परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

व्यवहारवादका हस्ती हेडसरलाई पत्र

आदरणीय हेडसर,

मैले विद्यालय छोडेको ३५ वर्ष बितिसक्दा तपाईंलाई आज अचानक पत्र लेख्न मन लाग्यो । प्रारम्भमै एउटा कुरा प्रष्ट्याउन चाहन्छु। पढ्दा यो पत्र नकारात्मक लागे तापनि समग्रमा मैले तपाईंलाई गलत र कमजोर देखाउने ध्येय राखेको होइन । यो मेरो संस्मरण एउटा रमाइलो वास्तविकता र इतिहासको द्योतक बनोस् भन्ने इच्छामात्र छ । 

मेरो अचेल विद्यालयस्तरमा कार्यरत शिक्षकहरूसँग साक्षात्कार भइरहन्छ । विश्वविद्यालयको सामुदायिक संलग्नता कार्यक्रम अन्तर्गतका केही पहलहरूमा म पनि सहभागी हुने गरेकाले विभिन्न ठाउँका सामुदायिक र संस्थागत विद्यालयहरूमा पुगेको हुन्छु । त्यही अवसरमा आफूले बाल्यकाल र किशोरावस्था पार गरेको गाउँको त्यो विद्यालय र आफ्ना गुरूहरूको सम्झना आइरहन्छ । 

सामुदायिक विद्यालयमा आफू पढ्दाताकाको सिकाइ पद्धति र शैक्षिक वातावरण अहिलेको सँग तुलना गर्छु, खासै अन्तर देख्तिनँ । यत्ति हो, अहिले भने विद्यालयभित्रको भन्दा बाहिर समाजको स्थितिका बारेमा बढी जानकारी राख्ने हैसियत छ र सिकाइका केही नयाँ पद्धतिहरूको ज्ञान पनि छ । यसैकारण, उसबेला तपाईंले हेडसरको रूपमा त्यो ग्रामीण विद्यालयको नेतृत्व गरिरहँदा, त्यही सीमित स्रोत-साधनद्वारा नै कसरी अझ प्रभावकारी शिक्षा दिने वातावरण बन्न सक्ने रहेछ भन्ने पक्षलाई जोड दिँदै यो पत्र लेखेको हुँ। 

उसबेला प्रधानपञ्च, उप-प्रधानपञ्च र वडा-अध्यक्षहरूको दबदबा अनि शिक्षाप्रति खासै जागरूक नभएको ग्रामीण परिवेशमा एउटा विद्यालय चलाउनु तपाईंका लागि पक्कै कठिन थियो होला । नयाँ नयाँ व्यक्तिहरू पढाउन आउने र केही समयपछि विद्यालयबाट हराउने हुँदा सायद राम्रा शिक्षक पाउन र टिकाउनै हम्मे हम्मे थियो होला । यसरी झुलुक्क झुल्किएर अस्ताउने शिक्षकहरू कति नै पारंगत थिए होलान् र ? शिक्षण तालिम कस्तो थियो होला ? हामी बबुराहरूलाई राम्रो पढाउनु भनेको नै के हो थाहा थिएन । राम्रो भनेको सायद डर-त्रासबिनाको, हाँसो र उमंगले भरिएको रमाइलो वातावरण हुन सक्थ्यो । शिक्षकले लठ्ठी नदेखाई दिँदा, जोड्ले नहकार्दा वा माया गरेर सम्झाउँदा पनि त हुने थियो होला नि ! तर गल्ती नगर्दा, सही काम गर्दा वा केही नगर्दा, सबै परिस्थितिमा शिक्षकको किन व्यवहार उस्तै उस्तै हुन्थ्यो ? यस्तो लाग्थ्यो, हाम्रो दिमाग हरेक पल खाली हुन्थ्यो र शिक्षकहरू त्यसमा गालीबाहेक केही अद्वितीय ज्ञानगुन पनि हालिरहन्थे । हामी र हाम्रा बा-आमाले चुपचाप शिक्षारूपी संजीवनी बुटी त्यही रीतले ग्रहण गर्नुथियो र गर्थ्यौं पनि । 

