परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालमा टी अक्सन सेन्टर अत्यावश्यक छ 

अन्तरवार्ता

आजभन्दा २४ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र रोजगादाता परिषदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरी सक्नु भएका महेश मित्तल (अग्रवाल) उद्योग व्यवसायको क्षेत्रमा परिचित नाम हो । उद्योगपति मित्तल कविर चार दशकदेखि उद्योग व्यवसायमा संलग्न हुनु भएको छ । उहाँका मुना चिया उत्पादन गर्ने मित्तल टी इण्डष्ट्रिज प्रा.लि., मोहन टी इण्डष्ट्रिज, कुवाडीदेवी टी इस्टेट, मित्तल वायर इण्डष्ट्रिजलगायतका उद्योगहरु छन् । एसोसिएसन अफ नेपाल कपर इडष्ट्रिजका संस्थापक अध्यक्ष समेत हुनु भएका मित्तल नेपाल चिया उत्पादक संघको संस्थापक सचिव हुनुहुन्छ । झापामा उद्योग व्यवसायको सम्भावना तथा चिया क्षेत्रलाई व्यवस्थित गर्ने सम्बन्धमा चिया उत्पादक संघका संस्थापक सचिव महेश मित्तलसँग झापाबाट प्रकाशित हुने स्वाधीन सम्वाद साप्ताहिक र परिसंवाद डटकमको सहकार्यमा तयार गरिएको अन्तरवार्ताको सार संक्षेप :

प्रश्नः वर्तमान अवस्थामा झापाको औद्योगिक परिवेशको विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?

उद्योगपति महेश मित्तलः झापाको विकासको मूल सम्भावना भनेको कृषिमा आधारित उद्योग नै हो । झापामा कृषि जन्य उद्योगले अहम भूमिका निर्वाह गरेको छ र कृषिजन्य उद्योगले भोलि पनि फड्को मार्ने प्रवल सम्भावना रहेको छ । सरकारले पनि कृषिजन्य उद्योगलाई प्राथमिकता दिन अपरिहार्य छ । मेचीका चार जिल्ला झापा, इलाम पाँचथर र ताप्लेजुङ्गलगायतका क्षेत्रमा हुने कृषिजन्य उत्पादन अदुवा, अम्लिसो, अलैची, आलु, अकवरे खोर्सानीको प्रशोधन गर्दै बहुउत्पादन गर्ने पर्याप्त उद्योग स्थापना गर्न सकिएको छैन । यस्तैगरी कृषिजन्य बस्तुको उत्पादनको प्रशोधन गर्दै बजारिकरण गर्न सकिने राम्रो सम्भावना छ ।

अहिले पनि झापाको उत्तरी क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ्गमा उत्पादन हुने सुन्तला, कागती जस्ता फसलहरुको प्रसोधन गर्दै बजार लैजान सकेको खण्डमा किसानहरुले पनि बस्तुको राम्रो मूल्य पाउने छन् । झापा जिल्लाको औद्योगिक विकास तथा राष्ट्रिय कै अर्थतन्त्रमा कृषिजन्य उद्योगको स्थापना एवंम सफल सञ्चालन र सुदृढ बजार व्यवस्थापन महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरामा दुईमत छैन । त्यस्तैगरी माछा, डेरी, पशु आहारजस्ता उद्योगहरु थपिने प्रबल सम्भावनाहरु यस क्षेत्रमा रहेको छ । राष्ट्रले कृषिजन्य कच्चा पदार्थको निर्यातलाई घटाउँदै कृषि उत्पादनलाई प्रशोधित गरेर मात्रै निर्यात गर्ने वातावरण बनाउन अत्यावश्यक छ । धान, गहुँ मकै जस्ता नगदेबालीहरुबाट उत्पादन गर्न सकिने खाद्यबस्तुहरुको आधुनिक प्रविधियुक्त उद्योगहरुको स्थापना गर्न सकिने र सँगसँगै आधुनिक प्रविधि अपनाई लागत मूल्य घटाउँदै लगेर उत्पादनको व्यवस्थित बजारीकरण गर्न सकिने संभावनाहरु जिवितै छ ।

सरकारले मकै जोनको घोषणा गरेको छ जोनले कृषि फसलको उत्पादकत्व बढाउन जरुरी छ । उत्पादकत्व बृद्धि भएमा मात्र लागत मूल्य घट्न सक्छ त्यसपछि मात्र किसानको आयमा बृद्धि हुन्छ । यसरी कम लागतमा उत्पादित बस्तु जस्ताको त्यस्तै निर्यात नगरी त्यसलाई प्रशोधन र उत्पादन गरी बजारीकरण गर्ने जस्ता सम्भावनाहरु खोजी गर्नु पर्दछ । सरकारले निजी क्षेत्रको सहयोगमा कृषिजन्य उद्योगको सम्भावनाहरुको पहिचान गर्नु पर्दछ ।

