परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सरकारको बेवास्ताले लिदीमा ठूलो हताहत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यू हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेर अझै २७ वेपत्ता छन् । पहिरोले एउटा बस्ती नै पुरेको छ । पहिरोमा घाइते भएका सात जनाको उद्धार गरी उपचारका लागि अस्पतालमा लगिएको छ । बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी छ । मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भएको छ ।

असार २६ गतेको ठूलो वर्षाले जमिन चिरा परेर फाट्न थालेपछि बस्न नसकिने स्थिति थियो । माथिबाट पहिरो र तलबाट जमिन भासिन थालेपछि सिन्धुपाल्चोक जुगल २ नाम्फा र लिदिको एक सय ४९ घर पहिरोसंगै बग्छ भन्ने अनुमान स्थानीयले पहिलै गरिसकेका थिए । पहिरोसंगै खस्न ठिक्क परेका बडेमानका ढुङ्गा, धाजाँ परेर चिरीएको जमिनले सिरानमाथि झुण्डिएको जाँतो झैँ बस्ती जोखिममा परेपछि समस्या लिएर गाउ्रवासी स्थानीय तह, प्रशासन सबैतिर धाईरहे । उनीहरुको माग आफ्नो गाउँ जोखिममा रहेकोबारे अध्ययन गरेर आवश्यक परे स्थानान्तरणका लागि पहल गरिदिने मात्रै थियो ।

तत्काल सुनुवाई नभएपछि असार २७ गते ८ घण्टाको बाटो हिडेर रेडियो सिन्धुको कार्यलयमै स्थानीय आईपुगेका थिए । लिदीबासीको समस्यालाई विषय उठान गरेर कार्यक्रम गरेपछि जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसंग रेडियोमा उनीहरुले समस्याको ब्यवस्थापन गर्न आग्रह समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी, वडा र पालिकासंग समन्य गरेर तत्काललाई त्रिपाल कम्वल दिएर झारो टार्ने काम त्यतिखेर भयो । राहत नभई सुरक्षा खोजेका स्थानीयलाई कम्बल दिने भनेपछि अब यस्तो समस्या लिएर नआउन समेत प्रमुख जिल्ला अधिकारीले भन्न भ्याएका थिए ।

लिदीका प्रभावितले ज्यान लुकाउन त्रिपाल र कम्बल पाउने भए तर पहिरोसंगै गाउँ बग्ने डरमा रहेका स्थानीयले दीर्घकालीन ब्यवस्थापनका लागि सरकारसंग गुहार मागिरहेका थिए ।

जुगल गाउँपालिका, जिल्ला प्रशासन कार्यलय, प्रहरी, सांसद, नेता सबैतिर एक महिनाको बिचमा आफ्ना समस्या सुनाउन उनीहरुले चक्कर काटिरहे । स्थानीय बासिन्दा दिनभरी घरमा र राती त्रिपालले बारेर बनाएको सुरक्षित ठाउँमा ज्यान जोेगाउन जाने गरेका थिए । भगवान भरोसामै बसिरहेका लिदिका स्थानीय बासिन्दा ठूलो पानी पर्दा पहिरोमै ज्यान जान्छ कि भनी निदाउन समेत सकेका थिएनन् । जाने कतै ठाउँ छैन, पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि सरकारले केही गर्ला भन्ने आशामा बस्दा बस्दै कत्तिले आफ्नो ज्यान गुमाए कतिले आफन्तहरु ।

आज विहान पउने सात बजेतिर बस्तीभन्दा करिब चार सय मिटर माथिबाट पहिरो आयो । ३८ जना बेपत्ता भए । सभामुख, साँसद, गाउँपालिका अध्यक्ष, सिडियो लगयत केही नेताहरु उद्धार गर्ने भन्दै घटनास्थल पुगे । पहिले बस्ती हेर्दिनु भन्दा वास्ता नगरेका नेताहरु त्यहाँ पुगेपछि स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

स्थानीय बासिन्दाको दावी भने पहिलादेखि नै बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरले बस्ति मुनी सुरुङ खन्दा गाउँ पहिरोको जोखिममा परेको होे । बस्ती मुनी सुरुङ खन्नु अघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर अघिल्लो वर्षको मंसिरमै निवेदन दिएका थिए । गाउँपालिकामा पनि दिएका थिए ।

स्थानीय बासिन्दाले आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटक पटक गराउँदा पनि चासो नदिएकै कारण यति ठूलो दुर्घटना हुन पुगेको छ ।

Facebook Comments