परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अघि वामदेव मानेनन्, पछि वामदेव जानेनन्

फुटानी

यो झरी पनि कति पर्न सकेको हँ । यसपालि त झरौंला मदेशतिर भनेको थियो झरीले नदिने भो ! ए….झुम्री ! घुम लेले । स्कुस टिपेर ल्याम्नु प¥यो ।

अरु उहाँ काठमाडौंमा बसेर भारु र डलर टिप्तै छन् तिमी भने स्कुस टिपेर बस् बुढा ! लाउ घुम ।

हौ काकी नमस्कार है ! जाडो पो भो । तातो चाय खाउन काकी ! खै काका !

ए….! भिरघरे आइस् ! म यी यहाँ स्कुस टिप्तै छु । यो उपल्लो डोल्पामा त पानी पनि कति पर्न सकेको हँ ।

काका ! यसपालि जतासुकै धेरै पानी परेको छ । उता पूर्वको झापा, विराटनगर, नवलपरासीतिर भन् बढी पानी प¥यो भन्छन् । ए काका ! आउ काकीले चाय ल्याइन् । जाडो छ तातो पानी त खानु प¥यो नि !

हो भिरघरे झरीले केही काम गर्न दिएन । आज उभिण्डे खोलाको रिठ्ठाबोटे कान्छाकोमा गएर आलुको विउ ल्याउँला भनेको थियो । त्यो पनि झरीले दिएन ।

अनि भिरघरे ! फेरि मन्त्रीमण्डल चेनफेन भनेर खबर आयो त !

मलाई त होला जस्तो लाग्दैन । होइन कुनै प्रयोजनबिना मन्त्रीहरु फेर्नुे पर्ने किन ? कुनै अर्को लाई जागिर खुवाउन ! यस्तो गर्नु पनि हुँदैन र गर्दा पनि गर्दैनन् । हेर काका ! ‘टुप्पी भन्दा माथि रौं छैन, उपल्लो डोल्पाभन्दा माथि गाउँ छैन’ भने जस्तै जति भएको छ नराम्रो भको छैन । अब मन्त्री फेरेर केही हुँदैन । प्रधानमन्त्रीले निर्देशन दिने हो । मन्त्रीले निर्देशन पालना गर्ने हो ।

हुन त हो भतिज ! तर, अरुलाई पनि ‘चान्स’ दिनु प¥यो नि ! जनयुद्ध सफल बनाउने हाम्रा थुप्रै काम्रेडहरु मन्त्री हुनु पर्दैन ?

हो ‘जनयुद्ध’ हो कि ‘उदण्ड युद्ध’ हो खर्लापखुर्लुप सफल भयो । राष्ट्रको समग्र ध्यान कोरोना महामारीको रोकथाममा लाग्नु पर्ने बेलामा मन्त्रीमण्डल ‘चेनफेन’ नेकपाको ‘विवाद’ फलानाको चिलानो’ भनेर सबै अल्मलिएका छन् ।

हो भिरघरे ठिक भनिस् ! नेपालका ८५ प्रतिशत मान्छे राजनीति गर्ने । अनि कहाँबाट देश उभो लाग्छ त !

त्यही त काकी ! बौद्धिक जगत, सञ्चार क्षेत्र, कृषक सबै नेकपाको विवाद र मन्त्रीमण्डल ‘चेनफेन’ मा अल्झिएर कक्रक्क परेको छ । लु मानिलिउँ मन्त्रिहरु ‘चेनफेन’ भयो अरे हाम्रो माथिल्लो डोल्पालाई के फलिफाप हुन्छ ? लु भएन अरे हाम्रो आलु बारीलाई के नापिन्छ? पत्रकारलाई राजनीति, कर्मचारीलाई राजनीति, विद्यार्थीलाई राजनीति, माष्टरलाई राजनीति ! अनि हुन्छ काम !

