परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चुनावी रणनीति हामीलाई थाहा छ

फुटानी

लौ भिरघरे काठमाण्डौतिरको हालखबर एकपत्र उधिनेर कैरन कह त ! नेताहरु के गर्दैछन् । राजनीतिक अवस्था के छ ? केपी, माधव, प्रचण्ड र वामदेवको हालत के छ ?

होइन हौ काका ! नेपाली काँग्रेसको चै खबर सोधन के नेकपाको खबर सोध्छौ । सकिएको पार्टी, शत्रु बनेको साथी, आत्माघाती हर्को के खबर कहनु !
नेपाली काँग्रेसको पनि ठिक छैन । शेरबहादुरको चै ठिक छ भतिज । राष्ट्र र जनताको बेहाल बनाउने नायक मध्येका शेरबहादुर पनि एक हुन । कति पैसा भए पनि नपुग्ने । प्राडो र पजेरो अनि सांसद खरिदविक्री संस्कृतिका प्रवर्तक देउवालाई फलिफाब हुने सङ्केतहरु देखा पर्दैछन् । भ्रष्टाचारमा नाम कमाएका देउवालाई फेरि चिठ्ठा पर्ला जस्तो छ ।

प्रचण्डको जति सम्पत्ति त देउवाको पनि छैन भन्छन् त काका ! दक्षिण एसियाकै धनी नेता भनेर प्रचण्डकै नाम आउँछ त काका !

हेर भिरघरे यो चैं प्रचण्ड माथि कपोलकल्पित झुठो र भ्रामक आरोप हो । एउटा कुरा चै के भने- सान-सौकत, मोजमस्ती, अगुवा, पछुवा, तडक भडक, राम्रो गाडी, सान्दार बङ्गला जस्ता दैनिक उपभोग्य सामान चाहिँ मस्तराम भएर हाम्रो सर्वहारा वर्गको नेता काम्रेड प्रचण्डले प्रयोग गर्छन् । अरु त्यस्तो केही छैन ।
लु हेर यी बुढाको कुरो । अनि त्यो चैं भ्रष्टाचार नगरी कहाँबाट आयो । राम्रो मन्त्रालय उनैको मान्छेलाई दिनु पर्ने, ठेक्का पट्टा उनैले भनेको ठेकेदारलाई दिनु पर्ने ।

नकरा झुम्री । जति ठूलो मान्छे भयो त्यति धेरै खर्च हुन्छ । अहिले नेपालमा प्रचण्ड जतिको ठूलो मान्छे कोही पनि छैन । कार्यकर्ताको भलो चिताउने भनेकै प्रचण्डले हो ।

अलि कुरा बटारियो, फिटिक्कै मिलेन काका ! कार्यकर्ताको होइन परिवार र आफन्त जति सबैको ब्यवस्था गर्न सक्ने नेता भन्दा कुरा ठ्याक्कै मिल्छ । कार्यकर्ता अरवको खाडीमा, आफ्ना जति पजेरो गाडीमा ।

आफन्तलाई चैं के जङ्गल नै पठाउनु भन्ने छ र ! भविष्य पनि हेर्नु पर्‍यो नि ! छोड भिरघरे यस्तो कुरा । काठमाडौंतिरको खबर के छ अरे !

के हुन्छ काठमाण्डौंको खवर ! सबै पार्टीका ठूला नेता विलखबन्दमा छन् । कोही अदालततिर, कोही निर्वाचन आयोगतिर, कोही चुनापतिर, कोही अख्तियारतिर कोही विदेशतिर हेरेर बसेका छन् । हुने केही होइन । सबै चुनापमा होमिए हुन्छ । हाम्रो देउवा दाइ मख्ख छन् । कम्युनिष्टलाई पचेन हामी चलाउँछौं भनेर काँग्रेसहरु फुलेल भएका छन् ।