केही आफूलाई चित्तमा बिझेका विषय पनि उल्लेख गरिहालौं । हामीलाई जानेर पनि सुख थिएन, नजानेर पनि सुख थिएन । म एउटा हास्यास्पद सजायँ सम्झिरहन्छु – आफूले सही उत्तर दिएमा नदिनेको कान निमोठ्नु पर्ने । यसरी अनाहक नजिकका २०-२५ जना साथीको कान निमोठेर शत्रु बनाउनुभनेको त्यति नै गुना बढी सजायँ भोग्नुपरे जस्तो लाग्थ्यो । योभन्दा त नपढी, नजानी स्कूल जानु ठीक लाग्थ्यो । पाठ घोक्नु र हुबहु वाचन गर्न सक्नु कस्तो विद्वता हुन्थ्यो होला, अनि घोकेर बुझाउन नसक्नु कस्तो मूर्खता ! पाठ बुझाउन नसक्ने साथीहरू प्राय: राई, लिम्बू, मगर वा दलित समुदायकाहरू हुन्थे र बुझाउन सक्ने बाहुन वा क्षेत्रीहरू । नसक्नेहरू घरमा पढ्ने-लेख्ने प्रेरणादायी वातावरण नभएकै कारण सक्तैनथे होला । यसरी शिक्षकले नजानिंदो पाराले विद्यार्थीको वर्गीकरण गरिदिन्थे र एक-अर्कामा सदभावको सट्टा कटुताको सम्बन्ध बनाइदिन्थे । 

तपाईं  हेडसरकै पनि शासन कम कडा थिएन । अरू बेला नपढाए पनि कहिले काहीं अचानक कक्षामा छिरेर माने (शब्दको अर्थ) सोध्न थाल्नुहुन्थ्यो । जानेन भने डस्टरले ट्वाक्-ट्वाक् टाउकोमा ठोक्दै हिंड्नुहुन्थ्यो । यो कस्तो सिकाइ पद्धति थियो ? हेडसर आएर सोध्नुहुन्छ भनेर कोचाहिँ माने घोकेर बसेको हुन्थ्यो र ! शब्दको अर्थ त शब्द प्रयोग गरेपछि विस्तारै थाहा भइहाल्थ्यो नि, होइन र ? त्यसमाथि घरमा मगर, लिम्बू वा राई भाषामात्र बोल्ने र किताब कक्षाकोठामा मात्र खोल्ने वा पाइसक्दा च्यात्ने वा हराउने बच्चाहरूलाई नयाँ नेपाली वा अंग्रेजी शब्दको माने कहाँबाट दिमागमा घुस्थ्यो नि ? यत्तिका विधि कडा शासन चलाउन सक्ने हेडसरले विद्यालय र कक्षाकोठाहरू सुरक्षित पनि त राख्न सक्नुपर्थ्यो नि ! 

कापी किताबबिना पढाइ-लेखाइ हुनै नसक्ने शिक्षा प्रणालीमा कापी, किताब, कलम हराउनु आफैँमा झन् ठूलो सजायँ थियो । यसको असर बुबा-आमालाई उत्ति नै पर्थ्यो । हराएको कुरा लुकाउनु पर्ने वाध्यता एकातिर, दिनैपिच्छै शिक्षकको गाली र साथीहरूको खिसिट्युरी अर्कोतिर । “हाम्ले कम दु:खले पढ्या हो र ! कम कुटाइ खाको हो र”, यही हुन्थ्यो तपाईं  र अरू शिक्षकहरूको मन्त्र । “हाम्ले त पढ्न पाइएन पाइएन, तिमीहरू राम्रो पढ भनेर दु:ख गरेको त यस्तो छ पारा”, यस्तै हुन्थ्यो बुबा-आमाको दुखेसो । विद्यालय र अभिभावको नजरमा अपरिपक्व र अनादरकारी त हामी फुच्चाफुच्चीमात्र थियौँ । 

