अध्यादेश, अपहरण र उपल्लो डोल्पाको चिसो !
फुटानी
माथिल्लो डोल्पामा ह्वात्तै चिसो बढ्यो । मेरी डोल्मा र म मौसम तातो हुने प्रतिक्षामा थियौं । हाम्रो आशा प्रतिक्षा विपरित यहाँको मौसम झन् बिग्रियो । हाम्रो मौसम काठमाडौंको राजनीति जस्तै भयो । भेडी गोठको बास त्यसै पनि निरस हुन्छ त्यसमा पनि उरन्ठेउलो मौसम ।
उहाँ काठमाडौंमा राजनीतिक चर्तिकला छ अरे । यहाँ हामीलाई भने ‘लुतो न कन्याई’ भन्छे डोल्मा । परको डाँडोमा टावर राखेपछि डोल्माको मुवाइलमा सप्पै कुरा आम्छ । समचार फरर सुनाउँछे पो त ! भन्दै थिई – अध्यादेश आयो अरे भैसेंपाटी र खुमलटारतिर बैठक बस्यो अरे । अनि कतिपय पत्रकारले त हाम्रो प्रचन्न काम्रेड बुढानिलकण्ठ पुगेको र जनकपुरको एकजना सांसद अपहरणमा परेको समेत लेख्न भ्याएछन् । मैले डोल्मालाई स्पष्ट भनिदिएँ– बुढानिलकण्ठ र अपहरणको कुरो चैं नपत्याउ, अरु चैं हुनसक्छ ।
डोल्माले छिपामा आएपछि नभएको कुरो लेखे पनि मान्नै पर्छ भन्दै थिई । मेरो मुनले मानेन । त्यो खैंजडी सांसदलाई के थाहा गृहमन्त्री दिने हो भने उपेन्द्र यादव र आपूर्ति मन्त्रालय दिने हो भने राजेन्द्र महतो आफ्ना दलवल सहित सरकारमा जान्छन् भन्ने कुुरो । उपल्लो डोल्पाको भेडी गोठमा बसेर पनि हामी विश्लेषण गर्छौ । त्यस्तालाई अपहरण गर्नु पर्ने कारण पनि हुनुपर्छ । न त ती व्यक्तिले पार्टी फुटाउने ल्याकत राख्थे न मन्त्री बन्ने हैसियत ! यस्ता कुरा नगर डोल्मा भनेर सम्झाएँ ।
‘तिम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुवै अध्यादेश फिर्ता लिए त !’ डोल्माले मलाई कस्सेर झटारो हानी ।
‘बेला न कुबेला धौ बजी नियला’ गरेपछि यस्तै हो । मैले आफैंलाई सान्त्वना दिने हिसावले भने ।
‘के यस्तै हो भन्छौ ? पहिला सभामुख चयन गर्दा पनि चिप्लिए । अहिले अध्यादेशमा पनि पुल्टुङ खाए !’ गुठी विधेयक र सिन्डिकेटाँ पनि नराम्रोसंग पछारिए । अर्को कुरा त्यो सांसद मन्त्री बन्न आएछ, लिन चाहिँ किन गए त !