फुलेल हुनै पर्दैन भिरघरे एक त अदालतले प्रचण्डको पक्षमा फैसला गर्छ, अर्को चुनापमै जानु परे पनि जनताले सलल भएर प्रचण्डले भनेकै ठाउँमा भोट हाल्छन् । त्यत्रो माओवादी युद्ध त निरंकुश तरिकाले उग्रता पूर्वक हाँकेर आएका प्रचण्ड अब आँधी बेहेरी नल्याई बस्तैनन् ।

हो अब त आँधी बेहेरी मात्रै हो । जनताले भोट त नाप्पियो । ओली नभएको हो भने अस्तिकै पटक चितवनबाट हार्ने थिए ।

बढी कुरो नगर भिरघरे ! हाम्रो प्रचण्डको छेउमा ओली-सोली केही होइनन् । अब पनि भोट नदिए भौतिक कारवाही तिर लागिन्छ । हामीले पनि राजनीति जानेका छौं ।

हो काकाहर्ले जति राजनीति अरुले पनि जानेको भए नेपालमा जनता भन्ने प्राणी बाँकी पनि रहने थिएनन् होला । तर, एउटा कुरा चैं सत्य हो प्रचण्ड राजनीतिका धुर्त खेलाडी हुन् । भत्काउन निकै कठिन खालको एमालेको संगठनमा सियो भएर छिरे, भताभुङ पारेर, माधव नेपाल जस्तालाई समेत आफ्नो पछुवा बनाएर फाली भएर फुत्त निस्किए । यही नै उनको सफलता हो ।

लु भतिजले यो कुरो चैं ठिक भन्यो । कि कसो बुढा । अब माधव नेपाललाई कुन गल्छेडोमा लगेर थेचार्ने हुन त्यो अर्कै कुरो हो । तर, कम्युनिष्ट पार्टी भन्नेको विउ पनि प्रचण्डले नेपालमा राख्तैनन् ।

यो झुम्रीले पनि बढी नै कुरा गरी । मलाई लाग्छ प्रचण्ड नै कम्युनिष्ट हुन र रहने छन् । अब उनै यो राष्ट्रका हर्ताकर्ता महान नेता हुन अरु भारे भुरे !
काका ! त्यसो भए चुनाप होइ जाओस् भन्ने कामना गर्नु पर्छ । जनमत कस्को पक्षमा छ भन्ने कुरा छर्लङ हुने थियो । तर, मलाई लाग्छ चुनाप हुन्छ । हामी काँग्रेससंग प्रतिस्पर्धा गर्ने ओलीको पार्टी हुने छ ।

नप्पियो ओलीको पार्टी ! हाम्रो प्रचण्डले हाँकेको नेकपाले बहुमत ल्याउने छ । अनि तिमारु हेरेको हेरै । कि कसो झुम्री ।

तिम्रो चैं सपना हो बुढा ! अब पनि प्रचण्डलाई पत्याउँछन् भन्ने भ्रम नपाल । कहिले काँग्रेस, कहिले एमाले, कहिले अर्कै कोसंग मिलेर चुनाप लड्दा त २९ प्रतिशत अब माधव नेपालको आशमा लड्दा कति प्रतिशत ?

वाइयात ! ७० प्रतिशत त हाम्रा मतदाता छन् । जुनसुकै हालतमा हामी बहुमत ल्याउँछौँ । चुनावी रणनीति हामीलाई पनि थाहा छ । लुट्नु पर्छ कि, कुट्नु पर्छ कि, थुत्नु पर्छ कि, च्यात्नु पर्छ कि, चपाउनु पर्छ या जे पर्छ सप्पै गर्न हामी जान्दछौं ।

त्यसमा त काकाहरु खुङ्खार नै हो नि । तर, उभिण्डे खोलामा पानी निकै बगी सक्यो । जनता अब सचेत छन् । आफ्नो मतको सुरक्षा गर्न सक्छन् । लु है

काका काकी ! गफ गर्दा गर्दै भसक्कै विहान पो गएछ । म लागें घरतिर !

जै नेपाल !

Facebook Comments