अर्को घटना पनि सुनाउँछु । कक्षा ३ मा हुँदा आइते भन्ने सहपाठीले मेरो गृहकार्य जस्ताको तस्तै सारेर बुझायो । सामाजिक शिक्षाको सरले हामी दुवैको लेखाइमा ठीक चिन्ह ठोकेर हस्ताक्षरसहित फर्काउनुभयो । पछि हेर्दा आइतेले मेरो नाम र रोल नं. पनि सारेको रहेछ । दुईटा अलग अलग लेखाइमा एउटै नाम भएको थाहा पाउनुभएन गुरूले । मेरा लागि यो यदाकदा सुनाउने चुटकिला जस्तै बन्यो । 

कक्षा ६ मा हुँदा हर्के भन्ने साथीले अकारण झप्पुका झप्पु खाएको कहिल्यै भुल्दिनँ । एक दिनको कुरो हो, पाँचौँ घण्टीमा खिलेन्द्रसरले नैतिक शिक्षामा पृथ्वीको उत्पत्ति मधु र कैटभ नाम गरेका राक्षसको शरीरबाट भएको भन्ने कथा पढाउनुभयो । छैटौँ कक्षामा शम्भु सरको सामाजिक शिक्षा थियो । शम्भु सर कक्षामा छिर्नेबित्तिकै अघिल्लो दिनको ‘पृथ्वीको उत्पत्ति’ शीर्षकको पाठबाट प्रश्न सोध्न थाल्नुभयो, जहाँ सौर्यपिण्डबाट उछिट्टिएका असंख्य टुक्राहरूमध्ये बाट करोडौं वर्षपछि पृथ्वी ग्रहको विकास भएको वर्णन थियो । हर्के अघिल्लो दिन गयल रहेछ । अरू बेला पछाडिको बेन्चमा बस्ने विचरा त्यो दिन अगाडि बसेको थियो । शम्भु सरको प्रश्नको पहिलो शिकार ऊ नै भयो ।

“ल भन्, हर्के, पृथ्वीको उत्पत्ति कसरी भयो ?”

“मधुकैटभ राक्षसको हाडमासुबाट विष्णु भगवानले बनाएकोले पृथ्वीको उत्पत्ति भयो”, प्रश्न भुइँमा खस्न नपाउँदै हर्केले जवाफ दियो। 

“तँलाई मूर्ख, यस्तो उट्पट्यांग कुरा कसले सिकायो ?”, यति भन्दै शम्भु सरले हर्केको गाला चड्काउनुभयो । हर्के अवाक् भयो र मलिन स्वरमा भन्यो, “भरखरै खिलेन्द्र सर त्यही पढाएर निस्किनु भयो त, नैतिक शिक्षामा !”

“हिजो मैले पढाउँदा चाहिँ माछा मार्न गा’को थिस् ?”, शम्भु सरको पारो झन् तात्यो ।

“हिजो म आमासँग सोमवारे गा’को थेँ ।”

“तँलाई बदमास्, गयल बसेपछि छुटेको पाठ पढेर आउनु पर्दैन ?”, हर्केले अर्को चड्कन खायो । 

यसरी एउटै पृथ्वीको उत्पत्ति दुई तरिकाले भएका कथाहरूको मारमा हर्के परेको देख्ता मैले डराई डराई शम्भु सरलाई सोधेँ, “कुन चाहिँ कथा बढी ठीक होला सर ?” ।

