परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आउनुहोस् तथानाम गाली गरौं !

कोरोना डायरी– १२

म अहिले लाइव्रेरी जस्तो सानो कोठामा बसेको छु । सायद यहाँ राखिएका किताबहरु मैले आफुलाई बुद्धिजीवी देखाउन किनेको हुनुपर्छ । होइन मान्छे किन बोक्रे आडम्बर देखाउन यति विघ्न लालायित हुन्छ हँ ! यो आडम्बर नभए के त ! मैले न यी किताबहरु पढेको छु न पढेर मैले बुझ्ने नै हो । अनि जिव्रो नचपाई भनौ बुझेर चाहिँ के नापिन्छ !

नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिक अर्थशास्त्री, समाजसेवी, साहित्यकार, राजनीतिज्ञ र अन्यहरुले न ट्रम्पलाई सम्झाउन सके न त जोन्सनलाई अथ्र्याउन सके ! पढे लेखेका बुद्धिजीवीको पगरी गुथ्ने उनै नोबल प्राप्त नै होइनन् र ! हो यसै कारण ¥याकका किताब देख्यो कि मलाई विरक्त लाग्छ ।

आजसम्म कोरोना भाइरस् रोकथामका बारेमा लेखेकै रहेनछ । आजसम्म यो महामारीको ओखती ऊ त्यही हो भनेर कुनै बुद्धिजीवीले औंलो तेस्र्याउनै सकेनछ । यस्तो बेलामा किताबमा केही भेटिन्छ कि भनेर किन पल्टाउनु ! कुहिगन्धे बिचारहरु थोपरेर लेखकले पाठकलाई उल्लु बनाउन बाहेक अरु के नै दिएका छन् ? मलाई त गजब लाग्छ भनेको । हेर्नु त उ त्यो किताब त्यसमा ज्ञान, विज्ञान, ध्यान र मोक्ष भन्दै एकै ठाउँमा खिचडी बनाएर लेखकले पाठकलाई कोच्याएको छ । हो, यिनै कारणले गर्दा मैले नपढेको हो ।

हिजो मात्र मेरा मित्र गोपाल ओलीले झापाबाट फोन गरेर हाम्रो राजनीति, अर्थ नीति, शिक्षा नीति, समाजको सोच र नेताहरुको ब्यवहारका बारेमा थुप्रै कुरा गर्नुभयो । उहाँको जोड थियो हाम्रो अर्थतन्त्र दह्रो बनाउदै राष्ट्रको विकास गर्ने हो भने कृषिको विकास र आधुनिकीकरणमै जोड दिनु पर्छ । घोषणा पत्रमा लेखेर होइन भूगोलमा देखिने गरी काम हुनुपर्छ ।

गोपालजीको मनासिव सोचलाई, विचारलाई हाम्रा नेताहरुले, भाषण, किताब, लेख र घोषणा पत्रमा उल्लेख गर्न सक्छन् तर लागु गर्न सक्तैनन् । किनभने मानसिक रुपले उनीहरु तयार छैनन् । अहिले फैलिएको कोरोना महामारीले नेपाली समाज बाँच्ने मुख्य आधार कृषि बाहेक अरु बन्न सक्तैन भन्ने सपष्ट पारेको छ । र, थुप्रै युवाले सायद अब कृषि पेशानै अपनाउने छन् । आशा गरौं अब हाम्रा जमिनहरु बाँझो रहने छैनन् । त्यहाँ अन्न बाली झुल्ने छन् ।

लौ गोपालजी यो गनथनलाई अब अर्कैतिर मोडौं । बाहिर पानी पर्न नसकेर गुम्फिएको आकाश र ओइलाएको धर्ती हेर्नुहोस् त ! कस्तो उराँठ लाग्दो दिन ! यस्तो बेलामा त पूर्वको हँडिया वुधवारे मास्तिरको रिसोर्टमा गएर बस्न पाए पनि हुन्थ्यो । त्यहाँ हल्का फुल्का कुरा गर्ने, वरपर फैलिएको जंगल निहार्दै तलको समथर भूमिमा आँखा दौडाउने अनि हँडिया खोला कहाँसम्म देखिन्छ भनेर हेर्दै टोलाउने, कस्तो आनन्द हुन्थ्यो होला त्यो क्षण ।

अन्य आकर्षणहरू

देउवा दाइसंग अनुनय विनय !

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

गोपालजी हेर्नुहोस् त उ त्यो तल माउरबाडी । त्यो अलि अलि देखिन्छ नि हो त्यो मेरो दाजु बालकृष्ण थपलियाको घर हो । अहिले त दाजुको घरतिर दिउँसै जङ्गली हात्ती आएर भयभित बनाउँछन् । रातभरी जागाराम बस्नु पर्छ । बाउ आमाले सिर्जना गरेर सुम्पिएको पैतृक थातथलो छोड्न पनि मिलेन । फेरि ठाउँ नराम्रो छैन । त्यसैले हात्तीको जतिसुकै डर भए पनि बालकृष्ण दाइ यही माउरबाडीमा बस्नु हुन्छ । उहाँ यही हुर्किनु भयो, उहाँलाई यही रमाइलो छ ।

हेर ! झण्डै लडें ओछ्यानबाट ! कहाँ के पो सोच्न पुगेंछु । यो लकडाउनले पनि थला पार्ने भयो । शरीर कोठामा थुनिएर के भो ! मान्छे भित्रको मन एकै छिनमा विश्व ब्राम्हण्ड घुमि सक्छ । हिजो हुम्लाको सदरमुकाम सिमकोट बसेर खुव रमाइलो गरियो । अनौठो दक्षिणतिर पनि हिमाल हेर्न पाउने ठाउँ ।

आज चाहिँ उत्पादन मूलक काम गरौंला भन्ने थियो भएन । कोरोनाले केही गर्न दिएन । यो काठमाण्डौ अवसर खोज्न आएका अल्छीहरुले भरिएको प्लाष्टिकको थैलो जस्तै छ । अट्न पनि कति र के के अटेको ! घरै घर छन् । वातावरण उकुसमुकुस छ । यहाँका मान्छे लकडाउनको अघिल्लो दिनसम्म एकले अर्कालाई ठेल्दै दौडन्थे । के खोज्न दौडिन्थे ! कहाँ पुगे ! गन्तब्य कहाँसम्मको थियो ! अनि अहिले कहाँ छन् ? सम्झिदा पनि अनौठो लाग्छ ।

भयो है दिमाग ठीक नभएको बेला कति गन्थन गर्नु ! बरु आउनुहोस् अरु कसैको कुरा गरौं, त्यस्तैलाई सरापौं । दुईचार घण्टा त्यसले गरेका सबै कामका खोट निकालौं र भएभरका नराम्रा शब्दको पगरी गुथाई दिउँ । कमसेकम मन शान्त हुन्छ, पेटको किरा मर्छ, भरे अलि बढी भात रुच्छ ।

अहिलेको अवस्थामा अरुलाईभन्दा सरकारलाई तथानाम गाली गर्दा राम्रो हुन्छ । प्रधानमन्त्री नालायक, मन्त्रीहरु खत्तम, भ्रष्टाचारी नै भ्रष्टाचारी, फरियावाद, आफन्तवाद, चाकरीवाद, यिनीहरुबाट माखो मर्दैन यस्तै यस्तै के के लाञ्छना, आरोप लगाएर गाली गर्दा कम मज्जा आउँछ । आउनुहोस् छतमा सिंहदरवार र बालुवाटारतिर धारे हात लगाएर दाह्रा किट्दै सराप्न थालौं ।

Facebook Comments