परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना !

सम्पादकीय

जीवनमा सङ्कट आउँछन् । मान्छे लड्छ । तर लडिरहनु चाहिँ विफलता हो । नव वर्ष २०७७ ले नयाँ सफलताको अवसर लिएर आएको छ । हिम्मतका साथ हामी उठ्नै पर्छ, छान्नलाई अरु मौका छैन । नयाँ गन्तव्य, नयाँ अक्कल, नयाँ ताकत, नयाँ उत्साह र नयाँ जोश सहितको नव वर्ष २०७७ लाई हार्दिक स्वागत !

कोभिड १९ महाव्याधीविरूद्ध संसार लडिरहेका बेला नयाँ वर्ष २०७७ हामी नेपालीहरूको घरआँगनमा आएको छ । संवत् २०७७ साललाई स्वागत गरिरहँदा र २०७६ लाई विदा गरिरहँदा थोरै विगतको सिंहावलोकन गरौँ, वर्तमानलाई आत्मसात् गरौँ र भविष्यको आँकलन गरौँ । २०७६ साल नेपाल र नेपालीलाई केही खुशी र बढी समस्या दिएर विदा भयो । महत्वपूर्ण उपलब्धि र खुशीहरूमा मित्रराष्ट्र चीनका राष्ट्र प्रमुख सी जिन पिङको नेपाल भ्रमण र दक्षिण एशियाली खेल प्रतियोगिता–सागको भव्य आयोजना थिए । नेपालको भावि दिशा र दशा बदल्ने अपेक्षाका साथ सुरु गरिएको भ्रमण वर्ष २०२० बीचैमा स्थगित गर्नुप¥यो । त्यसअघि नेपालीका मुटुमा खिल गाड्ने काम भारतले एकतर्फी रूपमा नेपालको लिपु लेक र कालापानी आफ्नो नक्साभित्र समेटी सो भूभाग आफ्नै भएको दावी गरेबाट भयो।

नेपालको राजनीति तुलनात्मक रूपमा स्थिर नै रह्यो । यसमा खासै ठूला उतारचढाव नदेखिए पनि सभामुखको यौनकाण्डमा गिरफ्तारीदेखि सफाइसम्मका घटना, विवादास्पद गुठी विधेयक र मिडिया काउन्सिल विधेयक बढी चर्चामा आए । सेक्युरिटी प्रेस खरिद प्रक्रियाले विवादमा परेपछि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएको प्रसङ्ग पनि २०७६ ले समेट्यो । २०७६ सालमा अर्को निकै ठूलो विवादमा परेको विषय थियो — अमेरिकी मिलिनियम च्यालेन्ज अन्तर्गतको सहयोग ।

सन् २०२० लागेपछि अर्थात् पुस, माघदेखि चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड १९ भाइरसका कारण विश्वका विभिन्न देश जस्तै नेपाल पनि समस्यामा प¥यो । २०७६ सालको अन्त्यमा आउँदासम्म देश यो भाइरसको प्रकोपबाट बच्न तीन हप्ते लकडाउनमा गएको स्थिति छ । अहिले देशका अत्यावश्यक सेवा बाहेक शिक्षा, उद्योग, कलकारखानादेखि सरकारी, गैरसरकारी कार्यालय, बन्द–व्यापार, घरेलु तथा अन्तर्राष्ट्रिय उडान, सडक यातायात लगायत सबै क्षेत्र ठप्प छन् । जनजीवन पूर्ण रूपमा घरैमा बन्द छ । अर्को शब्दमा भन्दा, कोरोना कहरको लप्कामा देश परेको छ । बेलैमा राज्यले कडा कदमहरू चाल्नाले विश्वका विभिन्न देशको तुलनामा नेपालको अवस्था अहिलेसम्म त्यति खराब देखिएको छैन ।