हो, त ठिकै भनी डोल्माले । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्णयमा अडिग रहने र निर्णयलाई कार्यान्वयन गर्ने व्यक्ति । तर, दुईवटा घटना सभामुख र अध्यादेशमा आफ्नो निर्णय फिर्ता लिने अवस्थामा पुग्नु भनेको उहाँ आफ्नो निर्णयमा गम्भीर हुन नसकेको भन्ने बुझिन्छ । उहाँमा प्रचुर मात्रमा क्षमता छ । विषयवस्तुलाई मनभित्र ओल्टाई पल्टाई विश्लेषण गरेर मात्र प्रस्तुत गर्ने बानी थियो । उहाँका यी दुई निर्णयले भने उहाँको पुरानो निर्णय क्षमतामा ह्रास आएको हो कि भनेर शंका गर्नु पर्ने हुन्छ ।
कसैले अहंकारी, कसैले स्वयच्छाचारी र कसैले घमण्डी भन्लान् । तर, केपी शर्मा ओलीमा अडान, विश्वास र खुवीहरु छन् । लगभग ३० वर्ष भएछ नेपालका नेताहरु भोगेको । अरुको पनि यसो व्यवहारिक अनुहार हेर्नुहोस् त कस्तो दरख¥याउने छ । तुलोमा हालेर जोख्नुहोस् त कस्तो शासन गरे । यतिको पनि कोही देखिएनन् ।
‘के मनमा कुरा खेलाएर बस्छौ ? बरु अगेनोमा गएर ढिडो मस्काउन थाल । डोल्मा च्याँठिएर कराए पछि म झसंग भए । हो त कहाँ राजधानीमा राजनीतिको कुरो कहाँ डोल्मा र मेरो उपल्लो डोल्पाको भेडी गोठ !
आजको समाचार के छ डोल्मा ?
आज खास त्यस्तो केही छैन । ‘सांसदको अपहरण भएकै हो’ भनेर हावाहुण्डरी चलेको छ । अपहरणमा परेको बारे उनकै पार्टीका साथी माननीय प्रदिप यादवले अन्तरवार्तामा भनेछन्– “उनी अपहरणमा पर्नुभएको होइन, मन्त्री बन्न दौडेर गएका थिए, घटनाक्रमले अर्कै मोड लिएपछि अपहरण भ’को भनेछन्, उनको नाटक पनि अलि मिलेन ।
‘डोल्मा ! बाबुराम भट्टराईका बारेमा केही लेखेको छैन ? ’
आफंैले लेखेका छन् । लेखेर फेसबुकमा हालेछन् । सप्पै गाली गरेर धुनधान छ । नेपालको झण्डा र नाम फेर्नुपर्छ भन्ने क्रिश्चियन धर्मको अनुयायी, हिन्दू धर्म विरोधी, कुण्ठाको भकारी भन्दै अरुले कमेन्ट गरेछन् । उनले चैं बिलौना गरेका छन् । ओली हटेर आफू प्रधानमन्त्री बन्नु पर्ने जस्तो गरेर लेखेका रा’न । अस्तिनै खेताला प्रधानमन्त्रीका लागि निवेदन हालेका थिए रे पूर्णकालीन प्रधानमन्त्री चाहियो भनेर । बिचरा उनको पनि स्थायी थातथलो भएन । अग्रजले भन्थें– ‘पोइ मनपरेन भनेर पोइला हिड्ने अधिकार त हरेक महिलामा छ तर ख्याल गर्नुपर्छ जातको ठेगान हुन्छ कि हुँदैन ।’ विभिन्न घाटको पानी प्यूँदै हिँडेका छन् । अहिले उनको समस्या यही हो– उनको जातको ठेगान हराएको छ । पहिलेका हाम्रा नेताहरु प्रचन्न र बावुरामको काम नै अहिले ओलीको विरोध र समर्थन गर्नु रहेको छ । खै ! अर्को पटक चुनापमा त कुन्नि कसो हो ।
आककक डोल्मा ! पार्टीको विउ राखी दिए भने उम्रेला, राखेनन् भने बाडीगाडले बगायो भनौला । सत्ता त आउँछ जान्छ । पार्टी गयो भने चै सकियो । आइजो डोल्मा अरुले राष्ट्र खाए, हामी अगेनोको छेउमा बसेर ढिडो खाऊँ । काठमाडौंको कुरोलाई जै नेपाल भनांै ।
डोल्मा र म त सिस्नोसँग ढिडो चप्काउन थाल्यौं । तपार्इंहरु गच्छे अनुसार के के चप्काउनु हुन्छ चप्काउनु होस् ।
जै नेपाल !