झापाको सम्भावना अरु क्षेत्रमा पनि देखिन्छ । अत्याधुनिक प्रविधिको ईटा टायल्सको पनि सम्भावना रहेको छ । हामीले अत्याधुनिक प्रविधि मैत्री औद्योगिक प्लान्टहरु राख्ने र नेपाली कृषिजन्य उत्पादनको उद्योग स्थापना गर्ने हो भने हाम्रो औद्योगिक विकास सम्भावनाहरु प्रसस्तै छन् । नेपालमा कृषिजन्य उद्योगको स्थापनालाई सहज बनाउनका लागि सरकार र निजी क्षेत्रको सहभागितामा फुड प्रोसेसिङ जोनको आवश्यकता रहेको छ ।

प्रश्नः चिया क्षेत्रलाई कसरी व्यवस्थित गर्नु पर्छ ? 

मित्तलः चिया क्षेत्रले पाँच दशकको इतिहास बोकेको भए पनि २५/३० वर्षको अन्तरालमा साना किसानदेखि ठूला उद्यमीसम्म चिया खेतीमा ठूलो संख्यामा समाहित गरेको छ । हिजो चिया घरेलु बजारमा पनि पुग्दैनथ्यो भने आज विदेशी बजारमा नेपाली चियाले आफ्नो उपस्थिति जनाउन सक्षम भएको छ । यो चिया उद्योगको लागि महत्वपूर्ण आयाम हो । अहिले नेपालको चियाले विदेशी मुद्रा आर्जन गर्न थालेको छ । चिया उद्योग श्रममा आधारित कृषिजन्य उद्योगको भएको हुनाले यदाकदा श्रमिकसम्बन्धी समस्या र अप्ठ्याराहरु आइपर्नु स्वभाविकै हो । त्यस्ता समस्याहरुको सरकार, उद्योगी र मजदूरबीच समयमै समाधान हुनु सम्बन्धीत सबैको लागि हितकर हुने छ ।

राष्ट्रिय उत्पादनको हैसियतमा उभिएको चियाको बजारको समुचित व्यवस्थापनको खाँचो देखिएको छ । चिया बजारलाई व्यवस्थिगत ढंगबाट मार्केट सपोर्ट सिस्टममा लैजान सकिन्छ, यस सम्बन्धमा सबैले सोच्ने वेला आएको छ । आजको विश्व बजारमा अक्सन प्रणालिले चिया बजारलाई ठूलो सहयोग गरेको छ । नेपालमा टी अक्सन सेन्टरको नितान्त आवश्यकता रहेको छ । त्यसको लागि सरकार र चिया उद्यमी र व्यवसायी मिलेर काम गर्नु पर्नेहुन्छ । अक्सन प्रणालि व्यवस्थित ढंगले लागू भए भोलिको दिनमा अन्य कृषि उत्पादनको पनि व्यवस्थित बजारिकरण गर्न सक्ने सम्भावना देखिन्छ । अक्सन प्रणालि भनेको एक पारदर्शी, व्यवस्थित र सुदृढ बजारिकारणको भरपर्दो प्रणालि हो । झापामा कतै कतै गुणस्तरीय चिया उत्पादन हुन नसकेको हो कि जस्तो देखिएको छ । गुणस्तरीय चिया उत्पादनमा चिया उद्यमीहरुको पहल आवश्यक छ । उद्यमशिलता भनेको नै आएका समस्याहरुलाई दृढ, स्थायी ढंगले समाधान गर्नु हो । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रहरुमा राजनीतिक आर्थिक कारणले समय समयमा केही समस्याहरु आइनै रहन्छन् । तर, त्यसलाई समयमै उचित तवरले समाधान खोजेर अगाडि बढ्नु नै सफल उद्यमशिलता हो । राज्यले औद्योगिक विकासको नीति बनाउँदा निजी क्षेत्र तथा सरोकारबालाहरुबीच छलफल गरेर बनाउनु पर्दछ । यसरी बनाइएको नीति सरोकारवालाबीच सूचना प्रवाह हुनुपर्दछ ।

प्रश्नः झापाको पर्यटन व्यवसायको सम्भावना कस्तो देख्नु हुन्छ ?