“यो कुन ठीक, कुन बेठीक भन्ने कुरो होइन भुराभुरी हो । खिलेन्द्र सरको विषयमा खिलेन्द्र सरको कुरा ठीक, मेरो विषयमा मेरो । नैतिक शिक्षा भनेको नैतिक शिक्षा हो, सामाजिक शिक्षा भनेको सामाजिक शिक्षा । दुईटा अलग-अलग हो, यत्ति बुझ”।

मैले कुरा बुझेँ कि बुझिनँ मलाई थाहा भएन । फेरि सोध्न आँट नआएर हस् भन्दै बसेँ । 

तपाईंलगायत अरू तपाईंका सहकर्मीहरू प्राय: भन्ने गर्नुहुन्थ्यो, “मैले भने जस्तो गर्नू, गरे जस्तो नगर्नू” । शिक्षक उदाहरणीय हुन्छ भन्ने कुरा मान्ने कि नमान्ने दुविधामा तपाईंलेहरूले नै पार्नु हुन्थ्यो हामीलाई । बहुदलीय व्यवस्था सुरु भएपछि जब केही हेडसरहरूलाई कालोमोसो घस्ने काम भयो गाउँमा, मैले थाहा पाएँ ‘मैले गरे जस्तो नगर्नू’ भन्नुको अर्थ । समाजले तपाईंहरूलाई कति नजिकबाट हेर्दो रहेछ र तपाईंहरूबाट कस्तो व्यवहार खोज्दो रहेछ भन्ने कुरा त्यसबेला थाहा भयो जब कालोमोसो घस्न तम्सिने व्यक्तिहरूलाई रोक्ने मन कसैले गरेन । त्यो दृश्यले मेरो मन नरोएको होइन तर भिडभाडमा ती हेडसरहरूलाई जोगाउन सक्ने बलियो शरीर र आवाज दुवै मसँग थिएन । 

अन्य आकर्षणहरू

जागीर वयष्क भएपछि

फैलिएको धर्ती देऊ

हेमराज काफ्लेका दुई कविता

फलको आशा पनि गर

कक्षाकोठाको पढाइ समग्रमा नराम्रो पनि थिएन । एक-दुई छोडी अधिकांश शिक्षक मिहेनतै गर्नुहुन्थ्यो । जस्तो भए पनि नियमित गृहकार्य दिनुहुन्थ्यो, काम सकेर बुझाउन लाउनुहुन्थ्यो र चेक गरेर फर्काउनुहुन्थ्यो । तर, बिग्रियो भने ‘यसरी सुधार्नू’ भन्नुको सट्टा ‘किन बिगारेको ?’ भनेर हकार्ने वा सिर्कनु लगाउने कुरा त हरेकको कानून जस्तै थियो । जान्ने र कडा हुनु शिक्षकको पहिचान थियो । हामी पनि अलिक नरम र गाली नगर्ने शिक्षकहरूलाई मन त पराउथ्यौँ तर उहाँहरूले दिएको कामलाई प्राथमिकता दिँदैनथ्यौं र अनाहकमा रिसाउने बनाउथ्यौँ । 

कक्षाकोठा वास्तवमा उच्च संवेगहरूको अभिव्यक्ति हुने ठाउँ थियो । कुनै शिक्षक अनुपस्थित भई अर्को शिक्षकले नओगटेको घण्टी अद्वितीय हुन्थ्यो । यही बेला हामी एक अर्कालाई नजिकबाट चिन्न र भावना साटासाट गर्न पाउथ्यौँ । पूरा कक्षा भएको दिन त घण्टी लागेपछि भोको पेटमा घरतिर दगुर्नै हतार हुन्थ्यो । आफ्ना टोलका साथीभाइबाहेक अरू कसैसँग अन्तरंग सम्बन्ध राख्ने मौका मिल्दैनथ्यो । 

