परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ओलीले भ्वाक्क लात हानेपछि चेत खुल्यो !

फुटानी

काका ! थाहा पायौ ! हाम्रो देउवा दाइले प्रचण्डका बारेमा के भने । हाम्रो दाइले क्लिएर कुरो गरी दिए । विश्वासघातीलाई ओलीले भ्वाक्क लात हानेपछि चेत खुलेको बताई दिए ।

भन्न चैं देउवाले के भने ? उनले भनेको जे हो त्यो चै छलकपट, ढाकछोप, लिपापोती नगरीकन जस्ताको तस्तै भन त !

कुरो चैं के भने नि काका । हाम्रो काँग्रेस समर्थक कर्मचारीहर्को भेलामा दाइले अब चुनापमा जानुपर्छ, त्यसैका लागि तयारीमा रहनु भनिदिए । अनि दाइले ‘ओलीले लात हानेपछि प्रचण्डको होस् खुलेको’ भनेर क्लिएर पारी दिए । अहिले सरकारमा जान सकिदैन, हाम्रो सांसद संख्या पुग्दैन, प्रचण्डले भन्दैमा मधेशी दलले हाम्रो कांग्रेसलाई समर्थन गर्दैन भनेर प्रष्ट बताई दिए ।

होइन हौ भिरघरे ! काँग्रेस त्यसै सकिएको होइन नि । प्रधानमन्त्री बनी दिनुहोस् भन्दा पनि देउवा अग्रसर हुदैनन् भने काँग्रेस नसकिए को सकिन्छ ? हाम्रो प्रचण्डलाई त्यस्तो अफर आउने हो भने दश हात उफ्रिएर उच्च छलाङ लगाउँदै प्रधानमन्त्री बनी सक्ने थिए ।

देउवा दाइलाई मधेशी दल ओलीतिरै छ भन्ने प्रष्ट थाहा छ । र, अर्को कुरा यो सरकार प्रचण्डको समर्थनमा पाँचै वर्ष टिक्छ भन्ने पनि देउवा दाइलाई कण्ठ छ । चुनाप भनेपछि दश हात पर भाग्ने प्रचण्डले यो सरकारलाई दिएको समर्थन फिर्ता पनि लिन सक्तैनन् । फिर्ता लिने वित्तिकै ओली कै नेतृत्वको सरकारले चुनाप गराउँछ ।

होइन बाहिरबाट हेर्दा प्रचण्डको समर्थनमै ओलीको सरकार टिकेको देखिन्छ । तर, भित्री रुपमा देउवा र महन्थहर्ले सरकार टिकाई राखेका छन् । यिनारु पटक्कै अगाडि बढ्दैनन् । प्रचण्डले कति धकेल्नु ।

नमस्कार है काका–काकी, भिरघरे दाई ! के विषयमा कुरा गर्दै छौ कुन्नी !

उभिण्डेको कान्छा हैन ? लु हौ मुढा तानेर बस् ! तँ त धेरै दिन हराईस् त भतिज !

काकी मलाई त यसपालि देखि पत्रकार बनाई दिए । अनि सदरमुकाम गएर भोट हालेर आको !

हैन भाइ तँ त माधव नेपाल गुटमा लागेर जुलुश पो गर्दै थिइस् त । कता पत्रकार बनिस. त । पत्याउनै गाह्रो भो त उभिण्डे !

राजनीतिमा के के हुन्छ हुन्छ दाइ ! माधव नेपाल गुटमा थिएँ, माओवादी गुटले पत्रकार बनाई दियो । अनि काँग्रेसको पत्रकारहलाई भोट हालेर आएँ । हाम्रो माधव गुट र प्रचण्ड खेमाका पत्रकार मिलेर काँग्रेसलाई जिताएरै छाड्यौं । ओलीको पत्रकारहर्को प्रेस चौतारीलाई धुलो चटाइयो ।

ठिक गरिस् भाइ ! अब कम्युनिष्टहर्लाई हाम्रो काँग्रेसले प्रत्येक मोर्चामा धुलो चटाउँछ । तिमार्लाई फुटाउँदै शासन गर्न हामीले जानेको छ । कि कसो काकी !