मित्तलः नेपालमा पर्यटन व्यवसायको कुरा निरन्तर सुनिन्छ । तर, पर्यटनको कुरा कुरामै सिमीत रहेको देखिन्छ । पूर्वी नेपालमा अधिकांश क्षेत्रहरु पर्यटकीय स्थल बनाउने सम्भाव्यता बोकेको स्थानहरु रहेका छन् । पूर्वी नेपालका पर्यटकीय क्षेत्रहरु आफैमा सुन्दर प्राकृतिक छटाले भरिएको मनमोहक रहेको छ । यो सुन्दर क्षेत्रको काखमा हामी रहेका छौं । झापा कै कुरा गर्ने होभने किच्चकबध, कचनकवल, अर्जुनधारा धाम, शहीद पार्क, भेलागुडी सिमसार क्षेत्र, जामुनखाडी, सताक्षीधाम, दोमुखा, बाहुण्डागीको कृष्णथुम्कीलगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेहरु रहेका छन् । टुरिजम क्षेत्रको विकासको लागि गन्तव्य स्थलको पूर्वाधारहरुको विकास ह्ुनु पर्दछ । टुरिजमको विकास गर्दा चार प्रमुख आधारहरु रहेका छन् । गन्तव्यसम्म पुग्ने यातायातको व्यवस्था गरिनु पर्दछ, खान बस्ने स्थान अर्थात होटलआदीको व्यवस्थापन हुनु पर्दछ, त्यसपछि भनेको सञ्चारको व्यवस्था त्यहाँ इन्टरनेट, फोनको व्यवस्था वा मोवाइल चल्न सक्ने अवस्था हुनु जरुरी छ त्यसपछि भनेको सुरक्षा व्यवस्था नै हो । यी सबैको पूर्वाधारको विकास हुन जरुरी छ । यस्ता सुन्दर पर्यटकीय क्षेत्रमा स्थानीय मौलिकता समेटिएको उत्पादन पनि हुन जरुरी छ । आज पनि पर्यटन उद्योग मूख्य आय श्रोत भएका देशहरु छन् । अब त टी टुरिजमको पनि विकास भएको छ । यहाँ पनि मैले टी टुरिजमको सम्भावना रहेको देखिरहेको छु ।

आजको विश्व बजारमा अक्सन प्रणालिले चिया बजारलाई ठूलो सहयोग गरेको छ । नेपालमा टी अक्सन सेन्टरको नितान्त आवश्यकता रहेको छ । त्यसको लागि सरकार र चिया उद्यमी र व्यवसायी मिलेर काम गर्नु पर्नेहुन्छ । अक्सन प्रणालि व्यवस्थित ढंगले लागू भए भोलिको दिनमा अन्य कृषि उत्पादनको पनि व्यवस्थित बजारिकरण गर्न सक्ने सम्भावना देखिन्छ । अक्सन प्रणालि भनेको एक पारदर्शी, व्यवस्थित र सुदृढ बजारिकरणको भरपर्दो प्रणालि हो ।

प्रश्नः मेची पुल बनेपछि यो भद्रपुर नाकाले उद्योग व्यवसायमा कति योगदान गर्दछ ? 

मित्तलः यो नाका खुल्नु हाम्रो सौभाग्य हो । पाँच दशकपछि बनेको मेची पुलको पूर्व पट्टीको सडक र पश्चिमपट्टीको सडक बन्न बाँकी छ यो सडक बनाउने कार्य पनि सरकारले छिट्टै सिध्याउनु पर्दछ । सडक बन्न ढिलाई भएकोले यहाँका उद्योगी व्यवसायीलाई समस्या भइरहेको छ । भंसार नाकाबाट प्रवेश गरेको मालबाहक सवारी साधनहरु भद्रपुर बजार नपसी सिधै मेची राजमार्ग भएर गन्तव्यमा पुग्नेगरीको व्यवस्था गरिनु पर्दछ । मेची पुलले यो क्षेत्रको औद्योगिक व्यवसायिक क्षेत्र मात्र नभई सामान्य जनजीवनमा सहजता प्रदान गरेको छ । झापा यसअघि बंगालसँग मात्र जोडिएको थियो विहासँग पनि जोडिन पुग्यो । हिजो हाम्रो पर्यटकीय क्षेत्रहरुको मार्केटिङ बंगालमा हुने गरेको थियो भने अब विहारमा पनि मार्केटिङ गर्न पाउने अबसर प्राप्त भएको छ । सीमा नाका खुल्दा अबसरमात्र होेइन चुनौतिहरु पनि छन् । खासगरी उत्पादनको क्षेत्रमा ठूलो हिस्सा ओगटेको भारतबाट धेरै सामग्री नेपाल आउने हुँदा स्वभाविक रुपमा नेपालभन्दा भारत सस्तो पर्ने भएकाले नेपालका उपभोक्ताहरु भारतीय बजार जाने गर्छन तर, सरकारले नेपालको बजारलाई चलायमान गराउन संधै उपयोग हुने दैनिक उपभोग्य बस्तुको भंसारलाई सरलिकृत बनाउदै उपभोक्तालाई नेपालमै रोक्ने प्रयत्न गर्नु पर्दछ । सीमा क्षेत्र सुरक्षा व्यवस्थामा नेपालका सुरक्षा निकाय सफल नै देखिन्छन् ।

Facebook Comments