तर यस भाइरसका सङ्क्रमितहरूको संख्या सुस्त गतिमै भए पनि बढ्दै गइरहेबाट परीक्षण र एकान्तवासको दायरा तीव्र गतिमा बढाउनुपर्ने चुनौती राष्ट्रका सामु छँदैछ । राज्य र नागरिकका सम्पूर्ण गतिविधि ढप्पै हुँदा यसले कारोबार र आम्दानीको चक्र नै टुटाएकाले नयाँ वर्ष २०७७ र थप अरु केही वर्षका लागि ठूलो चुनौती पनि थपिदिएको छ । विद्यार्थीको पठनपाठन र परीक्षाका क्यालेण्डर काम नलाग्ने अवस्थामा पुगेका छन् । स्वदेशमा श्रम गरेर जीविकोपार्जन गर्ने ठूलो सङ्ख्याका नेपालीहरूलाई तत्कालै हातमुखको समस्या आइपरेको छ । विदेशमा रहेका नेपालीहरूमध्ये पनि कैयन असुरक्षित अवस्थामा रहेका छन् भने कतिको रोजगारी गुमेको छ । समग्रमा विश्व अर्थतन्त्रमै पूर्ण विराम लगाएको कोरोना कहरले नेपालको अर्थतन्त्रलाई पनि नराम्रो धक्का हानेको छ । श्रम गरिखाने कैयन श्रमिक र सहरमा सानोतिनो इलमधन्दा गरेर खाने वर्ग अहिले थुनिएको अवस्थामा छन् । अशक्त, रोगी, सुत्केरी र साना बालबालिका सहित लिएर १२–१३ दिनसम्मको यात्रा, भोकैप्यासै हिँडेरै तय गर्न मान्छेहरू बाध्य छन् । अर्कातिर भारतबाट नेपाल लुकिछिपी छिर्ने आफनै दाजुभाइ दिदीबहिनीहरू संवेदनशील र गम्भीर परिस्थितिका कारण टाउको दुःखाइ बनेका छन् । यद्यपि तिनलाई रोक्न र व्यवस्थित गर्न राज्यले सुरक्षा संयन्त्र परिचालन व्यापक पारेको छ । चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिनेहरूको स्वास्थ्य सुरक्षा, स्वास्थ्य उपकरणसँगै आमजनताले उपभोग गर्ने औषधी र खाद्यान्नको नियमित आपूर्ति अर्को चुनौती बनेको छ । कालाबजारी, अनियमितता, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिमा नियन्त्रण अर्को चुनौती हो । खान नपाउने विपन्न परिवारको प्राण धान्ने प्रभावकारी व्यवस्थाको खाँचो छ ।  विश्व खाद्य सङ्ठनले खाद्य आपूर्तिको श्रृङ्खला टुट्ने र त्यसले खाद्य सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेको सन्दर्भ पनि यहाँ मननीय छ । राज्यका सबै शक्ति, स्रोत र साधन अब यतै लगाउनु बाहेक दोस्रो बाटो कुनै छैन । देशको विकास र उन्नतिको गतिमा अब केही समयका लागि ब्रेक लाग्नेछ । कोरोनाले थलिएको अर्थ व्यवस्थालाई कसरी फेरि ट्रयाकमा ल्याउने भन्ने निकै ठूलो चुनौती हाम्रा सामु उभिएको छ ।

यी यस्तै समस्याका बीचमा नयाँ वर्ष २०७७ हाम्रा घरदैलोमा आइपुगेको छ । यो नयाँ वर्षले हामीलाई दुःख र अनिश्चयका बीच पनि आशा सञ्चार गर्न सकोस् । काला दिनपछि उज्याला दिन आउनेछन् भनेर आशावादी बन्न प्रेरणा देओस् । राष्ट्र नै एक भएर विपत्लाई परास्त गर्नुपर्ने बेला आएको छ । राज्यको द्रुत एवं परिपक्व निर्णय गर्ने क्षमता, संयन्त्र तथा साधन स्रोतको प्रभावकारी परिचालन, पारदर्शिता, विधिको पालना र आमजनतालाई विश्वासमा लिएर चल्ने संस्कारमा अझ परिस्कारको खाँचो छ । सत्तापक्ष वा प्रतिपक्ष सबै राजनीतिक शक्तिहरूले क्षणिक स्वार्थका लागि भन्दा पनि आमजनता र राष्ट्रको हितलाई सर्वोपरि राखेर जिम्मेवार राजनीति गर्न नव वर्षले प्रेरणा देओस् । आम जनतामा पनि धैर्यवान र सिर्जनशील बन्न यो नयाँ वर्षले उत्प्रेरित गरोस् । यही प्रार्थना ।

हो, शिशिर ऋतुले नै नवजीवन र नवपालुवाको रोमाञ्चक आभाष दिन्छ । कोरोना अहिले शिशिर ऋतु बनेर आएको छ । त्यसैले नवपालुवको हराभरा बसन्त ऋतु अब पक्कै धेरै टाढा छैन । नव वर्ष २०७७ को हार्दिक शुभकामना !

Facebook Comments