बरू कक्षाकोठा बाहिर केही बढी रचनात्मक सिकाइ हुन्थ्यो । लड्दै, भिड्दै, दु:ख गर्दै दैनिक पाठ र दैनिक जीवनलाई समायोजन गरिन्थ्यो । हामीलाई पढाउने शिक्षकभन्दा हामीमाथि शासन चलाउने पद्धतिको सम्झना अहिले बढी आउँछ । शिक्षक त त्यही पद्धतिका प्रतिनिधिमात्र थिए । मेरो करिब एक दशक अघि प्रकाशित संस्मरणमा संलग्न केही हरफहरूले त्यो वास्तविकता उजागर गरेका छन् : 

समय मिलाएर खेल्न र रमाइलो गर्न सिक्दै गएकाले स्कुल जाँदा नरमाइलो लाग्न छाड्‍यो । कक्षा तीनचार र पाँचमा हुँदा भने गुरूहरूले “आज हाफ्-छुट्टी” भन्दै कहिले उत्तरतिरबाट त कहिले दक्षिण, पश्चिम र पूर्वबाट काँचो सालको तख्ता स्कुलको नाममा बोकाउनुहुन्थ्यो । यसो गराउनु उहाँहरूको रहर त पक्‍कै थिएन होला तर खास वाध्यता चाहिँ के थियो मैले अहिलेसम्म बुझ्न सकेको छैन । स्कुलको कोठा थप्ने बेलामा विद्यार्थीले ढुङ्गा र माटो किन बोक्नुपरेको र डकर्मीलाई किन सघाउनुपरेको भन्‍ने कुराको खुल्दुली मलाई अहिले पनि लागिरहन्छ । पालैपालो कक्षाकोठा लिप्नु र बढार्नुबर्खे बिदा सकिँदैपिच्छे ग्राउण्डको खरेटो उखेल्नुगाउँले र गाईवस्तुका गोवर फ्याँक्नु अनिवार्य कामहरू हुन्थे । त्यसैगरी राजा र रानीका जन्मोत्सवप्रजातन्त्र र संविधान दिवसहरूमा भोकै तिर्खै गल्लीगल्ली आफूलाई फेद-टुप्पो अर्थ नलाग्ने जयजयकार घाँटी सुकुञ्‍जेल चिच्याउँदै हिड्नुपर्थ्यो र पछि गुरूहरूले हावामा हुर्‍याएका राता गोल-मिठाइ धुलोबाट कुस्ती खेलेर टिप्दै मुख र पेटको चिलाइ मेटाउनुपर्थ्यो । तिर्खा लाग्दा पानी खान देवीथानसम्म धाउनुदिसा-पिसाब गर्न पाँचसय मिटर परका खोल्सातिर दगुर्नुतीखा ढुङ्गा र चोके नै चोके भएको “खेलमैदान” मा खेलेर रगताम्य हुनु आदि सुन्दा कथा जस्ता लाग्ने अहिलेका भाइबहिनीहरूले कल्पनै नगरेका कुराहरू सहँदैआत्मसात् गर्दै हामी हुर्कियौँ । (काफ्ले, “कामाविदेखि काविसम्म”)