हैन भिरघरे ! कुरो त ठिकै गरिस् तर हाम्रो जस्तो मुलुकको रोग नै राजनीति हो । जब मान्छे बेरोजगार हुन्छ, जब मान्छेले राजनीतिबाट कमाएको देख्छ, जब परिश्रम गरेर खान छोड्छ, तब मानिस राजनीति तर्फ आकर्षित हुन्छ । हाम्रोमा भको यही हो । सबै राजनीति ।

त्यही त काका ! लु नेकपाको विवाद भोलि ‘फाइनल’ हुने भयो भनेको छ, पर्सि नेकपा फुटेको घोषणा गर्ने अरे भनेर पत्रकारहर्ले पनि लेखेको छ, बुद्धिजीवी भन्ने पनि त्यत्तै दौडेको छ । हुँदा त्यसको चुल्हो बल्ने होइन, नहुँदा त्यसको चुलो निभ्ने होइन, बडो गजब लाग्छ मलाई त !

ठिक भनिस् भतिज ! यहाँ कागुनो, उवा र आलु फल्दैन कि भन्ने ‘टेन्सन भ’को बेला मन्त्री मण्डल चेनफेन होस् कि नहोस् हामीलाई के मतलब ! कसैले नेकपाको विवादमा रोटी सेकाउला, कसैको जाउलो पाक्ला, हाम्रो त हुने केही होइन !

ए भिरघरे भन्त वामदेवको चै कुरो के भो ? बुढालाई गाह्रो बनाउँछन् कि क्या हो ।

भिरघरेले किन भन्नु मै भन्दिन्छु, झुम्री बीचैमा कस्सिई । वामदेव आफुले खनेको खडलमा आफैं जाकिए । नारनकाजी संगै राष्ट्रियसभा सदस्य बनेको भए टन्टै साफ हुन्थ्यो । तर परक्क बटारिएर मानेन । ‘अघि वामदेव मानेनन्, पछि वामदेव जानेनन्, दशा लाग्यो घिच्याउन, वामदेव लागे चिच्याउन’ भनेको यही हो ।

हो काकी ! चुपो लागेर बसेको भए नेकपाको महाधिवेशनमा ओलीको समर्थनमा अध्यक्ष बन्ने थिए । अब सकियो । अहिले त ‘जता वामदेव उतै भड्खालो’ पो भन्न थालेका छन् ।

त्यस्तो चैं होइन भिरघरे ! अबको पार्टी अध्यक्ष र प्रधानमन्त्री हाम्रो प्रचण्ड काम्रेड नै हो ।

काका तिमी यो भ्रममा नपर । केपी ओलीले प्रचण्ड, माधव नेपाल, वामदेव सबैलाई संसदीय चुनापमै भ्याइदिन्छन् । तसर्थ अब चुनाप पछिको प्रधानमन्त्री भनेको हाम्रो देउवा नै हो । नेकपाको अध्यक्ष चाहिँ केपीले कसको समर्थन गर्छन् उसैले जित्छ ।

त्यसो भए के त वामदेवको रानजीति सकिएकै हो त ! त्यस्तो सदावहार र सक्रिय राजनीतिको संवाहक वामदेव सकिनु हुँदैन । अरु १५ वर्ष वामदेव राजनीतिमा सक्रिय हुनु पर्छ ।

अब अर्को चुनाप पछि हाम्रो रामचन्द्र अनि तिमार्को वामदेव, झलनाथ र तालमेल मिलेन भने प्रचण्ड, माधव नेपालको पनि राजनीति चिलिमच्वाँट हुन्छ । ओली पनि उठ्दैनन् । अनि हाम्रो देउवा दाइको एकलौटी । ओलीको पनि पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाई छैन । हाम्रो देउवा दाइको केही छ । धेरै जसो पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजन प्रचण्डकै छ । तर, तिनार्ले मात्रै जिताउन सक्तैन । अनि त देउवा दाइ नै हिरो ।

त्यति साह्रै सोह्र–श्राद्धको बाउन जस्तो मख्ख चै नपर है भिरघरे । काँग्रेसको पनि गतिमति सबैले देखेका छन् ।

हौ काका हुने कुरा भने भने तिमी पत्याउँदैनौं । अब हुन चैं मैले नै भनेको हुन्छ । हैन भने लेखेर राख । म पनि अलिअलि गर्दै राजनीति विश्लेषक पो भै सकें ।

काका । पानी रहे जस्तो छ । तिमी पनि जाउ उभिण्डे खोलातिर, लौ काका–काकी म लागेँ घर तिर !

जै नेपाल ।

Facebook Comments