त्यस्तो होइन भतिज ! अहिले केही समय एमालेजनमा केही विषयमा कुरो मिलेको छैन । केही ब्यक्ति आवेशमा आएर ओलीको विरोध गर्दै छन् । केही दिन पछि सबै ठिक हुन्छ । प्रचण्ड जस्तो मै हुँ भनेर गफ चुट्नेहरुको त कुनै थर, ठेगाना, गोत्र र धरातल छैन भन्ने थाहा भयो भने विचरा माधव नेपालहरु !

नचाहिने कुरो नगर झुम्री ! तँ ओलीको पक्ष लिएर धेरै बोल्छेस् ! देउवाले गर्दा मात्र ओली प्रधानमन्त्रीको कुर्सीमा छन् ।

त्यस्तो उल्लु कुरो नगर काका ! प्रचण्डकै समर्थनमा ओली प्रधानमन्त्री बनी रहेका छन् । आफुले देको समर्थन फिर्ता लिन नसक्ने माओवादी राजनीतिको अब अन्त्य हुँदैछ । सरकारलाई देको समर्थन फिर्ता लिन एमालेकै सांसदहर्ले ललकार्दा पनि नसक्नु त धिक्कार हो । जनतामाझ जान डराएपछि समर्थन देको छ देको छ ।

यो कुरा भिरघरे दाइले मुनासिव नै गरे । आफ्नो मुख्य शत्रुलाई देको समर्थन फिर्ता लिन नसक्नु जस्तो लाजमर्दाे कुरा अरु हुनै सक्तैन ।

कुरो ठिक हो ! तर, हतार गर्नु पनि हुँदैन । समय परिपक्क हुन दिनु पर्छ । हाम्रो प्रचण्ड काम्रेड चुप लागेर बस्ने मान्छे हुँदै होइनन् । भर्खरै राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभाका सांसद र केन्द्रीय सदस्यहर्लाई कारवाही गरेका छन् । अब अरु केहीलाई ठोकेपछि अनि ओलीलाई देको समर्थन फिर्ता लिने दिन आउँछ ।

गफले चिउरा भिज्दैन ! प्रचण्डको दाल गल्दैन । ओलीको भरमा उफ्रिन पाका थिए । अब उफ्रिन पनि छाडे ! केही दिन अघि सुदूरपश्चिमतिर गएर ‘अब नयाँ सरकार बन्ने भो, तपाईहर्लाई बधाई’ भनेर जाँड खाको बाहुन जस्तो उफ्रिए । अस्ति शुक्रवार बुढानिलकण्ठ देउवा निवासको मिटिङपछि जाँडले छाडे जस्तो भा छन् ।

हेर झुम्री ! हाम्रो प्रचण्डको हतारमा बोल्ने बानी छ । सपै कुरो विगारेको १९ पेजको आरोप पत्र, मांसाहारी आन्दोलन, कम्फर्टेवल सरकार, लड्डु कोचाकोच, हामी यहाँ छौं’ जस्ता बचकना गतिविधिले सिथिल बनायो । जनविश्वास झन् गुम्यो ।

त्यै त काका ! ‘ओली जे सुकै बोल्छन्’ भनेर आरोप लगाउने तिमार्को नेताले बोलेको चैं त्यस्तो छ । आफू सप्पै बिगार्छन् अनि देउवा र महन्थलाई सराप्छन् । आफू नाच्न नजान्ने आँगन टेडो !

भतिज ! जसले जे भने पनि ओली, देउवा, माधव, रामचन्द्र भन्दा चैं प्रचण्ड नै नेता हुन् लाइकका छन् । जनताले पत्याए भने नेपालको भावी प्रधानमन्त्री प्रचण्ड नै हुन । नेताहर्मा चतुरे, प्रपञ्ची उनै छन् । कि कसो उभिण्डे भतिज !

हुन त हो काका ! तर चतु¥याईंलाई अहङ्कारमा मिसाएर चुरुफुरु गर्दा आफ्ना नेता, कार्यकर्ता सप्पैले छाड्दै गए । जनताले विश्वास गर्दैनन् । भविष्यमा एक्लै हुन बेर छैन । खै ! मोहन बैद्य, बाबुराम, विप्लव, बादल, लेखराज, टोपबहादुर, प्रभु साह ! अहिले नारानकाजीको भरमा हिडेका छन् ।

काका ! तिम्रा प्रचण्ड आफैं सकिए । इदम समाप्त उदम समाप्त । अब त उही पुनः मुसीको भव । लु काका म लागें गोठतिर ।

जै नेपाल !

Facebook Comments