अम्रिका देखि चौरजहारीसम्म
फुटानी
थाहा पायौ बुढा ! अम्रिकामा गोराहर्ले कुटेर एउटा कालो रङ्गको मान्छेलाई मारेपछि आन्दोलनले उग्र रुप लियो अरे !
हैन ए झुम्री ! अम्रिका त रङ्गभेद, जाती भेद, लिङ्ग भेद, धर्मभेद नभएको र मानव अधिकारको पूर्ण पालना भएको देश भनेको हैन ।
हिजो मात्र रुपेले अम्रिकाबाट फुन गरेको थियो । मैले पनि त्यही सोधेकी थिएँ । उसले त त्यो प्रचार गर्ने मात्रै हो । यहाँ जस्तो रङ्गभेद त कुइरेका मुलुकहरु बाहेक अन्त कतै छैन भन्दै थ्यो ।
कालो रङ्गकोलाई त गोराहर्ले मान्छे नै भन्दैन अरे ।
अनि अम्रिकामा जस्तो मानव अधिकार सबैतिर हुनुपर्छ भनेर डलरेहरु त अम्रिकाकै भजन गाउँदै हिड्छन् त !
बिचरा ! डलर पचाउन नानाथोक गर्छन् नै । ‘जसो जसो बाहुन बाजे तसो तसो स्वाहाः !’
हत्या चैं कस्को गरे छ र आन्दोलन कस्तो कस्तो भैराको छ अरे ! पुरै भन त झुम्री !
कालाजातीका जर्ज फ्लोयडको घाँटी थिचेर बिच सडकमै पुलिसले हत्या गरेछ । कस्ले हो कुन्नि त्यसको भिडियो खिचेर हाल्दिए छ । त्यसपछि स्वभाविक रुपले कालाहर्ले आन्दोलन सुरु गरेछन्, पछि अरु पनि थपिएछन् । थुप्रै दिन भए छ अम्रिकामा कफ्र्यु लागेको । कोरोना भन्दा डरलाग्दो आन्दोलन भनेर रुपेले सुनाउदै थियो ।
यो आन्दोलन होइन झुम्री ! यो शताब्दीऔैं देखि गुम्सिएर रहेको विद्रोह हो । नश्लीय विभेद, जातीय विभेद, धार्मिक विभेद र वर्गीय विभेद जहाँ छ त्यहाँ अनिवार्य विद्रोह हुन्छ । अम्रिका लगायत युरोपका थुप्रै मुलुकले रङ्गभेदका कारणले हुने विद्रोहको सामना गर्न बाँकी नै छ । ती मुलुकमा नश्लीय विभेदको भुसको आगो भित्र भित्रै सल्किरहेको छ ।
हौ ! काका काकी ! के को गनथन हौ !
ए भिरघरे ! लु बस हौ भतिज ! मेरो त मनमा सारै खुलदुली चलेर आ’को छ ! त्यो अम्रिकामा नि रङ्गभेदको आगो सल्किएको छ अरे भनेर तेरो काकीले सुनाइ । हो कि होइन भनेर मनमा खुलदुली भो । लु त्यहाँ के भा’को भन्त !
केको अम्रिकाको कुरा गर्छौ काका ! नेपालकै रुकुम हत्या काण्डको कुरा गरन ! रुकुमलाई माओवादीहर्को उद्गम स्थल मानिन्छ । माओवादीले छुवाछुत विरुद्ध ठूलो सफलता प्राप्त ग¥यो, आमूल परिवर्तन भयो, सराबरी बनायो भनेर बढेमानको डंका पिटेको होइन ! खै नाप्पिए छ त । हामीलाई दलित भनेर विभेद गर्नेहर्ले हाम्रा होनाहार युवाहर्लाई मारेर खोलामा फ्याँके छ । यो २१ सौं शताब्दीमा मान्छे मान्छे बिचको विभेद अम्रिका, बेलायत, भारत, नेपाल जताततै छ ।
हो भिरघरे ठिकै भनिस् । संविधानमा लेखेर, ऐन, कानून बनाएर मात्र नहुने र’छ । अहिले आ’र अर्को कुरो पनि देखियो । त्यसबेलाको माओवादीहर्ले नै पो यो जघन्य अपराध गरे भनेर आरोप लगाउँदै छन् ।
हो नि काका ! अपराधी मानिसकता भए पछि यस्तै हो । बेलाबेला बल्झी रहन्छ । बाँदरमुढे देखि रुकुम पश्चिम चौरजहारीसम्मको अध्ययन गर्न सक्नु पर्छ । तिमी पनि काका ! माओवादी भनेर गाउँ घरतिर बन्दूक पड्काउँदै …!
त्यसबेलाको कुरा त्यस्तो होइन नि भतिज ! समानताका लागि, जनताको मुक्तिका लागि, सामाजिक, आर्थिक, साँस्कृति परिवर्तनका लागि विगुल फुकेर सबै खाले सामाजिक विभेदको अन्त्यका लागि विद्रोहमा सामेल भएको थिएँ । तर, ठूलो धोका भयो !