विद्यालयका लागि विद्यालयबाहिर गरेको दु:खले सायद मलाई कर्मशील बनायो । संघर्ष गर्न सिकायो । विद्यालय र समाजबीचको सहसम्बन्ध र अपनत्व नजिकबाट देखायो । यस्तो अपनत्व सायद अहिले देख्न पाइँदैन । तर, त्यही कुरा पनि तपाईंहरूले अलग तरिकाले गराउन सक्नुहुन्थ्यो नि ! ‘जन्मोत्सव आयोजना समूह’, ‘पाठशाला सरसफाइ समूह’ आदि बनाइदिएर हाम्रै अगुवाइमा ती कार्यक्रमहरू चलाउन सक्नुहुन्थ्यो। आफू सँगसँगै लागेर रमाई रमाई काम गराउन सक्नुहुन्थ्यो। यसबाट हामीमा पक्कै पनि नेतृत्व क्षमता र संवाद कलाको विकास हुन पाउँथ्यो । हरेक कार्यक्रमपछि आयोजक समूहका विद्यार्थीबीच छलफल गराउन सक्नुहुन्थ्यो । कार्यक्रमका कमजोर र सबल पक्षहरूको समीक्षा गराउन सक्नुहुन्थ्यो । काठ बोकाउँदा पनि आफूले अलि ठूला गह्रुँगा तखताहरू बोकेर हामी साना बालबालिकालाई हलुकामात्र बोकाएर सँगसँगै हिँडाउनुभएको भए तपाईंको अभिभावकत्व पाएको महसुस हुन्थ्यो। हरेक यस्तो काम पछि हामीलाई बोलाएर, धन्यवाद दिएर हाम्रो अनुभव लेख्न वा बोल्न लगाउन सक्नुहुन्थ्यो । हाम्रा बा-आमाले जस्तै तपाईंले हामीलाई माया गर्दा के हुन्थ्यो र ? हामीलाई गराएको जस्तो परिश्रम सायद तपाईंले आफ्नै सन्तानलाई गराउनु हुन्नथ्यो र गराउनु भएन पनि होला । शिक्षक उदाहरण बन्न सक्छन् भन्ने कुरा हामीले देख्नै पाएनौँ । तपाईं भलिबल राम्रो खेल्नुहुन्थ्यो । मलाई पनि तपाईं जस्तै भलिबल खेलाडी बन्न मन थियो । तर, विद्यालयमा मजस्ताको पालो कहिले आउने र ? बलिया-बांगाको दबदबामा मैले त कहिल्यै खेल्न पाइनँ । 

शम्भु सर र खिलेन्द्र सरले एकै ठाउँमा बसेर पृथ्वीको उत्पत्ति सम्बन्धी ती दुई अलग अलग कथाहरूका बारेमा छलफल गर्नु र गराउनुभएको भए बिचरा हर्केले थप्पड खानुपर्ने थिएन । ती कथाहरूको वैज्ञानिकता वा विश्ववसनीयताका पक्षमा वाद-विवाद गराइदिनु भएको भए कक्षा र सिकाइ कति रमाइलो हुन्थ्यो होला ? यस्तो क्रियाकलाप रचनावादी हुने थियो र टेलर (२०१५) ले भने जस्तै संवादका माध्यमले विद्यार्थी र शिक्षकबीच गहनरूपमा सोच्ने र एका अर्कालाई प्रश्न सोध्ने, अनि आफ्ना क्षमता र कमजोरीहरू महसुस गर्ने आधार मिल्ने थियो । 

मैले पूरै पाठ घोक्न सकेर कुनै पुरूषार्थ गरेको थिएँ जस्तो लाग्दैन । पूरा पाठ वाचन गर्न नसक्ने मबाहेकका सहपाठीहरूको कान निमोठ्न लगाउनुको साटो मैले कसरी त्यति लामो पाठ याद गर्न सकेँ भनेर कक्षालाई सुनाउन लगाउनुभएको भए ? मैले गर्दा र आफूले नगर्दा सायद उनीहरूले आफ्नो कमजोरी महसुस गरेका थिए होलान्, तीक्ष्णताको तत्कालीन परिभाषामा । शिक्षकको काम विद्यार्थीले कमजोरी महसुस गरिसकेपछि सजायँ दिने हो र ? मैले पाठ बुझाउँदा पनि खुसी हुने अवसर पाएको खोइ ! अनि मेरो गृहकार्य हुबहु नामसहित सारेर बुझाउने आइतेले चाहिँ आफ्नो गल्ती महसुस गर्न पाएको खोइ ! शिक्षकले थाहा नपाएपछि वा ध्यान नदिएको थाहा पाएपछि उसले मेरो र अरू साथीहरूको कापी मागेर सार्ने बानी बसाल्यो । उसले पाउनुपर्ने सिकाइको अवसर त्यत्ति नै थियो त ? तपाईं, तपाईंका शिक्षक र आइते जस्ता विद्यार्थीबीचको दूरी कति फराकिलो थियो भन्ने तपाईंहरूलाई कहिल्यै हेक्का थिएन । 

