको चिटिक्क परेको घर छ । त्यस घरमा बोरामा भरेर सामान राखिएका छन् । फुटेका प्लास्टिकका कुर्सी, बियरका खाली बोतल, पुराना सुटकेस, लुगाकपडालाई अलग अलग गरेर राखिएको छ ।

थाङपालकोट फोहोरमैला व्यवस्थापन समितिको जिम्मामा रहेको संकलन घर २१.५ फिट चौडा र ४३.५ फिट लम्बाइको छ । ग्रामीण विकास संघ नेपाल (आर्सो नेपाल) को सहयोगबाट यो घर बनेको हो ।

आँटे नहुने के पो छ र ? अरू ठाउँहरूमा देखिने जस्तो प्लास्टिक, सीसा जस्ता सामान यहाँका बाटामा देखिंदैनन् । गाउँघर भनेपछि फोहोर हुन्छ भन्ने सोच यहाँबाट भने हराउन थालेको छ ।

थाङपालकोट फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर (सुदर्शन) सापकोटाले फोहोरमैलाबारे जनचेतना बढेको, फोहोरमैला बाल्ने, खोला–खोल्सामा फाल्ने क्रम घटेको जानकारी दिनुभयो ।

काठमाडौं पुग्दा जताततै फोहोर देख्दा दिक्क मान्ने उहाँ भन्नुहुन्छ– फोहोरमैला व्यवस्थापनको काम गरेकाले होला काठमाडौंमा त बस्नै मन लाग्दैन । जताततै फोहोर देखिन्छ ।

आर्सो नेपालको पहलमा फोहोरमैलाविहीन गाउँ बनाउने क्रम चलिरहेको छ । यस काममा वडा कार्यालयले पनि सघाएको छ । पालिका र वडाले यो काम गरे हुने सुझाव अध्यक्ष सापकोटाको छ ।

यतिबेला गाउँबाट निस्कने फोहोरमैला एकठाउँमा जम्मा हुनथालेको छ । फोहोरमैला संकलनका लागि स्थानीय दाजुभाइ कृष्णप्रसाद र रत्नप्रसाद श्रेष्ठले २० वर्षका लागि दिनुभएको जग्गामा घर बनाइएको छ ।

आर्सो नेपालले ट्रसको घर बनाइदिएको केन्द्रमा फुटेका सीसा, बोतल जस्ता काम नलाग्ने फोहोरमात्र आउने गरेको, बिक्ने प्लास्टिक, फलाम, आल्मुनियम जस्ता फोहोर व्यक्तिले आफैं बेच्ने गर्दै आएको पाइन्छ ।

महिनाको एक पटक साविकका वडाहरूबाट फोहोरमैला व्यवस्थापन समितिले फोहोर संकलन गरी केन्द्रमा पुर्‍याएर फोहोरलाई छुट्याउने गरेको छ । पुन: प्रयोग हुने फोहोरलाई केन्द्रमै राखी पुन: प्रयोग नहुने फोहोरलाई डम्पिङसाइटमा बिसर्जन गर्ने गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउपालिका वडा नं. ३ को भोताङ, ४ को थाङपालकोट, ५ को गुन्सामा फोहोर व्यवस्थापनको काम भइरहेको छ । यस्तै योजनाका लागि वडा नं. ६ थाङपालधापमा पनि भवन निर्माण हुँदैगरेको आर्सो नेपालका सामाजिक परिचालक मनोज पौड्यालले जानकारी दिनुभयो ।

काममा नआउने फोहोरमैला विसर्जन (डम्पिङ) गर्न मोहनबहादुर श्रेष्ठले जग्गा दिनुभएको छ । थाङपालकोट ढुङ्गा बढी पाइन्छ । माटो ज्यादै कम । त्यसैले आफ्नो जग्गामा तल फोहोर रखेर माथिबाट माटोले पुरेर अलैंची खेती गर्ने सोच श्रेष्ठको छ ।

फोहोररहित गाउँ बनाउने आफ्नो उद्देश्यका लागि आर्सो नेपालले थाङपालकोटको समितिलाई मात्र १४ लाख ८६ हजार रुपियाँ सहयोग गरेको छ । स्थानीय बासिन्दाले १ लाख ३१ हजार ४३५ रुपियाँ बराबरको श्रमदान गरेका छन् ।

आईजीआरपीका कार्यक्रम संयोजक हर्क तामाङका अनुसार आर्सो नेपालले चार महिनाका लागि प्रतिमहिनाका लागि १० हजार रुपियाँ उपलब्ध गराएको छ । यो रकम फोहोरमैला संकलन गर्ने, छुट्याउने काममा खर्च हुन्छ ।

आर्सो नेपालले फोहोरमैलाबाट ब्रिकेट बनाउने, त्यसको व्यवस्थापनलगायतका तालिम दिएको छ । त्यससँगै गमबुट, ड्रेस जस्ता सहयोगी सामग्रीका साथै फर्निचर सहयोग गरेको छ ।

स्थानीय उपभोक्तले फोहोरमैला व्यवस्थापनसम्बन्धी अवलोकन भ्रमण गर्ने अवसर पाएका छन् । ब्रिकेट बनाएर नमुनासमेत प्रदर्शन गरिसकेका छन् । स्थानीय वासिन्दा, विद्यार्थीसमेतको सहभागितामा नियमितरूपमा सरसफाइ अभियान सञ्चालन हुनेगरेको छ ।

थाङपालकोट फोहोरमैला व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सापकोटाको अनुभवमा होटल र पसलबाट बढीमात्रामा फोहोर निस्कने गर्छ । सुन्दर, सफा थाङपालकोट बनाउन महिनामा दुई पटक फोहोरमैला संकलन गरेर गाउँ सफा, वातावरण, पर्यटन, समुदायको आय आर्जनमा समेत जोड्न सकिने धारणा उहाँको छ ।

फोहोरमैला व्यवस्थापनका लागि ब्लु वेस्ट टु भ्यालु भन्ने संस्थाको सहजीकरण गरेको छ । उसले ग्रामीण फोहोरमैला व्यवस्थापनको नमूना तयारी र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

साविक थाङपालकोट गाउँ विकास समितिका ९ वटै वडाको फोहोर संकलन गरे सफा गाउँ बनाउने लक्ष्य रहेको अध्यक्ष सापकोटा सुनाउनुहुन्छ । स्थानीयसँग नियमित रमक उठाउने गरिएको छैन । दीर्घकालीन समाधानका लागि भने रकम उठाउनु आवश्यक रहेको धारणा उहाँको छ ।

अध्यक्ष सुदर्शन सापकोटले समुदायमा नकारात्मक सोच पनि पाएको सुनाउनुभयो । कसै कसैले त ‘मेरो घरमा फोहोर छ, उठाएर लग’ जस्ता नकारात्मक कुरा गरेको जानकारी उहाँले दिनुभयो ।

आफ्नो घरको फोहोर आफैंले व्यवस्थापन गर्नुपर्छ भन्ने भावना जाग्न थालेको उहाँलाई लागेको छ । छुट्याउने क्रम बढेको छ ।

घरबाट निस्कने फोहोरमध्ये कुहिनेलाई मलखाडीमा राखेर मल बनाउने, प्लास्टिक र सीसालाई जस्ता नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्ने, डाइपरहरूलाई खाल्डो खनेर पुरिदिने गरिदिए फोहोरमैला व्यवस्थापन भइहाल्ने सुझाव उहाँको छ ।

साभार : सफलताको कथा

Facebook Comments