धोका होइन । काका त्यो दन्त्य कथा हो । सबै बन्धन तोडेर राजकुमारले राजगद्दी प्राप्त गरे । जनता हेरेको हेरै । तिमीलाई लाग्दो हो भुल थियो भनेर भुल होइन काका धोका हो । भुल भए पश्चाताप हुन्छ, प्रायश्चित हुन्छ । तर, धोकामा केवल जानीजानी अरुलाई मूर्ख बनाएर आफूले सुख भोग प्राप्त गर्ने एक मात्र अभिष्ट हुन्छ ।
ठिकै भनिस भतिज उनारु किन पश्चाताप गथ्र्यो । हामी पश्चातापमा पिल्सी रहेका छौं । भयो यो घाउ नकोट्याउँ ! बरु चौरजहारीको घटना बारेमा राज्य के गर्दै छ ? तँलाई थाहा भको कुरो भन न !
राज्यले के गर्छ ! केही पनि गर्दैन काका ! दलित, पीडित, सिमान्तकृत कसैले पनि न्याय पाउने र पाउनु पर्छ भन्ने सोच शासकहरुमा अहिले पनि पलाएको छैन । न त अम्रिकामा न त नेपालमा । कतै रङ्गभेद, कतै छुवाछुत । नश्लीय अहंवादले गाँजेर समाज नै दुर्गन्धित बनाएको छ । कपटको खेल खेल्ने माहिरहर्ले रुकुम नरसंहारलाई अर्कै जामा पहि¥याएर चिरिच्याँट्ट पारेर बाहिर निकाल्छन् । हामी त्यसैलाई वास्तविक भनेर मख्ख पर्ने छौं । अनर्थको अर्थ खोजी सके ढुक्क भए हुन्छ ।
‘पख…पख…! तिमार्ले गरेको कुरा मात्रै ठिक नहुन सक्छ’ भन्दै बिचैमा झुम्री बोल्न थाली । – केटीको उमेर कति थियो ? रात परेको बेला, लकडाउनको समय त्यहाँ के उद्देश्यले गए ? यदि केटा केटीको मन मिलेको थियो भने सुटुक्क किन भाग्न सकेनन् ? पक्कै पनि मान्छे मारिनु दुखद् र जघन्य अपराध हो । तर दलित भएकै कारण मारिए जस्तो मलाई लागेन । मैले मागी विवाह, भागी विवाह भन्ने त सुनेकी थिएँ । केटा र केटीले प्रेम गरे आरे अनि केटी लिन दलबल सहित केटो केटीका घरमा गयो अरे भन्ने चैं पहिलो पटक सुन्दैछु । यो त अर्कै गाउँका युवाहरु रात विरात अर्काको गाउँमा हुल वाँधेर केटी अपहरण गर्न पुगेका हुन । डकैती विवाह कैले देखि शुरु भयो हँ ?
यस्तो बेलामा गाउँलेहर्ले लखेट्नु स्वभाविक हो । खेद्ने क्रममा ढुङ्गामूढा पनि भयो होला, भाग्ने क्रममा खोलामा परे होलान् ! अहिले जातीय जामा पहि¥याएर घटनालाई तोडमोड गर्नु राम्रो होइन । के कटी भनेका लुटपाटका बस्तु हुन ? नेपालमा केटीहरुलाई तिमारु पुरुष भनाउँदाहर्ले दलित भन्दा पनि तल राखेर कहिलेसम्म व्यवहार गर्छौ ? यसले समाजलाई कहाँ पु¥याउँछ ? के समाज भाँड्ने काम मात्र गर्ने हो ?
हुन त काकीको कुरो ठिकै हो । तर, मान्छे चाहिँ मारिनु हुन्थेन ।
अनि भतिज ! तिमार्को काँग्रेस के भन्छ, हाम्रा पूर्व नेताहरु के भन्छन् ।
पर्धानमन्त्रीले जेठ २१ गते जातीय विभेद तथा छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा ‘छुवाछूत सम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन’ भनेर बोली सकेका छन् । यता गिर्हमन्त्रीले पनि ‘जातीय अन्तरविरोधको विवाद हत्यासम्मको अवस्थामा पुग्नु गलत हो । घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ’ भनेर सदनमा बोलीसके । तर, पत्याउने कोही पनि निस्किएनन् ।
कि पत्याएनन् त !
काका ! तिमी कुरै बुझ्दैनौ । सन् १९६० को दशकमा अम्रिकामा एउटा आयोग बनेको थियो । त्यो आयोगले अश्वैत माथि अत्याचार रोक्ने उपायहरुको बारेमा सुझाव दियो । तर, त्यो सुझाव थन्कियो । अरुबेला पनि आयोग बनाउने, प्रतिवेदन बुझ्ने, दराजमा थन्क्याउने काम भए । नेपालमा पनि छानविन समिति बनाउने, प्रतिवेदन बुझ्ने थन्क्याउने काम हुँदै आएका छन् । अहिले पनि त्यही हुन्छ भनेर नपत्याएका हुन् ।
हेर क्रान्तिको उद्गम स्थिलमा क्रान्तिकै भावना र विचार विरुद्ध यस्ता, अमानवीय गतिविधि भएको सुन्दा म त निराश भएँ ।
निराश हुनुहुँदैन काका ! हाम्रा कम्युनिष्टहरु छुवाछुत, जात–पात, धर्म–कर्म सबै मान्छन् । बरु हाम्रै काँग्रेस अलि अलि बौंठिन्छ । अरु जे होस् घटनाको यथार्थ विवरण बाहिर आउनुपर्छ ।
काका ! लौ रात पर्न लाग्यो । म अब घरतिर लागें ।
जै नेपाल !