विद्यालय छोडेको करीब तीन वर्ष नबित्दै म पनि शिक्षक भएँ । आफूले कक्षा ८ देखि १० सम्म मन नलागी-नलागी ‘शिक्षा’ विषयमा पढेका असल शिक्षकका विशेषता, पाठ्यक्रम, पाठयोजना र कक्षा व्यवस्थापन जस्ता बुँदाहरू अलि-अलि सम्झिनुबाहेक मानविकी पढेर कक्षाकोठामा प्रवेश गर्दा ममा सीमित ज्ञान र सीपमात्र थियो । विषयवस्तुको ज्ञान थियो अथवा नयाँ विषयहरू पढेर पनि पढाउन सक्ने आत्मविश्वास थियो । तर, समग्रमा म ‘पढाउने’ व्यवहारवादी शिक्षकमात्र थिएँ । शिक्षक सिकाइको सहजकर्ता पनि हो भन्ने रचनावादी सोच ममा विकास भएकै थिएन । तपाईं  र तपाईं  मातहतका शिक्षकहरूले प्रयोग गरेका शिक्षण विधि नै ममा सर्लक्क सरेका थिए । मेरा पनि दिमागभन्दा मुख र हात बढी चले । कक्षाकोठामा म नै बढी बोलेँ, म नै बढी सक्रिय रहेँ । जसरी तसरी पढाउनै खोजेँ । विद्यार्थीको दिमागमा एकोहोरो ज्ञान हाल्न खोजेँ । यो त प्रसिद्ध विद्वान पाउलो फ्रेयरेले भनेझैँ ब्यांकमा पैसा जम्मा गर्ने काम जस्तो शिक्षण विधि पो रहेछ । तपाईंहरूले दिएको व्यवहारवादी शिक्षाले अनुशासन त सिकायो तर शिक्षकको रूपमा पनि छडीवाल नै बनायो । धेरै वर्षसम्म विद्यार्थीलाई चूप लगाउन सक्नु मेरो सफलताको मानक बन्यो तर मैले उनीहरूलाई हृदयदेखि नै अनुशासित बन्ने ज्ञान भने दिन सकिनँ । 

शिक्षण पेसामा जति समय व्यतित हुँदै गयो मेरो, उति मैले आफ्ना सीमाहरूको पहिचान गर्दै गएँ । विद्यार्थी आफैँमा ज्ञान र अनुभवको प्रमुख स्रोत हो भन्ने बुझ्दै गएँ । व्यवहारत: सिर्कनु बोकेर लामो समय बिताए पनि मैले त्यो पुरातनवादी “निरंकुश, शिक्षककेन्द्रित र नतिजापरस्त” (स्टिवार्ड, २०१२, पृ. ५) पद्धतिलाई आफ्नो आदर्श विधि नबनाउने निर्णय गरेको छु । विद्यालय तहमा सात वर्षभन्दा बढी पढाउन पाइनँ । अहिले स्नातक, स्नातकोत्तर र अझ माथिका तहहरूमा अध्यापन गर्ने गराउने क्रममा मात्र रचनावादी शिक्षण प्रणालीको महत्व बुझेको छु । विद्यालय तहमा शिक्षकहरूको व्यावसायिक विकासका तालिम तथा कार्यशालाहरूमा सहभागी हुँदा भने आफूले देखेर, भोगेर र प्रयोग गरेर पुरानो र प्रभावहीन ठानिसकेको व्यवहारवादी प्रणालीबाट माथि उठेर विद्यार्थीकेन्द्रित रचनावादी क्रियाकलापहरूको वकालत गरेको छु । मैले बुझेको छु, सबै सिकारूहरूले आफूमा सिकाइको चाख र जिज्ञासा पैदा गराउने सिकाइ विधि नै मन पराउँछन् । “वास्तविक जीवनमा प्रयोग हुने ज्ञान र सीप विकास गर्ने, साथै खुल्ला प्रश्न सोध्ने उत्प्रेरणा जगाउने कक्षागत क्रियाकलापहरूले सिकाइको गहिरो अनुभव जुटाउन सक्छन्” (अकपान र लरेन्स, २०१६, पृ. ३९३) भन्ने तथ्यप्रति म सदैव सचेत रहेको छु । 

मेरो शैक्षणिक दिनचर्यामा समूहगत छलफलहरू यथेष्ट छन् । मेरा विद्यार्थी लामो प्रवचन रूचाउँदैनन् । अहिले २० मिनेटभन्दा बढी एकोहोरो बोलिसक्दा म आफैँलाई कता-कता सकसक लागेर आउँछ । अनि तुरून्त कुनै परियोजनामुखी क्रियाकलाप वा समस्यामा आधारित अन्तर्क्रियाको रचना गर्ने वाध्यता महसुस गर्छु । एउटा कक्षामा कम्तीमा तीनवटा कार्यशाला वा गोष्ठीका ढाँचाका कार्यक्रमहरू तय गरेको हुन्छु । मैले दिने गृहकार्यहरूले मेरा विद्यार्थीलाई कक्षाकोठा बाहिर समाजसँग जोडिने मौका दिन्छन् । ज्ञान र बोधका अलावा प्रयोग, समीक्षात्मक सोच र सिर्जनशीलतामा बढी जोड दिने प्रेरणा मैले आफूले भोगेको, देखेको परिवेश र विद्यार्थीका रूपमा महसुस गर्न नपाएको वातावरणको स्मरणबाट पाएको हुँ । 

प्रिय हेडसर,

मैले शुरूमै प्रष्ट पारेको छु । यो पत्रको आशय आफूले देखेको र भोगेको विगत अनि आफ्ना जीवनका महत्वपूर्ण पात्रहरूलाई सर्वथा गलत प्रमाणित गर्ने होइन । एउटा शैक्षिक-सामाजिक कालखण्डको इतिहासलाई आफ्नो दृष्टिकोणबाट पस्कने जमर्कोमात्र गरेको हुँ । त्यो समय र ती व्यक्तिहरू, जसको सान्निध्यमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुनेहरूमात्र शिक्षण पेसामा संलग्न भएको, उच्च शिक्षाका लागि अघि बढेको वा सार्वजनिक सेवामा प्रवेश गरेको तथ्यका आधारमा त मैले स्वीकार्नै पर्छ, त्यो शिक्षण पद्धति पूर्णत: गलत थिएन । यदि त्यही शिक्षक-केन्द्रित संस्कारभित्रै केही रचनात्मक अगुवाइहरूमात्र थपिएका भए हाम्रो पुस्ता धेरै माथि पुग्थ्यो वा उच्च-स्तरको नतिजाका लागि तयार हुन्थ्यो होला । यही रमाइलो कल्पना पनि थप्न खोजेको हुँ । 

तपाईंलाई सम्झिइरहने तपाईंको पुरानो छात्र 

हेमराज

सन्दर्भ सामग्रीहरू

Akpan, J. P., and Lawrence, A. B. (2016). Using constructivist pedagogies to enhance academic outcomes of students with special needs. Universal Journal of Educational Research 4(2): 392-398.

काफ्लेहेरा. (२०१२). कामाविदेखि काविसम्म. https://hkafle.com.np/archives/1192.

Stewart, M. (2012). Understanding learning: Theories and critique. In L. Hunt and D. Chalmers (eds), University teaching in focus: A learning-centred approach. Routledge.

Taylor, P. C. (2015). Constructivism. In R. Gunstone (Ed.), Encyclopedia of science education (pp. 218-224). Springer.

Facebook Comments